Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

संविधानसभा ब्युँताउन दाहाल सकारात्मक

E-mail Print
(0 votes, average 0 out of 5)
गोविन्द परियार, काठमाडौं, असार १४- प्रमुख दल 'कुनै रुपमा' संविधानसभा ब्युँताएर संकटमोचन गर्ने 'मुड' मा देखिएका छन्। संविधानसभा म्याद थप्न सरकारले ल्याएको विधेयकको आक्रमक विरोधी कांग्रेस सभापति सुशील कोइराला नै अहिले संविधानसभा कुनै न कुनै रुपमा जीवित राख्नुपर्ने निष्कर्षमा पुगेका छन्।


संविधानसभा नहुँदा कानुनी जटिलता लम्बिँदै जाने र मुलुक राज्यविहीनताको अवस्थामा पुग्ने निष्कर्षमा पुगेका नेताहरुले पुनर्स्थापनालाई मुख्य माग बनाएर अघि बढ्न कांग्रेसमा दबाब बढाएका छन्। 'लोकतान्त्रिक पार्टीले संविधानबिनै संविधानसभा विघटन हुने गरी म्याद थपमा विरोध गर्न हुन्थेन भनेर पार्टीमा आत्मालोचना हुन थालेको छ,' एक कांग्रेस नेताले नागरिकसँग भने, 'सभापतिज्यू पनि त्यस विषयमा सहमत हुनुभएको छ।'

प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिल भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ चुनाव भएर संविधान जारी नभएसम्म आफूले राजीनामा नगर्ने घोषणा गरेपछि संविधानसभा पुनर्स्थापनाको मागमा बल पुगेको हो।

कांग्रेससँगै संविधानसभा पुनर्स्थापनाको आवश्यकता माओवादीभित्र पनि देखिन थालेको छ। आफ्नै दलका प्रधानमन्त्रीले घोषणा गरेको चुनावको औपचारिक रुपमा विरोध गर्न नमिल्ने बाध्यताका बीच अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेताले संविधानसभा पुनर्स्थापनाका लागि आन्तरिक लबिङ सुरु गरेका छन्।

माओवादीबाट अलग्गिएको मोहन वैद्य समूहलाई पार्टीमा फर्काउने वैधानिक अस्त्र संविधानसभा पुनर्स्थापना हुने उनीहरुको ठम्याइ छ। संविधानसभा पुनर्स्थापना भए वैद्य समूहले संसदीय दलमा ४० प्रतिशत सभासद संख्या पुर्‍याउन नसक्ने हुँदा पार्टी पुनः एकीकरण हुने अनुमान दाहाल पक्षका नेताहरुको छ। संसदको ऐनले संविधानसभामा ४० प्रतिशत सदस्य नभए मूल पार्टी विभाजन गर्न नसक्ने स्पष्ट व्यवस्था गरेको छ। दाहाल पक्षीय नेताहरु यो अवस्थामा संविधानसभा पुनर्स्थापना हुँदा पार्टी एक हुने सम्भावना भएकाले यसको पक्षमा देखिएका हुन्।

दलहरुबीच राजनीतिक सहमति भए सर्वोच्चमार्फत वैधानिक रुपमै पुनर्स्थापना गर्न सकिने विश्वास त्यसका पक्षधरहरुको छ। म्याद नसकिँदै चुनाव घोषणा गरेर संविधानसभा विघटन गरेको विरुद्ध यसअघि नै सर्वोच्चमा रिट दायर भएको छ। उक्त रिटमा सर्वोच्चले सरकारसँग चुनाव घोषणा गर्नुपर्ने कारण माग गरी अन्तिम सुनवाइका लागि विशेष इजलास गठन गर्ने निर्णय गरिसकेको छ। प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले नै विषेश इजलासमा सुनुवाइ हुने आदेश जेठ २६ गते गरेको थियो। प्रधानमन्त्री भट्टराईले गत जेठ १४ गते राति साढे ११ बजे मन्त्रिपरिषदमार्फत नयाँ चुनाव घोषणा गरेका थिए।

सर्वोच्चमा दायर रिटमा संविधानसभाको म्याद आधा घन्टा हुँदाहुँदै नयाँ चुनाव घोषणा गर्नु अवैधानिक भएको भन्दै चुनाव घोषणा बदर गरी संविधानसभा पुनर्स्थापना माग गरिएको छ।

सर्वोच्चले राजनीतिक परिस्थितिको व्याख्या नगरी जेठ १४ गते रातिको मन्त्रिपरिषद बैठकको निर्णयलाई मात्रै आधार मान्ने हो भने पनि संविधानसभा आधा घन्टा पुनर्स्थापना गराउन सक्ने प्रशस्त प्रमाण छ। दलहरुबीच सहमति हुने हो भने आधा घन्टा संविधानसभा बैठक बसी अन्तरिम संविधान संशोधन गरेर संविधानसभाको कार्यभार व्यवस्थापिका संसदलाई सु्म्पेर त्यसलाई अर्को चुनाव नभएसम्म कायम राख्ने व्यवस्था गर्न सकिन्छ। दलहरुबीच अहिलेको राजनीतिक संकट र कानुनी जटिलताको समाधान पनि संविधानसभाको केही समयका लागि पुनर्स्थापनाबाट हुनेमा कांग्रेस र माओवादीभित्र दाहाल पक्षीय नेताहरु प्रस्ट देखिन्छन्।
संविधानसभा पुनर्स्थापनाले दाहाललाई वैद्य समूह सकभर मूल पार्टीमा फर्काउने र त्यो सम्भव नभए समानुपातिक सभासदहरुलाई पार्टीबाट निकालेर रिक्त पदमा मनोनीत गर्न पाउने अधिकार हुनेछ। यसले वैद्य समूहसँग संविधानसभाभित्रै बस्न मूल पार्टीमा फर्कने वा संविधानसभामा सहभागी नहुने गरी नयाँ पार्टी निर्माण गर्ने दुई विकल्पमात्रै बाँकी रहन्छ। वैद्यलाई संविधानसभामा नरहने गरी नयाँ पार्टी गठनको विकल्प रोज्न मुश्किल पर्ने ठम्याइ दाहालको छ।

पुनर्स्थापनाले पार्टीबाट अलग्गिएका नेताहरुलाई मूल पार्टीमा फर्काउन सहज वातावरण बन्ने दाहाल पक्षीय नेताहरुको निचोड छ। माओवादी निकट उच्च स्रोतका अनुसार माओवादी अध्यक्ष दाहाल वैद्य समूह अलग्गिएपछि संविधानसभा पुनर्स्थापनामा सकारात्मक देखिएका हुन्।

संविधानसभा पुनर्स्थापनाले माओवादी फुटमा एकपटक 'सुपर ग्लु' को काम गर्ने विश्वास छ भने कांग्रेस-एमालेले पनि पुनर्स्थापना भएकै दिन भट्राई नेतृत्वको सरकार अल्पमतमा पर्ने भएकाले आफुहरुको मुख्य माग सम्वोधन हुनेमा विश्वास्त छन्। माओवादीमा वैद्य समूह र मधेसी मोर्चाभित्र शरतसिंह भण्डारी समूहले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता गरेकाले सरकार संविधानसभा पुनर्स्थापना भएकै दिन अल्पमतमा पर्नेछ। यसले कांग्रेस एमालेलगायत प्रतिपक्षी दलहरुको प्रधानमन्त्रीको माग पनि पूरा हुने भएकाले राष्ट्रिय सहमतिको सरकार गठनको सकारात्मक वातावरण बन्छ।

यता, राष्ट्रपति रामवरण यादवले पनि अदालत वा कुनै वैधानिक निकायले नबोलेसम्म आफूले प्रधानमन्त्री हटाउने विषयमा केही गर्न नसक्ने बताउँदै आएका छन्। दलहरुसँगको पटकपटकका छलफलमा राष्ट्रपति यादवले अदालतले केही बोलेमात्रै त्यसलाई टेकेर प्रधानमन्त्रीलाई दबाब दिन सकिने भन्दै विद्यमान संविधानभन्दा बाहिर गएर कुनै निर्णय गर्न नसक्ने बताउँदै आएका हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता