Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

एमालेमा निर्वाचनकै विकल्प

E-mail Print
(4 votes, average 5.00 out of 5)
मनोज दाहाल, काठमाडौं, असार १०-  एमालेले औपचारिक लिखतमा ‘सहमतिबाटै राजनीतिक निकास निकाल्ने' भने पनि शुक्रबार सम्पन्न केन्द्रीय समितिका अधिकांश सहभागीले बैठकका क्रममा भने- ‘अबको विकल्प निर्वाचन नै हुनुपर्छ।'

 बिहीबार र शुक्रबार दुई दिनसम्म पार्टी मुख्यालयमा भएको केन्द्रीय समिति बैठकमा केही सदस्यले भने संविधानसभा पुनर्स्थापनाको झिनो आवाज पनि निकाले।
‘निर्वाचित निकायले नै संविधान जारी गर्नुपर्छ भन्नेमा एमालेमा द्विविधा छैन,' केन्द्रीय सदस्य योगेश भट्टराईले शनिबार नागरिकसँग भने, ‘राजनीतिक निकास दिन संविधानसभा पुनर्स्थापना गर्नेबारे पनि केहीले आवाज उठाए तर धेरैजसो केन्द्रीय सदस्य चुनावकै पक्षमा देखिए।' उनले प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई राष्ट्रिय सहमतिको सरकारले प्रतिस्थापन गरेपछि सहमतिमा निर्णय गरिने उल्लेख गर्दै थपे, ‘राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै संविधान संशोधन गरी चाहिने नियमकानुन ल्याएपछि पाँच वर्षकै लागि चुनाव गर्न सकिन्छ।'
ढिलोचाँडो मुलुक निर्वाचनमा जाने निश्चित भएपछि एमालेमा यसको पक्षमा छलफल सुरु हुनु अचम्म होइन। पहिचान र सामर्थ्यका आधारमा बहुजातीय विशेषताका सात प्रदेश निर्माण गर्ने औपचारिक निर्णय शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट गरेको एमालेले असार १९ गतेदेखि एक सातासम्म देशव्यापी प्रशिक्षण कार्यक्रम गरेर ‘माओवादी सर्वसत्तावादविरुद्ध' आन्दोलनका आधार तयार गर्ने बताएको छ। कांग्रेसजसरी नै प्रकटमा भट्टराई सरकार गिराउने एकल एजेन्डामा आन्दोलनरत एमाले भित्रभित्रै भने निर्वाचनको विकल्पमा पनि अघि बढिरहेको स्पष्ट देखिन्छ।
एमालेले पनि अन्य प्रमुख दलजसरी नै ‘संविधान निर्माणका क्रममा अहिलेसम्म भएका उपलब्धि गुम्न नदिने' प्रतिबद्धता गरेको छ र यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएको छ। राष्ट्रिय सहमतिबाट बाँकी विषय सुल्झेपछि भने संविधानसभा वा व्यवस्थापिका-संसदबाटै ‘नेपालको संविधान' जारी हुनुपर्ने एमालेको धारणा छ। अर्थात कागजहरूमा यसलाई जसरी व्याख्या गरे पनि सारमा भने एमाले ‘राष्ट्रिय सहमति र त्यसपछि निर्वाचन'कै एजेन्डामा अघि बढेको छ । ‘कुनै आयोग गठन गरेर वा अन्य निकायबाट संविधान जारी गर्ने पक्षमा एमाले कहिल्यै छैन,' भट्टराईले भने।
बुझिन्छ- पार्टीभित्र संविधानसभा पुनर्स्थापनाको माग पनि कमजोर देखिएको एमालेले आगामी निर्वाचनमै आँखा केन्द्रित गरेको छ। गत जेठ १४ गते संविधानसभा विघटनको केही दिनपछि भएको एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘संविधानसभा पुनर्स्थापना गर्न सकिन्छ' भनेर यसको पक्षमा अभियान चलाइरहेका कांग्रेस-एमालेका पूर्वसभासदहरूलाई सार्वजनिक ढाढस दिए पनि अहिले यो एजेन्डा कमजोर भइसकेको छ। नेताहरूले बुझेका छन्- अब निर्वाचनमै जानुको विकल्प छैन। तर, संविधानसभाको निर्वाचन गर्ने वा व्यवस्थापिका संसद चुनेर त्यसबाटै नयाँ संविधान जारी गर्नेबारे भने कुनै पनि दल अहिलेसम्म स्पष्ट भइसकेका छैनन्। हालसालै फुटको आलो चोट खपिरहेको प्रधानमन्त्रीकै दल नेकपा एकीकृत माओवादीभित्रै पनि संविधानसभा निर्वाचन गर्ने वा व्यवस्थापिका-संसदको भन्नेबारे एक मत बनिसकेको छैन। भर्खरै फुटेको मोहन वैद्य पक्षको नेकपा-माओवादीले भने आगामी चुनावमा नजाने घोषणा गरिसकेको छ।
जेठ १४ मध्यरातमै संविधानसभा भंग गर्दै प्रधानमन्त्री भट्टराईले मंसिर ७ गतेका लागि फेरि संविधानसभा निर्वाचनको घोषणा गरेपछि आक्रोशित भएका कांग्रेस-एमालेलगायत २७ दल अहिले सरकार गिराउने एकल अभियानमा छन्। निर्वाचन घोषणाको डेढ सातापछि आचारसंहिता जारी भए पनि त्यसको कसैले खासै वास्ता गरेन। तर, असार पहिलो साता गृह मन्त्रालयले केही प्रहरी अधिकारीको सरुवा गरेपछि भने कांग्रेस-एमालेले ‘आचारसंहिता उल्लंघन भएको' जोडदार रूपमा उठाएर अप्रत्यक्ष रूपमा निर्वाचनको समर्थन गरेका थिए। लगत्तै निर्वाचन आयोगले सरकारसँग ‘आचारसंहिताविपरीत प्रहरी अधिकारी सरुवा गरेकामा' स्पष्टीकरण मागेको थियो।
निर्वाचनको विकल्पबाहिर कांग्रेस पनि जान सक्दैन। काभ्रेमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले ‘वैधानिक रूपमा सहमतिमा घोषणा गरेको निर्वाचनमा सहभागी हुने' बताएर कांग्रेसलाई निर्वाचन होइन, यसको घोषणा प्रक्रिया चित्त नबुझेको सन्देश दिएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता