Home ब्लग ब्लग अफिस जानै पर्ने?

अफिस जानै पर्ने?

E-mail Print
(7 votes, average 1.57 out of 5)
बिहानै चिया लिएर मेरो कोठा छिर्नेबित्तिकै आमाले भन्नुभयो, ...बाबु आज त अफिस जानुपर्दैन होला नि? प्रेसको गाडीमा पनि तोडफोड गरे रे, पत्रकार पनि कुटिए रे। प्रेस पनि बन्द होला, अफिस न जा!'
अकमक्क परेँ र चियाको चुस्की लगाउँदै टिभीअगाडि बसेँ। नभन्दै, सञ्चारमाध्यमका गाडी र पत्रकार बन्दकर्ताको निशानामा परेछन्। केही समयपछि प्राय सबै टेलिभिजन समाचारमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीको टेलिफोन प्रतिक्रिया बज्न थाल्यो। उनी भन्दै थिए, ...हाम्रो कुनै पनि सञ्चारमाध्यमका गाडी वा पत्रकारमाथि आक्रमण गर्ने नीति छैन। यो सरकारले परिचालन गरेका भिजिलान्तेको काम हो। हाम्रो शान्ति पूर्ण विरोध प्रदर्शनलाई अराजक भिडको संज्ञा दिएर संकटकाल घोषणा गर्ने तयारी हो। हामी यसको भर्त्सना गर्छौं।'
म जिल्ल परेँ।'
कार्यालय त जसरी पनि जानै पर्‍यो। मैले फोटोपत्रकार साथी विकास कार्कीसँग लिफ्ट मागेँ। उनले ...हुन्छ' भनेपछि हामी सँगै कार्यालय जाने भयौँ। जडीबुटी चोकमा हामी भेटिँदा घडीमा ठिक एघार बजेको थियो। एघारको फाइनल परीक्षा सकाएर घाममा टट्टिँदै घर फिर्दै गरेका विद्यार्थीको लामो लर्को बाटोमा देखिन्थ्यो। सबै हतास देखिन्थे। उनीहरूको त्यो घामको हिँडाइमा बन्दकै गफ गर्दै थिए, ...अर्को परीक्षा दिन पनि यस्तै सास्ती हुने भो, ह्या!' बाइकमा हुँकिरहेका हामीले बाटोमा ...मिराज फर्मेसन' भएको देखेपछि। घामको पाराले कति नाघेको होला आंकलन गर्ने पनि आँट गरेनौँ।
लुकुन्थलीमा हाम्रो परिचयपत्रको चेकजाँच भयो। अगाडि लाग्यौँ। ठिमीको चोकमा बन्दकर्ताहरूको बाक्लो उपस्थिति थियो। मोटरसाइकल देख्नेबित्तिकै कुनै अर्को ग्रहबाट आएको जीव देखेर घेरेझैँ घेरी हाले। हामीलाई त्यहाँ पनि हाम्रो परिचय सोधियो। लगत्तै विकासदाइलाई आफ्नो फोटो खिच्न उनीहरूले आदेश दिए। उनीहरूले फोटो खिच्नमात्र लगाएनन्, उनले खिचेको फोटो भोलि पत्रिकामा नआए त्यो बाटो फेरि नहिँड्न धम्कीसमेत दिए। उनीहरूले केही सञ्चारमाध्यमको नामै किटेर उक्त सञ्चारगृहको नभएकाले हामी जोगिएको प्रतिक्रियासमेत दिए। त्यति सुनेपछि हामी अब त्यहाँभन्दा अगाडि नबढ्ने भयौँ। अगाडिको स्थिति अझ बढी अराजक भएको एक बन्दकर्ताले नै सजग गराए। त्यसपछि हामी सोही बाटो फर्कियौँ। बाटोमा कोही सुटकेस गुडाएर आफ्नो गन्तव्यतर्फ लम्किरहेका थिए त कोही कानमा इयरफोन जाकेर मस्त घाममा छाता ओडेर हिँडिरहेका देखिन्थे। अलिकति पर छ/सातजना महिलाहरू सागको डोको बोकेर कोटेश्वरतर्फ जाँदै थिए।
हामी मेनरोड छाडेर मनोहरको किनारै किनार ग्वार्को निस्कियौँ र त्यहाँबाट फेरि भित्रकै बाटो समातेर सातदोबाटो। ग्वार्को, चावहिल, बानेश्वर र कुपण्डोल आजको बन्दमा पत्रकारहरूकालागि रेडजोन नै थियो। थुप्रै पत्रकार र सञ्चारगृहको गाडीमाथि आक्रमण भएको ठाउँ। हामी फेरि भित्री बाटो हुँदै शंखमूल पुलको मुखमा पुग्यौँ। त्यहाँ हामीसँग पुनः हाम्रो परिचयपत्र मागियो। उनीहरूले परिचयपत्र हेरेर जान दिए। उनीहरूको व्यवहार र अभिव्यक्ति हेर्दा लाग्दथ्यो उनीहरूले निश्चित सञ्चारगृहलाई पहिले नै टार्गेट बनाएर बसेका थिए। संयोगवश, हामी त्यो हिट लिस्टमा परेनछौँ भन्ने भान पर्‍यो।
शंखमूलको पुल पार नै गर्न नमिल्ने गरी अवरोध गरिएको थियो। साइडमा बसेका प्रहरी आफैँ हामीलाई डाइभर्सन देखाउँदै थिए। हामी बागमतीको किनारैकिनार कुपण्डोल पुग्यौँ। हामीलाई मेन बाटोमा मोटरसाइल कुदाउने आँट अझै आएन। त्यहाँबाट हामी फेरि किनारै किनार टेकु पुग्यौँ। टेकुबाटमात्र मेनरोड हुँदै सुन्धारा स्थिति कार्यालय आइपुग्यौँ।
बाटोमा जे-जति दृश्य देखियो, त्यो अराजक भिडभन्दा अरू केही थिएन। त्यो भिड नेतृत्वविहीन थियो। स्कुल बन्द भएकाले अन्य काम नभएका बालबालिकाको यो बन्द गराउन अत्यधिक प्रयोग भएको देखियो। प्रदर्शनकारीहरूको अराजक व्यवाहारलाई प्रहरीले मूकदर्शक बनेर अझ बल दिइरहेको भान हुन्थ्यो। लोकतन्त्रमा प्रहरी जनताको जिउधनको सुरक्षा भन्दा नेताको सुरक्षामा बढी तल्लीन देखियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट