आइतबार राष्ट्रपति निवासमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आम सहमति निर्माणको प्रयास भइरहेको र त्यसका लागि आफूले पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएको बताए।
उनले भने, 'संविधान निर्माणमा देखिएका सबै विवाद एकमुष्ट हल हुने हो भने प्रधानमन्त्री बाबुराम भट्टराईले मार्ग प्रशस्त गर्नुहुन्छ र उहाँले राजीनामा पनि गर्नुहुन्छ। तर एकमुष्ट सहमति भने राजनीतिक दलहरूबीच हुनुपर्छ।'
सहमतिको लागि अधिकतम प्रयास गरिरहेको र आफ्नो तर्फबाट के गर्नुपर्ने हो त्यसका लागि समेत आफू र आफ्नो पार्टी तयार रहेको अध्यक्ष दाहालको भनाइ थियो।
भेटमा आर्थिक वर्ष २०६९/७० को बजेट पनि सहमतिमै ल्याइनुपर्दछ भन्नेमा आफूले जोड दिएको पनि उनले जानकारी दिए।
करिब ४५ मिनेट भएको भेटवार्तामा अध्यक्ष दाहालले समग्र संविधान निर्माण प्रक्रिया, दलहरूबीच भइरहेको छलफललगायतका समसामयिक विषयमा कुरा राखेका थिए। सहमति भयो भने आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न समेत तयार रहेको र त्यसका लागि राजनीतिक दलहरू सहमतिमा आउनुपर्ने बताउँदै उनले अहिलेसम्म देखिएका विवादित विषयमा प्याकेजमा नै सहमति खोज्न पहल गर्न नेपाली कांग्रेस र नेकपा(एमाले) लगायतका दलहरूलाई आग्रह गरे। रासस
