स्त्रीविहीन घर कहालीलाग्दो! : हरिवंश आचार्य

Thursday, 28 June 2012 14:37 नागरिक
Print
(11 votes, average 4.00 out of 5)
सुप्रसिद्ध कलाकार हरिवंश आचार्यले रमिला पाठकसँग दोस्रो बिहे गरे। जीवनसंगिनी मीरासँग बिछोडिएको एक वर्षभन्दा बढी समय उनले भयानक एक्लोपनमा बिताए। शुभचिन्तक र साथीभाइहरूको सल्लाह शिरोपर गर्दै उनले नयाँ जीवन सुरु गरेका छन्। हरिवंशसँग धनबहादुर खड्काको अन्तरंग कुराकानी :

जसले सफा पहिरन लगाउँछ, उसैलाई दाग लाग्ने डर हुन्छ। लोकप्रियता र चर्चाको अभूतपूर्व शिखरमा पुगेका हरिवंश आचार्यलाई पनि त्यस्तै त्रास छ। पहिलो जीवनसाथी मीरा आचार्यले छाडेर गएको एक वर्ष दुई महिनापछि उनले नयाँ जीवनसाथीका रूपमा रमिला पाठक भित्र्याएका छन्। तर, कुरा काट्नेको जिब्रो थुत्न कसले सक्छ र? जीवनका ५४ वसन्त पार गर्दासम्म कसैलाई कुरा काट्ने अवसरै नदिएका उनलाई यही त्रास छ, 'कतै मेरो दोस्रो विवाहको कुरा काटिँदै त छैन' भन्ने। मंगलवार बेलुकी उनकी दिवंगत जीवनसंगिनी मीराले नै बनाएको काठमाडौँ नयाँ बजारस्थित घरमा भेट्दा उनी यस्तै मानसिकताबाट गुजि्रएको छनक पाइन्थ्यो।
विवाह एउटा उत्सव हो। भर्खरै एउटा 'उत्सव मनाएका' उनी उत्साहित थिएनन्। उनले भेट्नैबित्तिकै स्पष्ट पारे, 'यो बाध्यताको एउटा सम्झौता हो, त्यसैले म रमाइलो गर्ने मुडमा छैन। साथीभाइहरू 'कहिले भोज खुवाउँछौ' भन्छन्। मेरो उत्तरचाहिँ मलाई चिन्ने सबैलाई भोज खुवाउँछु तर आ-आफ्नै घरमा भन्ने हुन्छ।' दोस्रो जीवनसाथीको प्रवेशले एक वर्षदेखि हराएको ऊर्जा पुनर्प्राप्ति हुने आशा छ उनलाई। 'यदि म पूर्ववत् रूपमै काममा फर्किएँ भने दर्शकलाई दोस्रो विवाहको एउटा होइन, धेरै कोसेली दिन्छु,' उनी भन्दै थिए।
नयाँ भाउजूले पुरानो भाउजूको ठाउँ लिने संभावना कत्तिको छ त? हरिवंश एकछिन गम्भीर भए र भने, 'मीराको ठाउँ न उनले लिन सक्छिन्, न मैले दिन नै। माया भन्ने कुरा बाँडेर सकिँदैन। हिमालमा हिउँ र मान्छेमा मायाको कमी हुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले रमिलालाई मेरो मायाको अभाव हुन दिनेछैन भने मीरालाई त्यो पर्न।'


विवाह गर्ने दिनसम्म पनि उनी आफ्नै मनको अन्तर्द्वन्द्वबाट गुजि्ररहेका थिए रे। विवाहका केही दिन बितिसक्दा उनमा 'रामै्र गरेछु' भन्ने पक्षले जित्न थालेको छ। 'स्त्री नभएको घर र प्राण नभएको मान्छे उस्तै हुने रहेछ। स्त्रीविहीन घर कहालीलाग्दो हुन्छ। हामी पुरुषहरूमात्रै रहँदाको र अहिलेको घरमा निकै फरक आएको छ,' हास्यरस मिश्रित उत्तर दिएपछि उनी हामीसँगै भएका मित्र नरेन्द्र कंसाकारतिर फर्किए र र मुस्कुराए। उनका अनुसार छोटै समयमा छोराहरूको मन जित्ने र घर सम्हाल्ने काम गरिसकिन् रमिलाले।
'उमेरमा विवाह गर्दा पनि लाज हुन्छ,' बिस्तारै खुल्दै थिए हरिवंश, 'गल्ती नगरे पनि अप्ठ्यारो महसुस चाहिँ हुने रहेछ। जीवनमा कहिल्यै यो अवस्था आउला भन्ने सोचेकै थिइनँ, तर परिस्थितिले यहाँ ल्याइपुर्‍यायो। म भागेको होइन। सामना गर्दै छु। मीरा हुँदाहुँदै विवाह गरेको भए गल्ती हुन्थ्यो। उनी नभएपछि उनको तस्बिरसँग कति बोल्नु?' घरमा हुँदा कुरा गर्ने मान्छे पनि नभएपछि जीवनसाथी खोज्न आवश्यक ठानेको उनले बताए।
आफूसँग रहेका ९९ सय प्रतिशत कुरामा मीरा भाउजू जोडिएकाले आफ्नो स्मृतिबाट उनी कहिल्यै अलप हुन नसक्ने बताए उनले। उनीसँग बिताएका २७ वर्षका प्रत्येक पल अविस्मरणीय भएको बताउँदै अन्तिम क्षणको स्मरण गरे, 'मेरो हातमा धेरै पटक चुम्बन गरिन् र साथीहरूलाई बोलाइदिन भनिन्। त्यसपछि कुनै संवाद हुन पाएन।'
जीवन सिर्जनामै समर्पित गरेकाले श्रद्धाञ्जली पनि कवितामै दिएको प्रस्ट्याए। 'तारा भइन् मीरा' कविता १३ दिनको अवधिमै सिर्जेको थिएँ,' उनले भने, 'त्यसपछिका तीन महिनासम्म उनीप्रति समर्पित धेरै कुरा लेखेको छु। अहिले पनि लेख्दै छु। यसलाई प्रकाशित गर्ने सोच छ।' मीरा फाउन्डेसन खोलेर केही सामाजिक कामको थालनी गर्ने योजना पनि रहेको बताए।
स्मृतिको सागरमा डुबुल्की लगाइरहेका हरिवंशलाई त्यहाँबाट उतार्न सोधियो, 'दर्शकलाई नयाँ कोसेली कहिले दिने?'
'मदन दाइ भाउजू बिरामी भएर बैंकक नगएको भए चाँडै दिने तयारी थियो,' उनले भने, 'गाईजात्रामा कार्यक्रम नगरेको धेरै भा'थ्यो। त्यसैले यसपटक गर्ने तयारी गर्दै थियौँ। अब उहाँ फर्किएपछि रंगमञ्चमै कार्यक्रम गर्छौं होला।' यस बीचमा एउटा ननकमर्सियल फिल्ममा अभिनय गरेको पनि उनले बताए।
अभिनेत्री बसुन्धरा भुषालले हरिवंशलाई पहिलोपटक विवाह जरुरी भएकोतर्फ औँल्याएकी थिइन्। 'टेलिसिरियल 'गाउँकी तारा'मा काम गर्दा म एक्लै टोलाएको ख्याल गर्नुभएको रहेछ। उहाँले नै मेरो यस्तो अवस्था देखेर घरमा बोल्ने मान्छे खोज्नुपर्छ भन्नुभएको थियो,' विवाहको पहिलो प्रसंगबारे उनले भने। २०३४ सालदेखि अभिनयकै माध्यमबाट भेट भए पनि सहोदर दिदीभाइको जस्तै व्यवहार गर्ने भएकाले बसुन्धराको कुराले हरिवंशलाई गम्भीर बनायो। उनको रायमा आफ्नै जोडी मदनकृष्ण श्रेष्ठ (जसलाई हरिवंश अभिभावक पनि ठान्छन्)ले पनि सहमति जनाएपछि उनी झन् बढी गम्भीर भए।
उनको दोस्रो विवाहको कुरामा शुभचिन्तक सबैले जोड दिन थालेपछि हरिवंश पनि सकारात्मक देखिए। 'थुप्रै साथीमार्फत धेरैको प्रस्ताव आएको थियो। तर, मेरोजस्तै दुःख भोगेकाले मात्रै मलाई बुझ्न सक्छन् भन्ने लागेर रमिलालाई छानेँ,' उनी भन्छन्, 'समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन होस् भन्ने चाहना पनि हो मेरो।' प्रस्ताव आएकामध्ये छोराहरूको मन जित्ने, घरव्यवहार सम्हाल्ने र उमेर पनि मिल्ने भएकाले हरिवंशलाई रमिला मन परिन्। चार महिनाअघि गोंगबुस्थित दिदीको घरमा पहिलोपटक रमिलालाई भेटेका थिए हरिवंशले। विवाहअघि रमिलालाई उनले १२ पटक भेटेका थिए। 'रमिलाको माइती पक्ष पनि निकै उदार थियो। त्यसैले यो बीचमा म उनको घरमा जानेआउने गरिरहन्थेँ,' उनले भने।
बसुन्धराले रमिलालाई पहिल्यैदेखि चिन्ने भएकाले उनी समक्ष कुरा पुर्‍याएकी थिइन्। उनको माइती पक्ष र रमिला सकारात्मक नै देखिएपछि पहिलो भेटघाट जुराइएको थियो। श्रीमान्को मृत्युपछि माइतीमै बसेकी रमिलालाई पनि हरिवंश मन पर्थे, कलाकारका रूपमा। पछि विवाहको कुरा आएपछि उनको व्यक्तिगत व्यवहारलाई राम्रैसँग अध्ययन गरेर सहमतिको टाउको हल्लाएकी थिइन्।
एउटा दुःखबाट गुजि्रएकी रमिलालाई आफ्नै घर बसाउने मन भए पनि जोसुकैले भन्ने बित्तिकै विवाह गर्न राजी भने थिइनन्। झन्डै दश वर्ष एकल जीवन बिताएकी उनलाई आफन्तले आफ्ना बारेमा प्रस्ट पारेपछि मात्रै विवाहका लागि राजी भएको हरिवंश बताउँछन्।
मीरासँग वियोग भएपछि बस्दै आएको बुढानीलकण्ठस्थित घर बेचेर भक्तपुर बालकोट सरेका थिए हरिवंश। घर नयाँ भए पनि खुशी नयाँ फुलेन। हाउजिङले लगाएको रङ र फुलाएका फूल पनि निरस लाग्थे हरिवंशलाई। 'तर, अब बिस्तारै रमिलाले त्यो घरमा खुशीका तरंग भर्दै छिन्,' हरिवंश भन्छन्। उच्चाटलाग्दो एक्लोपनबाट मुक्त हुनासाथ हरिवंश फेरि आफ्ना दर्शकलाई साथ दिन आइपुग्नेछन्। र, उनीहरूका अनुहारमा मुस्कानका रङहरू भरिदिनेछन्। दर्शक उनको व्यग्र प्रतीक्षामा छन्।