Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Apr 08th

फेसबुक पार्टी

E-mail Print
(10 votes, average 4.20 out of 5)
मनोज दाहाल- त्यो दिन दशमी थियो, शुक्लपक्षको दशमी। मैले पर्दाबाट चिहाएर बाहिर हेरेँ- जूनको रोशनीले जगत जगमगाइरहेको थियो। मन भित्रैदेखि शितल भयो।
पर्दा पूरै खोलेँ। जूनको उज्यालो जिउमै ठोक्कियो र कोठै उज्यालो भयो।
मध्यरात कटिसकेको थियो। एक बज्नै लागेको थियो। घरका सबै सुतिसकेका थिए। म एक्लै ल्यापटपमा ट्याकट्याक किबोर्ड बजाइरहेको थिएँ।
 
मेरो बर्थडे सकिएको भर्खरै एक घन्टा भएको थियो। म फेसबुकमा आएका जन्मदिनका सात सय शुभकामना म्यासेज एकपछि अर्को पढिरहेको थिएँ। यत्ति धेरै म्यासेज देेखेर ‘के गर्नु न कसो गर्नु' भएर अत्तालिँदै पनि थिएँ। सबैलाई एकएक गरी धन्यवाद फर्काउन असम्भवजस्तै भएको थियो।
चिनेका/नचिनेका सयौं सहृदयीको म्यासेजले फेसबुकको टाइमलाइन भरिएको थियो। झारा टार्ने हिसाबका मात्र थिएनन् ती। मायालु थिए। हृदयको अनन्त गहिराइबाट निस्केका पनि थिए।
फेसबुकको पटांगिनीमा म जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो जन्मदिन समारोह मनाउँदै थिएँ। सायद सबैभन्दा लामो पनि। पछिल्लो २४ घन्टादेखि फेसबुकमा आउन थालेका सन्देश अझै थामिएकै थिएनन्। भनौं- पार्टी अझै तुरिएकै थिएन।
बाफ रे! फेसबुकले कस्तो सानदार पार्टी गरेको थियो मेरो जन्मदिनमा।
अभिव्यक्ति प्रकट गर्न सजिलो पारेको फेसबुक नामको यो उपकरणले जीवन कसरी परिवर्तन गरिदिएको छ। दिमागमा जन्मेको विचार किबोर्ड थिच्दैमा अर्को मान्छेसम्म सजिलै पुग्छ।
वाह!
फेसबुकमा खेल्दै समय बितेको पत्तै भएन। एकैछिनजस्तो प्रतीत हुने समयको एउटा क्षण फेसबुक नामको यो उपकरणलाई बुझाएर भित्तेघडीतिर हेरेँ र झसंग भएँ।
बिहानको चार बज्नै लागेको छ।
घरका सबैजना फ्वाँफ्वाँ सुतिरहेकै छन्। कुनै कोठामा भाइ घुरेको आवाज पनि आइरहेको छ।
झ्यालबाहिर दशमीको जून पनि सुतिसकेको छ। अब बाहिर निष्पट्ट अँध्यारोबाहेक केही छैन। मैले बिस्तारै पर्दा लगाएँ।
‘भएन बा! अब त फेसबुक पार्टी तुर्‍याएर सुत्नुपर्‍यो,' मैले सोचेँ, लगआउट गरेँ र कम्प्युटर निभाएँ।
ओछ्यानमा घुसि्रएर निदाउन प्रयास गर्दै सयदेखि उल्टो गन्ती सुरु गरेँ।
...
म सामान्यतः जन्मदिन मनाउने मान्छे होइन। भनौं, यो वर्गमा पर्दिनँ। सबै दिन उही हो, उस्तै हो, जन्मदिन त एउटा संयोगमात्र हो भन्ने मेरो बुझाइ लामो समय रहिरह्यो। अझै रहिरहेकै छ।
२५ वर्षको उमेरसम्म त जीवनका कुनै जन्मदिन खासै मनाइएन। जन्मदिनमा प्रायशः नुहाउनचाहिँ नुहाउँथेँ। आमाले कहिलेकाहीँ अक्षताको टिका लगाइदिनुहुन्थ्यो। बस!
घरमै भएको बेला कुनै वर्ष पण्डितजी बोलाएर ग्रहशान्ति गराएको धमिलो चित्रबाहेक मसँग जन्मदिनको खासै सम्झना छैन।
जन्मदिनको केक, पार्टी, चमकदमक देखावटी हो भन्ने मेरो मान्यता थियो। छँदैछ भनौं। जन्मदिन मनाउनै भनेर अहिलेसम्म कुनै ठूलो प्रयत्न गरेको छैन। पार्टी आयोजना गरेको छैन। एकपल्टबाहेक केक काटेको छैन।
३२ औं जन्मदिन भने अमेरिका गएको भाइ फर्केकै भोलिपल्ट परेकाले उसले मेरा लागि केक ल्याएछ। मध्यरातमा मैले केक काटेर सबैलाई एकएक टुक्रा बाँडेको थिएँ।
काठमान्डु आएपछि नै हो, जन्मदिन मेरो सम्झनामा आउन थालेको। नत्र त कति पटक जन्मदिन बितेको साता/पन्ध्र दिनमा म झसंग हुँदै सम्झन्थेँ र जीवनको एक वर्ष फेरि बितेकामा थक्क मान्थेँ। अहिले त्यत्तिखेरका आफ्ना मनोभाव सम्झँदा हाँसो उठ्छ।
साथीसंगातीको समूह बाक्लिँदै गएपछि बिस्तारै जन्मदिनमा शुभकामना सन्देश आउन थाले, फोनमार्फत वा भेटघाटमै पनि। त्यो आठदसको संख्यामा सीमित हुन्थ्यो तर पनि यसलाई मैले जीवनमा आएको परिवर्तनका रूपमा बुझेको थिएँ।
मोबाइल फोन लिएपछि जन्मदिनको शुभकामना सन्देश आउने क्रम बढ्न थाल्यो। सामाजिक सञ्जालहरू (अर्कुट, माइस्पेस, हाइफाइफ र अरू केही जसको नाम अहिले मैले बिर्सें) ले अभिव्यक्ति प्रकटीकरण झनै सजिलो पार्न थाले।
यी साइटले जन्मदिन स्मरणमै राखेर मलाई शुभकामना सन्देश पनि पठाउन थाले। मेरो जन्मदिन पनि विशेष हुन थाल्यो।
यसैबीचमा एकदिन फेसबुक आयो र त्यसपछि त मानौं- आँधी आयो। जन्मदिनको शुभकामना कसरी तीव्र हुन थाले भने सबैलाई रेस्पोन्ड गर्नै पनि भ्याउन छाडेँ। संख्या बढ्दै गयो र सय/डेढ सय/दुई सय हुँदै पाँच सयसम्म शुभकामना म्यासेज आउन थाले।
अघिल्लो वर्ष कति म्यासेज आएका थिए भन्ने मैले अहिले ठ्याक्कै बिर्सें तर यो संख्या पाँच सय हाराहारी हुनुपर्छ।
यसपालि त बबालै भयो। अप्रिल एकको दिन मेरो फेसबुक टाइमलाइनमा यसरी म्यासेज आइरहे, मानौं- कुनै रसिलो डाँडामा भर्खरै मूल फुटेको छ। फेसबुकले मेरो ३५ औं जन्मदिनमा भव्य पार्टी आयोजना गर्‍यो जसमा ७ सयले सहभागिता जनाए।
मार्क जकरबर्गलाई धन्यवाद जसले फेसबुक नामको यो मञ्च सिर्जना गरेर अभिव्यक्ति कला सजिलो र व्यापक पारेको छ।
र, मलाई फेसबुक पार्टी आयोजनाको अवसर पनि जुटाइदिएको छ।
...
अघिल्लो दिन राति कार्यालयबाट फर्केपछि पनि मैले झन्डै तीन घन्टा फेसबुकमा बिताएको थिएँ- साढे तीन बजेसम्म। मार्च ३१ को राति।
एउटा सन्देश पढिनसक्दै चारवटा आइसक्थे। म रातको सन्नाटामा मित्रहरूसँग संवाद गरिरहेथेँ।
घरका एकैजनाले ‘ह्यापी बर्थडे' भन्न भ्याएका थिएनन् तर विश्वभरिका थुप्रै चिनेका/नचिनेका मित्रले मिठो भाषामा शुभकामना सन्देश पठाइसकेका थिए, पठाउँदै थिए।
कसैले स्त्रि्कनबाट निकालेरै खान मिल्लाजस्ता बर्थडे केक पठाएका थिए। कसैले सुन्दर चित्रसहितका सन्देश। कसैले केकमाथि रंगीचंगी ममबत्ती बालेर पठाएका। कसैले फूलैफूलको बुके पठाएका थिए।
कसैले ‘दाइ', कसैले ‘दा', कसैले दादा, कसैले ‘दाजु', कसैले ‘सर', कसैले ‘जी', कसैले ‘भाइ', कसैले 'साथी', कसैले 'मित्र' कसैले 'दोस्त' सम्बोधन गर्दै आनन्ददायी म्यासेज पठाएका छन्। ‘डियर' भन्नेको संख्या पनि उत्तिकै। कोही ‘ब्रदर' भन्दैछन्, कोही ‘ब्रो', कोही ‘ब्रोदा'। कोही 'अंकल', कसैले 'ड्युड' लेखेका छन्। कसैले 'सरजी' सम्बोधन गरेका छन्, कसैले 'मितज्यू' भनेका छन्।
'ज्वाइँसाब', 'भिनाजु', 'माम्स', 'मामा' लेखेका सन्देश पनि आए।
फेसबुकले जीवनमा कति गहिरो नेटवर्क विस्तार गरेको रहेछ त!
म मोहित, पक्क र एकोहोरो भएँ- धेरै घन्टासम्म। सेलिब्रेसनको फेसबुक काइदा देखेर भित्रभित्रै कुत्कुतिएँ पनि।
फेसबुकमा एकाउन्ट नखोलेको भए के हाल हुन्थ्यो होला है मेरो!
मार्च ३१ को मध्यरातदेखि अप्रिल १ को मध्यरातसम्म शुभकामना सन्देशको क्रम सम्हाल्नै नसकिने गरी तीव्र भयो। त्यो क्रम अझै थामिएको छैन। बर्थडे सकिएको एक साता बितिसक्दा पनि।
भोलिपल्ट बिहानै घरका सदस्य- श्रीमती, भाइबहिनी, नातागोता पनि जुर्मुराए। घरमै इन्टरनेटको सुविधाले अलि ढिलो गरेर म उठ्दासम्म सबैले फेसबुकबाटै मेरो बर्थडेबारे थाहा पाइसकेका रहेछन्। उनीहरूले पनि मुखेन्जी नै ‘ह्यापी बर्थडे' भने, चकलेट खुवाए, खाए।
एउटी चिनेकी बहिनीले टेक्स्ट पठाई- दाइ, आज तपाईंको बर्थडे पो रैछ, धेरै धेरै शुभकामना। सूचना दिने फेसबुकलाई पनि धन्यवाद।
साँच्चि नै फेसबुकले मेरो बर्थडे सानदार पारेको थियो।
कतिपय म्यासेज कति मनपर्दा थिए भने मैले उद्धृत नगरी धरै पाइनँ। तपाईंहरू पनि पढ्नुहुन्छ कि!
...
‘जीवनका सबै कुरा यही जुनीमा पूरा हुन्।'
‘सधैं अनुहारमा मुस्कान होस्।'
‘आगामी दिनहरू सानदार रहुन्।'
‘डिटक्सिफाइड अर्को वर्ष।'
‘जीवनका सबै दिन महत्वपूर्ण हुन्छन्, तर हामी जन्मेको दिन एकदमै महत्‍वपूर्ण हुन्छ।'
‘आत्म-परिवर्तनको कामना।'
‘बाँच यसरी कि भोलि मर्दैछौ, सिक यसरी कि सधैं बाँच्नेछौं।'
‘जन्मदिन मुबारक।'
‘सधैं असल बन्दै जानुहोला।'
‘जय पाथिभरा।'
‘बर्थडेको पनि कुनै काठमान्डु कथा लेख्नुहुन्छ कि?'
‘चाहेजति बाँच्नू।'
‘तपाईंको बर्थडे त राम्रै दिनमा परेछ नि!'
‘आध्यात्मिक उन्नति, भौतिक प्रगति र दिर्घायुको कामना।'
‘प्रत्येक क्षण आनन्दी हुनुहोस्।'
‘काठमान्डु कथाको जय होस्।'
‘रकिङ र ब्लास्टिङ उत्सव मनाउनू।'
‘आगामी दिनहरू शुभ रहून्।'
‘एचबिडी।'
‘अप्रिल फुलको शुभकामना।'
‘उत्साही जीवन पाउनू।'
‘दीर्घ र आनन्दी जीवनको कामना।'
‘सधैंभरि लेख पढिराख्न पाइयोस्।'
‘जन्मदिनको शुभकामना- काठमान्डु कथा।'
‘हरेक पाइलाले सफलता चुमोस्।'
‘शुभकामना काउच सर्फर।'
‘आउँदा दिन झनै सुखमय हुन्।'
‘आयो फेरि त्यो खुसीको दिन जुन दिन तिमी रुँदै धरतीमा आएका थियौ।'
‘राम्रो सिर्जना पढ्न पाइयोस्।'
‘भगवानले तिमी सुत्ने सिरानी कोमल पारून्, तिमी हिँड्ने बाटो नरम बनाऊन्।'
‘राम्रो प्रस्तुतिको कामना।'
‘केही वर्षभित्रै नेपालको वरिष्ठ पत्रकारमा नाम सुन्न पाउँ्क।'
‘एक वर्ष आयु घटाउनु भएकामा बधाई, अर्को वर्ष ढिलो आओस्।'
‘आगामी दिनमा पनि तपाईंका उत्कृष्ट लेख पढ्न पाइयोस्।'
‘कथा रमाइला छन्।'
‘यो एक वर्षले तपाईंलाई अझ अनुभवी बनाएको छ।'
‘ला... लोकसेवाको उमेर हद कटेछ नि।'
‘जन्मदिनको लाखलाख शुभकामना।'
‘३६ मा प्रवेश गरेकामा बधाई छ, ३५ गएकामा सान्त्वना।'
‘३५? तिमी २५ का झैं देखिन्छौ।'
‘अप्रिल फुलको दिन परेछ त, ढाँटेको त होइन होला है?'
‘जुग जुग जियो।'
‘ह्यापी बुढ्यौली दिन।'
‘३५ मात्र? आयु धेरै नियन्त्रण गरेछौ, म त ४१ पुगिसकेँ।'
सबै म्यासेज यहाँ सारेर सम्भव छैन। फुर्सद भएको दिन मेरो फेसबुक पेज हेर्नुहोला।
...
जन्मदिनको म्यासेज दिने क्रममा थुप्रै साथीभाइको सिर्जनशीलता महसुस गर्न पाएँ। सबैलाई एकएक गरी धन्यवाद दिन सम्भव थिएन, सगोलमा दिएँ। धन्यवाद स्टाटसमा पनि कतिले ‘ढिलै भए पनि' भन्दै बर्थडे विस गरे।
अप्रिल फुलको दिन बर्थडेकै धङधङी रहिरह्यो। फेसबुकबाहेक बाहिर भने बर्थडेको खासै चमक रहेन। कतिपय निकटलाई पनि बर्थडे थाहा थिएन, हुनु आवश्यक पनि थिएन।
माथि नै लेखिसकेँ- हामी बर्थडे मनाउने वर्गका होइनौं। कमसेकम म। बर्थडे मनाउनु हाम्रो परम्परा होइन। थिएन भनौं।
अहिले म सानैमा पढेको ओशोको एउटा रचना सम्झन्छु जहाँ उनले भनेका छन्- जीवनका प्रत्येक दिन जन्मदिनझैं हुन्, प्रत्येक दिन नयाँ हुन्। जीवनको उत्सव मनाउन जन्मदिन वा नयाँ वर्ष आइरहनु पर्दैन।
होला, ओशो! तिमीले धेरै बुझेका छौ।
मेरो लागि भने जन्मदिन वा नयाँ वर्षकै बहानामा सही, जीवन सेलिब्रेसन गर्नु एक दिन भए पनि आनन्दित हुनु हो। परिस्थितिले हामीलाई सधैं उत्सवपूर्ण मुडमा रहिरहन मौका जुराउँदैन। त्यसैले यी खास दिनमा भए पनि जीवन-उत्सव मनाउनु गजब होइन त?
कहिल्यै सेलिब्रेसन नगर्नुभन्दा त कहिलेकाहीँ भए पनि गर्नु बेस होला नि! कसो ओशो?
यो मामलामा म मेरा प्रिय दार्शनिक ओशो र 'काठमान्डु कथा'को फुच्चे योगी कपुरभन्दा फरक सुनिएँ होला। उनीहरू प्रत्येक क्षण, प्रत्येक दिन होसपूर्ण बाँच्ने, रमाइलो गर्ने, उत्सव मनाउने कुरा गर्छन्।
म भने सम्भव भए प्रत्येक क्षण, नभए कहिलकाहीँ भए पनि जीवनउत्सव मनाउनुपर्छ भन्ने ठान्छु।
रमाइलोको बहाना खोजिरहनुपर्ने रहेछ। नत्र तिमीले जति चाह्यौ, त्यत्ति नै शुष्कता जीवनमा जहिल्यै उपलब्ध छ।
खैर, जन्मदिन रमाइलो भयो- ह्यापेनिङ र माइन्डब्लोइङ।
अहिले यो कथा लेखिरहँदा पनि मेरो फेसबुक एकाउन्ट खुलै छ। जन्मदिनका शुभकामना अझै आइरहेकै छन्- बिलेटेड ह्यापी बर्थडे भन्दै।
मैले ‘आई एम थर्टी फाइब' लेखेर फेसबुक पेजमा राखेको स्केचमा साथीहरू अझै कमेन्ट लेख्दैछन्। लाइक गर्दैछन्।
...
बर्थडेको साँझ पुल्चोकमा एउटा भेटघाट सकेर सुन्धारा आउँदै थिएँ, खल्तीमा फोन भाइब्रेट गर्‍यो।
निकालेँ। स्त्रि्कनमा 'घर कलिङ' लेखेर पिलिक-पिलिक गर्दै थियो।
कुपन्डोलको कानदेवता थाननिर मैले 'एन्सर की' थिचेँ र फोन कानमा टाँस्दै हेलो भनेँ। झापा घरबाट आमा बोल्दै हुनुहुँदो रहेछ।
‘मनोज, कहाँ छस्?' आमाले सोध्नुभयो।
‘म बाटोमा छु आमा, अफिसतिर हिँड्दैछु,' मैले भनेँ।
‘हेर् न, आज तेरो जन्मदिन रैछ, मैले त भुसुक्कै बिर्सेछु, अहिले चैत १९ भन्ने सम्झँदा पो झसंग भएर फोन गरेको! जन्मदिनको शुभकामना छ है तँलाई,' आमा हाँस्नुभयो। दिनभरि आज मेरो जन्मदिन भन्ने भुल्नुभएछ।
‘दिनभरि देशविदेशका सयौं साथीले जन्मदिनको शुभकामना दिइसके आमा,' मैले हाँस्दै भनेँ। आमालाई धन्यवाद भनिरहने कुरा भएन।
‘ए... त्यही त, हेर न... सबैले सम्झेछन्, मै जन्म दिने आमाले चाहिँ भुसुक्कै बिर्सेछु,' आमाले भन्नुभयो र अलि बिस्मात मिसिएजसरी फेरि हाँस्नुभयो।
‘ठिकै छ नि आमा, मैले पनि दिनभरि फेसबुकमा भुलेर तपाईंलाई फोन गर्नै बिर्सेछु,' म बोलेँ, ‘माथ्लाघरका भाइले त फेसबुकबाटै मलाई शुभकामना दिएका थिए।'
फेसबुकबाट साथीभाइले मलाई शुभकामना दिएको उहाँले छक्क परेर सुनिरहनुभयो।
हाम्री आमाको फेसबुक एकाउन्ट छैन। उहाँले अलि थक्क पनि मान्नुभयो।
'यो कम्प्युटर-सम्प्युटर चलाउन सिकिएन यो जुनीमा,' उहाँले यसो भन्दा म थापाथलीको पुलनेर आइपुगेको थिएँ।
'होइन आमा, अब सिक्दा पनि हुन्छ नि,' मैले भनेँ।
साँच्चि! अर्को वर्ष त आमालाई पनि फेसबुक एकाउन्ट खोल्दिनुपर्ला!
प्रतिक्रियाहरू (2)Add Comment
0
shambhu dhakal
April 09, 2012
202.166.214.206
भोट: +0
...

verry nice and interesting lekh.

0
Gopal
April 15, 2012
94.201.229.32
भोट: +0
...

fijul, bekaar! Jhan Aama lai fb account kholi dine kura le ta yo article ko Aatma lai nai maridin6. Aagami lekh utkrishta banos subha-kaamana

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार