Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

कोइराला सभापति हुन्, तर मेरा नेता होइनन्: चक्र बाँस्तोला

E-mail Print
(24 votes, average 4.33 out of 5)
बीपी कोइरालाको स्कुलिङमा राजनीति अघि बढाएका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला बहुदलीय प्रजातन्त्रका १२ वर्षभरि राजनीतिको केन्द्रीय भूमिकामा रहे। राजा ज्ञानेन्द्रको कदमपछि सम्भव भएको माओवादी र 'संसदवादी' दलबीच कार्यगत एकताका एक सूत्रधार उनीमार्फत् नै गिरिजाप्रसाद कोइरालाले पहिलोपटक प्रचण्डसँग भेटेका थिए। त्यसपछि पटक पटकका छलफलपछि सम्भव १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, गणतन्त्र, संविधानसभा चुनाव आदि सम्भव भए। बाँस्तोलाचाहिँ बीचैमा कतै हराए, वा उनको भूमिका कांग्रेस नेतृत्वले जरुरी ठानेन।

नेपालको राजनीतिक इतिहासमा चर्चित विमान अपहरण काण्डसँगै आम नागरिकबीच सुनिएको बाँस्तोलाको नाम पछिल्लो समय गुमनामझैं छ। पटक पटक मन्त्री र राजदूत भएका यी नेता अहिले लामो समययता 'सत्ताको मेच'बाट टाढा छन्। त्यसैकारण पनि उनी यसपल्ट 'घुम्ने मेचमाथि' छन्। गहिरो अध्ययनबाट बौद्धिकता उचाइ निर्माण गरेका यी विद्वानले बसन्त बस्नेतका प्रत्येक प्रश्नको जवाफ 'एउटा कुरा के भन्देखिन्' भन्दै सुरु गरे, अनि धेरैवटा कुरा गरे।


लामो समय राजनीतिको केन्द्रीय भूमिकामा रहनुभयो, अहिले त सिनभन्दा बाहिर देखिनुहुन्छ नि?
यहाँ राजनीति भन्नाले पदीय जागिर भन्ने बुझिँदो रहेछ। अझ कांग्रेसमा त पदमा नहुँदा राजनीति नै नगरेजस्तो हुने। संविधानसभामा म थिइनँ, पार्टी केन्द्रीय कार्यसमितिमा पनि छैन, त्यसैले म राजनीतिमै छैन कि जस्तो देखिन गएको हो।
तेस्रो धार थियो नि त तपाईंहरूको?
महाधिवेशनको बेला थियो। धेरै सोचेर होइन, हतार हतार गरेका थियौं। कांग्रेसमा मात्रै होइन, नेपाली राजनीतिमै नयाँ सोच, नयाँ लिडरसिप चाहिएको छ। म कांग्रेसको भएको हुनाले त्यसमा अझै आवश्यक ठान्ने भएँ। संसारमा साह्रै ठूलो परिवर्तन भइरहेको छ। त्यसलाई समाउन सक्ने नेतृत्व चाहिन्छ।
कांग्रेस, माओवादी र एमाले तीनै दलमा चर्को आन्तरिक मतभेद र वैचारिक डेभिएसन देखिन थालेको छ। प्रत्येक दलका असन्तुष्ट वा आफूहरूसँग कुरा मिल्नेसँग मिलेर त्यस्तो धार बनाउने हो कि?
त्यस्तो त हुँदैन। आफ्नै दलमा त जुट्न सक्दैनन्। फेरि विवादको चुरोमा विचार भए एउटा कुरा, यहाँ त महŒवाकांक्षामात्रै छ।
माओवादी द्वन्द्व उत्कर्षमा छ। विचारमै मतभेद भएको हो रे!
त्यत्ति धेरै होइन। विचारको हो भनेदेखि त क्रस पार्टी एक्टिभिटी पनि सम्भव हुन्छ। महŒवाकांक्षाको लडाइँ नै हो यो।
तपाईं त पहिल्यै भीमबहादुर तामाङजस्तो पूरानो जनजातीय पृष्ठभूमि भएको नेतालाई अघि लगाएर हिँड्नुभएको थियो। लामो इतिहास भएका नेताहरू पनि हिजोआज छुट्टै जातीय भावना सम्बोधन गर्ने दल खोलुँ भन्दैछन्। कसरी मूल्यांकन गर्दैहुनुहुन्छ?
भीमबहादुर दाइलाई सभापतिमा उठाउनुका पछाडि कांग्रेसलाई अलग पहिचान दिने जमर्को थियो। कांग्रेसभित्रै पनि त्यसलाई बुझेनन्, बाहिर पनि बुझेनन्। सुशील कोइराला, म वा नरहरि आचार्य कोही नेतृत्वमा भइरहँदा कसरी नयाँपन आउँथ्यो र!
तपाईं, नरहरि आदि नेतृत्वमा गएचाहिँ नयाँ हुने होइन र? अझै पूरानो मान्छेलाई ...?
होइन। म उठ्दा चेन्ज हुँदैन। तर उहाँ उठ्दा 'ए, कांग्रेसको सभापति तामाङ पनि हुन्छ?' भन्नेपट्टि मान्छेको ध्यान तानिन्छ। दोस्रो कुरा, उहाँले कांग्रेसको पूरानो र नयाँ इतिहासलाई जोड्नुहुन्छ।
त्यो त सुशीलले पनि त जोड्नुहुन्छ नि?
होइन, उहाँले जोड्नुहुन्न। गिरिजाबाबु, सुशील भनेको त उही पूरानै हो। भीमबहादुर आउँदा 'इट इज चेन्ज।' ब्रेक भयो त्यो। बिपीका पालामा हाम्रो पार्टीमा मधेसी, पहाडी, जनजाति आदि सबैखाले नेता थिए। अहिले त्यस्तो एकदमै कम छ। अहिले पहिचानको कुरा आइरहेको छ। त्यसैले भीमबहादुर दाइ अझै सान्दर्भिक हुनुभएको छ।
फेरि अबको महाधिवेशनमा उहाँलाई उठाउने?
मान्नुभयो र स्वास्थ्यले साथ दियो भने उठाउने।
अनि पहिलेजस्तै हार्ने होला?
म्यासेज जानुपर्छ चुनावमा, हारजित ठूलो कुरा होइन।
संविधानसभाको अवसान, विघटन, हत्या आदि भयो भन्छन्, खासमा भएको के हो?
एक, दुई वर्षमा संविधान बनाउने एजेन्डा आफैंमा यथार्थवादी थिएन। दुई, जुन मोडलमा हामी संविधान बनाउँन जाँदैथियौं, त्यो गलत थियो। चार वर्ष कुनै अवधि संविधान निर्माणका लागि लामो थिएन। जेहोस्, संविधान बन्नुपर्थ्यो। संविधान बन्नु नबन्नुको मुख्य जिम्मेवार को हो भन्ने प्रश्नबारे चाहिँ मलाई अचम्म लाग्छ। प्रधानमन्त्रीलाई दोस्छन् कोही। संविधानसभाका अध्यक्षको कुनै भूमिकै देखिँदैन। संविधानसभा आउँदा पनि देखिँदैन, जाँदा पनि देखिँदैन। त्यसैले म त्यो मोडल नै गलत थियो भन्दैछु। प्रधानमन्त्रीले त सरकार चलाउने हो, संविधान बनाउने होइन।
भट्टराई त शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्छु भनेरै प्रधानमन्त्री बनेका होइनन् र?
हुन्, तर संविधानका लागि डाइरेक्टली रेस्पोन्सिबल को हुन्छ त? त्यसको अध्यक्ष हुँदैन?
संविधानसभाका अध्यक्ष त दलहरूबीच सहमति नभई मेरोमात्रै प्रयत्नले कसरी संविधान बन्छ भनिरहनुभएको छ नि?
प्रयत्नको कुरो होइन यो। हाउस नै नचलाएपछि केको प्रयत्न? घरघरै संविधान बनाएर त हिँड्दैन नि मान्छेले। हाउस चलाउनुपर्‍यो, आएर बस, कुरा छिचोल भन्नुपर्‍यो, परेन?
धेरै विवाद मिलिसकेका थिए, केहीमात्रै बाँकी थिए भन्ने तर्क पनि छ। तीचाहिँ मुख्य दलले मिलाउनुपर्ने होइन?
म त्यहाँभित्र छैन, त्यसैले सबै जान्ने कुरो भएन। तर संविधान दिन सम्भव थियोचाहिँ म भन्न सक्छु। मैले साथीहरूलाई भन्नेचाहिँ गरेको थिए, 'तपाईंहरू बेस्ट संविधान बनाउनतिर नलाग्नूस् है, वर्केबल बनाउनुस्।' हाम्रोजस्तो एकदमै तरल समाजमा निरन्तर परिवर्तन भइरहन्छ, त्यसैले एकैपल्टमा पूर्ण संविधान आउन गाह्रो छ।
कांग्रेस र एमालेले अन्तिम घडीमा पनि सरकारकै विषयलाई प्राथमिकता दिएको माओवादी आरोप छ।
पाँचबुँदे सहमति कुन विश्वासका आधारमा गरेका थिए? राजीनामा गर भन्ने आधार त त्यसमै छँदैछ। फेरि पनि कुरा मोडलकै हो, शान्ति प्रक्रियाको पूरै जिम्मेदारी प्रधानमन्त्रीले, संविधान निर्माणको पूरै जिम्मेवारी सभाध्यक्षले लिनुपर्ने होइन र? पहिलेदेखि नै किन यसो भएन, मलाई थाहा छैन। संविधान निर्माणको जिम्मेदारी सरकारको भनिरहने, अनि सरकार फेरिरहने भएपछि असर त परिहाल्छ नि।
सरकार भनेको प्रतिष्पर्धाका आधारमा फेरबदल भइरहने भएपछि पार्टीहरूको ध्यान त्यता जाने नै भयो, अनि संविधान त ओझेल पर्ने भइहाल्यो नि। यो गलत मोडलको बारेमा पहिले नै प्रष्टता आउनुपर्थ्यो।
कांग्रेस एमालेले पहिचानसहितको संघीयता अस्विकारेकाले कुरो नमिलेको रे!
फलानाले यो कुरा स्विकारेन भन्ने कुरो पनि मलाई बचकना कुराजस्तो लाग्छ। केटाकेटी कुरा। संविधानसभा भनेको सबैको विचार पस्ने ठाउँ हो। एउटाले भनेकै विचार मान्नुपर्ने भए त राजाकै संविधान मानेको भए भइहाल्थ्यो नि।
राज्यपुनर्संरचनाका विषयमा पनि मतभेद सल्टेन नि त?
संविधानसभाको यति लामो अवधि बितेर गयो। तर कहिले पनि राज्य पुनर्संरचनाको इन्टरनेसनल इम्प्लिकेसनको कुरै उठेन। हाम्रो जुन लोकेसन छ, त्यसले धेरैको ध्यानाकर्षण गरेको छ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको पक्षलाई राज्य पुनर्संरचनाको विषयले महŒव नदिएको जस्तो लाग्यो।
रिजनल इम्प्लिकेसनमै सबै लागिराखेका छन्। त्यो बढी महŒवपूर्ण होइन र?
रिजनल पनि होइन, निबर्ली इम्प्लिकेसन। भारतकै क्षेत्रमा बाँध बाँधिदा नेपालतिर डुबान हुँदोरहेछ नि त। त्यस्तै हाम्रो शासन प्रशासन चलाउँदा कसैलाई असर पर्दो होला। यता पनि ध्यान दिनुपर्छ।
यो क्षेत्रमा लामो अनुभव भएको नाताले तपाईंसँग कसैले यसबीचमा परामर्श लिए?
राज्य पुनर्संरचना भन्दा पनि संविधानसम्बन्धी एउटा कमिटीमा मैले हेड गरेको थिएँ। संविधान नबनेपछि त्यसको पनि औचित्य सकिइहाल्यो। फेरि यहाँ त वर्किङ कमिटीमा बसेपछि सभापति आफैं जानकार हुन्छ। उसले कसैलाई पनि सोध्नै पर्दैन। परमज्ञानी। कसैको सल्लाहको जरुरतै पर्दैन। फेरि सल्लाहकार पनि तिनैले राख्छन्। यो पद भन्ने कुरा यस्तै हुँदो रहेछ।
साँच्चैका सल्लाहकारबाहेकका मान्छेचाहिँ सल्लाहकार राख्न थालिएको हो?
(हाँसो)। थालिएको होइन, यो त चलनै भइसक्यो।
जे भए पनि संविधानसभा अवसान भइहाल्यो!
हो, भयो। यो दुःखको कुरो हो, तर आश्चर्यको कुरो होइन। संसारका धेरै संविधानको यही गति भा' छ। हामीले यत्रो मौका पाएर पनि गर्न सकेनौं, दुःखको कुरो हो। तर अचम्म वा लाज मान्ने कुरा होइन।
तीन महिना म्याद थप्ने कुरामा कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौलाले नै सुरुमा हस्ताक्षर गनुभएछ, बरु त्यसरी संविधानसभा बच्थ्यो कि?
यो त छापामै आइहाल्यो नि। मलाई सोध्नुहुन्छ भने म संविधानसभाको म्याद थप्ने पक्षमा थिइनँ, छैन पनि। झन्डै झन्डै काम सकियो, अहिले भयो, भरे नै हुन्छ भन्नु र म्याद थप्नुपर्छ भन्नु मिल्दोजुल्दो भएन। पार्टीहरूमा जिम्मेवारीबोध भएको भए यो विषय त्यतिबेलै टुंगो लाग्थ्यो। गल्ती गर्दै जाने, समय थप्दै जाने? तीन चार दलका आठ नेताले सबै नेपालीको भाग्य निर्धारण गर्नेथिए भने संविधानसभा किन चाहियो?
यत्तिकै छाडिदियो भने भताभुंग होला, आइडियोलोजिकल्ली गाइड पनि गर्नुपर्‍यो होला नि?
संविधान आइडियोलोजी होइन। आइडियोलोजीभन्दा बाहिर गएर सबैको मतैक्यले जारी हुने कुरा हो यो। एउटा पार्टी र विचारधाराको संविधान हुँदैन। सबैको विचारधारालाई मिलाएर सहमतिमा पुगिने हो। हरेक पार्टीले संविधानलाई आफ्नो डकुमेन्ट बनाउन थाले भने संविधान नै हुँदैन नि।
कांग्रेस सभासदहरू संविधानसभा पुनर्स्थापना गरौं भन्दैछन् नि?
म त्यसलाइ बहुलठ्ठी भन्छु। द्याट इज म्याडनेस। चार वर्षमा नसक्ने, अलिकति समय बढाइयो भने बनाउँछु भन्नु वाहियात कुरा हो। म सबै दलका सभासदलाई भन्छु, त्यहाँ मिटिङमा नेताहरूलाई गलहत्याएर ल्याऊँ भन्न सकेनन्? आज नेताहरूलाई दोष दिएर हिँड्छन्? यहाँ संविधान बनाउने बेला उनीहरू विदेश भ्रमणमा गए : वर्कसप सेमिनार, फलाना चिलाना भन्दै। पार्टीहरूलाई ल्याएर उभ्याउनु पर्ने होइन उनीहरूले?
कत्ति सभासद् तपाईंभन्दा जुनियर छन्, बेला छँदै बोलाएर हकारपकार गर्नुभएको पनि हुन्थ्यो होला नि त?
होइन, होइन। म न संविधानसभा, न पार्टी कार्यसमितिमा छु। मेरो के भूमिका हुन्छ?
पद नभए पनि नैतिक नेतृत्व त छ नि तपाईंको। चक्र दाइले कराउनुहुन्छ भनेर डराउँथे होलान्।
ए, त्यस्तो डराउँदैनन् आजकाल। जुन कुुर्सीमा छ, ऊसँग डराउने हो।
कांग्रेस पछिल्लो दिनमा रियाक्टिभ भएको हो?
खै कहाँ रियाक्टिभ भएको छ? मलाई त त्यो पनि भएको जस्तो लाग्दैन (हाँसो)। कांग्रेसमा सजीवता हराएको छ।
निष्प्राणै भयो?
त्यस्तै हो।
गिरिजाबाबुसँग तपाईंको सिधा पहँुच हुँदा कांग्रेसले संविधानसभा सकार्दै सकारेन होइन?
कसले भन्यो? यो फाल्तु कुरा हो। सात सालदेखि हामी उठाउने, अनि हामीलाई नै आरोप? अगेन ब्लेम गेम। ठुल्ठुला पार्टीहरू यस्तो फुच्चे खेलतिर लाग्नै हुँदैन।
गणतन्त्रमा जान पनि मान्नुभएन भन्छन्।
बकवास हो। कांग्रेसले भोट नहालेको भए गणतन्त्र आउँथ्यो?
वामपन्थीले त्यहाँसम्म घिसारेरै लगेको रे!
कसले घिसार्‍यो? निर्णय गरेरै गएको होइन हामी? एउटा कुरा चाहिँ हो- कांग्रेसले लजाएर गणतन्त्रको समर्थन गरेको हो।
संघीयताको कुरा पनि त्यस्तै हो भन्ने चर्चा हुन्थ्यो।
संघीयतामा जाने निर्णय त गरियो, तर देशलाई पूर्ण जानकारी दिइएन। माओवादीले आफ्नै संगठनात्मक संरचनामा संघ बनाउन खोज्यो। संघीयताबारे जनतालाई प्रष्ट गरिएन त्यसैले संघीयताले देश टुक्रिन्छ भन्ने जनतालाई परिरह्यो।
अर्को चुनाव गर्ने भन्दैछन्, चुनावको विकल्प होला त?
फेरि उही ताल त हो। अर्को चार वर्ष लगाउने होला संविधानसभालाई। त्यसैले त्यसको पनि औचित्य छैन।
माओवादीले त दुई तिहाई पुग्नेगरी अरु दलका पनि सभासद् जुटाएको खबर पनि आयो।
यसलाई मैले ब्लेम गेम भन्ने गरेको छु। यो खतरनाक छ। अहिले आएर दोष देखाउने होइन। जोसुकैको कारणले होस्, संविधान आएन, सकियो।
अब संविधान बनाउने बाटोचाहिँ के हो त?
संविधान निर्माणका क्रममा देखा परेका मतभेदलाई अझै बसेर टुंग्याउँदा पनि हुन्छ। जिम्मेवारीबोधका साथ संविधान निर्माण गरी सहमति खोजियो भने संविधान जारी गर्ने बाटो पनि त्यहीँ खुल्छ।
गोलमेच सम्मेलन गर्ने भन्नुभएको हो?
टर्मिनोलोजीतिर नजाऊँ। जिम्मेवारीबोधसहित सहमति खोजियो भने हुन्छ।
तर यही बीचमा राष्ट्रपति सक्रिय भइहाल्ने पनि सुनिएको छ नि?
राष्ट्रपतिले पनि बु‰नुहोला यी कुराहरू। उहाँले सोच्नुहोला केही।
प्रत्येक दलका नेतालाई बुझाउने खास मान्छे भएझैं राष्ट्रपतिलाई पनि बुझाउने खास मान्छे होलान् नि त?
होलान्। अहिलेको सरकार लेम डक हो। यो भनेको एकप्रकारले कामचलाउ नै हो। अहिले लेम डक गभर्मेन्ट, न्यायपालिका र राष्ट्रपतिमा राजनीतिको शक्ति केन्द्रित छ।
संसद नभएको बेला कार्यकारी अधिकार सरकारमा नै रहन्छ, सरकार माओवादीको हो, त्यसैले अहिले हामीले नै कदम चाल्ने हो भनी प्रधानमन्त्री सत्ता कब्जाको बाटोमा अघि बढ्ने सम्भावना कति देखिन्छ?
देखिँदैन। तर यसमा मेरो अर्कै कुरा छ। पायो भने कुन पार्टीले सत्ता कब्जा गर्न खोज्दैन? कसरी गर्ने भन्नेमात्रै कुरा हो। राजनीति भनेको अन्ततः सत्ता कब्जा नै होइन र? त्यसकारण यो व्यर्थको कुरा हो। त्यो त सरकार कब्जा मात्रै हो नि त!
होइन, हरेक पार्टी चुनाव लडेपछि के गर्न जान्छ? त्यही सत्ता सरकार तपाईं जे भन्नूस्, कब्जा गर्न जाने होइन र? वैधानिक, अवैधानिक, सामान्य, असामान्य : त्यतिमात्रै फरक हो। राजनीतिको उद्देश्य नै सत्ताकब्जा हो।
मधेसको पृष्ठभूमिबाट आउनु भो। एक मधेस एक प्रदेशको मुद्दालाई कसरी हेर्नुभएको छ?
रोचक कुरा। म पनि मधेसवासी हुँ। त्यो एक मधेस एक प्रदेश भन्नेले मलाई सोध्दा पनि सोध्दैन, टेरपुच्छर लगाउँदैन भने त्यसप्रति मेरो कमेन्ट पनि छैन, इन्ट्रेस्ट पनि छैन। हामी त्यहीँ छौं, हामीलाई सोध्दा पनि सोध्दैनन् भने कल्लाई चाहिएको छ, उसैसँग जान्छन्।
यो प्रश्न उनीहरूलाई सोध्यो भने शताब्दीऔं देखि सत्ताको स्वाद पाइराखेको पहाडिया वर्गसँग किन सोध्ने, सामान्य मधेसी जनतासँग पो सोध्ने हो त भन्छन् नि त?
अहिले त्यसको नेतृत्वमा बसेका सबै सरकारकै नुनपानी खाएर बसेका छन् त, छैनन् र? जुनसुकै दलको सरकार पनि उनीहरू नै बसेर आइरहेका छन्, अनि कुनचाहिँ सरकार र जनताको कुरा गर्छन्?
तपाईंसँग कुरा गर्नुअघि झापा ज्यामिरगढीकी सीता खत्री नाम गरेकी एक गृहिणीलाई तपाईंको जिल्लाकै नेतालाई के भन्नुहुन्छ भनी सोधेको थिएँ। उहाँले त जिल्लातिर त्यति देखा पर्नुहुन्न भन्दैहुनुहुन्थ्यो।
उहाँले सोधेको प्रश्न अलि सैद्धान्तिक हो। सांसदको हैसियत के हो? टुंगो लगाउनुपर्छ। सभासद्को काम जनताको घरदैलो पुगेर सुखदुःखमा मात्रै साथ दिइरहने हो भने कानुन कसले बनाउने हो?यो काम अर्कैलाई छाड्नुपर्छ। दुईवटै काम एकैजनाबाट एकैपल्ट सम्भव छैन। यो हाम्रो सिस्टमको कमजोरी हो।
तैपनि कहिलेकाहिँ पनि आउँदैनन्, भोट माग्ने बेलाचाहिँ आएको आयै गर्छन् भन्ने गुनासो गर्न त पाइयो नि?
त्यो पाइयो। तर यो गुनासो त सबै नेताप्रति छ। मप्रतिमात्रै होइन। म तपाईंलाई एउटा कुरा बताइदिउँ? पार्टी सिस्टमको कुरा गर्छौं नि हामी। त्यो भनेको के हो? कांग्रेस ज्यामिरगढीमा पनि छ। यसका नेता त्यहाँ पनि छन्। पार्टी त्यही होइन र? मै उभिनुपर्ने के छ र? पार्टी उभिए त पुग्यो। उहाँको गाउँमा त्यो कांग्रेस होला, तर पुग्दैन। उता जनतालाई हाम्रो सांसद् हाम्रै घरदैलोमै बसिरहोस् भन्ने लाग्छ। उनीहरूलाई काम परेको हुन्छ, त्यो काम कसले पूरा गरिदिन्छ त? भन्ने परेको हुन्छ। दिस् इज द फेलियर अफ पार्टी। पार्टीले बुझाउनुपर्छ यस्ता कुरा।
मैले केही झापालीसँग कुरा गरेको थिएँ। चक्र बाँस्तोला त्यति धेरै पढेको, बिपी कोइरालासँग बौद्धिक संगत गर्नुभएको नेताले पनि आफ्नो बौद्धिक उचाइलाई क्यास गर्न सक्नुभएन भन्नेहरू पनि थिए।
राजनीतिको उद्देश्य के हो भन्ने मैले प्रष्ट गर्नुपर्छ। म प्रधानमन्त्री हुन्छु भनेर हिँडिनँ। म त देश बनाउँछु भनेर हिँडेछ, प्रधानमन्त्री त छुटिहालेछ। अब यो देशमा प्रधानमन्त्रीले संविधान बनाओस् भन्छन्। संविधानसभाको अध्यक्षचाहिँ फित्ता काटेर हिँड्छन्, गर्नु के यो देशमा?
दाइलाई किन यति धेरै रिस उठेको संविधान सभाध्यक्षसँग?
होइन होइन। त्यो प्रधानमन्त्री बिचराले के गर्छ? सरकार उसैले चलाउनुपर्ने हो। गुणदोषको भागिदार उही हुन्छ। अध्यक्षको काम चाहिँ के हो? हाउस चलाउने होइन?
तपाईं परराष्ट्रमन्त्री, भारतीय राजदूत हुँदाको समयदेखि पोहोरसम्मै माओवादीहरू विदेशीको षड्यन्त्रले यो भयो, त्यो भयो भन्थे। जेठ १५ गते प्रचण्डले जेमा पनि विदेशीको हात देख्ने प्रवृत्ति त्यागौं भन्नुभो। माओवादी बदलिँदै गएको हो?
राजनीति सधैं परिवर्तनशील हुन्छ। माओवादीले भारतसँग लड्न सुरुङ खन भनेको हो, खनेको पनि हो। त्यसैले त्यसको जवाफ मसँग सोध्ने होइन, उनीहरूसँग सोध्नुस्।
अहिलेचाहिँ तपाईंलाई नै सोधिहालें नि त?
(हाँसो) नेपालजस्तो अत्यन्त महŒवपूर्ण भौगोलिक अवस्थिति भएको देशमा सबैको चासो हुन्छ। सबैभन्दा बढी चीन र भारतको चासो, त्यसपछि अमेरिकाको, त्यसपछि संसारभरको चासो हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा त्यसलाई अस्वाभाविक मानिँदैन। नेपालको राजनीतिक स्थायित्व भारत र चीन दुवैका लागि महŒवपूर्ण छ। त्यसैले उनीहरू यसलाई चीलका आँखाले हेरिरहेका हुन्छन्। कहिलेकाहिँ उनीहरू यस्तो कुरा भन्लान् पनि। त्यसलाई म विदेशी हस्तक्षेप मान्दिनँ। तर हरेक निर्णय गर्नुअघि विदेशीको टेलिफोन पर्खने चाहिँ गर्नुभएन।
माओवादीले त्यसो गरे भन्नुभएको?
त्यो म कसैलाई पनि भन्दिनँ।
भन्नैपर्‍यो भने?
सबैलाई भन्छु। यो देशमा सबैको रुचि हुन्छ भन्ने मान्नुपर्छ। तर कुनै निर्णय लिन कसैको सल्लाह पर्खनुपर्ने, अथवा कसैले यहीँ आएर अनेकथरि सल्लाह दिनुपर्ने र निर्णय हुनेचाहिँ दुःखलाग्दो कुरा हो।
भारतको राजदुतको नेपालका प्रधानमन्त्री, मुख्य नेताको किचनसम्मै सिधै पहुँच हुन्छ भन्छन्। भारतसँग नेपालको कुटनीतिक भूमिकालाई चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ?
हामी कमिटी अफ नेसन् भन्छौं यसलाई। सबै देश बराबर छन्, यो यथार्थ हो। तर कोही ठूला छन् कोही साना छन्, यो पनि यथार्थ हो। भारत ठूलो देश भएकाले त्यसका डेढसयजति एम्बेसी छन्। त्यहाँ बस्ने सबै राजदूतलाई विदेशमन्त्री त के सचिवले नै भेटेर पनि साध्य हुँदैन। हिजोआज राष्ट्रप्रमुख, सरकारप्रमुख आदिको भ्रमणलाई हेर्ने भारतीय दृष्टिकोणमा ठूलो परिवर्तन भइरहेको छ।
तपाईं राजदूत हुँदाको पालामा र अहिलेमा आधारभूत भिन्नता केही छ?
पहिला भारतको इन्ट्रेस्ट सरकारी तह, मुख्य दलका नेता आदिबाट बुझिन्थ्यो, अहिले ब्युरोत्रे्कसीबाट।
पहिलेचाहिँ दरबार र भारत गरी दुई शक्तिकेन्द्र छन् भनिन्थ्यो, अहिले चाहिँ भारतमात्रै हो?
हिजो शक्तिकेन्द्रका कारणले संविधान बनेन, आज के कारणले बनेन? २००७ सालमा कस्तो दुःखले प्रजातन्त्र आयो, जाने बेला ‰वाम्म गयो। हिजो दोष कसैलाई दिँदा हुन्थ्यो, आज कसलाई दिने?
तपाईंकै दलका सभापतिले नै केही दिनअघि विदेशी चलखेलले संविधान बनेन भनिसक्नुभएको छ।
चलखेल भएको छ भने त्यसको जानकारी उहाँलाई नै होला, मलाई छैन। जानकारीवालाले बुझेहोलान्।
गिरिजाबाबुले भन्नेगर्नु भएको ग्र्यान्ड डिजाइन र सुशीलले भन्नुभएको विदेशी चलखेलबीच केही संगति छ होला नि त?
गिरिजाबाबु हुनुहुन्न, त्यसैले यो कल्पना गरेर बु‰ने विषयमात्रै भएको छ। सुशीलजीले भनेको चलखेल उहाँलाई नै थाहा होला, मलाई थाहा छैन। मेरो जोड फेरि पनि छ, नेपालको संविधान बन्ने कुरामा विदेशीहरूको इन्ट्रेस्ट हुनु स्वाभाविकै हो।
साउथ ब्लक र दिल्ली संस्थापनको नेपाल-स्वार्थ समान नभएको भन्ने छ नि?
भारतको नेपाल नीति के हो भन्ने मैले बुझेकै छैन।
विदेशमन्त्री, राजदूत हुँदा पनि बु‰नुभएन?
त्यतिबेला बुझिन्थ्यो। सरकारलाई जानकारी हुन्थ्यो, पार्टीहरूलाई पनि हुन्थ्यो। उनीहरूका इन्ट्रेस्ट ती माध्यमबाट आउँथे, अहिले त कुन माध्यमबाट आउँछ आउँछ! थाहै हुन्न।
बिपीसँग तपाईंको संगतसम्बन्धी प्रश्न नेपाली अखबारका पाठकका लागि अब पुरानो भइसक्यो। बिपी नेपाली राजनीतिमा अझै पनि मिस्अन्डर्स्टुड मान्छे हो भन्ने गर्नुभएको छ, यसलाई प्रष्ट गरिदिनूस् न।
बिपी सोच, र राजनीति दुवै हिसाबले कहिले पनि मोनार्किस्ट हुनुहुन्थेन। जीवनको उत्तरार्धतिर राजतन्त्रप्रति उहाँको एटिच्युड फेरियो। पछिल्ला दिनहरूमा उहाँ भन्नुहुन्थ्यो- हेर चक्र, नेपालमा कुनै पनि राजनीतिक संस्थाहरू छिप्पिएका छैनन्। पार्टीहरू नयाँ छन्, संसद आउँदैजाँदै गरिरहेको छ। नागरिक समाज पूरानो छैन। एउटै पूरानो संस्था राजसंस्था छ, दुईचार सय वर्षको इतिहास भएको। यदि त्यो संस्थालाई देशको प्रजातान्त्रिक राजनीतितर्फ ल्याउन सकियो भने सायद यो देशलाई राम्रै हुन्छ भन्नुहुन्थ्यो। मेरो कोसिस यही छ, भन्नुभो।
उहाँको अन्तिम समयतिरका लिखत हेर्नुभो भने तपाईं पाउनुहुन्छ- राजालाई हामी चाहिँदैन भने हामीलाई पनि राजा चाहिँदैन। राजनीतिको बदलिँदो परिवेश हेरेर तिमीहरू पनि परिपक्व संस्थाका रुपमा प्रजातान्त्रिक धारमा आऊ भनी राजसंस्थालाई उहाँले आग्रह गर्नुभएको थियो। यसै सन्दर्भलाई समातेर धेरैले राजासँग बिपी मिल्न गएको, आत्मसमर्पण गरेको, बिपी राजावादी हो आदि प्रचार गरे। मैले बुझेका बिपी कहिल्यै पनि राजावादी हुनुहुन्नथ्यो। उहाँले राजालाई पनि प्रजातन्त्रतर्फ ल्याउन प्रयत्न गर्नुभएको भने सही हो।
गिरिजाबाबुसँग पहिल्यैदेखि निकट हुनुहुन्थ्यो तपाईं। बिपीको बाटोमा कांग्रेसलाई हिँडाउन उहाँ कति समर्थ हुनुभो?
कांग्रेसले पछाडिका दिनहरूमा समाजवादी अवधारणा र प्रजातन्त्रको अवधारणा दुवैलाई पूर्ण न्याय गरेन। म गिरिजाबाबुलाई मात्रै दोष दिन चाहन्नँ।
व्यक्तिको पहलकदमी पनि महŒवपूर्ण हुँदो हो नि?
पार्टीकै कुरा गरौं। कांग्रेसले देश र जनतालाई ध्यानमा राखेर नीति निर्णय गर्न सकेको भए देशको अवस्था धेरै फरक भइसक्थ्यो होला।
बिपीको कुनै घेरा थिएन भनिन्छ, यता गिरिजाबाबुलाई सानो सानो घेरामा रमाएको आरोप पनि तपाईंकै समकालीनबाट लाग्ने गरेको छ।
घेराको कुरा म मान्दिनँ। यो बकवास हो। घेराको कुरा गर्ने मान्छे नेतै हुन्न नि।
अनि के हुन्छ त?
त्यो सभापति हुन्छ, प्रधानमन्त्री हुन्छ। (हाँसो) मैले अघि के भनें? जागिरे पद भनिनँ? हो त्यही हुन्छ।
गिरिजा सुशील सभापति हुन्, नेता होइनन् भन्नुभएको?
हो नि त। उहाँ कांग्रेसको विधिवत् निर्वाचित सभापति हो। म कांग्रेस भएको नाताले मेरो पनि सभापति हो। तर उनी मेरा नेता होइनन्। गिरिजाबाबु पनि मेरा नेता थिएनन्। तर बिपी नेता हुनुहुन्थ्यो- विचारले। प्रधानमन्त्री, सभापति धेरै हुन्छन्। विचारले गाइड गर्नेचाहिँ एउटा मान्छे हुन्छ।
भनेपछि बिपीको शेखपछि कांग्रेस अब यस्तै यस्तै हो भन्ने निष्कर्षमा पहिल्यै पुग्नुभएको?
यो कांग्रेसको मात्रै होइन, संसारका सबै पार्टीको समस्या हो। कम्युनिस्ट खेमामा मार्क्स, लेनिन महान। ती त सबै राष्ट्रिय, अराष्ट्रिय कोही नहुँदा रहेछन्! त्यहाँ चाहिँ अराष्ट्रियको दागै लाग्दो रहेनछ।
बिपी पनि वामपन्थीप्रति कडा रवैया राख्नुहुन्थ्यो। तपाईंको पनि त्यही विचार रहेछ अझै।
वामपन्थी कहाँ छन् यो देशमा? कम्युनिस्ट छन्। मार्क्सिस्ट, लेनिनिस्ट, माओइस्ट। चे गुएभारावादी पनि छन् यहाँ, चेको जस्तै टोपी लगाएर हिँड्छन्। उनीहरूलाई क्रान्ति रमाइलो लाग्छ। अहिले संसारभरि लेफ्ट र्‍याडिकालिज्म हावी छ। मैले अरुतिरका पनि माओवादी हेरें। त्यसका आधारमा पनि नेपालको माओवादी र्‍याडिकल लेफ्ट जस्तो लाग्छ।
एमालेचाहिँ के हुन्?
उनीहरू त मार्क्सिस्ट हुन्। क्लासिकल मार्क्सिस्ट।
माओवादी चाहिँ मार्क्सिस्ट होइनन्?
दे आर् र्‍याडिकल लेफ्ट।
मार्क्सिस्ट हुन् कि होइनन्?
होइनन्। उनीहरूमा यति धेरै चेन्ज हुन्छ कि क्लासिकल मार्क्सिस्ट थ्योरीबाट गाइडेड नै हुँदैनन्।
पोस्ट मोडर्निस्ट हुन् त्यसो भए?
यस्, इन अ वे। पोस्ट मोडर्निस्ट नै हुन्। उनीहरू डिकन्स्ट्रनिस्ट (विनिर्माणवादी) पनि हुन्। डिस्ट्रक्सनिस्ट (ध्वंश्ावादी) पनि हुन्।
मार्क्स र माओको फोटो झिकेर ज्याक डेरिडाको फोटो झुन्ड्याए भो त?
कुरै त्यही हो अब माओवादीको। यसबारे मैले प्रशस्त अध्ययन गरेको छु। गतिविधिलाई पाश्चात्य लेफ्ट, साउथ अमेरिकन लेफ्ट आदिसँग दाँज्दा त्यही पाउँछु।
पूँजीवादी पनि हुन्?
हुन् त अब। पैसाले जातै जाँदैन यिनीहरूको। क्लासिकल कम्युनिस्ट भएका भए त हाम्रैजस्तो आचरण गर्थे होलान् नि अलि अलि त। यहाँ न्यु र्‍याडिकालिज्मको कुरा पनि छ। फेमिनिस्ट छन्, इन्भारोमेन्टलिस्ट छन्। इथ्निसिस्ट छन्। यी पोस्ट मोडर्न कुरा नै हुन्। यिनको प्रतिपादनचाहिँ ग्लोबलाइजेसनको अवधारणाबाट भएको छ। शीतयुद्धको अन्त्यपछि संसारमा एकछत्र रुपमा आएको ग्लोबलाइजेसनको जीवनपद्दति र दर्शन भएको छ। सो दे एपेरेन्ट्ली लुक लाइक कम्युनिस्ट, मार्क्सिस्ट। मैले हेर्दा तिनलाई त्यस्तो देख्छु।

प्रचण्डलाई गिरिजाबाबुसँग पहिलोपल्ट कुरा गराउँदादेखि नै चिन्नुहुन्थ्यो। बाबुराम अझ पूरानै भइहाले। सरकारमा चाहिँ प्रचण्ड र बाबुराममध्ये कसको डेलिभरी राम्रो लाग्यो?
प्रचण्डले त हनिमुन मनाउनै पाएनन्। तै पनि एउटा कुरा भन्न सक्छु म। यिनले जनयुद्ध गर्दा जति सक्रियता देखाए, सत्तामा त्यो विद्या, उर्जा काम आएन। मैले हनिमुन अवधि भनेर छुट दिएको मात्रै हो। नत्र झन्डै एक वर्ष भनेको कम होइन। क्रान्तिकारीले त डे वन देखि नै सुरु गर्छ नि त (हाँसो)।
बाबुरामको?
अब बाबुरामजीको चाहिँ के हो भन्देखिन्, उहाँ पार्टीको नेता त हुनुभो, तर उहाँकै कारण पार्टीमा विग्रह छ। अब उहाँ सधैं हाइ अलर्ट बस्नुपर्छ। उहाँले प्रधानमन्त्री भएपछि जति नाटक गरे पनि धेरै मान्छेले अर्थमन्त्रीका रुपमा जति ख्याति पाउनुभो, प्रधानमन्त्रीका रुपमा त्यति रुचाएको मैले पाइनँ। ख्याति चाहिँ अधोगतितिरै छ।
अर्थमन्त्री हुँदा आफ्नो एकल विभागीय नेतृत्व थियो, अब त सबैलाई समेट्नु पर्दा गाह्रो परेको हो कि?
जे होस्, प्रधानमन्त्री त प्रधानमन्त्री नै हो।
अझै बाबुराम नै लोकप्रिय देखिए प्रचण्डभन्दा।
कहाँ देखिए?
सर्वेक्षणहरूले देखाएको।
त्यस्ता सर्वेक्षणका कुरा छाड्दिनूस्। टिभीमा गीत गाउने मान्छेलाई भोटिङ गरेजस्तो सर्वेक्षणको के भर।
भारतमा कंग्रेस (आई) जस्ता राष्ट्रिय दलहरूको प्रभाव खुम्चिँदै गएको छ, क्षेत्रीय जातीय पार्टी चाहिँ बढ्दा छन्। यहाँको राज्य पुनर्संरचनामा त्यसको प्रभाव पर्ला?
मिल्दैन यहाँसँग। नेपालको अवस्थिति यस्तो छ : यहाँ तपाईंले भारतको जस्तो संघीयता छाड्न सक्नुहुन्न। तपाईंलाई कि दक्षिणले पेल्छ, कि उत्तरले। तपाईं स्वतन्त्र हुनुहुन्न, तपाईंको नियति नै त्यही छ।
त्यसो भए संघीयतामा नै नजाने?
दियर आर लिमिट्स। तपार्इं स्वतन्त्र हुनुहुन्न त्यो गर्नलाई। के ले? तपाईंको नियतिले। तपाईंको पोलिसी र अवस्थितिले पनि त्यो निर्माण गर्छ।
डोरबहादुर विष्टले फ्याटालिज्म भन्नुहुन्थ्यो, तपाईंको 'नियति' को कुरा पनि त्यस्तै हो?
फ्याटालिज्मको कुरा बेग्लै हो। केही नगरी बस्ने। मैले चाहिँ अवस्थितिको नियतिको कुरा गरेको। जस्तो कि हामीले यहाँ न्युक्लियर प्लान्ट राख्छौं भन्दा दिन्छन्? किन दिँदैनन्? हामी सोभरेन होइन? तर दिँदैनन्। हामी परिस्थितिका कमारा हौं।
त्यसो भए हामी सोभरेन होइनौं भन्नुपर्‍यो। सम्प्रभुताका आधारभूत गुण नै आन्तरिक रुपमा सर्वोच्च, बाह्य रुपमा स्वतन्त्र होइन र?
तपाईंले युनिभर्सिटीमा बुझेको सोभरेन्टी अहिले संसारको कुनै पनि देशमा छैन। हामीजस्तो दरिद्र देशको के कुरा?
त्यसो भए हामी सार्वभौम होइनौं?
अमेरिका त सोभरेन होइन भन्दैछु यहाँ म। अमेरिका छैन, बेलायत छैन, भारत छैन। भारत अमेरिकाको स्ट्र्याटेजिक पार्टनर भइसकेपछि अमेरिकाले उनीहरूको पनि इन्ट्रेस्ट पनि पूरा गर्नैपर्‍यो। अब युरोपियन युनियनले यसो भन्छ, भारतले यसो भन्छ, नर्वेले यसो भन्छ, चीनले यसो भन्छ, अनि तपाईं कहाँबाट हुनुहुन्छ सोभरेन? तपाईंको बजेट चलाउने पैसै छैन, अनि कहाँबाट सोभरेन? त्यतिमात्रै होइन, युएनले ह्युमन राइट्समा तपाईंले ठिक गर्नुभएन भन्दिन्छ, अनि कहाँबाट सोभरेन? सोभरेन्टीको परिभाषा लेखिँदै गर्दा राष्ट्र जति सोभरेन थिए, आज कुनै पनि राष्ट्र सोभरेन छैन।
अन्तर्राष्ट्रिय कानुनले सोभरेन्टीलाई खलल पुर्‍याइरहेको छ। अन्तर्राष्ट्रिय संगठनहरूले पनि। हामीले यहाँ एक खालको पद्दति बसाल्न खोज्छौं, अर्कोले कर्के आँखाले हेरिहाल्छ। ऊ त्यो बाँध नबाँध न भन्दा अर्कोलाई रिस उठ्छ, हामी कति सोभरेन छौं?
नेपाली कांग्रेसले समाजवादी धार छाड्दै गएको हो?
कांग्रेसको बाटो मध्यमवर्गीय, मध्यमार्ग, मिश्रित अर्थतन्त्र हो। यसमा पनि ग्लोबलाइजेसनले चेन्ज ल्याइदियो। न हामी पूँजीवादी हुनसक्यौं, न तल्लो वर्गमा जान सक्यौं। तल्लो वर्गको सपोर्ट बेस वामपन्थी दलहरूमा गइसक्यो। माथिल्लो वर्ग पुँजीवादी, उच्च र निम्न मध्यम वर्ग हाम्रो बाटोबाट पलायन भइराखेका छन्।
कहाँ जाँदैछन् त यिनीहरू?
कोही माथि चढ्दैछन्, कोही तल झर्दैछन्, जे होस् बीचमा छैनन्। हामीले सरकारमा बस्दा हाम्रा प्रतिबद्धताहरूलाई लक्षित वर्गसम्म कार्यान्वयन गर्न सकेनौं। त्यसैले यी वर्गहरू भाग्न थाले। हुन त मध्यमवर्गीय चरित्र भगौडे नै हुन्छ। माथिल्लो वर्ग र तल्लो वर्गको चरित्र समान नै हुन्छ। उनीहरूको देश हुँदैन, पैसामात्रै हुन्छ। एउटासँग दरिद्रता हुन्छ, अर्कोसँग पैसा हुन्छ।
दार्शनिक र सैद्धान्तिक उचाइ भएको मान्छे हो चक्र बाँस्तोला, संगठनमा चाहिँ भिज्दैनन् भन्ने टिप्पणी झापालीहरूको छ।
वन क्यान नट् बि एभि्रथिङ। कि त म झुटा हुनुपर्‍यो, ड्रामा गर्नुपर्‍यो। एउटा असल नेता हुन असल अभिनेता पनि हुनुपर्दोरहेछ। त्यो क्वालिटी मसँग छैन। जनप्रतिनिधिको रोल के हो? डेभलपमेन्टल हो? त्यो काम त सरकारको हो। त्यसो भएर सरकारमा नहुने हो भने उसको रोल के हो? हो यहाँनेर स्पष्ट हुनुपर्छ हामी।
रिसाउनुहुन्न भने अन्त्यमा सोधुँ- लामो समय राजनीतिमा प्रभाव राख्नुभो, अहिले छायाँमा हुनुहुन्छ, बरु झापाकै अर्को नेता कृष्ण सिटौला अगाडि आइसक्नुभयो। तपाईंलाई उछिनेर आउनुभएको भन्ने गर्छन्?
हेर्नूस्। बिपी नभइदिएको भए म राजनीतिमै हुन्थिनँ। बिपीभन्दा ठूलो राष्ट्रवादी नेता मैले अर्को देखिनँ। मैले उहाँकै दर्शनबाट मैले सारा कुरालाई हेर्न थालें। मैले कसैका लागि काम गरिदिने, प्रधानमन्त्री हुने काम गरिनँ। त्यो आदर्शमा म नबसेको भए म गिरिजाप्रसादभन्दा पहिला प्रधानमन्त्री भइसक्थें। म त्यो मूल्यमा म प्रधानमन्त्री हुन चाहन्नँ, राजनीति गर्न पनि चाहन्नँ।
व्यक्ति आइरहन्छन्, गइरहन्छन्। म त एउटा व्यक्ति, ढसमस गर्दिनँ भन्न पाउने भएँ नि त। मैले जीवनभरि कांग्रेसको नीति, दर्शन भनेर बाँचे, अब उत्तरार्धतिर पुगें, केही दिन त आफैं भएर पनि बाँच्नुपर्‍यो नि मैले। म कांग्रेस भएर कति बाँचुँ? यत्रो दिन मैले आफ्नो कुरा छाड्दिएँ। अब केही दिन आफ्ना लागि पनि बाँच्नुपर्‍यो नि मैले। सक्रियताबारे पनि सोधिहाल्नु भो। त्यो भनेको मेरो स्वास्थ्य र उमेरले धान्ने हो। अब धेरै गर्न सक्दिनँ। फेरि यहाँ धेरै गर्न खोज्यो भने के हुन्छ मलाई थाहा छ। मारिदिन्छन्, ऊ त्यो न्यायाधीशलाई गोली हानेको देख्नुभएन? म जान्दछु यी सबै, मलाई थाहा छ। त्यसैले म यो सब छाडेर आफू हुने चेष्टामा छु।
बिपीसँगको सन्दर्भलाई जोडेर बु‰दा यो राजनीति भन्ने चीज के रहेछ त?
बिपी जम्मा १८ महिना प्रधानमन्त्री हुनुभो। गिरिजाबाबु त भएको भएकै हुनुभो। भर्खरै बार्षिकी सकियो, खै त कसैले वास्तै गरेनन्। किन? फरक हुँदो रहेछ नि त। मान्छेलाई 'ए, गिरिजाप्रसाद थिए है, कांग्रेसको नेता' भनेर सम्झाउनुपर्छ। बिपीको बारेमा त सम्झाउनुपर्दैन। मान्छे आफैं जान्दछन् ।

प्रतिक्रियाहरू (14)Add Comment
0
Lila GC
June 08, 2012
223.204.167.5
भोट: +18
...

Very practical and very thoughtful!

0
Ramchandra Lall
June 08, 2012
94.210.131.221
भोट: +47
...

बिपी जम्मा १८ महिना प्रधानमन्त्री हुनुभो। गिरिजाबाबु त भएको भएकै हुनुभो। भर्खरै बार्षिकी सकियो, खै त कसैले वास्तै गरेनन्। किन? फरक हुँदो रहेछ नि त। मान्छेलाई 'ए, गिरिजाप्रसाद थिए है, कांग्रेसको नेता' भनेर सम्झाउनुपर्छ। बिपीको बारेमा त सम्झाउनुपर्दैन। मान्छे आफैं जान्दछन् ।

0
kurgheli chapain
June 08, 2012
49.244.15.137
भोट: +11
...

अन्तरबार्ता का लागि अंतर्बर्ताकार लाइ धन्यवाद छ,
धेरै बुझेको, येथार्थ, तितो,सच्चाई युक्त छ
तर अहिले उत्पन्न भएको मुख्य समस्याको चुरो फुटेन कि भन्ने लग्यो
सबै कुरा सहमति मा गर्ने भनेर संबिधान मै लेखिएको कुरा
माओबादीले बढी सीट ल्याउदैमा बहुमतीयमा जानु ठुलो गल्ति थियो नि .
सारा कुरा यहीबाट बिग्रिएका होइनन र ? अतिथि को के विचार छ ?

0
Sagun newa
June 08, 2012
219.171.132.138
भोट: +13
...

Salute !!! chakra prd. bastola .......

0
MADAN
June 08, 2012
124.41.237.25
भोट: +22
...

भीमबहादुर दाइलाई सभापतिमा उठाउनुका पछाडि कांग्रेसलाई अलग पहिचान दिने जमर्को थियो। कांग्रेसभित्रै पनि त्यसलाई बुझेनन्, बाहिर पनि बुझेनन्। सुशील कोइराला, म वा नरहरि आचार्य कोही नेतृत्वमा भइरहँदा कसरी नयाँपन आउँथ्यो र!
बिपीका पालामा हाम्रो पार्टीमा मधेसी, पहाडी, जनजाति आदि सबैखाले नेता थिए। अहिले त्यस्तो एकदमै कम छ। अहिले पहिचानको कुरा आइरहेको छ। त्यसैले भीमबहादुर दाइ अझै सान्दर्भिक हुनुभएको छ।
म्यासेज जानुपर्छ चुनावमा, हारजित ठूलो कुरा होइन।
LONG TERM vision, Needed leader at this moment

0
Rabin
June 08, 2012
141.84.69.20
भोट: +12
...

khusi lgayo congress ma ni yeti ramra neta rahechan!!!!sahrai ramro bichar

0
Hem Bdr Gurung
June 08, 2012
124.41.203.244
भोट: +7
...

Damdar answer. Hamro niyati estai chha !

0
Smarika
June 09, 2012
89.211.152.149
भोट: +11
...

heavy words of heavy person. but true.

0
ganesh
June 10, 2012
49.244.213.223
भोट: +0
...

विचार त उत्तम हो तर खै र जनताले बुझेको

0
Rohit Khadka
June 10, 2012
124.41.255.134
भोट: +0
...

नेपाल को बर्तमन राजनीतिक मोड मा उत्पनन वएको परिस्थिती लाई शाही सेप दिन सक्नीए ब्यक्ती अब चक्र बस्तोल नै हुनु हुन्छ। भरत ले नेपाल लाई हेर्ने दृष्‍टिकोन कर्मचारी तन्त्र मा सरीए देखी नै नेपाल को समस्या जटिल बन्दै गएको हो। यस्लाई सम्बोधन चक्र बस्तोल ज्यु ले नै गर्नु पर्छ।

0
Anucool
June 11, 2012
213.86.108.3
भोट: +2
...

बीपी जम्मा १८ महिना प्रधानमन्त्री हुनुभो। गिरिजाबाबु त भएको भएकै हुनुभो। भर्खरै वार्षिकी सकियो, खै त कसैले वास्तै गरेनन्। किन? फरक हुँदो रहेछ नि त। मान्छेलाई 'ए, गिरिजाप्रसाद थिए है, कांग्रेसको नेता' भनेर सम्झाउनुपर्छ। बीपीको बारेमा त सम्झाउनुपर्दैन। मान्छे आफैं जान्दछन्।

0
Bize Darai
June 11, 2012
202.45.147.126
भोट: +3
...

I appreciated about his realistic thought ;
1. संविधान बन्नु नबन्नुको मुख्य जिम्मेवार को हो भन्ने प्रश्नबारे चाहिँ मलाई अचम्म लाग्छ। प्रधानमन्त्रीलाई दोस्छन् कोही। संविधानसभाका अध्यक्षको कुनै भूमिकै देखिँदैन। संविधानसभा आउँदा पनि देखिँदैन, जाँदा पनि देखिँदैन। त्यसैले म त्यो मोडल नै गलत थियो भन्दैछु। प्रधानमन्त्रीले त सरकार चलाउने हो, संविधान बनाउने होइन।
2.भीमबहादुर दाइलाई सभापतिमा उठाउनुका पछाडि कांग्रेसलाई अलग पहिचान दिने जमर्को थियो। कांग्रेसभित्रै पनि त्यसलाई बुझेनन्, बाहिर पनि बुझेनन्। सुशील कोइराला, म वा नरहरि आचार्य कोही नेतृत्वमा भइरहँदा कसरी नयाँपन आउँथ्यो र!
बिपीका पालामा हाम्रो पार्टीमा मधेसी, पहाडी, जनजाति आदि सबैखाले नेता थिए। अहिले त्यस्तो एकदमै कम छ। अहिले पहिचानको कुरा आइरहेको छ। त्यसैले भीमबहादुर दाइ अझै सान्दर्भिक हुनुभएको छ।
म्यासेज जानुपर्छ चुनावमा, हारजित ठूलो कुरा होइन।
3. बिपी जम्मा १८ महिना प्रधानमन्त्री हुनुभो। गिरिजाबाबु त भएको भएकै हुनुभो। भर्खरै बार्षिकी सकियो, खै त कसैले वास्तै गरेनन्। किन? फरक हुँदो रहेछ नि त। मान्छेलाई 'ए, गिरिजाप्रसाद थिए है, कांग्रेसको नेता' भनेर सम्झाउनुपर्छ। बिपीको बारेमा त सम्झाउनुपर्दैन। मान्छे आफैं जान्दछन् ।

0
Bharat Bimoli
June 11, 2012
49.244.253.178
भोट: -2
...

चक्रजीले धेरै राम्रा कुरा गर्न खेज्नु भयो छद्‍म भेषी पाराले। ठीकै छ। कम से कम अब त ढाट्न छाडनु नि? नेपालको सत्तमा सबैभन्दा धेर समय लगभग १४ वर्ष बस्ने रोजी रोजी मन्त्रालय चाहिने र मन्त्रालय मातहतका निकाय लंगडो बनाएर निजीकरणको नाममा व्यापारी पोस्ने, माओवादीबाट मुलुकलाई संकटग्रस्त पार्न सुरक्षा सम्यान्त्र कमजोर बनाएर चौकी ठाना हटाएर गनीहरूलाई जंगलको राजाबाट गाउँको राज्य हस्तान्तरण गरेर देशमा बेथितिको जिम्मेवार को हो? गिरिजाप्रसादलाई यो सल्लाहा दिएर सारा गाउँ लुटाउने जिम्मा तपाईँ र कृष्ण सिटौलाले लिने नलिने?

0
madan dahal
June 12, 2012
49.244.244.170
भोट: +0
...

भीमबहादुर दाइलाई सभापतिमा उठाउनुका पछाडि कांग्रेसलाई अलग पहिचान दिने जमर्को थियो। कांग्रेसभित्रै पनि त्यसलाई बुझेनन्, बाहिर पनि बुझेनन्। सुशील कोइराला, म वा नरहरि आचार्य कोही नेतृत्वमा भइरहँदा कसरी नयाँपन आउँथ्यो र!
बिपीका पालामा हाम्रो पार्टीमा मधेसी, पहाडी, जनजाति आदि सबैखाले नेता थिए। अहिले त्यस्तो एकदमै कम छ। अहिले पहिचानको कुरा आइरहेको छ। त्यसैले भीमबहादुर दाइ अझै सान्दर्भिक हुनुभएको छ।
म्यासेज जानुपर्छ चुनावमा, हारजित ठूलो कुरा होइन

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता