Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

सुत्यो काठमाडौँ

E-mail Print
(6 votes, average 4.50 out of 5)
हिजोआज सुतेको छ, कस्मोपोलिटन काठमाडौँ। न रमझम छ, न जगमग। काठमाडौँ साँझ ८ बज्दा नबज्दै भात खान्छ, सुत्छ र भुसुक्कै निदाउँछ। यस्तो पनि राजधानी शहर हुन्छ र अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा रहेको देशको? मानिसहरू प्रश्न गर्न थालेका छन्। शहरको रात्रिकालीन जीवन सरकारको उच्च नैतिक मापदण्डको दण्डले पेलिन थालेपछि निरस र उत्साहहीन बन्दै गएको छ। धनबहादुर खड्काको विवरण :
......

राजधानीवासी रातको खुशी खोजिरहेका छन्। नेपाल घुम्न आउने पर्यटक पनि काठमाडौँमा नाइट लाइफको मनोरञ्जन लिन चाहन्छन्। तर, काठमाडौँ साँझ पर्दा नपर्दै सुत्न थालेको निकै भइसक्यो। रात्रीकालीन व्यवसाय जति छिटो फस्टाएको थियो, त्यही गतिमा धराशायी भयो। दिनभरि मेहनत गरेर पैसा कमाउन सक्ने शहरियाहरू डान्सबार, दोहोरी र डिस्कोमा गएर थकान बिसाउन थालिसकेका थिए।

रात्रीकालीन व्यवसायको हब नै मानिएको ठमेलबाट यो व्यवसाय विस्तार हुँदै रिङरोडसम्म फैलिएको थियो। ठमेललाई सुन्धारा, गौशाला, नयाँ बानेश्वर, चाबहिल, सामाखुसी, गोंगबु, कलंकी, एकान्तकुनालगायत ठाउँमा खुलेका डान्स बारले चुनौती दिन थालेको थिए। तर, व्यवसायीको यो सुखद अनुभव दिगो हुन पाएन। सरकारमा बसेर सस्तो लोकप्रियता आर्जन गर्न चाहनेहरूले यो व्यवसायमाथि निरन्तर आक्रमण गरे। मानिसको व्यक्तिगत स्वतन्त्रतालाई अंकुश लगाएर 'तँ राती यति बजे सुत्नुपर्छ र बिहान यति बजे उठ्नुपर्छ' भन्ने खालका नियम बनाएर नाइट लाइफ भताभुंग बनाइयो।
अहिले फेरि ठमेल र दरबारमार्ग क्षेत्रमा रहेका डान्स तथा डिस्को राती दुई बजेसम्म खोल्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको छ। यसबाट यस क्षेत्रका व्यवसायी निकै उत्साही भएका छन्। ठमेल पर्यटन विकास समितिको पहलमा नेपाल टुरिजम बोर्डको सहयोगमा यो क्षेत्रको नाइट लाइफलाई पुरानै अवस्थामा फर्काउन निर्णय भइसक्दा पनि प्रहरी प्रशासनले जिल्ला प्रशासनको निर्णयलाई टेरेको छैन। रात्रीकालीन व्यवसायी संघका अध्यक्ष समीर गुरुङ भन्छन्, 'सरकारकै एउटा निकायले गरेको निर्णय अर्को निकायले नमान्नु भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो।' डान्सबारलाई कमाइ खाने भाँडो बनाएका प्रहरीले यो पेसालाई कहिल्यै पनि पोजेटिभ नजरले नहेरेको व्यवसायी बताउँछन्।
ठमेलस्थित नशा बारका सञ्चालक राम गिरी लेट नाइटसम्म व्यवसाय गर्न नपाउने हो भने काठमाडौँको रात्रीकालिन व्यवसाय एकदेशको कथा हुने बताउँछन्। 'ठमेलमा मात्र ४० वटा डान्सबार थिए,' गिरी भन्छन्, 'अहिले १० वटा पनि सञ्चालनमा छैनन्।' घर भाडा तिर्न र स्टाफलाई तलब खुवाउन नसकेकै कारण अधिकांश डान्सबार बन्द भएको उनको ठहर छ।

डुब्यो लगानी
डान्सबार खोल्न कम्तीमा १५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुन्छ। दोहोरी सँाझ रेस्टुरेन्ट पनि सातदेखि १२ लाख खर्च नगरेसम्म सञ्चालनमा ल्याउन सकिँदैन। समीर गुरुङका अनुसार उपत्यकामा अहिले दुई सयभन्दा बढी डान्सबारमा करिब ६५ करोड रुपैयाँभन्दा बढी लगानी छ। डेढदेखि दुई करोडसम्म लगानी गरेर खोलिएका डिस्कोथेक छन्। दोहोरी साँझमा पनि करोडौँको लगानी छ। यो व्यवसायले हजारौँ मजदुरलाई रोजगारी दिएको छ।
तर, नाइट लाइफका बारेमा सरकारको स्पष्ट दृष्टिकोण नहुँदा अहिले व्यवसायी पुर्पुरोमा हात राखेर बस्न बाध्य छन्। 'व्यवसायीसँग तल्लो तहको व्यवहार गरिन्छ,' गुरुङ भन्छन्, 'सरकारको नीति नियमभित्र बसेर व्यवसाय सञ्चालन गर्दा पनि हामीले अहिलेसम्म सुरक्षाको अनुभूति गर्न पाएका छैनौँ।'
तीन वर्षअघिसम्म एउटा डान्सबारले प्रतिदिन औसतमा २५ हजार रुपैयाँसम्म व्यापार गर्थे। तर, अहिले अवस्था त्यस्तो छैन। कुनै दिन त एक बोतल बियर पनि नबेची बार बन्द गर्नुपर्ने अवस्था रहेको व्यापारीहरू बताउँछन्। रिपोर्टिङका क्रममा मंगलवार डान्सबार डुल्दा अधिकांश डान्स बार सुनसान थिए। मासिक खर्च धान्न पनि डान्सबारले महिनाको चार लाख रुपैयाँभन्दा बढी कमाउनुपर्छ। 'तर, अहिले दुई लाख पनि कमाउने अवस्था छैन,' गुरुङ भन्छन्।
डान्सबार सुक्नुमा प्रशासनले नाइट लाइफमा गरेको कडाइ नै हो भनेर व्यवसायीहरू एकै स्वरले दुखेसो पोख्छन्। शान्ति सुरक्षाका नाममा सम्साँझै सुत्न उर्दी जारी गर्ने गृह प्रशासन भएको देशमा यस्ता व्यवसाय चलाउन कठिन छ। त्यसमाथि अहिलेको मादक पदार्थ सेवन चेकजाँचले रात्री जीवनलाई थप संकुचित बनाएको छ। 'यसो आउने दुईचार ग्राहकलाई पनि मापसेले तोडिदिएको छ,' राम गिरी भन्छन्।

यो व्यवसाय संकटमा परेपछि यसमा रोजगारी गरिरहेकाहरू सडकमा पुग्ने अवस्था आएको छ। 'डान्सबारमा नाच्ने केटीहरू वेश्यावृत्तिमा लाग्न थालिसकेका छन् भने केटाहरू ग्याङस्टरका रूपमा उदाइरहेका छन्,' नशा बारका सञ्चालक गिरी भन्छन्, 'राजधानीको स्वरूप कुरूप हुँदै गएको छ।'


ठमेलको नरसिंह चोकमा रहेको क्लब झकासका सञ्चालक राजकुमार लामा मंगलबार राती १० बजे सडक पेटीमा पुर्पुरोमा हात राखेर टोलाइरहेका थिए। पर्यटक तथा ठमेलको रात्री जीवन हेर्न आएका मानिसले खचाखच हुनुपर्ने चोक पुलिस र ट्राफिक प्रहरीले भरिएको थियो। 'आज त एक बोतल बियर पनि बेच्न सकिएन। व्यापार सुरु हुने बेलामा पुलिसले रेस्टुरेन्ट बन्द गर्ने उर्दी जारी गर्छन्, अनि कसरी गरिखान सकिन्छ?' लामा प्रश्न गर्छन्। तर, उत्तर दिने निकाय चुप छ। ठमेलको छविलाई सुधार्न रेस्टुरेन्ट व्यवसायीले धेरै दुःखकष्ट भोगे पनि यो जहिले पनि वेश्यावृत्ति हुने ठाउँको रूपमा मात्र परिचित भइरह्यो। यसको मार रात्रीकालिन व्यवसायमा परेको छ। ठमेलमा जसले पनि नराम्रो काम हुन्छ भन्दै गलत दृष्टिकोण राख्ने गरेकाले राम्रो नियतले व्यवसाय गर्नेहरूको पनि बिल्लिबाठ भएको अनुभव उनको छ। उनकै कुरामा सही थाप्छन्, युनिक डान्स बारका रुद्रबहादुर थापा। उक्त बारमा २५ जनाले रोजगारी पाएका छन्। उनी हिसाब गर्छन्, 'यी २५ जनाको कम्तीमा पाँच जनाको परिवार छ। यही अवस्थामा बार बन्द गरिए धेरैको मुखमा माड लाग्न गाह्रो हुन्छ।'

छैनन् नाइट क्वीन
कुनै बेला यस्तो थियो काठमाडौँमा एकसेएक नर्तकीहरू थिए। काठमाडौँको नाइट लाइफ उनीहरूकै वरिपरि घुम्थ्यो। डान्सरकै नाममा खोलिएका डान्सबारले करोडौँको व्यापार गरे। तर, अहिले अवस्था बिल्कुलै भिन्न भएको छ। यो व्यवसाय ओरालो लागेपछि डान्सरहरू विदेशिन थालेका छन्। मानव तस्करका पहिलो नजर डान्सरमा परिरहेको छ। भिजिट भिसामा दुवई, मलेसिया, सिंगापुर, दक्षिण अफ्रिकासम्म नर्तकी सप्लाई भइरहेका छन्। 'राती २ बजेसम्म डान्सबार खोल्न पाइहालियो भने पनि नाच्ने केटी पाउन मुस्किल छ,' एक व्यवसायी भन्छन्। आफैँले ट्रेन गरेको केटी पनि तीन महिना टिकाउन गाह्रो छ। ग्राहकका रूपमा आउने दलालले ललाइफकाई केटीहरू उछिट्याइहाल्छन्।
विदेशमा राम्रो कमाइ गरे पनि उनीहरू जोखिमपूर्ण अवस्थामा छन्। डान्सरका रूपमा काम गर्न गएका युवती बेचिएको र जबर्जस्ती यौन व्यापारमा लगाइएका थुप्रै घटना सार्वजनिक भइरहेका छन्।
डान्सबारका डान्सरलाई विदेश पुर्‍याउन संगठित समूह नै सक्रिय रहेको बताउँदै गिरी भन्छन्, 'वास्तवमा मानव बेचबिखन त त्यो हो नि, खै त सरकारले नियन्त्रणको प्रयास गरेको? प्रहरीले यदाकदा एयरपोर्टबाट केही केटीलाई समाते पनि अहिलेसम्म यो धन्दामा लागेका कोही पक्राउ परेका छैनन्। एक वर्षअघिसम्म दलालहरूले एयरपोर्टमा ११ हजार घुस बुझाएर केटीहरू विदेश उडाउँथे। अहिले त्यो रकम बढेर २६ हजार पुगेको छ। कलाकारका नाममा विदेशमा नर्तकी सप्लाई गर्नेहरूको धन्दा दिन प्रतिदिन फस्टाइरहेको छ। हरेक दिन दुई सयभन्दा बढी केटी विदेशका क्लब तथा डान्सबारमा नाच्ने भन्दै उडिरहेका छन्।

 

 
 
नाच्नु गलत भनेर कहाँ लेख्या छ? : रीना परियार
सात वर्षअघि धादिङबाट कामको खोजीमा काठमाडौँ आएकी थिएँ। सुरुमा गार्मेन्टमा काम गरेँ। मासिक १५ सय तलब आउँथ्यो। कोठाभाडा तिर्न र दुई छाक खान धौधौ थियो।
सबैले राम्री छ्यौ भन्थे। यस्तो राम्री मान्छे त हिरोइन हुनुपर्छ भनेर उक्साउँथे। मेरो हाइट पनि ठिकै भएकाले म हिरोइन बनेर तहल्का मच्चाउनसक्छु भनेर सुझाव दिने थुप्रै भेटिएका थिए। गार्मेन्टमा काम गर्दागर्दै एकजना दाइले मलाई डान्स सेन्टरमा भर्ना गरिदिनुभयो। गाउँमा मादल वा पञ्चैबाजा बजेपछि कम्मर मर्काइहाल्नुपर्ने बानी परेकी मैले छोटो समयमै डान्स सिकेँ। त्यसपछि त्यही डान्स सेन्टरले विभिन्न स्टेज कार्यक्रम र म्युजिक भिडियो तथा फिल्मको गीतमा साइड डान्सरको रूपमा नाच्न लगायो। रातदिन सुटिङमा गए पनि पेट भर्न भने गाह्रो! म्युजिक भिडियोका निर्देशकदेखि ठूला फिल्मका निर्देशक तथा निर्माताहरूले जहिले पनि 'म तिमीलाई काम दिन्छु, तर आज यसो कतै एक रात बिताउन जाउँ' भन्दै प्रस्ताव गर्थे। अहिले गिनेचुनेका धेरै निर्देशकले धेरै पटक यस्तो अफर गरेका छन्। तर, मनले मानेन। त्यसपछि त्यो फिल्ड छोडेर म डान्सबारमा नाच्न थालेकी हुँ। नाच्नु गलत भनेर कहाँ लेख्या छ?
म यो लाइनमा छिर्दा डान्सरहरूको काठमाडौँमा चकचकी थियो। रेस्टुरेन्टमा गेस्टहरू मारामार हुन्थे। व्यापार राम्रो भएपछि तलब पनि राम्रै पाइन्थ्यो। तर, पछि बिस्तारै व्यापार हुन छाड्यो। कमाइ हुन छोडेपछि म पनि दलालमार्फत दुई पटक दुबई गएँ।
दुबईमा नाचेर पैसा कमाएर फर्किन निकै कठिन छ। धेरै दिदीबहिनी बिग्रेका मैले पनि देखेँ। विदेश गइसकेपछि जसरी पनि पैसा त कमाउनैपर्‍यो। यही बाध्यताको कारण विभिन्न सम्झौता गर्नुपर्ने हुन्छ। डान्स गर्दा कुनै ग्राहकलाई हात हल्लाएको मात्र मन पर्‍यो भने हातमात्रै हल्लाएर बस्नुपर्ने। खुट्टा उचालेको मन पर्‍यो भने खुट्टा उचाली मात्र रहनुपर्ने, निकै कठिन छ। डान्स बार सञ्चालकले सबै केटीलाई गेस्टसँग सुत्न जाऊ त भन्दैन। तर, प्रलोभन भने दिइरहेको हुन्छ। भनेको जति तलब नपाउनु, रातभर नाच्नु निकै कठिन छ। गेस्टलाई फोन गरेर पनि इन्टरटेन गर्नुपर्नेसम्मको काम साहुले गराउँछ। अझ सोझाको त झन् काम छैन। आधा पैसा त दलालले नै खाइदिन्छन्। विदेशको तुलनामा नेपालको डान्सबारमा काम गर्न निकै सजिलो छ। यहाँ आउने ग्राहक भनेका नेपाली दाजुभाइ नै हुन्छन्। उनीहरू रक्सीले जति नै माते पनि सम्हाल्न सकिन्छ। विदेशमा देख्दै डरलाग्दा हब्सी रक्सीले मातेको तालमा जाइलागेपछि केही पनि गर्न सकिँदैन। त्यो बिरानो ठाउँमा आफ्नो भन्ने को हुन्छ र? त्यसैले जोखिमै-जोखिम मोलेर विदेश जानुभन्दा यहीँ सुखदुःख गरेर खान सके राम्रो। तर, यहाँ जहिले पनि त्यही एउटै कुरा छ, राती कति बजेसम्म खोल्ने? यो समस्या नै होइन। कमसेकम राती दुई बजेसम्म डान्सबार सञ्चालन हुने हो भने हामी काम गरेर खानेका लागि तनाव हुँदैनथ्यो। डान्सबारमा नाचेर पैसा कमाउन थालिसकेपछि अरू काम गरेर घर खर्च टार्न मुस्किल हुन्छ। धेरै पैसा चलाएपछि थोरैमा आँखा जाँदैन। डान्सबारबाट निस्किएपछि धेरै केटीहरू गलत धन्दामा लागेको देखेकी छु।
मेरो चार वर्षको छोरा छ। श्रीमान्सँग सम्बन्ध राम्रो छैन। छुटिइसक्यौँ भन्दा पनि हुन्छ। अब मैले आफूले जानेको सीप देखाएर खान नपाउने भएँ भने के गर्ने? कसरी पढाउने छोरा? त्यसैले डान्स तथा डिस्कोमा काम गर्ने सबै खराब नै हुन् भनेर सोच्न छोड्नुपर्‍यो। मन मिलेर कसैले कसैसँग मोजमस्ती गर्‍यो भने त्यसमा आपत्ति मान्नुपर्ने कुनै कारण छैन। काठमाडौँ डान्सबार बन्द भएपछिको केटीको पीडा हेर्न दुबई मलेसिया जानुपर्छ। त्यहाँ पुगेका धेरैको जीवन सुखी छैन। अधिकांश केटी निकै जोमिख मोलेर काम गरिरहेका छन्।

म त बकाइदा कलाकार : जुली गुरुङ
रात्रीकालीन व्यवसायमा लागेको चार वर्ष भयो। मैले एक कक्षा पनि पढेकी छैन। गाउँकै एकजना दिदीले काठमाडौँ काम गर्न जाउँ भनेर यहाँ ल्याउनुभएको हो। सुरुमा मैले दोहोरी साँझमा काम गरेँ। चार वर्ष जति त्यहाँ दोहोरी गाएँ। मलाई नाच्न पनि खुब रहर थियो। त्यसैले पछि डान्स बारमा आएकी हुँ। मलाई गायकबाट डान्सर हुँदा कुनै पनि फरक परेको छैन। नाचे पनि, गाए पनि कला नै देखाएको हो क्यारे। मलाई थाहा छ डान्सबारमा नाच्ने हामीहरुलाई समाजले राम्रो नजरले हेर्दैन। अझ जो हाम्रो डान्स हेर्न आउँछन्, तिनले पनि इज्जत गर्दैनन्। तर, मलाई यसले केही फरक पारेको छैन। मजस्ता नपढेका र अलिअलि कला भएकाहरुले गर्ने कामै यही हो। मलाई अचम्म लाग्छ, कहिलेकाहीँ, बाहिर यस्तै गीतमा नाच्दा सांस्कृतिक कार्यक्रम हुन्छ, हामी नाच्दा गति छाडेको रे! म त बकाइदा कलाकार हुँ।
मैले आफूलाई बिगार्न चाहेँ भने डान्स बारमा दुनियाँले देख्ने गरी किन नाच्नु? गुपचुमै त्यस्तै काम गरे भइहाल्यो नि। तर, म चाहन्नँ। त्यसैले डान्स गरेर वा गीतै गाएर जीवन चलाइरहेकी छु। म पनि एकपटक दुबई पुगेकी हुँ। उमेर कम भएकाले एकमहिना भन्दा बस्न पाइनँ। तर, त्यो एक महिनामा जे देखेँ त्यो पनि मेरा लागि राम्रै सिकाइ भएको छ। पैसा कमाउने आशामा मान्छे बिगार्ने रहेछ विदेशले। त्यसपछि गएकी छैन। काम राम्रै गर्‍यो र व्यवसाय पनि राम्रै चल्यो भने त्यहाँ जति पैसा त यहीँ कमाइन्छ नि।
हाम्रो पेसामा कमाउने भनेको उमेरमै हो। त्यसैले अहिले म कमाइरहेकी छु। कहिलेकाहीँ अलिअलि पैसा घर पठाउँछु । बाँकी जम्मा गरेकी छु। यही पैसाले गायिका हुने रहर छ। दसँैपछि एउटा एल्बम निकाल्छु। रात्रीकालिन व्यावसायीप्रति सबैले हेर्ने नजर बदल्नुपर्छ भन्ने मेरो एउटै माग हो।

काम भनेको कामै हो : शान्ति तामाङ

 
मेरो घर हेटौँडा हो। डान्सबारमा काम गर्न थालेको दुई वर्ष भयो। मैले ग्राहकको अर्डर लिने र स्वागतसत्कार गर्ने काम गर्छु। गाउँकै स्कुलमा एसएलसी पास गरेपछि पढेको छैन। विवाह पनि गरिसकेँ। श्रीमान् दिउँसो अन्तै काम गर्नुहुन्छ। उहाँले नै मलाई यहाँ काम गर्न भन्नुभएको हो। 'बिग्रिने भए म काम गर्न गएका बेला पनि बिग्रिहाल्छौ नि' भनेर काम गर्न डर नमान्न भन्नुहुन्छ। सधैँ पुर्‍याउन र लिन आउनुहुन्छ। हाम्रो नौजनाको परिवार छ। त्यसैले खानका लागि काम त गर्नैपर्छ। केहीले हाम्रो काम, पेसा र बाध्यता बुझेका हुन्छन्। केहीले नराम्रो व्यवहार पनि गर्छन्। हामीले त उहाँहरुले अर्डर गरेको खाना (पेय पनि) ल्याइदिने र एक वचन मिठो बोलिदिने हो। हामीले मुस्कुराउँदा कसैको तनाव दूर हुन्छ भने हाँसो नै त हो किन नबाँड्ने भन्ने सोच्छु। अहिले हाम्रो व्यवसाय पहिलेजस्तो चलेको छैन। यसैगरी केही समय सुख्खा हुने हो भने त हाम्रै डान्सबारबाट मजस्ता ४० जना बेरोजगार हुन्छौँ। त्यसैले यो व्यवसायप्रति र हामीप्रति हेर्ने दृष्टिकोण फेर्न आग्रह गर्छु। काम भनेको जे गरे पनि कामै त हो नि। हैन र?

केटाले बढी नै कला देखाउनुपर्छ : कुमार लामा, डान्सर
म पहिला फुटबल खेल्थेँ। घर मेरो मकवानपुरको पालुङमा पर्छ। डान्सबारमा नाच्न थालेको १० वर्ष भयो। यो क्षेत्रको उतारचढाव निकै देखेको छु। केटीको तुलनामा हामीले बढी नै मेहनत गर्नुपर्छ। म अहिले बिबोइङमा आफ्नो कला देखाउँछु। हिन्दी तथा अंग्रेजी गीतमा पनि नाचिन्छ। डान्सबारमा थुप्रै केटाहरूले रोजगारी पाएका छन्। यो व्यवसाय धराशायी हुँदा हाम्रो रोजीरोटी गुम्छ। हामी सडकमा आइपुग्ने अवस्था आउँछ। 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार