कङ्ग्रेस सभापति मन्त्री महतोसित, प्रधानमन्त्री कलाकारसित

Friday, 29 June 2012 13:43 नागरिक
Print
(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार १५ (नागरिक)-  अनौपचारिक रुपमा कङ्ग्रेसद्वारा भावी प्रधानमन्त्रीका रुपमा प्रचारित सभापति सुशील कोइरालाले सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग भेट्ने क्रम आज पनि जारी राखेका छन्। उता, प्रधानमन्त्री बाबुराम भट्टराईले भने आज कलाकारहरु भेटेका छन्। 
 राजनीतिक भेटघाटका क्रममा आज बिहान कोइरालाले स्वास्थ्य मन्त्री तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेका हुन्। आफ्नै महाराजगञ्जस्थित निवासमा पुगेका महतोसित कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए। 

यसअघि हिजो कोइरालाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसित भेटेका थिए।

उता, देशले राजनीतिक सहमति खोजिरहेका बेला प्रधानमन्त्री बाबुराम भट्टराई भने आज बिहान चलचित्रकर्मी/कलाकारहरुसँग व्यस्त भेटिए।  प्रधानमन्त्री प्रेस सल्लाहकारले 'राष्ट्रिय सहमतिको पहल गर्न भएको' भनेको छलफलमा वरिष्ठ कलाकार निर शाह,  विनिता बराल,   दिपकराज गिरी, दिपा श्री निरौला, किरण केसी, जितु नेपाल लगायतको उपस्थिति रहेको थियो। 

कलाकारहरुले चलचित्र क्षेत्रको विकासका लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए। उनीहरुले कलाकारहरुका लागि राज्यले कोष खडा गर्नु पर्ने पनि माग राखे।