अपरान्ह ४ बजेका लागि बालुवाटारमा बोलाइएकोमा कांग्रेसका एनपी सावद, एमालेका राजेन्द्र श्रेष्ठ र सत्तारुढ फोरम लोकतान्त्रिकका जितेन्द्र देव मात्र सहभागी भए। 'नेताहरूसँग पीएमले राष्ट्रिय एकताको वातावरण बनाउन परामर्श गर्नुभएको छ', प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।
आफूलाई बोलाए पनि नगएको जानकारी दिंदै कांग्रेस युवानेता थापाले भने,
'हामीले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने संविधानसभा पक्षधर नेता भनेर उहाँसँग हाम्रो व्यक्तिगत सम्बन्ध थियो तर संविधानसभा विघटन हुने त्यत्रो संकट पर्दा उहाँले के गर्ने भनेर सोध्नु भएन।' संक्रमणकालको सहज निकासका लागि दलहरूसँग सहमति गर्नुको साटो प्रधानमन्त्रीले विदेशबाट फर्कंदा विमानस्थलबाटै अरु दललाई सार्वजनक सञ्चारमाध्यमबाट गाली गरेकाले छलफलमा जानुको औचित्य नदेखेको उनले बताए।
संसद्को राज्य व्यवस्था समितिका पूर्व सभापति एमालेका रामनाथ ढकालले आफूलाई खबर आए पनि जानुको औचित्य नदेखेको बताए। 'उहाँकै कारण संविधानसभा विघटन भयो, शान्तिप्रक्रिया पनि धरापमा छ', ढकालले नागरिकसँग भने, 'शान्ति र संविधानको काम सक्न पहल गर्नुको साटो ६०१ सभासद्को चुनाव चार वर्षका लागि घोषणा गरेका छन्, लोकतान्त्रिक शक्तिहरूको सम्बन्ध टुटाउने काम गरेका छन्। यस्तो बेलामा परामर्श गरेर केही पनि हुन्न भनेर गइनँ।'
एमालेका अर्का युवानेता रविन्द्र अधिकारीले पनि प्रधानमन्त्रीले छलफलका लागि अहिले बोलाउनुको औचित्य नदेखेर नगएको बताए। 'म यस्तो गर्दैछु भनेर देखाउन मात्र बोलाएका हुन्, प्रचारवाजीका लागि मात्र बोलाएका हुन्', अधिकारीले भने, 'संकटबाट निकासका लागि हामीसँग छलफल गर्नेले त्यत्रो संविधानसभा विघटन हुने अवस्थामा पुग्दा पनि किन बोलाएनन्?'
भट्टराई प्रधानमन्त्री हुनुभन्दा अघिदेखि नागरिक समाजमा राम्रो प्रभाव भएका विभिन्न दलका युवानेताहरूसँग परामर्श गर्दै आएका थिए। मंगलबार प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरू दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, श्याम श्रेष्ठ, डा सुन्दरमणि दीक्षित, डा मथुराप्रसाद श्रेष्ठसँग सहमतिको वातावरण बनाउनेबारे छलफल गरेका थिए।
