भट्टराईको प्रत्युत्पादक हठ

E-mail Print
(0 votes, average 0 out of 5)

राजनीतिक सहमतिले मात्र देशलाई अनीष्टबाट जोगाउन सकिन्छ। प्रधानमन्त्री बाबुराम भट्टराई भने सहमतिका लागि वातावरण बनाउनुको साटो मुलुकलाई मुठभेडतर्फ लैजान अग्रसर हुन थालेका छन्। राजनीतिक सहमति भएमा आफू बाधक नबन्ने अभिव्यक्ति पटकपटक प्रकट गर्दैआएका प्रधानमन्त्री भट्टराईले दिगो विकाससम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिएर फर्केपछि आश्चर्यजनक रूपमा आफूलाई निर्विकल्प घोषणा गरेका छन्।
रियो सम्मेलनबाट नेपाल फर्कने क्रममा पत्रकारहरूसँग उनले आफूले सत्ता छाडे 'माघ-१९' आउने दाबीसमेत गरे। प्रधानमन्त्रीको दाबी र जिद्दी संविधान निर्माण लगायतका विषयमा सहमति बनेमा प्रधानमन्त्रीको राजीनामा गराउन एनेकपा (माओवादी)तत्पर रहेको उनैका अध्यक्ष पुष्पकमल दाहाललाई समेत दिइएको चुनौती हो। पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटको प्रसंगमा आफूलाई सिंहको समर्थन रहेको जनाउ पनि अप्रत्यक्षरूपमा दिन खोजे। धेरैले यही कारण प्रधानमन्त्री भट्टराईको विचार बदलिएको सन्देह गरेका छन्। कारण जे भए पनि भट्टराईले अर्को सरकार बन्ने संवैधानिक बाटो नभएको भन्दै आफू पदबाट नहट्ने स्पष्ट सन्देश दिएका छन्। सम्भवतः यही कारणले सहमतिका लागि वार्तामा संलग्न विपक्षी दलका शीर्ष नेताहरूले कडा प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्रीको अभिव्यक्तिले विपक्षी दलका नेताहरूलाई बढी झस्काउनु अस्वाभाविक होइन। सत्तारुढ माओवादीका अध्यक्ष दाहालसँग गरिने सहमति व्यर्थ हुने सन्देह पनि यस घटनाबाट उत्पन्न भएको छ।
नेपालको अन्तरिम संविधान, २०६३ ले राजनीतिक दलका नेताहरू यति नालायक होलान् भन्ने अनुमानै नगरेकाले अहिलेको संकटको पनि स्पष्ट संवैधानिक विकल्प देखिँदैन। तर, यो संविधानको मूल मर्म विशेष गरी सरकार संचालनका सन्दर्भमा संविधानको धारा ४३ मा अभिव्यक्त भएको छ। यस धारामा उल्लेख भएअनुसार - 'नेपाल सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृतिअनुरूप गरिनेछ। नेपाल सरकारको सञ्चालनको नीतिगत आधार आपसी सहमतिबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रम हुनेछ।' यसले सरकार सञ्चालनका लागि स्पष्ट मार्ग निर्देश गरेको छ भने त्यही आधारमा सरकार निर्माण पनि हुनसक्छ। संवैधानिक र कानुनी आधारमा राज्य सञ्चालन गर्नुपर्छ भन्नेमा दुई मत हुँदैन। तर, त्यस्तो आधारको व्याख्या आफूलाई सजिलो भएमात्र स्वीकार गर्नु अधिनायकवादी मानसिकताको अभिव्यक्ति हो। प्रधानमन्त्री भट्टराईका तर्कअनुसार त बजेट पनि प्रस्तुत गर्न मिल्दैन। निर्वाचन हुने मिति घोषणा भए पनि सर्वोच्च अदालतमा परेको मुद्दा, निर्वाचनका लागि आवश्यक कानुनी प्रावधानको अभाव, भौतिक क्षमतालगायत जनशक्तिको अभावजस्ता अनेकौँ पक्षहरूले घोषित मितिमा चुनाव हुन कठिन हुने देखाएका छन्। त्यसमाथि बाबुराम भट्टराईले पद नछाडेसम्म प्रमुख विपक्षीहरू निर्वाचनका लागि सहमत हुने संकेत पनि देखिँदैन। संविधान सभा भंग गर्ने बेलामा राजनीतिक दलहरूको सहमति नलिई प्रधानमन्त्री भट्टराईले गरेको एकलौटी निर्णयले अरू दलका नेता बिच्किनु स्वाभाविकै हो। नैतिकताका आधारमा त उनले संविधान सभाले संविधान पारित गर्न नसक्नेबित्तिकै राजीनामा गर्नुपर्थ्यो। त्यसमाथि उनले अर्को सरकार गठन हुने बाटै छैन भनेर आफ्नै पार्टीका अध्यक्षलगायत सबैलाई चुनौती दिए। यसले स्थिति झन् जटिल र मुठभेडउन्मुख बनाएको छ।
वास्तवमा बाबुराम भट्टराईले पद त्याग गरेर राजनीतिक दलहरूबीच समझदारी र सहकार्यको बाटो खोल्दामात्र माघ १९ आउन सत्तै्कन। माघ १९ चरम सत्ता लोलुपताको अभिव्यक्ति हो। अतः भट्टराईले आफू माघ १९ प्रवृत्तिको पक्षधर हैन भन्ने प्रमाणित गर्न पनि पदबाट हट्न तत्पर हुनुपर्छ। उनलाई आफ्नै नेतृत्वमा सबै दलहरू सामेल भएको सरकार बनोस् भन्ने चाहना हुनु अस्वाभाविक होइन। नेपाली कांग्रेस र नेकपा (एमाले) उनको नेतृत्वको सरकारमा सामेल भएका पनि थिए। तर, उनैको एकलकाटे अधिनायकवादी कार्यशैली र प्रवृत्तिका कारण कांग्रेस र एमाले सत्ताबाट फर्के। संविधान सभाले संविधान जारी गर्न नसकेपछि त्यसको अवसान त निश्चितै थियो। राजनीतिक दलका नेताहरूलाई विश्वासमा लिएरमात्र अर्को चुनावको घोषणा गरेको भए स्थिति अर्कै भइसक्ने थियो। त्यस अवस्थामा अरू दलहरूले पनि प्रधानमन्त्रीको विकल्प नखोज्ने सहमति गर्नसक्थे। तर, अब समय धेरै बितिसकेको छ। बाबुराम भट्टराईलाई दलका नेताहरू विश्वास गर्ने बाटो स्वयं उनैले थुनेका हुन्। त्यसपछि पनि स्थिति सहज गराउनेभन्दा अटेर गरेर एक्लै अगाडि बढ्ने शैली उनले अपनाएकाले नै संकट उत्पन्न भएको हो। अर्को पटक मुलुकले माघ १९ भोग्न र त्यसका विरुद्ध संघर्ष गर्न नपरोस् भन्ने चाहने हो भने प्रधानमन्त्री भट्टराई राजनीतिक सहमतिमा हुने निर्णय स्वीकार गर्न तत्पर हुनुपर्छ। भट्टराईले बगदादको समुद्री बूढाले झैँ अध्यक्ष दाहाललाई सकसमा पार्न थाले भने सम्भवतः उनैका लागि सबैभन्दा बढी प्रत्युत्पादक हुनेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता