नेपाल विद्यार्थी संघ काभ्रेले सोमबार बनेपामा आयोजना गरेको एसएलसीका उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, 'असार मसान्तसम्म अहिलेको कामचलाउ सरकार कायमै रहेको खण्डमा भइरहेका विकास निर्माण नरोकिउन भन्नका लागि एक तृतियांश मात्र बजेट ल्याउन सकिन्छ। पूर्ण बजेट ल्याउन मिल्दैन।' उनले अन्तरिम संविधानअनुसार अहिलेको सरकारले पूर्ण र आशिंक बजेट पेस गर्ने कुनै हैसियत नभएको स्पष्ट पारे।
संसद नभएकाले अध्यादेशबाट बजेट ल्याउनुपर्ने भए पनि वर्तमान सरकारले राजनीतिक सहमतिका आधारमा मात्र बजेट ल्याउनुपर्ने महतको तर्क छ, 'राष्ट्रिय सहमतिको आधारमा बजेट निर्माण गर्नुपर्छ र राष्ट्रिय सहमतिको सरकारले मात्र बजेट पेस गर्नुपर्छ।'
'वर्तमानमा व्यवस्थापिका र कार्यकारी प्रधानमन्त्री नभएको अवस्था छ। संविधान पनि अवरुद्ध भएकोले संविधानको संरक्षक राष्ट्रपतिले संविधानलाई क्रियाशिल बनाउनका लागि सक्रिय हुनुपर्ने आवश्यक देखेको छु', महतले भने।
नेता महतले तत्कालै राष्ट्रिय सहमतिको सरकार बन्ने र नेतृत्व नेपाली कांग्रेसले गर्नेमा आफू आशावादी भएको बताए, 'असारमसान्त अघि नै राष्ट्रिय सहमतिको सरकार बन्ने लगभग निश्चित छ।'
