आशाले हाँकेको जीवन

E-mail Print
(8 votes, average 4.25 out of 5)
खचाखच भरिएको हलमा हामी हतारहतार पस्यौँ। पस्ने बित्तिकै हार्वर्ड विश्वविद्यालयको विख्यात जेनेटिस्ट प्रोफेसर क्लिफ टेबिन भेटिए। एकदशक बढिदेखि अनेक संयोगले उनीसँग घनिष्टता भएको छ।
‘पललाई भेटिसक्यौ?'
‘कहाँ भेट्नु, भर्खर त खबर पाएर पस्दैछु।'
‘ए, ल आउ!' भन्दै क्लिफले मेरो हात समातेर लगे र त्यस दिनका प्रमुख वक्ता प्रोफेसर पल फार्मरसँग चिनापर्ची गराए।
फार्मरले हात मिलाउँदै ‘तिम्रो नाम सुनिराखेको छु' भन्दा त्यो औपचारिकता मात्रै हो भन्ने मलाई लाग्यो। न मेरा तुहिएका सपना बारे थाहा होला उनलाई, न त मभित्र जबर्जस्ती बलिरहेको आशाको दीपबारे। उनीसँग केही बेर औपचारिकताको नाटक गरिरहेँ म पनि। तर मेरा आँखा भने अर्को गोरो मानिसतिर तानिइसकेका थिए। ठूलो जीउका र बिस्तारै पाका देखिन थालिसकेका ती मानिसको अनुहारमा झ्याम्म दाह्री मजैले सुहाएको थियो सधैँ झैं। उनी कुर्सीमा बसिसकेका थिएनन्। उम्की पो हाल्ने हो कि कतै भनेझैँ हतारहतार मैले उनलाई पछ्याएँ र हलको पल्लो भित्तातिरको सागुरो बाटामा भेटेँ।
उनको देश क्यानाडा। तर मलाई उनी विश्व नागरिक भन्न मिल्ने असल मानिसहरूमध्ये एक हुन्जस्तो लाग्छ। पेसाले चिकित्सक रहेका बब चिन्नेहरूका निम्ति उत्तर अमेरिकामै आफ्नो स्थान बनाउन सफल चिकित्साशिक्षाविद् पनि हुन्। सात­आठ वर्ष भयो होला उनलाई चिनेको तर यतिका वर्षको चिनापर्चीमा कहिल्यै उनलाई आफूले औपचारिक शैलीमा ‘प्रोफेसर उलार्ड' भनेर सम्बोधन गरेको मलाई सम्झना छैन। सुरुदेखि नै अनौपचारिक भएँ म उनीसँग र जहिले पनि ‘बब' भनेरै बोलाएँ। सधैँ भेट हुँदैन। इमेल पनि मुस्किल ले ४­५ चोटी आदनप्रदान भएको होला अहिलेसम्म। तर उनी नेपाल आउँदा प्रायः भेट हुन्छ - बिना सूचना। भेट्ने बित्तिकै जिस्कन्छौँ हामी। अनि चिकित्सा विज्ञान र शिक्षाशास्त्र मात्रै हैन दर्शन, साहित्य, कला, राजनीति अनेक विषयमा गफ हुन थाल्छन्। प्रोफेसर फार्मरको भाषण सुरु हुनै लागेको त्यो छोटो समयमा पनि बबले मलाई केही भन्न र केही सोध्न भ्याए। नेपालबारे चिन्ता व्यक्त गर्दै उनले भने -'के भएको हगि, यस्तो गन्जागोल! यस्तो होला भन्ने त कसैले सोचेकै थिएन।' ठाउँ खोजेर हामी सँगै बस्यौँ। उनले सोधे - ‘अझै पनि तिमी त्यत्तिकै आशावादी छौ? के हुन्छ त अब? भन न!'
मैले केही भन्न भ्याउनु अघि नै अर्जुन (उपकुलपति डा. अर्जुन कार्की) पोडियममा चढिसकेका थिए र पल फार्मरको परिचय गराउँदै थिए। स्पिकरबाट आइरहेको उनको स्वरका बीचमा खुसुर पुसुर गर्दै मैले बबलाई यति मात्र भन्न भ्याएँ­ ‘यो अन्यौल केही समय त रहन्छ, तर यो सब जान्छ भन्नेमा म विश्वस्त छु।'
पाटन चिकित्साविज्ञान प्रतिष्ठानमा विद्यार्थी लिन थालेपछि घोषित उद्देश्यअनुरूप विद्यार्थीहरूको प्रगति भइरहेको छ कि छैन र संस्था घोषित दिशातर्फ उन्मुख भइरहेको छ कि छैन भनेर ‘एक्सटर्नल रिभ्यु'का निम्ति निम्त्याइएका विदेशी विज्ञ भएर आएका थिए ती सब। हाइटी र रुवान्डाजस्ता देशमा स्वास्थ्यका क्षेत्रमा प्रशस्त काम गरेका प्रोफेसर फार्मरले आफ्ना कुरा सुनाउँदा नौलो लाग्नु र चाख लाग्नु स्वाभाविक थियो। नेपालको एउटा कान्छो प्रतिष्ठानले चिकित्साशास्त्र अध्यापनमा गरेको नौलो प्रयत्न, त्यसको महŒव र त्यसबाट आफू कति प्रभावित भएको छु भनेर पलले भनिरहँदा भने बबको प्रश्नले जबाफ पाइरहेको छ जस्तो मलाई लाग्यो। मैले बबको अनुहार हेरेँ - चुपचाप सुनिरहेका उनलाई सोध्न मन लाग्यो - के सोच्दैछौ?
बबसँग कुरा गर्न बाँकी थियो। पल फार्मरसँगै पनि धेरै कुरा गर्नुपर्ने थियो। क्लिफसँग छोटो भेटघाट पहिल्यै भइसकेको भए पनि धेरै कुरा गर्न अझै बाँकी थियो। तर झमक फेरि पीडामा छिन् भन्ने सुनेकाले सम्बन्धित डाक्टरहरूसमेत उनलाई बालकोटको डेरामा भेट्न जानु झन् जरुरी थियो। म बिस्तारै बबसँग बिदा भएँ र लुसुक्क पछाडिको ढोकाबाट निस्किएँ - कसैसँग नभेटी।
निस्केर भरेङ ओर्लिंदै गर्दा फार्मरले बोलेका केही कुरा मेरो मनमा खेलिरहे। उनले भनेका थिए - राज्यलाई संलग्न गराउँदा धेरै सामुदायिक काम गर्न सजिलो हुन्छ। अझ हाइटीजस्तो अराजकताको नमुना भएको ठाउँका सन्दर्भमा तिनले भनेको कुरा थियो यो। हाइटीको जस्तो बिजोग अझै भइसकेको छैन नेपालको। यहाँको गन्जागोलबीच पनि केही धानिएको छ, केही राम्रो काम पनि भइरहेका छन्, केही उपलब्धि पनि भइरहेका छन्। तर ती सब राज्यका कारण हैन, राज्यको अक्षमता हुँदाहुँदै पनि भइरहेको छ। राजनीतिक खेलाडीको बुद्धि र समर्पणका कारण हैन, तिनका मूर्खता र स्वार्थ हुँदाहुँदै पनि भइरहेको छ। जे भइरहेको छ, जनताजनार्दन भनिने सामान्य मानिसमा अन्तर्निहित विवेकका कारणमात्र भइरहेको छ। राज्यको महत्वपूर्ण संयन्त्र बनेको कर्मचारीतन्त्र जहाँ जहाँ परिदृश्यमा आउँछ, त्यहाँ त्यहाँ प्रायः ढीलासुस्ती, अनावश्यक झमेला, भ्रष्टाचारका विभिन्न अनुहार, देखापर्ने डर हुन्छ। कुनै पनि गैरसरकारी वा निजी संस्था्मा काम हुन छोड्यो भने ‘सरकारी जस्तो भइसक्यो' भन्ने चलन त पुरानै भइसक्यो। हाइटीजस्तो अझै नभइसकेको यस देशमा त सरकारको संलग्नताको यस्तो स्थिति छ भने, त्यो महागन्जागोल भएको ठाउँको सन्दर्भमा पलले किन त्यसो भने होलान्, मैले अझै बुझेको छैन। सोधौँला कुनै दिन। तर एकछिन त्यहाँ बसिरहेको भए बब उलार्डलाई म भन्ने थिएँ - ‘हेर, यो देशमा यो अराजकताका, यो अन्योल र यो अनिश्चितता हुँदाहुँदै पनि यति भइरहेको छ भने देशमा अलिकति शान्ति, अलिकति स्थिरता हुने हो भने कति हुनसक्थ्यो होला?' अनि उनीसँग सायद दर्जनौं पटक मैले भनेको कुरा दोहोर्या?उने थिएँ - ‘एक दिन यो अन्योल, अनिश्चितता अस्थिरता र अराजकताको अन्त्य भएरै छाड्नेछ। गाम जे याभोर!'
मनमा कुरा खेलाउँदै बालकोटतिर बढिरहँदा जाममा परेको थाहै भएन। कोटेश्वरदेखिको जाम ग्वार्को चोकसम्मै तन्किएको थियो। बालकोटमा पुगिसकेका डाक्टर साथीहरू पर्खिरहेका थिए। किन भएको हो यो सडकजाम, केही थाह थिएन। त्यो डरलाग्दो जाममा पर्खिरहँदा कैयौँ पटक फोन आयो। फेरी सम्झेँ त्यो हिब्रु भनाइ - 'गाम जे याभोर' अथात् यो पनि बित्छ। नभन्दै बिस्तारै बालकोट पुगिछाडियो।
त्यहाँ मेरा डाक्टर मित्रहरू पुगिसकेका थिए। सीप र दायित्वबोध दुवै आयाममा चिल्ला पात भएका युवा स्पाइनल सर्जन दीपक झमक (अपांगता भएकी साहित्यकार) सँग कुरा गर्दै थिए­ यान्त्रिक लाग्ने भाषामा हैन, सुझबुझ र सहानुभूतिका साथ। पुरानो साथी डा. साकुरा थिइन् त्यहाँ- अत्यन्त सौम्य, सरल स्वभाव भएकी तिनले अनेक प्रयत्न गरेर जर्मनीदेखि झमकको निम्ति अत्याधुनिक ह्विलचेयर पठाइदिएकी थिइन्। खुट्टाका औँलाले चलाउन मिल्ने त्यही यान्त्रिक कुर्सीको स्विच कसरी दायाँबाट बायाँतिर सार्ने भनेर इन्जिनियरिङको विद्यार्थी आफ्नो भदाहासँग छलफल गर्दै थिइन्। पालै पालो सबलाई हेरेँ मैले। असल मानिसहरूको अनुहार। अत्यन्त सुन्दर अनुहार। साकुरा मुस्कुराइन्। बिस्तारै सेतो हुँदै गएको उनको कपाल कुनै कृत्रिमता बिनाको सुन्दर अनुहार र अत्यन्त सरल भेषभूषामा असाध्यै सुन्दर लागिरहेको थियो। आफ्नो शारीरिक अवस्थालाई नजिकको प्रतिस्पर्धी साथी बनाएकी झमक आफ्नो स्वाभाविक हाँसो हाँसिरहेकी थिइन्। झमकका बारेमा अत्यन्त चासो राखिरहेका डाक्टरहरू हेमब र शिक्षा मुस्कुराइरहेका थिए। झमकलाई डेरा दिने अस्कलका शिक्षक पुष्पराज आए र ती पनि मुस्कुराए। मेचीदेखि झमकलाई भेट्न आएकी एकजना बहिनी नमस्ते गर्दै मुस्कुराइन्। पारिजातको निम्ति सुकन्या भएजस्तै झमकको निम्ति हामी हुन्छौँ भनी लागिरहेका मीना र मौसमी मुस्कुराए। यस्तो लाग्यो, ती सबै असल मानिसहरूसँगै मेरो दुखी देश मुस्कुरायो। सँगसँगै मेरी सुलो र म पनि मुस्कुरायौं।
यस देशलाई बेसरी मायाँ गर्ने प्रोफेसर रबर्ट उलार्ड पनि त्यतिखेर त्यहाँ भएको भए म भन्ने थिएँ - ‘देख्यौ बब! यस देशमा अझै आशा छ। त्यसैले यो देश अझै जिउँदो छ।'

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता