जनजाति आन्दोलनका प्रश्नहरू

E-mail Print
(2 votes, average 4.50 out of 5)

विगतमा नेपाली जनतालाई जातीयरूपमा सम्बोधन गर्न नसकिएकाले राष्ट्र निर्माण लागि जातीय संघ बनाउनुपर्छ भन्ने प्रसंग एउटा समूहले उठाइरहेको छ। त्यसको नेतृŒव भने विगतमा वर्गविहीन समाजको कल्पना गर्ने कम्युनिस्टहरूले गरेका छन् । एउटा संघको निर्माण गर्न २५ देखि ३५ सम्म प्रकारका परिचय र अवयवहरूको अध्ययन गर्नुपर्ने हुन्छ। अन्यथा, न संघ टिक्न सक्छ न विकास न शान्ति नै हुनसक्छ।
कुनै राजनीतिक पार्टीले सत्ता कब्जा गर्ने लोभमा सन् १९४६ मा भारतको आन्ध्र प्रदेशको तेलंगना क्षेत्रबाट कम्युनिस्टको आवरणका सुरु गरेको 'जनजाति'को नाराले करोडौँ जनाको रगत बगाइसकेको छ । जुन रगतको कुनै मूल्य नै रहेन । केही राज्यमा कम्युनिस्टहरूले सरकार बनाए दुईचार जना नेता सम्पन्न भए । जनजाति भने लगातार प्रयोग भइरहे। नेपालमा पनि माओवादी आन्दोलनले यही नारा लगाएको थियो। फलस्वरूप, सत्र हजारभन्दा बढी नेपालीले ज्यान गुमाए। त्यसको परिणाममा न संविधान सभाबाट संविधान बनाउनै सकियो न माओवादीहरू एकजुट हुनसके। यी हजाराँै नेपाली केका लागि मारिए र उपलब्धि के भयो भन्ने प्रश्नको उत्तर युद्ध सरदारहरूले दिनसकेका छैनन्। अहिले नेपाली समाज ज्यादै नै कमजोर भइरहेको छ। मानिसका मन कुँडिएका छन्। त्यसैको मौका छोपी राष्ट्र लुट्ने प्रतिस्पर्धा भइरहेको छ। त्यतिमात्र होइन पुरानो युद्ध संशोधनवादी भयो नयाँ युद्ध सुरु गर्नुपर्छ भनी जनताकै नाममा पुनः जनता लुट्ने नयाँ उद्योग चलाउने प्रपञ्च हुँदैछ। विगतमा माओवादीले उठाएका जातीय मुद्दाहरू खुला समाजमा प्रायः असफल देखिए । त्यसैले गर्दा अहिले अत्यन्त कुटिलतापूर्वक विभिन्न पार्टीका जातीय भातृसस्थामार्फत् पुराना एजेन्डा नयाँ ज्ञापनपत्रका रूपमा अगाडि सारिएका छन् । एउटा प्रजातान्त्रिक पार्टीको हैसियतले जुन रूप र आशयबाट मुद्दाहरू उठाए पनि भोलिको शान्ति, समृद्धि, विकास र सामाजिक सद्भाव कायम गर्ने गरी सम्बोधन गर्नुपर्छ । भोलिको हिंसा र विनाशको बीउ रोप्नु हँुदैन भन्ने पनि ज्ञापन पत्रदातालाई खुलारूपमा सम्झाउन सक्नुपर्छ। त्यही नै नेतृत्वको कसी हो ।
राष्ट्र, मानवता र लोकतन्त्रका लागि आफ्नो सुनौलो जीवन अर्पण गर्ने नेपालको प्रजातान्त्रिक आन्दोलनका पुराना राष्ट्रिय नेताहरूलाई विडम्बना र बाध्यतापूर्वक वर्तमानमा जनजाति नेताहरूको रूपमा हेरी छलफल गर्दा जनजातिको नाममा उल्झिन खोजेका नेतृत्वलाई प्रेरणा हुनसक्छ । योगेन्द्रमान शेरचन, देवानसिंह राई, बलबहादुर राई, मीनबहादुर गुरुङ, अमृत शेरचन, डी बी राई, जी बी याक्थुम्बा, तेजमान तुम्बाहाम्फे, जवानसिंह गुरुङ, प्रेमबहादुर लिम्बु, दलसुर राना, गोपाल राई जस्ता महान हस्तीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका छन्। यी सबै नेपाली आकाशका अमर तारा हुन् । उनीहरूलाई जातीय रूपमा हेर्नुभन्दा ठूलो अवमूल्यन के हुन्छ? अहिले पनि हाम्रा सामु नेपालको प्रजातान्त्रिक आन्दोलन र चिन्तनमा लागिरहेका नेपाल र नेपाली जनतालाई शिरमा राखी निर्णय गर्ने नेताहरू छन्।
भूविक्रम नेम्वाङ, भिमबहादुर तामाङ, केबी गुरुङ, सूर्यमान गुरुङ, प्रेम राज आङदम्बे, नरेन्द्रविक्रम नेम्वाङ, बाबुराम राना र दीलबहादुर घर्तीहरूलाई जातीयताको आँखाले हेर्नु ठूलो अन्याय हुन्छ । तिनका अनुयायीहरू नेपालमा जातीय रूपमा विभाजित छैनन्। नयाँ पुस्तामा भीष्मराज आङदम्बे,धनराज गुरुङ, कृष्णबहादुर घर्ती, रत्न शेरचनदेखि भीमकुमारी बुढासम्मले सिंगै नेपाली पहिचानको बोझ उठाउन आफ्नो काँध मजबुत बनाएका छन् । यही मानवता र प्रजातन्त्र कांग्रेसको सुन्दरता हो!
मानव विकास क्रममा, सामूहिक पहिचानको विकास, एकअर्कामा आश्रित समाज र अन्तरसम्बन्ध सुदृढ भइहेका समयमा, एकल पहिचानको नारा चर्काएर द्वन्द्व बढाउन खोज्नु मानव विकास क्रमबाट पछि हट्नु हो । डाँडा काडामा बसेका नेपालीलाई राज्यको पहुँच पुर्यावउन सामूहिक बस्ती बसाउन छाडेर जन्मका नाममा सुविधा विहीन उही थलोमा कुँज्याएर राख्दा कुन जातिको भलाई हुन्छ? नेपालका सबै भाषा, संस्कृति, भौगोलिक, पहिचान नेपालीका सम्पत्ति हुन् । तर तिनैको नाममा २१ औ शताब्दीमा पनि निमुखा गरिबका छोराछोरीलाई पुरानै भाषा अगाल्नु पर्छ भनी बाध्य पार्नु कुन जातीय आधुनिकता भित्र पर्छ? तिनहरूको संरक्षण र विकासमा राष्ट्रको सम्पन्नतासँग जोडिएको छ । त्यस्तो समाजलाई जातीयताको नाममा विभाजन गरी हिंसा फैलाउनु उपयुक्त हुन सत्तै्कन । नयाँ राष्ट्रको निर्माणमा साझा पहिचान र संस्कृतिलाई सम्बोधन गर्नु पर्छ । त्यसको विकास र संरक्षणको लागि सामर्थ्यलाई जोड दिनुपर्छ। तर नेपालमा जसरी एकल जातीय पहिचानको विषय उठाइएको त्यसलाई हेर्दा त मुलुकलाई दस हजार भागमा विभाजन गर्दा पनि एकल पहिचानको मागलाई सम्बोधन गर्न सकिने देखिँदैन। साथै २०४६ सालको परीवर्तनपछि नेपाली कांग्रेसको सरकारले नै नेपाली संचार माध्यममा विभिन्न भाषा र संस्कृतिको प्रस्तुतिको सुरुआत गरेको हो । दलित, जनजाति र महिलाको संरक्षण र विकासका लागि विभिन्न आयोगहरूको निर्माण गरेको थियो। त्यही पार्टीलाई कसरी जनजाति विरोधी भन्न मिल्छ?
भूमण्डलीकरणको प्रभाव, संचार र यातायातको विकासले संसार सानो भएको छ । नेपाली युवाले विश्वका विकसित राष्ट्रका युवासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा जनतालाई पुरानै ठाउँ र भाषातर्फ धकेल्न खोज्नु हुँदैन । उनीहरूलाई आधुनिक शिक्षामा विज्ञान, गणित र अग्रेजी भाषाको ज्ञान अनिवार्य दिनुपर्छ । जनतालाई आधुनिक शिक्षाबाट टाढा राख्दा, आदेशको भरमा जातको नाममा भोट त प्राप्त होला तर तिनको भविष्य त सुनिश्चित हुनेछैन। त्यसको जिम्मेवारी कसले लिने? कति शोषण गर्ने उनीहरूको इमान्दारी र भोलापनको?
नेपालमा अहिले जनजातिका नाममा एकल पहिचानको नारा चर्को रूपमा लगाउनेहरू धेरैजसो विभिन्न गैरसरकारी संस्थासँग सम्बन्धित देखिन्छन् । उनीहरूको एउटा खुट्टा नेपालमा हुन्छ भने अर्को खुट्टा विदेशमा, नागरिकता नेपाली र पासपोर्ट विदेशी बोकेर बसेका छन्। यी जनजातिका नाममा डलर खेती गर्नेहरू स्थानीय भाषाको त कुरै छाडौँ नेपाली भाषा पनि कमै प्रयोग गर्छन्। अनि यिनीहरू नै जातीयताका नाममा गरिबहरूको शोषण गर्दैछन्। तीमध्ये धेरैका छोराछोरी नेपालमा बस्दैनन् । के त्यस्ता पृष्ठभूमिका व्यक्तिहरू पिछडिएका क्षेत्रमा बस्ने गरिब जनजातिका नेता हुन् सक्छन्? त्यसकारण विभिन्न पार्टीसँग सम्बन्धित, स्वतन्त्र र राष्ट्रवादी जनजाति नेताहरूले तिनीहरूसँग खुलारूपमा केही प्रश्न गर्नुपर्छ । अनि छर्लंग हुनेछ - नेपालीहरूबीचको बन्धुत्वलाई तोड्ने तिनीहरू को हुन् भन्ने।
१. संसारमा एकल जातीय पहिचान कुन दर्शनमा आधारित छ? संसारका कुन्कुन् बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देशमा एकल पहिचानको व्यवस्था छ? संसारमा जातीयताका आधारमा विकास भएका कुन् कुन् देश छन्?
२. नेपाली समाजको निर्माण ११८ भन्दा बढी जाति, जनजाति र आदिवासी, एकसय जति भाषा र नौ वटाभन्दा बढी धर्म मिलेर भएको छ।। तिमध्ये दुईचारवटा पहुँचदार जातीय राज्य बनाएपछि अन्य जातिले पनि राज्यको माग गर्दा नेपालमा कतिसम्म जातीय राज्य बनाउन सकिन्छ?
३. विगतमा संघ निर्माणको क्रममा 'एक मधेस: एक प्रदेश' को समर्थन गर्ने र किरात, लिम्बुवान, मगरात र तम्बुवान नाम गरेका प्रदेशलाई भारत र चीनको विकासको एउटा पनि नाका नमागी देश भित्रको बन्दी बनाउनु कतापट्टिको आत्मसमर्पण हो? सामर्थ्यलाई छाडेर एकल जातीयताको नाराले त्यहाँका जनताको भविष्य के हुने?
तसर्थ, सबै लोकतन्त्रवादीले असमान व्यवहार र विकासले द्वन्द्व उत्पन्न गर्छ, बदनियत बोकेका व्यक्तिहरूले खेल्ने ठाउँ पाउँछन् भन्ने यथार्थ बुझ्नु जरुरी छ। जनताको विकासका समस्यालाई वर्गीय दृष्टिबाट हेरिनुपर्छ। विभिन्न भाषा, संस्कृति र परम्पराको सम्मान गरिनुपर्छ। त्यसैमा मानवताको पहिचानयुक्त विकास हुन्छ।
लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता