हाम्रो आगो उनको दमकल

E-mail Print
(3 votes, average 4.33 out of 5)
मुलुकमा संविधान बन्न नसकेका आफ्नै दुःख छन्। तर, त्यसभन्दा बढी यो मुलुकमा राष्ट्रिय राज्य बन्न नसकेका अनगिन्ती दुःख छन्।
जब जब म राजधानी काठमाडौंबाहिर बसेर यो मुलुकको शासन/प्रशासन र सुविधा हेर्छु तबतब मभित्र हामी देश कहिले बनौंला भन्ने जिज्ञासा उठ्छ। वास्तवमा देशको यथार्थ काठमाडौंबाट थाहै नहुने रहेछ। काठमाडौं खाल्डोमा जोजो आए, तिनले पनि यही खाल्डोलाई माया गरे। र, तिनले आफू आएको ठाउँ चटक्क बिर्सिए। ती आफू बने तर देशलाई उस्तै छाडिदिए।
प्रसंगको उठान म नेपालगन्ज नजिकै लागेको आगलागीबाट गर्छु। हालै बाँकेको रम्भापुरमा आगलागी भयो। एक वृद्ध घरबाट भाग्न नसक्दा त्यसैमा परे। झण्डै सय घर आगोको लपेटामा परे। नेपालगन्जको धम्बोजी चोकबाट करिब पाँच किलोमिटर टाढा रहेको यो गाउँमा आगलागी भएको खबर पाएपछि भारत उत्तर प्रदेश बहराइच पुलिस फायर ब्रिगेडको दमकल गाउँतिर दौडियो। र, आगो पनि त्यसैले निभायो।
त्यहाँको दृश्य दारुण थियो। गाउँले आफ्नो घरमा लागेको आगो छिटो निभाइदिन माइवाप सम्झेर दमकल कर्मचारीसँग अनुनय/विनय गरिरहेका थिए। त्यसो त, नेपालगन्जमै दुईटा दमकल छन्। तर, तिनको पिच्कारीमा कुनै दम छैन। त्यसो त तिनले गफ दिन्छन् भारततिरका गाउँमा आगो लाग्दा हामी पनि निभाउन जान्छौं। तर, रम्भापुरको अग्नि समन गर्न नसकेको देखेपछि तिनको हालत थाहा भइहाल्यो।
भारतीय दमकल फर्केपछि नेपालगन्जको दमकल पनि बूढो लाहुरेजस्तै ढल्किँदै घटनास्थल आइपुग्यो। तर, त्यसले गर्न सक्ने केही थिएन। हाम्रो देशको भारत निर्भरता बाँकेको कुनै गाउँको आगो निभाउनेदेखि राजधानी काठमाडौंको राजनीतिक आगो निभाउनसम्म छ नै। यस अर्थमा भारतीय दमकलले आगो निभाएकामा कुनै आश्चर्य मान्नुपर्दैन।
एउटा देश देश बन्न नागरिकलाई धेरै हिसाबले अनुभूति दिन सक्नुपर्ने रहेछ। म देख्छु, घरमा सत्यनारायणको पूजा लाउने सामग्री किन्न पनि सीमापारि नै जानुपर्ने रहेछ। राष्ट्रिय उद्योगधन्दालाई प्रोत्साहन दिने भनिन्छ तर गुणस्तरमा नेपाली उत्पादनले उपभोक्तालाई दिक्कै गराउँछ। एक बिहान चियासँगै बिस्कुट खाऔं न भनेर किन्दा भक्तपुरमा कारखाना भएको बिस्कुटभित्र अँगारजन्य सामग्री थिए। अब यस्तो बेलामा पार्लेजी वा यस्तै अन्य भारतीय ब्राण्डको शरण नपरी सुख्खै छैन।
भारतीय सीमा क्षेत्रमा रहेका नेपाली शहरका आफ्नै सुखदुःखका कथा छन्। राजधानी काठमाडौंमा जस्तो दिनमा घण्टौं लोडेडिङ त नेपालगन्जमा हुँदैन। तर, कुनै बेला लगातार तीन दिन बिजुली नहुनु पनि अनौठो हुँदैन। प्रचण्ड ४५ डिग्री आसपासको गर्मी, त्यसमाथि हावा नचलेर उम्सो भएको समयमा एक फन्को बिजुली पंखाको हावाले त्राणको काम गर्छ।
कम्तीमा राजधानी काठमाडौंका बासिन्दालाई कति बेला बिजुली जान्छ र कति बेला आउँछ भन्ने जानकारी हुन्छ। सीमापरि नानपाराबाट आएको बिजुली लाइनको नेपालगन्जबासीलाई कतिबेला जाने र कतिबेला आउने भन्ने कुनै जानकारी हुँदैन। दिनभरको थकाई र गर्मीले लस्त भएर आइतबार राति सुतेकाहरूले कुन सट्कोमा बत्ती गयो थाहै पाएनन्। सोमबार दिउसो एकैछिन पाउकष्ट गरेको थियो। त्यसपछि रातभर गएको बत्ती मंगलबार बिहान यी पंक्ति लेख्दासम्म आएको थिएन।
वास्तवमा भारतले नेपालगन्जलाई दिएको बिजुली यसको कमजोर लाइनका कारण अलि बढी माग हुनासाथ नधान्ने किसिमको छ। उताबाट लाइन पाएको हुनाले नेपाल सरकार ढुक्कै छ। उताको लाइन नआएको बेला नेपालको ग्रिडबाट बिजुली दिनुपर्छ भन्ने उसलाई लाग्दैन। अनि नेपालगन्जबासीलाई देशको अर्थ के लाग्छ? अनि पर्खिरहनुपर्छ कतिबेला भारतको बिजुली लाइन चल्ला भनेर।
सरकारले शान्ति र संविधानका लागि अर्बौं खर्च गरेको छ। कम्तीमा केही करोड रूपियाँ यहाँको बिजुली लाइन अपग्रेड गर्न खर्च गरिदिएको भए गर्मी ठाउँका जनताले सुख त पाउने थिए। यस्तो कल्याणकारी सोचाई राज्यका निकायमा भए त हाम्रो राष्ट्रिय भावना अरु बलवान हुने थियो। देश देशजस्तो हुने थियो। मित्र मुलुकबाट किनेकै बिजुली भए पनि यहाँको आपूर्तिभन्दा बढी नै दिएका कारण दयामाया पनि हो भनौं। तर, छिमेकी मुलुकको भन्दा बढ्ता दयामाया आफ्नै देशबाट पाइयोस् भन्ने यहाँका नागरिकको इच्छा हुन्छ।
राज्य संचालन गर्ने दल, सरकार सबैमा कुनै जिम्मेवारी बोध छैन। नेपाल एअरलाइन्स (आरए)ले दुर्गम पहाडी क्षेत्रमा यात्रु बोक्छ। कमाउने क्षेत्र जति निजीलाई दिइएको छ। त्यसैले पनि नेपाल एअरलाइन्सले घाटाको भारी बोक्नुपरेको हो। तर, त्यसबाहेक त्यसमा हुने अव्यवस्थापन आफ्ना ठाउँमा छ। तर, यी संस्थान कति गैरजिम्मेवार छन् भने दुर्गम ठाउँका गरिबलाई नै तिनले ठग्छन्। के दुर्गममा बस्नेबित्तिकै राज्यका सुविधाबाट वञ्चित हुनुपर्छ? त्यसैले त काठमाडौंले आफूलाई हेरेन भन्ने तिनको गुनासो हुन्छ।
आरएले सोमबार रुकुमबाट काठमाडौंको उडान भर्दै थियो, बीचैमा प्रधान मन्त्री बाबुराम भट्टराईको राजकीय फिर्ति यात्राले विमान बीचैमा फर्काउनुपर्ने भयो। पोखरामाथिको आकासमा पुगेपछि त्यो नेपालगन्ज विमानस्थलमा पुग्यो। त्यसभित्र एक सिकिस्त बिरामी पनि थिए। उनलाई औषधीमूलोका निम्ति काठमाडौं लगिँदै थियो। विचरा परे अर्को समस्यामा। काठमाडौं पुगिहालिन्छ भनेर धेरैले खर्चको इन्तजाम नगरेको पनि हुन सक्छ।
धेरैलाई लाग्छ, जहाज उडिसकेपछि गन्तव्यमा नपुगे यात्रुलाई खाने/बस्ने व्यवस्था विमान कम्पनीले गर्छ। यो सामान्य सुविधा हो। तर, तिनलाई आरएले यो दिएन। त्यस जहाजमा जिल्लामा कार्यरत् केही प्रबुद्ध र भलाद्मी पनि थिए। तिनले मलाई भने- हामीलाई जहाज ठाउँमा नपुगे होटलको व्यवस्था आफैं गर्ने भन्ने व्यहोराको कागजमा सही गराइएको छ।
अन्यत्र उपभोक्ता राजा हुन्छ। यहाँ सरकारी संस्थानले समेत उपभोक्तालाई ठग्छन्। राज्यका सबै संयन्त्र राम्ररी चलेका भए यस्तो गैरजिम्मेवारीमा कारवाही हुन्थ्यो। तर, यहाँ कारवाही कसले कसलाई गर्ने? सबै उस्तै छन्। राज्यमा हुनुपर्ने आधारभूत गुण कतै छैनन्। अहिले यी सबै समस्याको रामवाण औषधीका रुपमा संघीयतालाई हेरिएको छ। हो नि, कम्तीमा संघीयता भएको भए स्थानीय नागरिकले आफू नजिकको सरकारमा गएर समस्याको रपट लेखाउन त पाउने थिए।
त्यो रामवाणले पनि काम गर्दैन भन्ने निराशा त्यतिबेला आउँछ, जब तपाईं नेपालगन्ज नगरपालिकाले चर्चेका ठाउँ हेर्न जानुहुन्छ। राजधानी काठमाडौंभन्दा कैयन् गुणा फोहोर छ। पानी नपर्दा धूलैधूलो, पानी परेपछि हिलैहिलो। यो हो नेपालगन्ज नगरपालिकाको विशेषता। एउटा नगर क्षेत्रको त व्यवस्थापन गर्न सकिएको छैन भने संघीय राज्य बनेपछि नागरिकले कस्तो दुःख पाउलान् यी गाउँठाउँमा? अनुमान लगाउन गाह्रो छैन। हाम्रो देश दुःखै दुःखको पुडिया हो। त्यसैले त छिमेकीको मुख ताक्नुपर्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता