Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

काठमाडौं सहरका तमासा

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं सहरका ट्राफिक प्रहरीले पैदल यात्रीलाई रोकेर मोटर चालकहरूका लागि बाटो खुलाइदिने चलन नयाँ होइन। यो देशको राजधानीमा मोटर चढ्नेको जति इज्जत हुन्छ त्यो संसारका अन्य कुनै पनि देशमा हुँदैन। संसारका सभ्य देशहरूमा पैदल यात्रीले जति इज्जत पाउँछन्, हाम्रो देशमा त्यत्ति नै बेइज्जती बेहोर्नु पर्छ। ‘लेफ्ट हायन्ड ड्राइभ'को मजा नै यसैमा छ।

सहरको मुख्य भागमा रहेको शहीद गेट सुनधारा क्रसिंगमा हरेक दिन र हरेक घन्टा ट्राफिक प्रहरीले दुईचार जना मानिसलाई ‘खुला हिरासत'मा राखेको हुन्छ। असारको टन्टलापुर घाममा त्यसरी अपमानजक ढंगले राखिएका मानिसको दोष सडक पार गर्ने पुलको प्रयोग नगर्नु हो। अज्ञानवशः वा हतारले पुलबाट बाटो नकाट्नेहरू सय पचास रुपिया" जरिवाना बुझाएर उम्किन पनि सक्छन। तर, सबैको खल्तीमा सय पचासको नोट हुनैपर्छ भन्ने त छैन। काठमाडौं मूलतः पैदल हिँड्ने गरिब नेपालीको सहर हो। दुईचार पैसा कमाइको आशामा आएका हुन्छन् यस सहरमा धेरै मानिसहरू। त्यसका लागि तिनले अनेक प्रकारका खतरा उठाउनुपर्ने हुन्छ। काठमाडौं सहरमा हिँड्नु पनि त आफैँमा खतरा हुँदै हो।
ट्राफिक हिरासतपछि सरकारले अहिले अर्को अभियान थालेको छ। सडकमा चुरोट तान्ने व्यक्तिलाई प्रहरीले समातेर लछारपछार गर्न थालेको छ। चुरोट संसारका सबैजसा गरिब मानिसहरूमा लाग्ने एउटा खराब लत हो। बढीभन्दा बढी मानिस यो लत लागेको छ। नेपालीहरू पनि चुरोट तान्ने खराब लतले ग्रस्त छन्। त्यसैले हाम्रो सरकार जनताको स्वास्थ्यप्रति चिन्तित छ। यस्तो चिन्ता शतप्रतिशत जायज हो। तर, चुरोट तान्ने लतका विरुद्ध कुनै नीतिनियम र चुरोट निषेधित क्षेत्रका बारे स्पष्ट जानकारी नै नदिई चुरोटका अम्मलीलाई बाँदर लखेटे झैं लखेट्नु राम्रो होइन।
तेस्रो, काम राजधानीमा भएभरका रेस्टुराँलगायतका मनोरञ्जन उद्योगमाथिको सरकारी नियन्त्रण हो। झिलीमिली भएको र बाजा बजेको कुनैपनि रेस्टुराँमा प्रहरीको आँखा पर्नै हुँदैन, खानतलासी र प्रताडना सुरु भइहाल्दछ। रेस्टुराँमा खानाको आनन्द लिइरहेका जोडी पति-पत्नी हुन् कि प्रेमी-प्रेमिका प्रहरीलाई त्यसको केही मतलब हुँदैन। यसबाहेक, मानिसले मद्यपान गरे नगरेको मुख सुँध्ने नयाँ दायित्व पाएको छ प्रहरीले अचेल। कतिसम्म मद्यपान उचित हो भन्ने कुनै मापदण्ड छैन। दिनहुँ सयौंको संख्यामा मानिसहरूलाई मानसिक यातना दिएर रमाएको छ सरकार।
राजधानीमा तमाम प्रकारका अपराध राजनीतिक संरक्षणमा हुनेगरेका छन्। कुनै मानिसमाथि गोली प्रहार हुनु, कसैको घर लुटिनु र चोरी चकारीका घटना बढनु सामान्य भएका छन्। लागू पदार्थका दुर्व्यसनीले आआफ्नै चोक र गल्ली बनाएका छन। प्रहरी त्यसमा हात हाल्न सत्तै्कन। किनभने सरकारले नै उसलाई त्यसमा हात नहाल्न इसारा गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश मारिए। उनी किन मारिए? त्यसको अत्तोपत्तो लागेको छैन। यस्ता घटनामा प्रहरीले चाहेर पनि आफनो सीप र योग्यता प्रयोग गर्न पाएको छैन। सरकारको नेतृत्वमा बसेकै व्यक्तिहरूको आ"खामा अपराधको छाया प्रतिविम्बित हुने गरेको छ। त्यसैले पनि सरकार सुधारका तथाकथित आतंक फैलाएर मुख्य अपराधबाट जनताको ध्यान हटाउन खोज्दैछ। सायद, यही सन्दर्भमा समाजलाई नैतिक बनाउने नयाँ दायित्व दिइएको छ प्रहरीलाई। बाटो काट्नेलाई खुला हिरासत, चुरोट पिउनेलाई लछारपछार, नाच हेर्नेलाई खोर, मदिरा सेवनगर्नेलाई उपदेश। गजबको तमासा सुरु भएको छ यस देशमा। विधिको शासन बेपत्ता छ, व्यक्तिको सनक जताततै सवार छ।
विधिले नियन्त्रित र अनुशासित गर्नुपर्ने सामाजिक व्यवहारलाई बल प्रयोग गरेर सुधार्न खोज्नु सुधार हुन नदिनु हो। चेतनाको स्तर सबैभन्दा कम भएको मुलुकमा यस्ता राजनीतिक प्रहसन शासक वर्गको मन बहलाउने उपाय मात्र हो। यसले समाजलाई झन्झन विकृतिको भासमा धकेल्ने त निश्चितै छ। सर्वहारा वर्गका प्रतिनिधि पात्र कहलिएका बाबुराम भट्टराई देशको प्रधानमन्त्री पदमा आसीन हुनुभएपछि सामाजिक रूपान्तरण र सुधारका नाममा सुरु भएका यस्ता कथित सामाजिक अभियान सामान्यतया लोकतान्त्रिक सरकारहरूले चाहिँ संचालन गर्दैनन्। स्पष्ट छ, यो सरकार प्रमुखको परपीडक र एकाधिकारवादी मानसिकताको उपज हो।
अर्थमन्त्रीका रूपमा उदार अर्थनीतिका पक्षधरका भनेर चिनिएका बबुराम भट्टराई प्रधानमन्त्री हुनेबित्तिकै त्यसको विपरीत धारमा उपस्थित हुनुभएको देखिन्छ। उहाँले त्यस्ता सबै अन्टसन्ट काम दोहोर्‍याइसक्नु भएको छ जो उहाँका पूर्ववर्ती सरकार प्रमुखहरूले गरेका थिए। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र पनि भन्ने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि लगानीको आह्वान पनि गर्ने र त्यही आह्वानअन्तर्गत मनोरन्जन उद्योगमा लगानी गर्नेहरूको लगानी डुबाउने खालको व्यवहार पनि गर्ने! यस्तो व्यवहारलाई विधि र नीति सम्मत भन्न त कसरी मिल्ला र? लाग्छ, बाबुराम सरकार पूरै असंगतिमा चलेको छ। यो असंगतिले देशको उदार अर्थतन्त्रमा पार्ने असरका बारे त सामान्य व्यक्तिभन्दा बाबुराम भट्टराईलाई नै बढी थाहा हुनुपर्ने हो।
व्यक्तिको भात भान्सामा चिहाएर हस्तक्षेप गर्ने प्रवृत्ति भएको सरकारले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दैन। मापसे होस वा धुम्रपान, नृत्य होस् वा नौटंकी, दण्डात्मक नीति अख्तियार गरेर खराब लत नियन्त्रण गर्न सकिँदैन। व्यक्तिगत स्वतन्त्रता र सभ्य आचारण सँगसँग विकसित भएको उदाहरण संसारभर पाइन्छ। विडम्बना, पटकपटक युरोप अमेरिकाको परिक्रमा गरेर फर्किएका प्रधानमन्त्री भट्टराईमा भने सुधारात्मक होइन, निषेधात्मक प्रवृत्ति बढी देखिएको छ। उहाँ भियतनामको अर्थतन्त्र र सामाजिक व्यवहारबाट भन्दा उत्तर कोरियाको डण्डातन्त्रबाट बढी प्रेरित र प्रभावित देखिनुभएको छ। तारे होटलमा मद्यपान गरेर बेहोस हुनेलाई प्रहरी संरक्षणमा घर पुर्‍याइदिने तर सीमामा रहेर मदिरापान गर्ने सामान्य मानिसलाई बग्गी खाना पुर्‍याएर हुर्मत लिने काम अधिनायकवादी सामन्ती सोचका परिणाम हुन् भन्न हिचकिचाउनु पर्दैन।
यति ठूलो राजधानी सहरमा मानिसले मलमूत्र त्यागगर्ने शौचालयसम्मको प्रबन्ध गर्न नसक्ने सरकारले मदिरा सेवनको मान्य सीमा तोक्ने, धुम्रपान गर्न चाहनेका लागि ठाउ" किटान गर्ने, मनोरञ्जन उद्योगलाई नियमित र व्यवस्थित गर्ने जस्ता विषयमा ध्यान देला भन्ने आशा पनि त गर्न सकिँदैन। शासनमा एकाधिकार लाद्न चाहने व्यक्तिहरूमा निषेधबाटै सबै समस्याको समाधान गर्न खोज्ने प्रवृत्ति बढी हुन्छ। लोकतन्त्रका पक्षधर कहिल्यै नभएका बाबुराम भट्टराईको आचरण लोकतान्त्रिक हुने आशा गर्नु नै व्यर्थ हो। त्यसो नभएको भए अहिले राजधानीमा प्रहरी राजको विस्तार हुने थिएन। अपराधीहरू खुलेआम हिँड्न पाउने थिएनन्।
अहिलेका यी ‘जोकर्‍याइँ'हरु बन्द गरिएनन् भने नेपाली समाजमा विकृति झन् बढी फैलिने छ। सुधारका लागि डण्डा विस्तार होइन चेतनाको विकास जरुरी हुन्छ। डोजर चलाउनेदेखि चुरोट निभाउनेसम्मका अभियानमा वर्गीकृत र संकीर्ण स्वार्थको पक्ष पोषण गरेर सरकारले आफूलाई सामान्य जनताको कित्ताबाट बाहिर जो राखेको छ। लट्ठीका भरमा शासन चलाउन खोज्ने बाबुराम सरकार एक्काइसौँ शताब्दीका सामान्य नेपाली जनताका लागि चिडचिडाहटमा परिणत भइसकेको छ।

 

प्रतिक्रियाहरू (3)Add Comment
0
rose buds
July 01, 2012
110.44.113.254
भोट: +8
...

hoina k ho "nagarik" karmi harulai ramro kuro ko appreciate garna parcha bhanne taha chaina ki kya ho... 2 paragraph paddai dikka lagera ayo... aakase pul huda hudai kina road bata bato katnu... jati sukai hatar kina nahos niyam bhaneko palana nai garna parcha. public place ma churot khane lai samateko ki ramro kam ho... aaja bata nagriknews napadne ma chai.... jaile ris matra uthne article aucha yaar... gud bye... nagarik new.... never gonna read again... facebook ra twitter bata unlike n unfollw... from my side... do as you like to do and post any article you like...

0
SHIRJAN
July 01, 2012
116.66.193.244
भोट: +5
...

Ahile lai yeti bhaeko thik.................sab control bhanda bahira janu bhanda yeti kadai gareko thik..........pachi isthiti sudriddai gayee pachi .............mapdanda lagu garey ta bhai halcha ni

0
Harilal Lama
July 01, 2012
27.33.112.125
भोट: +5
...

What a terrible article. I have never read such a horrible article from you. You have changed and influenced by Himal media once you resume the job. My comment may not be published but you will have chance to read it. Please appreciate the good thing and donot see with your political bias glasses. Good things are always good things and it does not have to be always criticized. Hope you will improve.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता