Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

स्वार्थी घेराले प्रचण्डलाई सिध्याउँछ

E-mail Print
(10 votes, average 3.30 out of 5)
जनमोर्चा नेपालकी संस्थापक अध्यक्ष पम्फा भुसाल माओवादीले जनयुद्ध थाल्दा केन्द्रीय समितिमा रहने एक्लो महिला थिइन्। एकीकृत माओवादीमा पोलिटब्युरो सदस्य रहेकी भुसाल पार्टी विभाजनपछिको नेकपा-माओवादीमा पनि पोलिटब्युरो सदस्य नै छिन्। पद भन्दा पनि अवरुद्ध क्रान्तिलाई निरन्तरता दिन नयाँ पार्टी खोलेको बताउने भुसालसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानी :

हाम्रो देशले कति वटासम्म कम्युनिस्ट पार्टी थेग्न सक्ला?
मूलभूत रुपमा त एउटा देशमा एउटा समयमा एउटामात्रै क्रान्तिकारी पार्टी हुन्छ। तर कम्युनिस्ट पार्टीका नाममा जतिवटा पनि पार्टी खोल्न सकिन्छ। लाइसेन्सजस्तो दिन मिल्ने भए त यतिवटा भएपछि पुग्यो भन्न हुन्थ्यो (हाँसो)।

धेरै भएकाले होला, कत्ति कलेज, एफएम, चलचित्र आदिको नाम जुधिरहेको छ। तपाईंहरुको पार्टीको नाम पनि जुधेछ। मातृका यादवले आफ्नो पार्टीको नाम वैद्य पक्षले चोर्‍यो भनेर आपत्ति जनाउनुभएको छ।
होइन, उहाँहरुको नाम ब्राकेटमा छ। हाम्रो कमा मा छ। यो धेरै ठूलो समस्या होइन। अन्ततः कामबाटै पहिचान हुने हो। यो देशमा धेरै मान्छे पुष्पकमल दाहाल होलान् तर तिनले प्रचण्डलाई बुझाउँदैनन्।

खान पाउने बेलामा फुट्ने कस्ता अभागीहरु रहेछन् भन्दैछन् कतिपयले तपाईंहरुलाई।
हाम्रो देशमा सैद्धान्तिक बहसभन्दा सानातिना आन्तरिक किचलोका कारण पार्टी फुट्ने गरेको इतिहास छ। मेरो राजनीतिक जीवनमा पनि २०४० सालमा एकचोटि पार्टी फुट्यो। ठूलो कार्यदिशाको कुरा केही थिएन। केही कार्यनीतिक विषयमा नमिलेर निर्मल लामाहरु अलग हुनु भो। ४२ सालमा मोहनविक्रम फुट्नु भो। त्यो पनि कुनै ठूलो विषय थिएन, प्राविधिक विषय थियो। उहाँमाथि अनुशासनको कारबाही थियो। त्यही विषयलाई उहाँले राजनीतिकरण गर्न खोज्नु भो। फेरि ४७ सालतिर एकता भो, तर जनयुद्ध गर्ने उद्देश्यका लागि। महाधिवेशन गर्दा जनयुद्ध गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव हाम्रो समर्थनसहित बहुमतले पास भो। ५० सालको अन्ततिर जनयुद्ध सही, सम्भव छैन भन्दै निर्मल, नारायणकाजी श्रेष्ठहरु अलग हुनु भो। त्यो ठूलो वैचारिक विषय थियो। ११ वर्षपछि उहाँहरु फेरि आउनु भो। तपाईंलाई थाहा होस् हामी बालाजु बिस्तारित बैठकदेखि बहसमा छौं। खरिपाटी, पालुङटार गयौं। कात्तिकदेखि माघसम्म कार्यदिशा र विचारधारालाई लिएर लामो बैठक बस्यौं। म यसलाई फुट भन्न मन पराउन्न। हामीले नयाँ पार्टी बनायौं।

किन कांग्रेस र अन्य गैरकम्युनिस्ट कम फुट्छन्? किन तपाईँहरु नै फुटिरहनुहुन्छ?
नेतृत्वले मुखले श्रमजीवी सर्वहारा वर्गको हुँ भन्ने, तर फेरि सामन्त, दलाल, पूँजीपति वर्गको बाटोमा जाने भएका कारणले नयाँ पार्टी बन्ने हो। चुनवाङ या १२ बुँदेयताको कुरा भन्नुस्, हामी निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अगाडि सार्ने भन्ने थियो। बुर्जुवाहरुले त्यो गणतन्त्रलाई संसदवादतिर लैजाने कोसिस गर्नेछन्, हामी क्रान्तिकारी कम्युनिस्टले चाहिँ नयाँ जनवादतिर लैजाने छौं। अहिले त्यहाँ गए पनि संसदवादीका कारण अन्तर्विरोध कायम हुने छ भन्ने पूर्वानुमान त प्रचण्ड कमरेडहरुले पनि गर्नुभएको हो। अहिलेचाहिँ स्वयं उहाँ र बाबुराम भट्टराई संसदवादतिर लाग्नु भो। जनवाद र जनगणतन्त्रतिर लाग्नुभएन। हाम्रो प्रस्थानविन्दू फरक परेको पनि यही कुराले हो।

जनयुद्ध सफल नभई हतियार बिसाउँदैनौं भनी सँगै सपथ लिनु भो। अहिले आएर किन यस्तो गर्नु भो होला उहाँहरुले?
बाबुरामजीको त विचार र राजनीति नै त्यो बेला पनि यस्तै यस्तै हो। प्रचण्डचाहिँ चुनवाङयता पनि जनवादतिरै हिँड्ने भनेर आउनु भएको थियो। आउँदै जाँदा त उहाँको सम्बन्ध, उठबस, त्यसले पैदा गरेको चिन्तन आदिले विचारै बदल्यो। सायद उहाँ मर्न डराउनु भो। क्रान्तितिर लाग्यो भने मरिन्छ कि भन्ने डर भो। प्रचण्ड यस्तो व्यक्ति हो, जो आजसम्म एक दिन पनि जेल बस्नु भएको छैन। बाबुराम हिरासत धेरैपल्ट परे पनि जेलमा जम्मा एक रात बस्नु भएको छ।

मर्नु वा जेल पर्नु मात्रै क्रान्तिकारीको योग्यता हो?
त्यतिमात्रै होइन। वीरेन्द्रको वंशनाश, मदन भण्डारीको मृत्युजस्ता कुराले कतै उहाँलाई पनि भित्र छोएको छ कि। वा कतैबाट थ्रेट छ कि!

प्रचण्डलाई?
हो प्रचण्डलाई त म भन्दैछु। बाबुरामको बारेमा त मलाई केही भन्नु नै छैन। उहाँको त बाटै यही हो। योभन्दा अगाडि जाउँला भन्ने पटक्कै सोच छैन उहाँमा। बाबुरामलाई लोकतान्त्रिक गणतन्त्रभन्दा पर जानु छैन भन्ने शिक्षा त हामीलाई प्रचण्डले नै दिनु भएको त हो नि। प्रचण्डचाहिँ जनवादी कार्यक्रमको प्रस्तोता हो, यसभन्दा अघि बढ्नुपर्छ भन्ने नै उहाँको कुरा हो। उहाँचाहिँ चुनवाङदेखि नै क्रमशः छोड्दै छोड्दै आउनुभएको हो। हाम्रो पार्टी कम्युनिस्ट पार्टी नै रहेन। त्यसैले पुननिर्माण जरुरी भो।

प्रचण्ड यति धेरै अयोग्य भइसक्नुभएको रहेछ। किन आजका मितिसम्म नेता मानिरहनुभएको त?
होइन, होइन। योग्य हुनुहुन्थ्यो। १७ हजारको बलिदान हुने युद्धको नेतृत्व उहाँले नै गरेको हो। शान्ति प्रक्रियामा आउँदाखेरि जनविद्रोहको आधार तयार गर्ने भन्दै आउनुभो। क्रमशः जनयुद्धका उपलब्धि बुझाउँदै बुझाउँदै जानु भो। जेठ १४ गतेसम्म पुग्दा त हामीसँग केही पनि नरहने स्थिति सिर्जना गर्नु भो। उहाँले अज्ञानतावश होइन, बडो सचेत ढंगले स्थिति बिगार्नुभएको हो।

अध्यक्षले क्रान्तिमाथि गद्दारी गर्दैहुनुहुन्छ है भनी त्यही पार्टीभित्रै बसेर कार्यकर्तालाई बुझाउन सकिन्नथ्यो?
बालाजु बैठकदेखि नै हामीले यो कुरा उठायौं। त्यसपछि सरकारबाट हट्यौं, विशेष अधिवेशन डाक्यौं। अहिले फर्केर हेर्दा यदि हामीले त्यो बैठकमै आवाज नउठाएको भए नेपालमा गणतन्त्र आउँथ्यो कि आउँथेन! शंका गर्न मिल्छ। त्यो बैठकबारे कम चर्चा हुने गरे पनि असाध्यै महत्वपूर्ण छ। ८४ सभासद् र पाँच मन्त्रीलाई खै जनगणतन्त्रमा जाने कार्यक्रम? भनी खेर्‍यौं। त्यसपछि परिमार्जन गर्न नेतृत्वले स्वीकार गर्‍यो। एमालेको सहयोगमा नेपाललाई गणतन्त्रमा जाने, संविधानसभाको पहिलो बैठकबाट घोषणा गर्ने निर्णय गर्‍यौं। हामीले त्यति नगरेको भए त बेबी किङ र सेरेमोनियल किङको कुरा उठिसकेको होइन र?

प्रचण्डबाट अब सत्ता कब्जा वा जनविद्रोह सम्भव छैन?
अब त कुनै सम्भावना नै रहेन नि। संसदवादीहरु आफ्ना कुनै पनि अडान नछोड्ने, प्रचण्डचाहिँ जनताका सबै उपलब्धि छाड्दै जानु भो नि त। कांग्रेसले आफ्नो कुरा छोडेन। एमालेले पनि गणतन्त्रमा आउनेबाहेक कुनै पनि कुरा छोडेन। तर राजनेता बन्ने सुरमा लचकता र उदारताका नाममा आफ्नो वर्गले पाएका उपलब्धि प्रचण्डले छोडेको होइन? जनसरकार, जनअदालत, जनमुक्ति सेना सब छाड्नु'भो। हुँदा हुँदा जनताले खोजेको संविधान पनि लेखिएन।

गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले पनि प्रचण्डले बढी नै जिम्मेवारी र जोखिम लिनुपर्थ्यो, त्यसमाथि अरुलाई पनि मिलाएर लैजाने क्रममा केही मुद्दा त छोडनै पर्थ्यो नि होइन?
जिम्मेवारी, जोखिम लिनुपर्छ, तर त्यसको नाममा देशलाई संसदवादतिर लैजानु त भएन नि। नीति, योजना कार्यक्रम सबै बुझाउनु त भएन।

धरातलीय परिस्थिति जनयुद्धको जस्तो रहेन, धेरै बदलियो भन्नुहुन्छ नि उहाँहरु?
परिस्थिति बदलिएको होइन, प्रचण्ड कमरेड बदलिनुभएको हो। त्यही भएर उहाँ संसदवादतिर लाग्नु भो। संसदवाद नेपालमा असफल भइसक्यो। उहाँचाहिँ त्यसकै पछि लागिरहनुभएको छ।

तपाईंहरु स्वयंले मागेको, संविधान बनाउन यति धेरै जनताले अनुमोदन गरेको समावेशी संविधानसभालाई सामान्य संसदमात्रै मान्न मिल्छ?
हो, ठिक भन्नु भो। समावेशी समानुपातिक संविधानसभाले पहिचानसहितको संघीयतालाई स्वीकारेको थियो। विषयगत समितिहरुले लेखेका त्यति धेरै कुराहरु कसैको खल्तीबाट दिइएको थिएन। १४ प्रदेशको प्रस्ताव पनि त्यहीँबाट पास भएको हो। मेरो समिति हो, जसले समानुपातिक प्रतिनिधित्व, न्याय प्रणाली आदि कयौं समानतामूलक कुरा पास गराएको थियो। हाम्रा यति धेरै योगदानसहितको संविधान जारी गरिएको भए नेपालका जनता अधिकारसम्पन्न हुने थिए। त्यो कुरा कांग्रेस एमालेले मानेनन्। हुँदा हुँदा त आफ्नै अध्यक्षले पनि छोडिदिनु भो। हामीले समानुपातिक निर्वाचन प्रणालीको कुरा गरेका थियौं। उहाँले सहमतिका नाममा ५५ प्रतिशत प्रत्यक्ष, ४५ प्रतिशत समानुपातिक, ४५ लाई सय मानेर त्यसको ३३ प्रतिशत महिला, १३ प्रतिशत दलित मान्दिनु भो। यसरी उहाँले अन्तरिम संविधानबाट पाइसकेका अधिकार पनि कटौति गर्नु भो। त्यति मात्रै होइन, विषयगत समितिले अनुमोदन गरेको अधिकार पनि कटाइदिनु भो। विषयगत समितिले पास गरेको क्रान्तिकारी भूमिसुधारको कुरा पनि कांग्रेस एमालेसँग बसेर त्याग्नु भो। जनउत्तरदायी न्याय प्रणाली हुने भनी हाम्रै प्रभु साहको नेतृत्वमा पास गरेको, उहाँले कांग्रेस एमालेसँग बसेर खारेज गरिदिनुभयो।

क्रान्तिकारी छाडेर वैज्ञानिक भूमिसुधारको बाटोमा तपार्इंहरु गइसकेको होइन र?
गएको हो। तर निर्वाचित सभासद्का कुरालाई महत्व नदिने, कांग्रेस र एमालेका हारेका नेताका कुरा सुनेको प्रचण्डले होइन? हामी विपरीत वर्गको पार्टी हौं, हाम्रै अध्यक्षले उनीहरुका कुरा समर्थन गर्दै हिँड्ने?

मोहन वैद्य किरण पनि सभासद् हुनुहुन्थ्यो। उहाँले त त्यहीँ संघर्ष, बहस नगरेर बीचैमा राजीनामा दिएर हिँडेको होइन?
उहाँले त त्यही एक दुई महिना न सभासद् भएको हो। त्यो पार्टीको आन्तरिक मामिला थियो। उहाँ नभएर के भो? हामी त डटेरै लडेका थियौं नि।

प्रचण्ड तपाईंहरुसँग छलफल गर्नुहुन्नथ्यो?
पहिले त असाध्यै जनदिशा अवलम्बन गर्नुहुन्थ्यो नि। भेला गर्ने, छलफल गर्ने सबै गर्नुहुन्थ्यो। तलको कार्यकर्तामात्रै होइन, कहिलेकाहिँ त जनताको स्तरमा पुगेर पनि स्थिति अध्ययन गर्नुहुन्थ्यो। त्यसका आधारमा पार्टीको नीति योजना कार्यक्रम बनाउनुहुन्थ्यो। अनि उहाँको योजनामा सिंगो पार्टी होम्मिन्थ्यो। तर पछिल्लो समय आफ्नो कमिटीका कमरेड, कार्यकर्ता, सहिद र बेपत्ताका परिवारबाट टाढिँदै जानुभो। फरक वर्गका मान्छेसँग उठबस, संसर्ग, खानपान, रहनसहन, सबै हुँदै गएपछि बिस्तारै उहाँ त अर्कै वर्गको नेता पो हुनु भयो। समाज वर्गमा विभाजित हुन्छ, उहाँचाहिँ राजनेता हुन लाग्नुभो। वर्गमा विभाजित समाजमा कोही पनि राजनेता हुनसक्दैन नि। कि श्रमजीवी सर्वहारा वर्गको नेता हुन्छ। कि पूँजीपति सामन्त वर्गको नेता हुन्छ। दुइटै वर्ग एउटा हुनसक्दैन। उहाँलाई स्वदेशी विदेशी कसले उचाल्दिए र त्यसमै कन्भिन्स्ड हुनु भो कुन्नि! अरुले आफूलाई मान्दिउन् भन्ने नाममा पार्टीले मानेका र रगतसँग साटेका नीति छाड्न मिल्छ? हामीले एउटै मितिमा संविधान जारी गर्ने र सेना समायोजन गर्ने कुरा गरेका थियौं। उहाँले त आफुखुसी व्यक्तिगत रुपमा साँचो बुझाउनु भो।

छ महिनाभित्र सेना समायोजन गर्ने र दुई वर्षभित्र संविधान बनाउने सहमति त सुरुमै भएको होइन?
हो। तर पछि थुप्रैपटक नयाँ छलफल र सहमति पनि भएका छन् नि। सेना बुझाउँदा संविधान लेखिन्न है, त्यसैले दुवै काम सँगै गरौं भन्ने हाम्रो भनाइ थियो। उहाँ चाहिँ आफुखुसी नेपाली सेना परिचालन गर्न लगाएर आफ्नै सेनामाथि कब्जा जमाउँदै आत्मसमर्पणको बाटो खोल्न जानु भो।

तपाईंहरुले जतिसुकै सैद्धान्तिक र राजनीतिक कारण देखाए पनि व्यक्तित्वको खिचातानीका कारण पार्टी फुटेको हो भन्छन् नि?
बिलकुल होइन। १० वर्ष जनयुद्ध लड्यौं। १७ हजार जनताको बलिदान भए पनि नेपाली जनताले के पाएको छ? युद्ध आन्दोलन सबै भइसके, जनताले केही पाएनन्। हाम्रो असहमति यहीँनेर हो। मान्छेहरु पद र मन्त्रीको कुरा गर्छन्। प्रचण्डलाई समर्थन गर्नेले मात्रै मन्त्री खानुपर्छ भन्ने छ? पदहरुमा पनि प्रचण्ड र बाबुरामलाई समर्थन गर्नेहरुमात्रै जानुपर्छ भन्ने छ? त्याग तपस्या योगदान क्षमता आदिका हिसाबले सबैको बराबर हक हुन्न?

आफू पनि जानु पाउनुपर्थ्यो भन्नुभएको रहेछ!
होइन, होइन। हामी त नगएको। चारबुँदे जगमा बनेको बाबुराम सरकारमा हामी जान्नौं भनेको तपाईंलाई थाहा छैन? गर्नेबेला राष्ट्रिय र वर्गीय आत्मसमर्पण गर्ने, अनि पद नपाएर गएनन् भन्ने कुतर्क गर्ने?

पहिले सबै मिलेर प्रचण्डपथ पास गर्नु भो, अहिले पछुतो हुँदैछ होला हगि?
सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति प्रचण्ड हो भनी राजीखुसीले त्यो बेला पास गरेका हौं।
हिजोको भेलाबाट हामीले सच्च्याइसकेका छौं। हिजो क्रान्तिको नायक बन्ने प्रचण्ड नै आज प्रतिक्रान्तिको खलनायक बन्नुभएको छ। उहाँ क्रान्तिकारी रहिरहेको भए प्रचण्डपथ मात्रै होइन, प्रचण्ड विचारधारा भन्ने, एक्काइसौं शताब्दीको मार्क्सवादको उचाइमा यसलाई विकास गर्ने, विश्वक्रान्तिको सेवा गर्ने भनेकै हो। हिजोको क्रान्तिका नायकलाई नायक नै मान्ने हो। तर त्यसैलाई प्रतिक्रान्तिमा पतन गराउनेलाई खलनायक नमानेर के मान्ने?

संविधानसभा विघटन भएकामा चाहिँ?
पछुतो छ। जनताको पक्षमा संविधान लेखिने सम्भावना हुँदा हुँदै संविधानसभा गयो। हामी प्रक्रियामा जाउँ भनिरहेका थियौं। मिले मिल्छ, नमिले मतदानमा जान्छ। मतदानमा गएको भए अस्ति १४ प्रदेश पास हुन्थेन? जनजातिसँग मिलेर हामीले ३ सय २० पुर्‍याएका थियौं। अहिले आफूलाई बडो पहिचानको हिमायती भन्नुहुन्छ प्रचण्डहरु। विना नामका ११ प्रदेश बनाउने कार्यदलमा अनन्त बसेका थिए। पहिचानसहितको संघीयताको मुद्दा हाम्रो हो भन्छन् उनीहरु। तपाईं पूराना पत्रिका पल्टाएर हेर्नुस्, तिनको नैतिकता कतिसम्म रहेछ भन्ने थाहा भइहाल्छ। हाम्रो पार्टीबाट जहिले पनि देव गुरुङ दाइ बस्नुहुन्थ्यो, त्योपल्ट त अनन्त पो कार्यदलमा गएर बसेछन्। अनि अहिले आफूलाई पहिचानको हिमायती बताउने? झुठ बोल्ने पनि एउटा हद हुन्छ नि।
पहिले महान गौरवशाली क्रान्ति नायक भनेर प्रचण्डलाई पुकार्नुभयो। अब किरणलाई पुकार्नुहुन्छ होला।
गल्ती गर्नुभयो भने किरणलाई पनि बाँकी राख्दैनौं। मैले गल्ती गरें भने कसैले मलाई भन्नेछ। राम्रो काम गर्नेलाई आदर्श मानेर सम्मान गर्छौं। खराब काम गर्नेलाई छोड्दैनौं।

मन परे असल, रिस उठे खराब भन्दिने होला!
हत्तेरी, यो कसैप्रति व्यक्तिगत रिसइबि, इर्ष्या आदिको कुरै होइन। उहाँ ठूलो घरमा बस्नु भो, राम्रो गाडी चढ्नु भो भनेर त्यसो भनेको होइन।

पछिल्लो पटक तपाईंको प्रचण्डसँग कहिले कुरा भो?
मेरो... (निकैबेर सोचेर) वैशाखतिर होला। मिटिङमा।

व्यक्तिगत ढंगले कुरा भएको चाहिँ?
त्यस्तो नभएको त धेरै भो। मैले चैततिर पनि टाइम मागेको थिएँ। प्रचण्ड आफन्तलाई पिए राख्नुहुन्छ। उनीहरुलाई मन परे दिन्छन्, मन नपरे दिन्नन्। उहाँ बिग्रेको त्यही घेराले पनि हो।

पारिवारिक घेरा हो?
त्यो म भन्दिनँ, तर जुनसुकै प्रकारका स्वार्थको घेरा भए पनि त्यसले एक दिन उहाँलाई सिध्याउँछ सिध्याउँछ।

अब त पार्टी छाडिहाल्नुभो!
हो, छोडें। त्यसैले यसबारे धेरै कुरा भन्नु छैन, तर जुनसुकै दक्षिणपन्थी बाटोतिर हिँडे पनि उहाँ अहिले जुन घेराबाट चलिरहनुभएको छ, त्यसले राम्रो गर्नेछैन।

पार्टी छोडेपछि प्रचण्ड पक्षलाई कति धेरै गाली गर्नुभएको? पुष्पलालका पालादेखि नै यस्तो देखिन्छ। कम्युनिस्ट आन्दोलनमा स्वस्थ आलोचना सम्भव छैन?
पुष्पलाललाई गद्दार भनेकामा त हामीले गल्ती महसुस गरिसक्यौं। क्रान्तिलाई अगाडि बढाउने मान्छेले नै गद्दारी गरेपछि कडा आलोचना त भइहाल्छ नि। व्यक्तिगत कुरा होइन यो।

एमाले फुटेर माले बन्नु र तपाईंहरु फुट्नुमा फरक केही छ?
एकदम फरक छ। उहाँहरु टनकपुरको इस्यु उठाएर फुटेको हो। राष्ट्रियताको विषय थियो। समग्रमा उहाँको विचार राजनीति र कार्यदिशामा केही पनि फरक थिएन। त्यसो भएपछि फुट्नुको केही अर्थ भएन। पछि उहाँहरु फर्कनु पनि भो। हाम्रोचाहिँ पूरै भिन्नता छ।

तपाईंहरु यही अवस्थामा सशस्त्र युद्धमा नजाने, उहाँहरु पनि नजाने?
तर हामी नयाँ जनवादी क्रान्तितिर जाने।

सशस्त्र युद्ध गर्ने?
यो त परिस्थितिले पैदा गर्छ। अहिलेचाहिँ जनविद्रोह गर्ने। त्यसका लागि तयारी गर्ने।

तपाईंहरु मिलेर गर्दा त सम्भव भएन, अब कसरी होला र जनविद्रोह?
गरेकै होइन। त्यो त गाउने, नाच्ने मात्रै भयो। उहाँ रेखा थापासँग नाच्नु भो। अरु कोही नाचे, भाषण गरे। सडकमा बसे, गए, सकियो। जनविद्रोह भनेको त्यस्तो हुन्न। जनविद्रोहमा नजाने सोंचका लागि उही आन्दोलनको जस्टिफाइ गर्न मात्रै गरेको कार्यक्रम रहेछ त्यो।

रेखा थापासँग प्रचण्ड नाचेकोमा तपाईंहरु पनि असन्तुष्ट हुनुहुँदो रहेछ।
होइन, होइन, होइन। यसलाई गलत नबुझ्नुस्। उनी एउटी कलाकार भएर पनि आन्दोलनलाई समर्थन गर्न आएकी थिइन्। आन्दोलनकारीले पनि राम्रो उद्देश्य राखेर उनलाई बोलाएका हुन्। यसमा मेरो आपत्ति छैन। त्यत्रो ठूलो आन्दोलन केवल नाच्ने गाउने र भाषण गर्नेमा सीमित भयो। मेरो निष्कर्ष यतिमात्रै हो।

प्रचण्डको भनाइ छ : वैद्य पक्षलाई मैले अरु दलसँग अनुचित सम्झौता गर्छु भन्ने परेको थियो, तर गरिनँ। के भन्नुहुन्छ?
त्यो बिल्कुल होइन। त्यो कुर्सीका लागि सम्झौता हुन नसकेको हो। अरु कारणले होइन। पाँच बुँदे गरेर बाबुरामले सरकार छोड्ने, कांग्रेस एमाले सरकार बाबुरामकहाँ गइदिने, त्यसपछि संविधान घोषणा गर्ने बेला कांग्रेस सरकार बन्ने सहमति भएको तपाईंलाई थाहा छैन? नेपालमा अचम्म छ : यहाँका संसदवादी पार्टी संसदवादकै आधारभूत मूल्य र मान्यता पनि पालना गर्दैनन्। बाबुराम प्रधानमन्त्री उठ्दा विपक्षमा भोट हाल्ने कांग्रेस एमालेहरु उल्टै उनको सरकारमा गए। पछि प्रधानमन्त्री आफूले पाउँला भनेर तिनले त्यसो गरेका हुन्। त्यसैले संविधान ल्याउने कि नल्याउने भन्ने तिनको विषय नै थिएन, प्रधानमन्त्री हुने कि नहुने भन्नेमात्रै थियो। प्रचण्डको पनि कुरा त्यही हो। उहाँले पहिचानको मुद्दा छोडेकै हो। दुई प्रदेश मिलाएर बहुप्रदेश भन्नेमा उहाँ हुनुहुन्थ्यो। बालुवाटार बोलाएर जनजाति नेता भेटेको जिउँदोजाग्दो तथ्य छैन र? लास्टमा संविधानसभा खाएको त प्रधानमन्त्रीको कुर्सीले नै हो।

संविधान जारी भएसँगै मेरो राजीनामा आउँछ, पोका कस्दै गर्नुस् भनेर बाबुरामले जेठ १३ गते साँझ सहयोगीहरुलाई भन्नुभएको थियो रे!
बिल्कुल होइन। बाबुरामले पद छाडे रुपान्तरित संसदमा जान कांग्रेस एमाले मान्ने भएका थिए। यति हो, कांग्रेसले बाजी हार्‍यो, बाबुरामले जिते। कुर्सीकै कारण संविधानसभा खानेमा सबै जिम्मेवार छन्।

संविधानसभा छैन। प्रधानमन्त्री कामचलाउ छन्। अब देश कता जाला?
देश संकटपूर्ण अवस्थामा छ। हामीले यसलाई अग्रगमनतर्फ लैजानुपर्छ।

राष्ट्रपति सक्रिय हुनुहोला?
सेरेमोनियल हो उहाँ। उहाँलाई अधिकार दिइएको छैन। तर उहाँको ताल पनि मनपरी खालको छ। निर्वाचन आयोगलगायत जरुरी विषयमा अध्यादेश जारी नगर्ने यी राष्ट्रपति अहिले कुनै बहस छलफल नगरी सुपुर्दगी सन्धिजस्तो राष्ट्रघाती विषयमा हिजै पास गराइदिनुभएछ। उहाँको भूमिका म राम्रो देख्दिनँ।

राष्ट्रियताको मुद्दामा उहाँसँग मिलेर जाने सम्भावना छैन?
अहिलेको संकट दलहरु मिलेर समाधान गर्ने हो। यो राष्ट्रपतिसँगको कुरै होइन। अहिले ठूला नेता असफल भएका छन्, त्यसैले संविधानसभाभित्र भएका सबै दल, र जेठ १४ आउनु डेढ दुई महिना अघिसम्म विभिन्न सरोकारवाला जाति जनजाति क्षेत्र लिंग दलित आदि मिलेर अघि बढ्नु पर्छ। संविधानसभाका दलले मात्रै अब अघि बढ्न मिल्दैन। सबै मिलेर गोलमेच सभा गर्ने, त्यहाँबाट सहमति निकालेर अन्तरिम राष्ट्रिय सरकार बनाऔं। संविधानसभाबाट चार वर्ष लगाएर दुःख र मेहनतसाथ गरिएका कामको जगमा उभिएर संविधान जारी गर्नुपर्छ।

प्रचण्ड बाबुरामको शेखी झार्न कांग्रेस एमालेसँग मिल्ने सम्भावना कति छ?
इस्युका आधारमा जोसँग पनि मिल्न तयार छौं। तर पुरै मिल्ने भनेको त संसदवादमा गएका शक्तिसँग मिल्ने कुरा भएन।

राष्ट्रियताको मुद्दा झिकेर राजावादीसँग तपाईंहरु मिल्ने रे हो?
त्यसको जवाफ किरणजीले अघि दिइसक्नुभएको छ। प्रचण्डलाई बाबुरामले राजापरस्त, बाबुरामलाई प्रचण्डले भारतपरस्त भनेका थिए।

नेपालको राजनीतिमा उदाउन भारतको साथ चाहिन्छ भन्ने छ नि त?
हामी त्यसको विरुद्धमा जान्छौं। भारतको नवउपनिवेशवादको छायाँमा टिकिन्छ भन्ने यहाँका दलाल, र आफ्नो स्वार्थ तिनबाट पूरा गर्ने भारतविरुद्ध हामी छौं।

तपाईंहरुलाई पनि कुनै विदेशी शक्तिले चलाइरहेको छ रे नि त?
हामी त्यस्ता छौं भने कसैले पुष्टि गरे हुन्छ।

नेपालजस्तो देशमा यस्ता कुरा पुष्टि गर्न गाह्रो पर्ला!
केही गाह्रो छैन। नेपाल धेरै सानो, सजिलो देश हो।

हिजो युद्ध लडेका अधिकांश कार्यकर्ता प्रचण्ड पक्षमा छन् रे। कसरी विश्वासमा लिनुहुन्छ तिनलाई?
अधिकांश छैनन्। करिब ५०-५० कै अवस्था हो। केन्द्रमा उनीहरुको ५५ जति हो। तल त्यसको ठीक उल्टो छ। त्यसलाई पनि हामी हेर्दै जान्छौं। नयाँ पार्टी बनाएर नयाँ योजनासहित गएपछि सबै कुरा छ्यांग देखिन्छ।

जनता शान्ति चाहन्छन्, त्यसको नेतृत्व प्रचण्डले गर्नुहुन्छ भन्ने पनि छ नि? तपाईंहरुले कसरी जनसमर्थन जुटाउनुहुन्छ?
अरे, हामी पनि शान्तिकै पक्षमा छौं। तर तपाईं जवाफ दिनुस, शान्तिले के पाइयो? देशले के पायो?
कम्तिमा संविधानसभाको दिशामा पहिलोपटक देश गएको थियो।
त्यो कसले लेखेन? उहाँहरुले कुर्सीसँग संविधान साटेको होइन? जनतालाई सिधै धोका दिएको होइन?

पार्टीको आन्तरिक स्रोत साधनमा तपाईंहरुलाई बन्चित गराइएको थियो रे।
त्यो सही हो। विचार नमिलेका आधारमा त्यसो गरिएको हो।

अब कसरी पार्टी चलाउनुहुन्छ?
कार्यकर्ताको लेभी र शुभचिन्तकको चन्दाले। पार्टी आफैं उत्पादनको काममा लाग्नेछ। अनि नेपालका अरु पार्टी जसरी आर्थिक स्रोत निर्माण गर्छन्, हामी पनि त्यसै गर्नेछौं। चन्दा उठाउने आदि।

पहिलेजस्तै चन्दा भन्दै धम्क्याउने होला?
चन्दा भनेको स्वेच्छिक हुनेछ।

प्रचण्ड बाबुरामसँग मेल हुने सम्भावना छ?
नहुन सक्छ।

किरण असफल भएकैले २०४३ सालमा प्रचण्ड नेता भएको होइन?
एउटा पुलिस चौकी आक्रमण गर्दा भएको सानो क्षतिलाई आधार मान्ने हो भने त स्वयं प्रचण्ड संलग्न भएर गरेको खारा आक्रमणको असफलतालाई के भन्ने? २ सय भन्दा बढी योद्धा सहिद भए। हजारजति घाइते भए। यत्रो युद्धपछि सेनाका अघिल्तिर हतियार बुझाएर आत्मसमर्पण गरे प्रचण्डले उनले राजीनामा दिनुपर्दैन?

साह्रै शास्त्रीय र जडसूत्रवादी भएको आरोप तपाईंहरुमाथि छ।
नेपालको यथार्थ बुझेर क्रान्ति गर्ने हामी कसरी जडसूत्रवादी?

इतिहासको रिल घुमाउनुपर्‍यो भने तपाईंहरु कहाँबाट आफ्नो बाटो लाग्नुभएको छ? चुनवाङ, खरिपाटी वा अरु केही?
हामी त बौद्ध बैठकै हो (हाँसो)। अब यहाँबाट कमजोरी सच्याउँदै अघि बढ्ने हो। रिल घुमाउने होइन। यहीँबाट जनविद्रोह र जनवादी क्रान्तिको तयारी गर्ने हो।

प्रचण्डचाहिँ तपाईंहरु कहाँ आइपुग्दासम्मको नेता हो?
जेठ १४ को बेलासम्मै हो नि। उहाँलाई मानेकै हो।

किरणको उमेरले दिँदैन, बादल या अरु कसैले नेतृत्व गरे हुने भन्ने जिज्ञासा पनि कति मान्छेहरुको छ।
कोही मान्छे आफैंमा हिरो हुन्न। सर्वेसर्वा हुन्न। कम्युनिस्ट पार्टी भनेको सामूहिक छलफलबाट निर्णय लिने संस्था हो। किरणजीले नेतृत् वगर्ने, नीति बनाउने हो। फिल्डमा खटेर अरु कसैले गर्ला।

कम्युनिस्ट पार्टीमा अह्राउने र पालना गर्नेको बीच वर्गविभेद भइरहने हो?
पहिले त नीति बनाउने नै मुख्य कुरा हुन्छ नि।

नीति बनाउनेले चाहिँ काम गर्नुपर्दैन?
कस्तो कुरा गर्नुहुन्छ? नीति बनाउनुचाहिँ काम होइन? नेतृत्व गर्नु काम होइन?

प्रचण्डलाई हिरो बनाएको तपाईंहरुले नै हो!
हो। बनाएको हो। क्रान्ति गर्दासम्म मानेकै हो।
बाबुरामलाई रेड (लाल) र एक्स्पर्ट (निपूण) दुवै मानेकै हो!
हो। इतिहासमा व्यक्तिले खेलेका सकारात्मक कामको मूल्यांकन हुनु पनि पर्छ। जहाँबाट नकारात्मक भूमिका खेल्नुभो, त्यहाँबाट आलोचना गर्छौं।

भारतलाई हेर्ने अबको दृष्टिकोण के हो तपाईंहरुको?
सुगौली सन्धियता असमानतता छ भारत नेपाल सम्बन्धमा। १९५०, १९६५ र विभिन्न समयका सन्धि सम्झौतामा भारतले हामीले अर्धऔपनिवेशिक राष्ट्रका रुपमा व्यवहार गरेको छ। पछिल्लो समयसम्म आउँदा त को प्रधानमन्त्री बनाउने, नबनाउने आदि आन्तरिक विषयमा पनि नांगो हस्तक्षेप नै गर्न थालेको छ। मन्त्री बनाउन पनि दिल्लीले सिफारिश गर्ने? भारतीय शासक वर्ग बिस्तारवादी, नवउपनिवेशवादी हुन्। त्यसविरुद्ध संघर्ष गर्नुपर्छ। भारतीय जनताचाहिँ श्रमजीवी हुन्।

युद्धकालमा झैं निषेधको राजनीति गर्ने होला फेरि?
होइन, हामी त्यसो गर्दैनौं।

जनसरकार बनाउनुहुन्छ?
त्यो हामी हेर्छौ। संविधान बन्ने अवस्था भयो भने त्यता जाँदैनौं। बनेन भने जनताले आफ्नो सत्ता बनाउँछन्।

संविधान कसको कारणले बनेन?
एउटा त वैदेशिक शक्तिको हात हो। भारत र अरु पनि हुन्। संविधान बनाउन पनि करोडौं अनुदान दिने, जलाउन पनि अनुदान दिने विदेशी दाता। अनि यथास्थितिवादी सोच राख्ने नेपालका संसदवादी पार्टी। अनि विवाद समाधान उपसमिति संयोजक प्रचण्ड : समाधान पनि नगर्ने, संविधानसभाको विधिमा प्रवेश गर्न पनि नदिने।

त्यो त तपाईंहरुले नदिएको रे।
हामीले किन नदिने? हामीले धेरै विषयमा सहमति गरेका थियौं। विवाद समाधान उपसमितिले संवैधानिक समितिमा जानै नदिने, विघटन हुने दिनसम्म संविधानसभाको बैठक नबस्ने, प्रचण्ड पनि मुख्य नायक हो यसको।

नायक?
खलनायक। अनि आफ्नो सरकार बचाउन संविधानसभा गए पनि जाओस् भनी सोच्ने बाबुराम पनि। कुर्सीसँग संविधान साट्नु भो। जनताले संविधान पाएनन्, उहाँले प्रधानमन्त्री पाउनु भो।

केन्द्रीय समितिको अबको एजेन्डा के छ, भन्न मिल्छ?
अहिलेसम्म धेरै छलफल भइसकेको छैन। छिटै तय हुन्छ।

भूमिगत हुने हो?
होइन, किन भइरहनुपर्‍यो भूमिगत? पहिले सानो शक्ति थियौं र पो हुनुपरेको।

चुनाव भयो भने लड्ने?
यो चुनाव हुन्छ जस्तो लाग्छ तपाईंलाई?

भयो भने?
त्यो कस्तो हुन्छ, किन हुन्छ भनेर हामी हेर्छौं।

अस्तिकै संविधानसभा चुनावजस्तो जस्तो भयो भने?
तपाईं मान्नुस् न। अर्को संविधानसभा चुनाव हुँदैहुन्न। अरु चुनाव भए विचार गरौंला।

अनि संसदमा गएपछि तपाईंहरु पनि संसदवादी, होइन त?
खै त, हामी संविधानसभा गयौं, संसदवादी भएनौं त! तर फेरि पनि दोहोर्‍याउँछु, हामी गए पनि संसद गएर राष्ट्र र जनताको समस्या समाधान हुन्न। ब्युरोक्रेसी र न्याय प्रणाली यथावत रहुन्जेल नेपालमा केही गर्न सकिन्न। हामीले ६०१ सिटै जिते पनि, बाबुरामले जम्बो मन्त्रीमण्डल बनाए पनि। पूरानो राज्यसत्ताको ध्वंश, नयाँको निर्माण त्यसैले गर्ने भनेको।

२०४८ सालमा झैं चुनावको भण्डाफोर र उपयोग गर्न पनि नजाने?
त्यसरी चाहिँ जान सकिएला। हामी छलफल गर्नेर्छौं। दलीय प्रतिष्पर्धामा जाने हो।

त्यो प्रतिष्पर्धालाई संस्थागत गर्न पनि संसद त चाहियो होला नि होइन?
संसदमात्रै होइन, जनप्रतिनिधिसभा आदि पनि हुनसक्छ।

नामले के फरक पर्छ?
फरक पर्छ नि। त्यसका कामहरुले फरक पार्छ।

तपाइंहरु गए जनवादी, अरु बुर्जुवा?
होइन, होइन। यथास्थितिमा चुनाव गरेर बन्ने संसदले जनताको पक्षमा केही गर्न सक्छ?

तपाईंहरुको नीति मान्नेले मात्रै चुनाव लड्न पाउने होला?
होइन, सबै विचारको सम्मान हुनेछ।

मोहनविक्रमहरुसँग मिल्ने सम्भावना छ?
छैन छैन। उहाँहरु धेरै पर हुनुहुन्छ।
पछिल्ला दिनमा केही पढ्नु भो?
खासै छैन। लेनिनको 'राज्य र क्रान्ति' अनि 'दुई कार्यनीति' सर्सर्ती पढें।
फुट्दाखेरि कस्तो कस्तोचाहिँ लागिरहेको रहेछ।
त्यस्तो होइन। नीति मिल्यो भने भोलि एकता महाधिवेशन पनि हुन सक्छ। यसपालिको फुटले प्रचण्ड कमरेडहरुलाई राम्रैगरी दबाब दिएको हुनुपर्छ। उहाँहरु सच्चिनुभयो भने फागुन १ पनि कुर्नुपर्दैन।

घुर्क्याउनका लागि पो फुट्नु भएको रहेछ!
घुर्क्याउनलाई होइन। तर उहाँहरु सच्चिनुपर्छ।

प्रचण्डपथ भनेझैं किरणपथ बनाउने अब?
नबनाउने। हामीले धेरै सिकिसक्यौं।

देवत्वकरण भएछ भन्ने लाग्यो?
हो। त्यसैले वैज्ञानिक रुपमा ठिक्क, वस्तुवादी ढंगल नेतृत्व स्थापित गराउने कुरा एउटा हो।

उता पनि पोलिट्ब्युरोमा नै हुनुहुन्थ्यो। अहिले पनि त्यसैमा सन्तुष्ट हो?
बिलकुल। पद पाउँला भनेर नयाँ पार्टी खोलेको होइन। अवरुद्ध क्रान्ति निरन्तरता दिएर विजय पाउने हो। पदको कुरा गर्नुहुन्छ भने तीन पटक मन्त्री भइसकेको मान्छे हुँ म।

अन्तमा, कम्युनिस्ट नेताहरुसँग अन्तर्वार्ता लिन जाँदा मलाई उनीहरुसँग कतै प्रक्षिक्षण लिइरहेको त छैन जस्तो लाग्छ।
(लामो हाँसो) अब तपाईं पनि कम्युनिस्ट बन्नूस्। संसार बदल्ने शक्ति भनेको कम्युनिस्ट पार्टीमात्रै हो।

प्रतिक्रियाहरू (2)Add Comment
0
manik dahal
June 26, 2012
94.59.142.248
भोट: +0
...

पैन्ट कट्दै हिंड्ने पार्टीको नेतृले पनि पैन्ट्नै लगाएर कुर्सिमा बसेको तस्बिर देख्दा अचम्म लाग्यो । आफुले लगौदा हुने अरुले लगौदा आपती समान्ती मवोबादिको ब्यबहार्, यस्तो पार्टीबाट जनतले के आस गर्ने।

0
Gorkhali jee
June 26, 2012
88.90.199.78
भोट: +0
...

Pani mathi ko ovano hunuhunchha vu.pu.mantrani ji Khali Birodh ko lagi Birod garera kunai tuk chhaina. Aba kaska ra ke ka lagi kranti hajur aba Badal ra Gajurel lai sarbasakti man bamaune vaya sabai akai thaun ma poko parchhan ini haru.
Sabai lai satta chaiya ko chha payapachi autai hun kura.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता