Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

किन फुट्छन् कम्युनिस्ट?

E-mail Print
(4 votes, average 3.50 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार ९- कम्युनिस्ट घोषणापत्रको सबैभन्दा पहिलो वाक्यमा उल्लेख छ : मानव समाजको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो। नेपाली कम्युनिस्ट पार्टीको अहिलेसम्मको अनुभवले देखाउँछ : नेपालका कम्युनिस्टको आजसम्मको इतिहास फुटको इतिहास हो।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनायता अनगिन्ती फुट भएका छन्। मुलुकको ठूलो दल एनेकपा (माओवादी) भित्र सोमबार भएको फुट यसको पछिल्लो उदाहरण हो। एमाओवादी उपाध्यक्ष मोहन वैद्यले ४५ केन्द्रीय सदस्यसहित नेकपा-माओवादी नामक नयाँ पार्टीको घोषणा मंगलबार गरे। उनीसहित महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेललगायत जनयुद्ध थाल्दाका नेताहरू नयाँ दल प्रवेश गरेका छन्।

दोस्रो ठूलो वामपन्थी दल नेकपा एमालेभित्र पनि पार्टी विग्रहका संकेत देखिँदै थिए। उपाध्यक्ष अशोक राईको नेतृत्वमा विभिन्न जनजाति नेताहरू नयाँ पार्टी बनाउन अग्रसर भए पनि पछिल्ला दिन २१ जिल्लामध्ये २० जिल्लाका अध्यक्षले पार्टी नफुटाउन चेतावनी दिएपछि सेलाएको छ। यद्यपि एमालेमा पहिलेजस्तो सहज वातावरण अझै छैन।

समयक्रममा ठूला-साना वाम दल फुटिरहेकै छन्। छिटफुट रूपमा एकताका खबर पनि आउँछन्। तर फुटका अघिल्तिर एकताको अनुपात कम छ।

अरू दल पनि नफुट्ने होइनन्। तर किन कम्युनिस्ट पार्टी नै बढी फुट्छन्?

एमाले केन्द्रीय सदस्यसमेत रहेका मार्क्सवादी अध्येता घनश्याम भुसालका अनुसार नेपालजस्ता मुलुकका कम्युनिस्ट पार्टीहरू विचारधारात्मक आकर्षणभन्दा केही आशा, विश्वास र सम्बन्ध आदिका आधारमा बन्छन्। तिनले असाधारण रूपमा कम्युनिस्ट पार्टीलाई जुटाइदिन्छन्, त्यसरी नै फुटाइदिन्छन्।

पछिल्लो माओवादी फुटका पछाडि चिनियाँ सांस्कृतिक क्रान्ति लगायत विषयलाई नेपालमा कसरी लागु गर्ने भन्ने लगायतका विवाद रहेको उनको ठम्याइ छ। 'प्रचण्ड पक्षका नेताहरू ती नीति लागु गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ,' उनले नागरिकसँग भने, 'हिजो जे मान्यतासाथ जनयुद्ध थालियो, त्यो सर्वथा गलत थियो भन्ने प्रचण्ड पक्षको स्वीकारोक्तिका कारण माओवादी फुटेको हो।'
आफू भारतको जेलमा थुनिएका बेला सम्पन्न चुनवाङ बैठकयता अध्यक्ष पुष्पकमल दाहाल 'विचार समूह' ले अघि सारेका नीतिलाई वैद्यले दक्षिणपन्थ, नव संशोधनवाद, विसर्जनवाद भनेका छन्। जनयुद्ध थाल्दा आफूहरूले उठाएका मुद्दा हुबहु कार्यान्वयन गर्नुपर्ने उनीहरूको मान्यता छ। दाहालले भने यसलाई उग्रवादको संज्ञा दिएका छन्।
माओवादी फुटलाई व्यक्तित्वको टकरावमात्रै मान्न तयार छैनन् भुसाल। 'यो त लेनिनवादी धारा अन्तर्गतकै फुट हो, यसै पनि फुट्ने मामलामा लेनिनवादी अगाडि छन्,' उनको विश्लेषण छ, 'मार्क्सवादलाई व्यवहारमा कसरी उतार्ने भन्नेमा विश्वमा ठूला विवाद र बहस भए, माओवादीमा अहिले भइरहेको छ।'

कम्युनिस्ट इतिहास र राजनीतिलाई नजिकैबाट अध्ययन गरिरहेका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला भने माओवादी विभाजनलाई उनीहरूको कोणबाट मात्र हेर्न नमिल्ने तर्क गर्छन्। माओवादी फुटलाई कतिपयले अवास्तविक र नाटकीय मान्ने गरेकामा पनि उनको असहमति छ। 'कम्युनिस्टका आँखाबाट मात्रै हेरियो भने अहिलेको फुटलाई बुझ्न सकिन्न,' उनले भने, 'पछिल्लो समय विश्व राजनीतिमा स्थापित हुँदै गरेका मान्यता र तिनलाई हेर्ने उनीहरूको कोणलाई एक ठाउँ राख्नुपर्छ।'

माओवादी फुटका इस्युहरू वास्तविक रहेको बाँस्तोलाले बताए। उनका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण वैद्यहरूले भनेको बाटोमा जान नसकिने दाहाल र अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्षको निष्कर्ष छ। 'वैद्य पक्ष भने अवसरवादीले मात्र यस्तो कुरा गर्छ भन्ठान्छ,' उनले भने, 'तर प्रचण्डका जति कमजोरी भए पनि सशस्त्र आन्दोलनको नेतृत्व त उनले नै गरेका थिए।'

भनिन्छ, मार्क्सवादी फुट्न र जुट्न कुनै ज्योतिषलाई हेराइरहन पर्दैन। द्वन्द्ववादले अत्यन्त सरल पारेको हुन्छ उनीहरूको फुट र एकतालाई। बाँस्तोलालाई पनि यस्तै लाग्छ। 'फुट्दा पनि द्वन्द्ववादका कारण फुटेको भन्छन्, जुट्दा पनि त्यसै भन्छन्,' उनले व्यंग्य गरे। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अध्येता तथा प्राध्यापक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीमा भइरहने फुटको मूल कारण आन्तरिक पार्टी जनतन्त्रको अभाव हो। नेतृत्वमा पुगेपछि बाँचुन्जेल पद नछाड्ने प्रवृत्तिले पनि फुटको वातावरण सिर्जना हुनेगरेको विश्व इतिहास कोट्याउँदै उनले भने, 'नेपालमा पनि २१ वर्षसम्म एकपल्ट पनि महाधिवेशन भएको छैन, खास समूहमा मात्रै अवसर र सुविधा केन्द्रित भयो, असन्तुष्टि चुलिनु स्वाभाविक भइहाल्छ नि।'

कम्युनिस्ट पार्टीहरूमा चल्ने अन्तसंघर्ष अस्वस्थ हुँदै जाँदा फुटको विन्दुसम्म पुग्ने गरेको केसीले बताए। 'नेतृत्वकर्ताका रूपमा प्रचण्डले यथोचित सम्बोधन गर्नुपर्थ्यो,' उनले भने, 'प्रचण्डले पर्याप्त पहल लिन नसकेकाले पनि माओवादी फुटेको हो।' एकआपसमा भाग नमिलेर फुट्ने गरेको कडा टिप्पणी गरे केसीले। 'नेपालमा मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनमै यस्तो छ,' उनले भने।


माओवादी जुट्ला त?
कांग्रेस नेता बाँस्तोलालाई माओवादी फुट अस्थायी हो भन्ने लाग्छ। तत्क्षणलाई हेर्दा दुवै पक्षले देखाएका फुटको औचित्य सही र तर्कसंगत देखिए पनि कालान्तरमा उनीहरूबीच एजेन्डाहरूमा समानता देखिने उनले औंल्याए। 'माओवादी अहिले फुटे पनि कालान्तरमा मिल्छ, हेर्दै जानुस्,' उनले भने।

पार्टी फुटे पनि दाहाललाई वैद्य पक्षको खाँचो रहेको एक विश्लेषकले बताए। 'प्रचण्डले 'साथीहरूले गलत गरेका छन्, छिट्टै रियलाइज गर्नेछन्' भनी बोलेको सुन्दा त भोलि नै मिलिहाल्छन् कि जस्तो लाग्छ,' उनले भने।

प्राध्यापक केसी भने माओवादी जुट्ने होइन, अझै फुट्न सक्ने दाबी गर्छन्। अहिले पनि प्रचण्ड र बाबुराम मिलेर जाने सम्भावना पटक्कै नभएको उनको बुझाइ छ। 'बाबुरामलाई आफ्नो बाटो सफा गर्ने डोजर मात्र बनाएका हुन् प्रचण्डले,' उनले अर्थ्याए, 'बाबुराम प्रचण्डको डोजर बन्न तयार हुन्जेल एकता हुन्छ, ड्राइभर हुँ भन्ने दाबी गरेका दिन फुट्छन्।'

फुटमा कसको हात?
विचारधारा वा जे तर्क दिए पनि नेपालका कम्युनिस्ट प्रायः सत्ताको प्रश्नमा फुट्ने गरेको गैर कम्युनिस्टहरूको आरोप छ। कम्युनिस्ट नेता भने त्यसलाई विचारधारात्मक बहसकै चरण मान्नुपर्ने तर्क गर्छन्।

वैद्य पक्षको भने माओवादी विभाजनका पछाडि भारतको प्रमुख हात रहेको बुझाइ छ। भारतीय संस्थापन पक्ष माओवादी नेताहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न खोजेकाले आफूहरूले भारतीय हस्तक्षेपविरुद्ध अलग बाटो रोज्न बाध्य भएको उनीहरू तर्क गर्छन्। दाहाल पक्षीय माओवादी भने रिमलगायत अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको उक्साहटमा परी वैद्य पक्षले पार्टी फोरेको दाबी गर्छ।

पछिल्लो फुटका पछाडि दाहालको असमर्थताले काम गरेको हुनसक्ने आकलन गर्छन् केसी। 'प्रचण्डले नसकेकै हो वा उनको चाहना नै अन्ततः फुटेर जाउन् भन्ने हो, छिटै थाहा हुनेछ,' उनले भने।

एक कांग्रेस नेताका अनुसार माओवादीलाई पहिलेदेखि नै विदेशीहरूको इसारामा चल्ने बानी लागेको छ। कांग्रेस एमालेहरू समयक्रमले गणतन्त्र, संघीयता आदि विषयमा निर्णय गरे पनि माओवादीले बाहिरी शक्तिको योजनाविना कदम नचालेको उनी ठान्छन्। 'गणतन्त्रको एजेन्डा भारतको थियो,' उनले भने, 'अमेरिकीहरूले चाहिँ संघीयताको मुद्दालाई बल दिए, माओवादी तिनैलाई समातेर यहाँसम्म आइपुगेको हो।' अहिलेको फुटका पछाडि उनीहरूकै भूमिकाले काम गरेको उनले दाबी गरे।

असर एमालेमा पनि
संविधानसभाको म्याद नजिकिँदै जाँदा अर्को ठूलो वामपन्थी दल एमाले विग्रहको खतराबाट गुज्रँदैथियो। उपाध्यक्ष अशोक राईसहितका नेताले पार्टीले आफ्ना भावनाको सुनुवाइ नगरेको भन्दै नयाँ दल खोल्ने चेतावनी दिइरहेका बेला संविधानसभा यत्तिकै विघटन भयो। उनीहरूको मुद्दा पनि आश्चर्यजनक ढंगले मत्थर भयो।
एमाले फुट्छ भनिए पनि अब त्यो सम्भावना टरेको बताउँछन् बाँस्तोला। 'उनीहरूलाई जेठ १४ पछि बोक्ने अब कोही पनि छैन, अस्ति पो विभिन्न दातृ निकाय थिए,' उनले भने, 'पावर सप्लाई गर्ने कोही नभएर नै १४ सम्म उत्कर्षमा पुगेको आन्दोलन अचानक चुप भयो।'

केसी पनि एमालेमा अनुमान गरिएजस्ता खतरा नरहेको बताउँछन्। 'एमालेमा जत्रो भूकम्प जाला भनेर मानिसहरूले अनुमान गरेका थिए, त्यत्रो देखिएन,' उनले भने, 'माथिका नेतामा जस्तो भावना देखा परे पनि तलका कार्यकर्तामा त्यसको असर रहेनछ, काठमाडौं आएका जिल्ला अध्यक्षहरूले एकता प्रदर्शन गरेको देखियो।'

गालीको शब्दकोश!
कम्युनिस्ट पार्टीहरूमा प्रशंसाको भाषा देवत्वकरणसम्म पुग्ने गरेको छ। तिनै नेताहरू फुटसँगै परस्परमा गालीगलौजका कुनै पनि भाषा बाँकी राख्दैनन्। के कम्युनिस्टहरू मात्रै गाली गर्न अभ्यस्त हुन्छन्?

गाली परम्परासम्बन्धी भुसालको रोचक तर्क छ। अरू दलले गाली गर्ने गरे पनि पुरानै शब्द र पदावली प्रयोग गर्ने गरेकाले नयाँ लाग्ने नगरेको उनले बताए। 'अरू दलका गालीमा सप्पैले सुनिसकेका पुराना शब्द छन्,' उनले भने, 'कम्युनिस्ट पार्टी विभाजनका सय वर्षयता यति नयाँ-नयाँ गालीगलौजका शब्द थपिएका छन् कि, ती सबैलाई जम्मा गर्ने हो भने ठूलै शब्दकोश तयार होला।'

केसी भने कम्युनिस्टका लागि गालीको प्रश्न कुनै नयाँ नभएको बताउँछन्। 'एकअर्कालाई दक्षिणपन्थी भन्ने, संसदवादी भासमा गएको, गद्दार, नवमण्डले आदि भन्नु रेडिमेड आरोपजस्तो भइसक्यो,' उनले भने।


फुटको विश्व इतिहास
सोभियत संघका प्रणेता मानिने लेनिनको १९२४ जनवरीमा मृत्यु भयो। बाँचुन्जेल उनले असहमतहरूलाई उत्कर्षमा पुग्नबाट कुनै न कुनै रूपमा रोकेर राखे। उनीपछिका नेता स्तालिनका कारण सोभियत संघका अर्का होनहार मानिने लियोन त्रोत्स्की १९२९ मा देश निकालामा परेपछि १९३८ मा चौथो अन्तर्राष्ट्रियको निर्माण गरे। उनको पहिलमा कम्युनिस्ट पार्टीमा चिरा देखापर्‍यो। १९५३ मा स्तालिन बितेपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग समस्या सुरु भयो। १९५८ मा आइपुग्दा रुस-चीन आरोप-प्रत्यारोप उछालियो। हुँदाहुँदा माओ त्सेतुङले १९६६ मा सोभियत संघलाई सामाजिक साम्राज्यवादी घोषणा गरिदिए।

लेनिन मरेपछि स्तालिन र त्रोत्स्कीको विवाद जसरी चुलियो, त्यसैगरी स्तालिन मरेपछि चीन र रुसको विवाद उत्कर्षमा पुग्यो। यसैगरी माओ मरेपछि माओवादी पार्टीहरूको विवाद बढ्यो। उनीहरूको विवादको जरो भने सांस्कृतिक क्रान्तिलाई हेर्ने दृष्टि थियो।

नेपाल सन्दर्भ :
२०२८ सालमा सुरु झापा संघर्ष २०३५ सालमा आइपुग्दा नेकपा मालेमा परिणत भयो। रुस-चीन विवादका बेला यो निर्माण भएको थियो। त्यसपछि बनेका कम्युनिस्ट पार्टी पनि सोभियत संघलाई आधार मानेरै बनाइएका थिए। सोभियत संघ स्थापनाको प्रभाव थुप्रै मुलुकमा परेको थियो। विश्व राजनीतिमा चीनले आफ्नो स्पेस बनाउन थालेपछि स्वयं संघ र चीनबीच विवाद भयो। सोभियत कालको अन्त्यपछि यो विवाद चिनियाँ पक्षका पार्टीबीच केन्द्रित भयो।

उनीहरूले विवादको मानक रिमलाई बनाए। किनकि माओको मृत्युपछि रिमले नै सांस्कृतिक क्रान्तिलाई आधार बनाएर संघर्ष गर्नुपर्छ भन्थ्यो। पछि त बब अभायकिनसँग कुनै खास व्यक्तिको विवाद भएका जस्ता थुप्रै व्यक्तिगत महŒवाकांक्षाका आधारमा पनि पार्टी फुट्न थाले। यसरी एउटा खास मानिसलाई मानक र प्राधिकार मानेर कम्युनिस्ट पार्टी खोलिएकाले पनि ती व्यक्तिसँग विवाद चुलिँदै जाँदा फुट्ने भए।

सांस्कृतिक क्रान्ति र माओलाई आधार बनाउने हुँदा भारतमा कम्युनिस्ट पार्टी फुटेर १० वटासम्म भए। 'म ठिक हुँ, उत्तराधिकारी हुँ, म ऊभन्दा राम्रो भन्ने भावनाले विभाजनलाई टेवा दिएको थियो,' भुसालले भने, 'सन् १९७१ मा चारु मजुमदारको मृत्युपछि त अझै फुट्ने क्रम तीव्र भयो।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता