मिथिला राज्य संघर्ष समितिले सोमबार आयोजना गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा चारजनाको ज्यान गयो। घाइतेकै लाममा संयोजक परमेश्वर कापडी यतिबेला टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्। त्रिभुवन विश्वविद्यालय, मैथिली केन्द्रीय विभागका सह-प्राध्यापक कापडी २० वर्षदेखि अध्यापनरत छन्। आफू संस्थापक संयोजक रहेको संघर्ष समितिमा तीनपटक पुनर्गठन हुँदा पनि निरन्तर प्रमुख रहेका कापडीले विष्फोटको घटना राजन मुक्ति समूहले गराएको पत्याउनै मानेनन्। 'मोर्चामा एउटासँग लडिरहेको बेला परको कुनै अर्कैले प्रहार गर्यो भन्ने कसरी मान्न सकिन्छ?' मंगलबार बेलुकी शिक्षण अस्पताल पुगेका नागरिक संवाददाता गिरीश गिरीसँग उनले भने। उनको अभियान र घटनाकै सेरोफेरोमा रहेर गरिएको कुराकानी :
मिथिला राज्य संघर्ष समितिको सुरुवात कहिले र कसरी भयो?
- दोस्रो जनआन्दोलन जनकपुरमा सुरु हुनु एक दिनअघि हामी ६-७ जना स्थानीय बुद्धिजीवी मिलेर केही नेताहरूकहाँ गएका थियौं। सुनिल मल्लिक, वृषेशचन्द्रलाल सबै थियौं। हामीले नेताहरूलाई सोध्यौं, 'यो आन्दोलनले हामीलाई के दिन्छ?' त्यतिबेलै लोकतन्त्रमात्र होइन, संघीयता पनि चाहिने कुरा उठाएका थियौं। २०६३ जेठमा रामानन्द युवा क्लबमा संघीय संरचनामा मिथिला राज्य नाम दिएर बृहत कार्यक्रम गर्यौं। त्यसैताका 'मिथिला राज्य संघर्ष समिति' गठन गर्यौं। हामीले यो मुद्दा उठाएर राजनीति गर्ने प्रयास कहिल्यै गरेनौं। हामी भाषा संस्कृतिका अनुरागी मात्र हौं। हामी भाषा संस्कृतिको कुरा किन उठाउछौं भने हाम्रो देशमा लोकतन्त्र र गणतन्त्रले मात्र हुँदैन। हामीलाई पहिचान र स्वायत्तता नै चाहिन्छ। मानचित्रमा मिथिला राजनीतिक रूपमा कतै छैन, तर आत्मामा हाम्रो सनातन मिथिला अहिलेसम्म बसिरहेको छ।
पछिल्लो घटनाक्रम कसरी विकास भयो?
- माओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चासँग लेनदेनको कुरा भन्दै 'मधेस र विराट प्रदेश' को कुरा ल्याउनुभयो। त्यसो भए मिथिला खै त? जसले जे गरे पनि हाम्रो मिथिला राज्य स्थापित भएरै छाड्छ र जनकपुरै राजधानी हुन्छ। त्यसलाई कसैले रोक्न सक्दैन। त्यसका निम्ति हामीले धेरै 'होमवर्क' गरिसकेका छौं।
मिथिला राज्यको घेरा कस्तो हुन्छ? कुन-कुन क्षेत्र पर्छ?
- पौराणिक मिथिला र अहिलेको मिथिलामा धेरै अन्तर भए पनि स्वयं संविधानसभाका विभिन्न समितिहरूले मिथिला नाम छुटाउन सकेका थिएनन्। ६ प्रदेशकै कुरा गर्नेले पनि 'मिथिला, भोजपुरा, कोच, मधेस' भनेका थिए। मधेसवादीहरूले 'एक मधेस एक प्रदेश' भने पनि हामी सुरुबाटै पर्सादेखि सुनसरीसम्म यसको पेरिफेरिका कुरा उठाइरहेका छौं।
यसमा त भोजपुरी भाषी पनि पर्छन्, मिथिला मात्र नाम राख्दा समस्या हुँदैन?
- हामीले भनेको प्रदेशभित्र जुनसुकै भाषा र संस्कृतिको मान्छे अटाउन सक्छन्। हामीले मिथिला मात्रै नभनेर मिथिला भोजपुराजस्ता नाम जोडिए पनि स्विकार गरेकै हौं। मूल कुरा हाम्रो जातीय पहिचान छुट्नुभएन भन्ने हो। यसमा सबैको पहिचान र स्वायत्तताको कुरा रहनेछ। हाम्रो क्षेत्रमा नेपाली भाषी पनि थुप्रै छन्। नेपालीभाषीलाई धपाउने त होइन नि। मुसलमान पनि छन्। थुप्रै अल्पसंख्यक छन्। हामीले अहिलेसम्म मधेसवादी राजनीतिमा लागेकाहरूले जस्तो 'पहाडे मधिसे' का कुरा गरेकै छैनौं। हामीले उठाएको मिथिला र मिथिलत्व नछुटोस् भन्ने मात्रै हो।
राज्यको नाम मिथिला नदिएर पनि मैथिली भाषा र संस्कृतिको निम्ति काम गर्न सकिँदैन र?
- यो त चिनीलाई खुर्सानी भनिदिए पनि फरक पर्दैन भनेजस्तो हो। मिथिला नाम जबसम्म दिइँदैन, त्यो भावना विकासै हुन सक्दैन।
तपाईंहरूले संविधान बनाउन प्रतिनिधि पठाइसकेपछि उहाँहरूले किन यो कुरा उठाउनुभएन?
- हाम्रो राजनीतिमा आदर्श र प्रतिवद्धता भन्ने शब्दको अवमूल्यन भइसकेको छ। अहिलेसम्म नेपाल बनाउन एकजना पनि वास्तविक अर्थमा नेता भइदिएनन्। एकथोक गरिदिऊन् भनेर पठायौं, उता पुगेर सबै कुर्सीको खेलमा लागे। यस्तोमा हामीले आफ्ना मुद्दा उठाएनौं भने सेलाएर जाने अवस्था आयो। त्यसैले अत्यन्त भद्र तरिकाले आन्दोलनमा आएका हौं। कहिले गीत सुनाएर आन्दोलन गर्छौं, कहिले सडकमै कविता गोष्ठी राख्छौं। चक्काजाम भन्दा पनि 'साँस्कृतिक चक्काजाम' भन्छौं।
के-के गर्नुभयो अहिलेसम्म?
- हामीले धेरैचोटि भाषा र संस्कृतिका कार्यक्रम गरेका छौं। चारचोटि मिथिला महोत्सव गर्यौं। मैथिली दिवस अनेकौंचोटि भएको छ। मिथिला राज्य माग्दै कार्यपत्र, कार्यशाला र गोष्ठी अनेकौं भइसकेका छन्। लेखरचनाका माध्यमबाट उत्तिकै गएका छौं। माओवादीले त्यत्रो वर्ष लडाइँ गरे पनि सम्झौतामै आएर टुंगिनुपर्यो। मधेसवादीहरूले उत्तिकै लडे, आखिर सम्झौतामै आइपुग्नुपर्यो। जबसम्म विचारलाई कसैको आत्मामा पुग्नेगरी आन्दोलन गरिँदैन, केही प्राप्ति हुँदैन। हामी एक्टिभिस्ट भएर भाषिक र साँस्कृतिक रूपमा राज्यलाई चाहिने सबै तŒव इंगित गर्नसक्छौं। तर, पछिल्लोपटक संविधान तयार पार्ने मुखैमा माओवादी अध्यक्षले 'मधेस विराट' भनिदिएपछि हामीलाई धेरै नराम्रो लाग्यो। हामी अब यसमा दबाबै पुर्याउने हिसाबले अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। तैपनि हाम्रो धर्ना शान्तिपूर्ण नै थियो।
सोमबारको कार्यक्रम कसरी र कहिले तय भएको थियो?
- हामीले १३ गते सिलसिलाबद्ध जानेगरी कार्यक्रम तय गरेका थियौं। कार्यक्रमको सुरुवात १४ गतेबाटै भयो। सुरुमा सिडिओमार्फत् प्रधानमन्त्री, सभामुख र सबै दलका नेतालाई ज्ञापनपत्र पठायौं। दोस्रो दिन रामानन्द चोकमै एक घन्टा चक्काजाम गरेपछि माओवादी अध्यक्ष र गृहमन्त्रीको पुतला दहन गर्यौं। त्यसै बेलुकी जानकी मन्दिरमा मैनबत्ती बालेका थियौं। तेस्रो दिन पिढारी चोकमा दुई घन्टा चक्काजाम थियो। यसरी एकपछि अर्को कार्यक्रम राख्न गाह्रो भएन। मिथिला रहेन भने हाम्रो जिन्दगी नै रहँदैन जस्तो हामीलाई लाग्न थालिसकेको छ। सबैमा त्यो उकुसमुकुस बढिरहेका बेला कसैले सुरुमात्र गरिदिए पुग्ने थियो। हामीले न पर्चा पोस्टर बनायौं, न ब्यानर। हामी न कसैको विरोधमा थियौं, न आक्रामक। भाषा संस्कृतिका क्षेत्रमा काम गर्ने सयभन्दा बढी संघसंस्थाको ऐक्यबद्धता काफी थियो। अधिकारकर्मी, नाट्यकर्मी, साहित्यकार, लेखक, बृहत्तर जनकपुर, बार एसोसिएसन, क्लबहरू, प्राध्यापक र शिक्षकहरूका संगठन सरिक भए। ५७ वटा संघसंस्थाको प्रतिनिधित्व थियो।
घटनाको दिन के भएको थियो?
- हामीले रामानन्द चोकमै तीन घन्टाको चक्काजाम आह्वान गरेका थियौं। सडकमै दरी ओछ्याएर माथि पाल झुन्ड्याएका थियौं। दुई घन्टा बितिसकेको थियो। एक घन्टा बाँकी रहँदा बोर नहोस् भनेर कवी गोष्ठी र गीत सुरु गरिदिएका थियौं। त्यसैगरी १०-१२ जना विभिन्न क्षेत्रका व्यक्तिलाई संक्षेपमा बोल्न दिने योजना थियो। त्यहीबेला अचानक विस्फोट भइदियो। हामीले न कसैलाई बाधा पारेका थियौं, न वैरभाव गरेका थियौं। यस्तो किन भयो भनेर साह्रै छटपटी लागिरहेको छ।
कसले किन यस्तो गर्यो होला?
- धेरै कुरा देख्दैछु। मिथिलाविरोधी तŒव धेरै छन्। मधेसवादीलाई नै के भएको छ भने नेपालको पश्चिमतिर मधेस छैन। त्यसैले उनीहरू मिथिलाको भूभागलाई मधेस भनेर उचाल्न आइपुगेका छन्। भोलि मिथिला भइदियो भने उसले जुन नारा दिइरहेको छ, उसको जुन अस्तित्व छ, त्यसैमा प्रहार हुन्छ। एउटै क्षेत्रलाई मिथिला पनि बनाउनुछ र मधेस बनाउने जोड पनि चलिरहेको छ। मधेसको प्रामाणिकता मिथिलाको तुलनामा धेरै कम छ। मिथिलाको आफ्नो भाषा छ, आफ्नो संस्कृति छ, आफ्नो साहित्य छ, आफ्ना गीत छन्। तर, उसको के छ? केही छैन। मधेसको नारा दिइरहेका प्रायः सबै नेताहरू आफैं मिथिलाबासी हुन्।
यो कुरा उनीहरू किन उठाउँदैनन् त?
- उनीहरु भेषभूषाकै कारण आफूहरू आजसम्म हेपिनुपरेको कुरा गर्छन्। धोती लगाउनेलाई आजसम्म मान्छे नै नमानेको पीडाका कुरा गर्छन्। त्यसैबाट आक्रोशित भएर प्रत्येकपटकका आन्दोलनमा यो आक्रोस थपिँदै गयो। हुन त सद्भावना पार्टी थियो। तर, ऊ प्रभावकारी भइदिएन। यता आएर मधेस आन्दोलनपछि यो कुरा एकदमै बढेर गयो। जबकि सबैलाई थाहा छ त्यो मधेस आन्दोलनमा पनि नेताहरू थिएनन्, हामी नै थियौं। त्यो वास्तवमा साँस्कृतिक आन्दोलन थियो। नेताहरूले त बीचैमा सम्झौता गरिदिएका थिए। मधेस आन्दोलनको जुन भावना थियो, त्यसलाई मधेसवादीले नै लैजान सकेनन्।
अब हिन्दीकै कुरा गरिन्छ। हाम्रो मैथिली, भोजपुरी, अवधि जुनपनि भाषा छन् ती मातृभाषा हुन्। हिन्दी यहाँ कसको मातृभाषा हो? कुन गाउँमा हिन्दी बोलिन्छ? भारतमै त छैन नेपालमा कसरी हुन्छ? अहिले नेताहरूलाई सरकार टिकाउन, आफ्नो माग स्वीकृत गराउन मधेसको नाम लिनुपरेको छ। त्यसैले मधेसका कुरा मात्र अघि बढ्यो, 'भाँडमा जाओस् मिथिला' भन्न थाले। संविधान निर्माण र राष्ट्रको पुनर्संरचनाका कुरा हामीकहाँ जबसम्म मोलतोलको कुरा हुन्छ, तबसम्म यस्तै भइरहने हो।
अब तपाईंको आन्दोलन कसरी अगाडि बढ्छ?
- नभएको कुरालाई हो भनेर मनाउन एकथरिले आन्दोलन गर्छन् भने अर्को आन्दोलन अस्विकृत गरिएको कुरा स्विकार गराउन हुन्छ। हामीले त सनातनकालदेखिको हाम्रो मिथिलाको कुरा गरेका हौं। यो त सफल भएरै छाड्छ। बरु यो घटनाले ऊर्जा दिएको छ। यसको संवेग अब नेपाल मात्र होइन विश्वभर गएको छ। हामीलाई त राजनीति चाहिँदैन। हामी कसैलाई कहिल्यै राजनीति गर्नु छैन। हामी भावनामा बगेका छौं। हामी संविधान र संघीयता होस् भन्ने चाहिरहेका छौं। हामी पहिचानको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार भएर बसेका छौं।
