अबको पालो कांग्रेसको

Sunday, 01 July 2012 10:41 राजेन्द्र ज्ञवाली
Print
(0 votes, average 0 out of 5)
२०४८ सालको निर्वाचनपछि बाँके, क्षेत्र नम्बर २ बाट संसदमा निर्वाचित सुशील कोइरालाले नेपालगन्जस्थित आफ्नै निवासमा स्थानीय मुस्लिम समुदायको क्रोधको सामना गर्नुपरेको थियो। आफ्नो अति संवेदनशील धार्मिक मामिलामा कोइरालाको सहानभूति र समर्थन खोज्न गएका मुस्लिम समुदाय अपेक्षाविपरित फरक व्यवहार पाएपछि त्रु्कद्ध हुन पुगेका थिए। त्यसपछि नेपालगन्जको कांग्रेस वृतमा एउटा चर्चा चलेको थियो- सुशील कोइरालामा राजनीतिक संस्कार छैन।

यसैबीच सुशील कोइरालासँग सरकारमा जाने आत्मविश्वास छैन भन्ने चर्चा पनि केही अघिदेखि चलेको छ। प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आमनिर्वाचनमा १ सय १४ सिटका साथ कांग्रेसले संसदमा स्पष्ट बहुमत ल्याएको थियो। अन्तरिम प्रधान मन्त्री तथा पार्टी अध्यक्ष कृष्णप्रसाद भट्टराई अप्रत्याशितरुपमा पराजित भएपछि गिरिजाप्रसाद कोइराला प्रधान मन्त्री पदका लागि संसदीय दलबाट सर्वसम्मत निर्वाचित भएका थिए। उनको मन्त्रिमण्डलमा सुशीलले महत्वपूर्ण स्थान पाउने लख काटिएको थियो तर उनले सरकारमा जाने रुचि देखाएनन्। त्यसपछि पनि नेपाली राजनीतिमा सुशीलका लागि पटकपटक अवसर आए। तर उनले गिरिजाप्रसादको ‘किचन क्याबिनेट' को घेरालाई नै लक्ष्मण रेखा मान्दै त्यसबाहिर आउने तत्परता देखाएनन्।
तिनै सुशीलमाथि अहिले फेरि आशापूर्ण दृष्टिपात उनकै पार्टीभित्रबाट भइरहेको छ। सन्दर्भ देशको आगामी प्रधान मन्त्रीको हो। देशमा अहिले फेरि प्रधान मन्त्री फेर्ने कुरा भइरहेको छ। र, यसैसँग सम्भावित उम्मेदवारको नाम बाहिर आउन थालेका छन्। पालो कांग्रेसको भन्नेमा कम्तिमा कांग्रेस र एमालेमा कुने मतभेद छैन। उता एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधान मन्त्री फेर्न सकिने भनेको कुरालाई कांग्रेसको पालोका रुपमा अर्थ्याउन थालिएको छ। यससँगै कांग्रेसबाट को उम्मेदवार हुने भन्ने विषयले स्वाभाविकरुपमा पार्टीभित्र क्रमशः विवादको रुप लिन थालेको छ।
अहिले पुनः सहमतीय प्रधान मन्त्रीको प्रयास हुन गइरहेको अवस्थामा देउवाले आफ्नो नाम अगाडि सारेका छन्। यसअघि बहुमतीय आधारमा भए रामचन्द्र पौडेल तथा सहमतीय आधारमा भए पूर्व प्रधान मन्त्री शेरबहादुर देउवा प्रधान मन्त्री हुने भनेर पार्टीभित्र सहमति गरिएको थियो।
प्रधान मन्त्रीको नामका लागि कांग्रेसभित्र दुई धार देखिइरहेको अवस्थामा सुशील कोइरालाका रुपमा तेस्रो धार जन्म गराइएको छ।
पार्टी सभापति सुशील कोइरालालाई अप्रत्याशितरुपमा भावी प्रधान मन्त्रीका रुपमा देखाउन थालेपछि पार्टीभित्रको विवादले कुन मोड लिने हो भन्ने चासो अहिले सर्वत्र उत्पन्न भएको छ। प्रधान मन्त्रीका लागि पार्टी सभापतिको नाम आउनुलाई कांग्रेसभित्रबाट मात्र नभई बाहिर पनि रोचकपूर्वक हेर्न थालिएको छ।
देउवाले प्रधान मन्त्रीका रुपमा मुलुक हाँक्ने अवसर पटकपटक पाइसकेका छन्। त्यसैले अबको अवसर रामचन्द्र पौडेललाई सुम्पिनुपर्ने तर्क पौडेल समर्थकहरूको थियो। तर यही एक आधारले पौडेललाई प्रधान मन्त्रीको उपयुक्त उम्मेदवार बनाउँदैन भन्ने दाबी देउवा पक्षले अघि सार्दै आएका थिए।
यस्तो स्थितिमा कांग्रेसभित्र अहिले प्रधान मन्त्री प्रकरणले विवादको स्थिति सिर्जना गर्न सक्छ र यसले पार्टीमा भित्रभित्रै विभाजन ल्याउन सक्ने शंका व्यक्त हुन पनि थालेको थियो। त्यसैले पार्टीमा उत्पन्न हुन सक्ने विवादित स्थितिलाई रोक्नका लागि प्रमका रुपमा सुशीलको नाम अघि सारिएको हुन सक्छ।
तर सुशीलले प्रधान मन्त्री बन्न आएको प्रस्तावलाई तत्काल स्वीकार गर्न सहज नभएको उनलाई नजिकैबाट बुझ्नेहरूको धारणा छ। गिरिजाप्रसाद कोइरालाको आशीर्वादकै कारण उनलाई पार्टीमा आफ्नो स्थिति मजबुत गर्न कठिन भएको थिएन। अहिले गिरिजाप्रसाद जीवित नभएको अवस्थामा उनले पार्टी सभापतिको वागडोर पाएका छन्। तर पार्टीले विगतमा जस्तो ठूलो विवादको सामना गर्न नपरेकाले पनि पार्टी सभापतिका रुपमा सुशीलको वास्तविक परीक्षण भइनसकेको भन्नेहरूको संख्या कम छैन। त्यसैले पनि सुशीलले पार्टीलाई सम्भावित विवादको स्थितिबाट मुक्त गर्ने एउटा उपायका रुपमा अएको प्रधान मन्त्रीको प्रस्ताव स्वीकार गर्न सक्छन्।
पार्टीभित्र अहिले देउवाप्रति समर्थन पहिलेजस्तो छैन। उनलाई नैतिक बल प्रदान गर्दै आएका कृष्णप्रसाद भट्टराई अहिले जीवित छैनन्। त्यसमाथि पार्टी विभाजन गरेर जाँदा साथ दिएका प्रकाशमान सिंह पनि कोइराला खेमामा पुगिसकेपछि पौडेलसँग नै उनको प्रतिस्पर्धा कमजोर देखिएको छ। यस्तो अवस्थामा सुशील कोइरालाको नाम उनका लागि मान्य हुन सक्छ।
तर यो विकल्प पनि त्यति सहज भने छैन। राजनीति भनेकै घोषितभन्दा अघोषित सम्झौताबाट खेलिने खेल हो। त्यस किसिमको समझादारी सुशील र पौडेलबीच भएको हुन सक्ने सम्भावना पनि नकार्न सकिँदैन। त्यसैले सुशीलसामु पहिलो चुनौती स्वयं रामचन्द्र रहनेछन्। यस अवस्थामा देउवाको तुलनामा पौडेलको चित्त बुझाउन कठिन हुनेछ।
पछिल्लो समय देखिएको जातीयताको रापले कांग्रेसलाई पनि तताउन थालेको छ। पार्टीभित्र देखिएको त्यस स्थिति साम्य पार्ने जिम्मेवारी सभापतिका रुपमा सुशीलको काँधमा आइपरेको छ। त्यसैले प्रधान मन्त्रीबारे कुनै पनि निर्णय गर्नुपूर्व देउवा-पौडेल प्रकरणले उत्पन्न गराउने विवाद ठूलो कि जातीयतासम्बन्धी पार्टीभित्र देखिन थालेको विवाद ठूलो भन्ने निर्णय कोइरालाले गर्नुपर्ने हुन्छ।
तर पार्टी सभापतिका रुपमा कोइरालाको पहिलो चुनौती नै देउवा र पौडेलबीचको विवाद मिलाएर एक जनालाई सर्वमान्य बनाउनु हो। यसमा चुकेको अवस्थामा कोइरालाका लागि आगामी समय झनै कठिन हुनेछ। उनी प्रधान मन्त्री भइहाले भने पनि त्यसले पार्टीभित्रको विवादलाई सुषुप्तावस्थामा राखेकै हु्नेछ भने पार्टीबाहिरको राजनीति मिलाउने चुनौतीसमेत थपिनेछ। त्यसबाहेक पौडेल र देउवाबीचको विवाद मिलाउन नसकेको आक्षेप उनमिाथि नै लाग्नेछ।
नेपालका पार्टीमा हुने गरेका विभाजनको प्रमुख कारणमध्ये प्रधान मन्त्रीको विवाद रहँदै आएको छ। नयाँ प्रधान मन्त्रीको चर्चाले त्यो विवाद अहिले पुनः सानेपासम्म पुगिसकेको छ। त्यसलाई पार्टीभित्र छिर्न नदिने चुनौती त्यति सहज पनि छैन।
कांग्रेसले एमालेसँगै स्वर मिलाउँदै प्रधान मन्त्री बन्न्ने अबको पालो आफ्नो बताउँदै आएको छ। तर वास्तविकता के हो भने प्रधान मन्त्रीको पदसँगै विवादको पालो पनि कांग्रेसमै आएको छ।