Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Apr 08th

पहलमानसिंह स्वारको गाउँमा

E-mail Print
(4 votes, average 4.75 out of 5)
महेशविक्रम शाह- मेरा लड्याइला बयालपाटा, तेरी सात सलाम नौ ढोग छ, तोजसो रामडो बाहाडी ठाउँ अँत मै कहि धेक्यान, लेकडाडो पनि तेरै नाउ हो राइक्या बयालपाटा, चिद्या पिपल पनि तेरै नाउ हो राइक्या बयालपाटा, त उसै पन रामडो छै, तोमी माइस कैले खाली हुदाइन धेकी बयालपाटा, जैदिन राम रंग हौं छोर्‍याटा छोर्‍याटी तेरी मथी मी सुद्यै उल्चौडाइ फुल्चौडाई हट्टा छन्, छोर्‍याटी तालको माछो लड्क्या जन हुनी छन्, उई दिन तँ त याँ रदैन, उईदिन तँ का पुग्दो छै बयालपाटा, मुथी इन्द्रवाडा पुगी जादो मान्या, धेकित तेरा हडमी नाचन्या पन इन्द्रकी अपसरा हुन् मान्या धेकी बयालपाटा, त येतीको रुपस्या येतीको रामडो क्यान भै होई पहलमान सिंह स्वारका धेरै कृतिमध्ये मैले पहिलोपटक पढेको उनको अछामी भाषिकामा लेखिएको कृति 'लालुभागा' (नाटक) को दोस्रो अंकको सुरुका हरफ हुन् यी, जुन 'जगिन्या' नामक पात्रको मुखबाट स्वारले बोल्न लगाएका छन्। उनका छोरा तारामान सिंह स्वारले लालुभागाको प्रकाशकीयमा लेखेअनुसार उक्त नाटकका केही भाग त्यसबेलाको नेपाल भारतीय प्रकाशिनी समितिमा छाप्न दिँदा हराएको हुनाले दोस्रो अंक मात्र छाप्न सकिएको हो। 

 
२०३५ सालतिर टिकापुरमा निबन्ध प्रतियोगितामा प्रथम हुँदा साहित्यकार पूर्णप्रकाश नेपाल 'यात्री'बाट सेतीका तारा, सेतीको नालीबेली, सेती दिग्दर्शन सहित पहलमान स्वारको 'लालुभागा' पनि पाएको थिएँ। मैले स्वारको नाम सुने पनि कुनै कृति अध्ययन गर्न पाएको थिइनँ। पुस्तक अछामी भाषामा लेखिएको पाउँदा आश्चर्यचकित भएको थिएँ। म आफैं अछामी भएकाले अछामी भाषा राम्रैसँग बुझ्थेँ। नाटकको पहिलो संवादको थालनी नै 'बयालपाटा' को सुन्दरताको बखानबाट भएको पाउँदा म औधी खुसी भएको थिएँ। अछाममा मेरो गाउँ बुढीगंगा नदीको पश्चिमपट्टिको फाँटमा अवस्थित श्री वैद्यनाथ क्षेत्र, कालिमाटीमा पर्छ। मेरो गाउँबाट सिधा पूर्वपट्टि बुढीगंगाको पारीपट्टि अवस्थित डाँडोको शिरमा बयालपाटा छ र बयालपाटाका पिपलका चौतारी मेरो गाउँबाट प्रष्ट देख्न सकिन्छ। म बालक छँदा कैंयौ पटक बयालपाटा गएँ तर त्यसको सुन्दरताको अनुभूति भने मलाई स्वारको 'लालुभागा' पढेपछि मात्र भयो। मैले पुरस्कारमा पाएको लालुभागाको त्यो प्रति र लालुभागा पढ्दा पाएको हर्षको अनुभूति आज ३३-३४ वर्ष बितिसक्दा पनि हृदयमा सजीव छ।
स्वारबारे मैले थप जानकारी 'यात्री' को पुस्तक 'सेतीका तारा' बाट पाएको थिएँ। मै जन्मेहुर्केको ठाउँमा १९३५, मंसिरमा जन्मेका पहलमान सिंह स्वार नेपाली साहित्यका प्रथम मौलिक नाटककार मात्र नभई नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् भन्ने थाहा पाउँदा उनीप्रति मेरो जिज्ञासा झन् बढेको थियो। अर्कातिर एक महान साहित्यकार जन्मेहुर्केको ठाउँमा आफू पनि हुर्किन पाएकोमा म गौरवान्वित बनेको थिएँ। अछामबाट मलवारा (कैलाली) झरेपछि म २०५३ सालमा चिलगाडीमा अछाम पुगेको थिएँ। त्यसबेला मेरो भ्रमणको उद्देश्य थियो- स्नातकोत्तर तहको शोधपत्र लेख्ने। मेरो शोधपत्रको विषयवस्तु वरदादेवी मन्दिरको ऐतिहासिक पृष्ठभूमि थियो। त्यसबेला स्वारको गाउँ पुग्ने उत्कट अभिलाषा हुँदाहुँदै पनि म पुग्न सकिनँ। कालिमाटीको सम्म फाँटबाट पहलमान सिंह स्वारको लड्याइलो, रामडो र बाहाडी बयालपाटामा खुट्टा टेके पनि म उहाँको गाउँ मटेना पुग्न सकिनँ।
२०६८ माघ १२ देखि १९ सम्म श्री वैद्यनाथ मन्दिर, अछाममा 'श्री वैद्यनाथ क्षेत्र महोत्सवका साथै महायज्ञ, लक्षहोमको आयोजना गरिएको र महोत्सव उद्घाटन राष्ट्रपति रामवरण यादवबाट हुने कार्यक्रममा सहभागी हुने क्रममा मैले पनि अछाम जाने मौका पाएँ। यो पटक भने मैले जसरी भएपनि पहलमान सिंह स्वारको घर खोज्नु थियो।
२०६८ माघ १२ गते बिहान वैद्यनाथ मन्दिरका घन्टसँगै यज्ञमा बसेका ब्राह्मणले मन्त्रोच्चारण टाढाटाढासम्म सुनिन्थ्यो। बुढीगंगाको सतहबाट पानीको बाफ उडेर माथि गइरहेको थियो। स्वारको 'रामडो' बयालपाटालाई कुहिरोले छोपेको थियो। तर मेरो मनभित्रको बयालपाटालाई कसैले छोप्न सकेको थिएन। हामी बिहानै वैद्यनाथ मन्दिरको प्रांगणबाट गाडीमा बयालपाटातिर हुँइकियौं। मेरो साथमा अछामकै भाइ भवानसिंह कुँवर थिए।
आजकाल डोटीबाट अछामको मंगलसैनसम्म पक्की बाटो बनेको छ। डोटी, सिलगढीदेखि अछामको साँफेबगरसम्मको सडकको नाम 'पहलमान मार्ग' राखिएको छ। बुढीगंगाको किनारमा अवस्थित साँफेबजारलाई छिचोल्दै हामी छिपेखोलो तरेर माथि उक्लियौं। छिपेखोलोमा पुल बन्दै रहेछ।
हामी आधा घन्टामै बयालपाटा पुग्यौं। तर मलाई यो देखेर दुःख लाग्यो कि सडकले बयालपाटा जाने पुरानो गोरेटोलाई विस्थापित गरेको थियो। हामी बुढीगंगा तरेर ककडसातको ठाडो उकालो हुँदै, सल्लेरी वन नाघ्दै आइपुग्ने बयालपाटाको 'बाहाडी' पिपलको चौतारो तल छुटेको थियो। मैले बयालपाटाको शिरमा सयौं वर्षदेखि तरुणतपसीका रूपमा खडा वरपिपलको चौतारीमा उभिएर बयालपाटामुनि रहेको रिडीकोट गाउँ हेरेँ। यही गाउँ त हो जहाँ अछामीका वरद सुपुत्र पहलमान सिंह स्वारले जन्म लिएका थिए। प्रतिष्ठित स्वार परिवारमा जन्मेका पहलमान सिंह स्वार जन्मेहुर्केको, खेलेको, रमाएको ठाउँ यही थियो। उनको परिवार पछि रिडीकोटबाट मटेना सरेको थियो। म मटेना जाने तर्खरमा थिएँ। हामी बयालपाटाको बजारको मुखैमा पुग्यौं। हामीलाई देखेपछि पसल अगाडि बसेर गफ चुटिरहेका बुज्रुकहरू हामीलाई घेर्न आइपुगे। धेरैजसो परिचित पनि थिए। मीनबहादुर रावलजीसँग पनि भेट भयो। उनी हामीलाई नै पर्खेर बसिरहेका थिए। महेन्द्र मावि, बयालपाटाका अंग्रेजी शिक्षक रावलजीसँग मेरो भेट वैद्यनाथ महोत्सवमा भएको थियो। पहलमान सिंह स्वारको गाउँ मटेना जान लागेको भन्ने थाहा पाएपछि सबैको अनुहारमा कौतुहल देखियो।
'उः त्यै त हो नि उहाँको घर,' एकजना बुज्रुकले औंलाले इसारा गरे।
मैले टाढा चारपाँच वटा घरका बीचमा एउटा ठूलो रातो घर देखेँ।
'हो त्यै हो! तर आजकल कोही बस्दैनन्!'
'अनि त्यहाँ उहाँको परिवारका कोही सदस्य छैनन्?'
'छन्! त्यहाँ जानुभयो भने भेट होला!' उनले आशा देखाए।
म आँखाभरि, मनभरि बयालपाटाको तस्बिर खिच्नि थालेँ। डाँडोको शिरमा सम्म मैदान, मैदानमा ठुल्ठुला वरपिपलका रूख, अछामी शैलीमा बनाइएका घर, विशेष गरी लालुभागाले 'नेउले' खेल्ने बेलाको झझल्को दिने बयालपाटाका चौर र खच्चड हिँड्ने साँघुरो गल्लीका दुई छेउमा टसमस गरी नेउले खेलाडीझैं उभिएका बयालपाटा बजारका घर कम 'रामडा' थिएनन्। त्यसमाथि चौबीसै घन्टा हावा चलिरहने, वरपिपलका पात हल्लिरहने, छोर्‍याटा-छोर्‍याटीको मुहार मस्किरहने रुप्स्या बयालपाटाले कसको मनमा सुन्दरताको जादु नचलाउला! बयालपाटाको काखमा बसेर मैले डाँडोमुनि अविरल बगिरहेकी बुढीगंगा, वैद्यनाथ मन्दिर, सालतडीको सम्म हरियो फाँट, बाल्यकालमा सुखदुःखका क्षण गुजारेको किमधाराको खर्क, साँफे, पर्वा, लुंग्रा, पायल गाउँ देखेँ। रावलजीले खप्तडको लेक र बडिमालिकाको चुचुरो पनि देखाए।
बयालपाटाको साँघुरो बजारबाट दोकान अगाडिका बेन्च, कुर्सी पन्छाउँदै हामी दक्षिणतिर लाग्यौं। गाडी जानसक्ने बाटो रहेछ। केही पर पुगेपछि एउटा राम्रो ठाउँ आयो। त्यहाँबाट बयालपाटाको राम्रो देखिँदो रहेछ। गाडीबाट उत्रेर हामीहरूले फोटो खिच्यौं।
'कति सुन्दर छ है, बयालपाटा!' म मीनबहादुर रावलजीतिर मुखातिव भएँ। उनले भने, 'एक ठाउँमा 'बैकिनीका आँसुमा बग्छ बयालपाटा' भनेर तारानाथ शर्माज्यूले भन्नुभएको छ। होइन त हजुर!'
मैले शिर हल्लाएँ। उनले ठिक समयमा सही प्रसंग उठाएका थिए। पहलमान सिंह स्वारको नाटक लालुभागामा बयालपाटाको मात्र सुन्दर वर्णन छैन, भागाहरूको करुण नियति पनि छ।
हामी फेरि गाडी चढेर मटेनातिर लाग्यौं। स्वारको घर चण्डिका गाविस-७, मटेनामा पर्दोरहेछ। मटेना गाउँमा जम्माजम्मी ३६ घरधुरी छन्। गाडी चलाउन भनेर ट्र्याक खोलिए पनि गाडी विरलै गुडेकोे आभास पाइने कच्ची बाटोमा गाडी चलाउँदा ड्राइभर खुसी थिएन। ऊ सकभर नगएको भए हुन्थ्यो भन्ने भावना व्यक्त गरिरहेको थियो। उसलाई के थाहा, पहलमान सिंह स्वारको घरमा पुग्न म कति व्याकुल थिएँ!
गाडी छाड्यौं र ओरालो झर्दै पहलमान सिंह स्वारको घरलाई हेर्दै बाटो पहिल्याउँदै अगाडि बढ्यौं। एउटा सानो खोल्सोलाई फाँद हालेपछि हामी माथि ढिकमा पुग्यौं। तोरीको बारीको ढिकमा टुनी, भिमल, आँप, बकाइनो र खँदयोका रुख थिए। सामुन्ने नेपाली साहित्य जगतका विराट प्रतिभा, प्रथम मौलिक नाटककार पहलमान सिंह स्वारको इँटाले निर्मित घर। तर दुःखको कुरा, स्वारको सपनाका रूपमा रहेको यो दुईतले घर खण्डहरमा परिणत भइरहेको थियो। घरको धुरी थिएन। दोस्रो तल्लाको छतमा बिछ्याइएका काठका बिममाथि फल्याक थिएनन्। पूर्णतया नेपाली शैलीमा निर्मित यस घरको अगाडिपट्टि समान आकारका १५ वटा ढोका थिए। ती ढोकामध्ये दुई ढोका कौसीमा खुल्थे। सुन्नमा आए अनुसार स्वारले काठमान्डूबाट मिस्त्री बोलाएरै घर डिजायन गरेका रैछन्।
वरिपरि रहेको झाडीलाई पन्छाएर मैले भुइँतलाको दैलोविहीन ढोकाभित्र मुन्टो मात्र के छिराएको थिएँ, दुर्गन्ध ह्वास्स मेरो नाकमा ठोकियो। भुइँतलाका सबै कोठाचोठा मान्छेको शौचालय बनेका थिए। यो देखेर मेरो मन कटक्क काटियो। मैले सोचेको थिएँ, स्वारको घर पुरानो भए पनि कसै न कसैले रखवारी गरिरहेको होला। तर नेपाली आमाका ती महान सपुतका सपनाले बास गरेको घर मौरीले छोडेर गएको चाकाझैं भएको थियो। घरको पछाडिको बनावट अंग्रेजीको 'एल' आकारको थियो। यस्तो संरचना भएको घरलाई अछाममा 'बाँगे' घर भन्छन्। बाँगे घरको पछाडिपट्टिको माथिल्लो तलामा एक छेउदेखि अर्को छेउसम्म भग्नावशेष बार्दली थियो। घरसँगै अमिलो, आँप र अम्बाका बुढा रुख थिए। नजिकै परालको माँच पनि थियो। घर वरिपरि कोही मान्छे नदेखेपछि हामीले घरको पश्चिमपट्टि लाग्यौं। घरको आँगनमा पुगेपछि एउटी बुढीआमा देखा परिन्। 'नमस्ते आमा! हामी पहलमान सिंहज्यूको घर हेर्न काठमाडौंबाट आएका हौं,' मैले आफ्नो परिचय दिँदै भनेँ।
'ओ मेरा बाबु! कति टाढाबाटी आउनुभाको रैछ। याँ माथि बस्नुस्,' उनले ढुंगाले चिनेको पर्खालमाथि राडी ओछ्याइदिइन्।
'घरमा अरू कोही हुनुहुन्न?' मेरो इसारा उनका लोग्नेतर्फ थियो। यो घर पहलमान सिंह स्वारका भतिजा मोहन सिंह स्वारको थियो। म उनीसँग कुरा गर्न लालायित थिएँ।
'उहाँ पल्ला गाउँमा ब्याउला-ब्याउलीलाई टिका लाउन जानु भयाको छ, आइहाल्नुहुन्छ हजुर!' उनी आत्मीयता दर्शाउँदै बोलिन्। उहाँ नआउँदासम्म मलाई उनी अर्थात शोभा स्वारसँग कुरा गर्न मन लाग्यो।
'आमा के तपाईंले पहलमान सिंह स्वारज्यूलाई देख्नुभएको थियो?'
'सानी हुँदा देखेजस्तो लाग्छ, त्यति सम्झना छैन।'
'उहाँको बारेमा तपाईंलाई थाहा छ?'
'उहाँ ठूला मान्छे हुन भन्छन्। अरू मान्छे पनि यहाँ आइरहन्छन्। अरू म केई राउँदिन, बाबु।'
'यो घर किन यस्तो भयो आमा! यसको स्याहार किन हुन सकेन?'
उनी रुन थालिन्! मलाई गलत समयमा गलत प्रश्न सोधेँछु कि जस्तो लाग्यो। भनिन्, 'हामी बुढाबुढी यति ठूलो घरलाई कसरी स्याहार गरौं, बाबु! आफैं त मुस्किलले चुलोचौको गरिराख्या छौं। काठमाडौंबाटी पनि कोई आउँदैनन्। मु क्यारु!'
एकैछिनमा मोहनसिंह स्वार निधारमा राता अक्षता टल्काउँदै लट्ठी टेक्दै आइपुगे। खुट्टामा चप्पल, सेतो सुरुवालमाथि रङ खुइलेको निलो उनी कोट, शिरमा कालो टोपी र घाँटीमा गम्छा बेरेका मोहनसिंह स्वारको शरीर बुढो भए पनि व्यक्तित्व आकर्षक थियो।
सुरुमै थाहा भयो, बुढा कुरा गर्नमा चाख राख्ने रहेछन्। उनको कुराबाट ज्ञात हुन्थ्यो- पहलमानको भतिजो हुन पाएकोमा उनी आफूलाई धन्य ठानिरहेका थिए। उनलाई पहलमान सिंहबारे सबै कुरा कण्ठस्थ थियो। कवितादेखि नाटकसम्म! उनी लेघ्रो तानेर पहलमानसिंह स्वारको श्लोक सुनाउन थालिहाले :
उत्तर आर्य अछाम देश रमणी नेपाल राज्यैमहाँ
मालीका खपतड् गिरी र अनि फेर् श्री बृद्धगङगा जहाँ
तिन्का बीचविषे छ ग्राम बढिया नाऊँ रिडिकोट् पनी
घर्हो तँाहि बुझुन् सबै सुजनले थर स्वार क्षत्री भनी
धर्मात्मा कपतान लक्ष्मिसिँहको पुत्रै पहलमान म हूँ
लेप्टेन् मान थियो अगाडि अहिले बिस्तार कहाँतक् कहुँ।
पहलमान ४४ वर्षको हुँदा मोहनसिंह स्वार जन्मेका थिए र उनी १२ वर्षको हुँदा १९९१ वैशाखमा ५६ वर्षको उमेरमा पहलमानसिंह स्वारको निधन भएको थियो। 'मलाई अलिकति सम्झना छ उहाँको। यो घर बनाउन आउनुभएको थियो। उहाँले यो घर बनाउनुभयो तर गृहप्रवेश गर्न पाउनु भएन। कैलालीको पहलमानपुर गाउँमा बढी बस्नुभयो।' उनले सविस्तार भने।
घरको स्याहार-सम्भारको सन्दर्भमा उनको भनाइ थियो, 'हामीहरूले यसको संरक्षरण होस् भन्ने चाहेका छौं, तर के-के नमिलेर काम हुन सकेको छैन। यो घरलाई बयलपाटाको महेन्द्र माविलाई कलेज बनाउन दिने कुरा पनि थियो। पुस्तकालय बनाउने पनि भन्थे। तर कसैले जाँगर चलाएनन्। यो घरको प्रबन्ध मिलाउन उहाँको छोरा तारामान सिंह स्वार पनि आउनुभएको थियो।'
...
नृपबहादुर स्वारको 'स्वार वंशावली' पुस्तकमा उल्लेख भएअनुसार पहलमान विसं. १९७५ मा कैलाली पुगेका थिए। जीविकोपार्जनका लागि उनले औलोको प्रकोप र मानिसको अभाव रहेको जंगल फडानी गरेर अम्वासा, सिसैया र लठैया नामका तीन मौजा आवाद गरे। ती मौजा हाल उनको नामबाट नामकरण गरिएको पहलमानपुर गाविस अन्तर्गत पर्छन्। विसं. १९५१ मा जुँगारेखी नबस्दै १६ वर्षको उमेरमा उनलाई वीर शमशेरले कैलाली छोटी काठमालको लप्टनमा नियुक्त गरेका थिए तर ठेक्काको काममा घाटा खाएकोले तिनै वीर शमशेरबाट सम्वत १९५३ मा उनको घर जायजात लिलाम गरी असुल उपर गर्नू भन्ने सनद भएकाले उनको घर सर्वस्व गरियो। घरमा २२ नाल बन्दुक भेटिएपछि शंकालु वीर शमशेरले उनका पिता लक्षुसिंह र छोराहरू जो जहाँ छन् पक्राउ गरी कैद गर्नू भन्ने सनद गरिदिए। यो सुँइको पाएपछि पहलमान कैलालीबाट भागेर भारत पुगे। सम्वत १९६५ मा बेलायतबाट श्री ३ चन्द्र शमशेर नेपाल फर्कने क्रममा बझांगी राजा जय पृथ्वीबहादुर सिंहको सदभाव र सहयोगमा उनले श्री ३ लाई भेटी आफ्नो कुरो राख्न पाए। श्री ३ ले तत्कालै पहलमानलाई अभयपत्र दिए र उनी श्री ३ सँगै नेपाल फर्के।
सम्वत १९६६ सालमा उनी काठमाडौं जेल कारखानाको डिठा पदमा नियुक्त भए। तर पछि निकालिए। सम्वत १९७५ मा कैलालीमा रहेका डोटीका ईश्वरीदत्त पन्तले चर्सा रकमको ठेक्का लिँदा त्यसमा उनी धनजमानी बसेका थिए। ठेक्का चलाउन नसक्दा पन्तले छोडिदिए। धनजमानी भएका कारण ठेक्काको रकम असुल गर्न स्वारलाई पक्राउ पुर्जी काटियो। ऋण लिएर रु. १९,००० बुझाउँदा पनि उनी खोरमा थुनिनुपर्‍यो। सम्वत १९८० मा श्री ३ चन्द्रले उनलाई काठमाडौंमा जेल कारखानाको हाकिममा नियुक्त गरिदिए। सम्वत १९८६ मा श्री ३ चन्द्रको मृत्युपछि भीम शमशेर प्रधानमन्त्री भए। उनको समयमा कारखानाको काममा रु. ६,००० घाटा परेकाले स्वार फेरि केही समय खोरमा थुनिनुपर्‍यो। सम्वत १९८९ मा प्रधानमन्त्री बनेका जुद्ध शमशेरले बाँकी रुपैयाँ भाकामा नबुझाएको भनी उनलाई नोकरीबाट झिकिदिए।
सम्वत १९९० सालमा जुद्ध शमशेरको कैलाली कञ्चनपुरमा सिकार खेल्ने योजना भएअनुरुप भारदारहरूको सल्लाहमा अनुभवी पहलमान सिंह स्वारलाई रसद पानीको व्यवस्था गर्ने ठेक्का दिइयो। तर दुर्भाग्य, काठमाडौंमा ९० सालको महाभूकम्पले ठूलो धनजनको क्षति भयो। जुद्ध शमशेर दलबलसहित काठमाडौं फर्के। पहलमान सिंह स्वारले व्यवस्था गरेका रसद पानीका क्याम्प र गोदाम कतिले गायब गरे, कति सडे, गले, लथालिंग भए। यस घटनाले उनको जीवनमा ठूलो धक्का पर्‍यो। लिएको पेस्की फर्छ्यौट गर्नाको लागि दौडधुप गर्दागर्दै उनलाई कालाज्वरोले समात्यो र उनी थला परे। जंगलबीचको बस्तीमा औषधी नै नपाई सम्वत १९९१ जेठ ७ गते आफ्नी धर्मपत्नी मनोरमा कुमारी र एकमात्र छोरा तारामानसिंह स्वारलाई छाडेर आफैंले आवाद गरेको आम्वासा मौजामा उनको देहान्त भयो।
पहलमान सिंह स्वारको जीवन संघर्षै-संघर्षमा बितेको देखिन्छ। कलमको निब तिखार्ने व्यक्तिले व्यापारका छक्कापन्जा नजान्दा भोग्नुपरेको घाटा र सो घाटाका कारण पटक-पटक जेल जानुपर्ने उनको नियति! यस्ता विषम परिस्थितिमा पनि उनले चुनौती सामना गर्दै साहित्यिक साधनालाई बिट मार्न दिएनन्। सम्वत १९५३ मा भारतमा पलायन भएपछि सम्वत १९६५ सम्म करिब १२ वर्ष उनले थुप्रै साहित्यिक कृतिको रचना गरी छपाए पनि। तत्कालीन डोटी रैकाका सन्तान प्रतापविक्रम शाहीले गढकुमाउको लडाइमा सहयोग गरेवापत अंग्रेजबाट भारत, सिंगाहीको रियासत पाई त्यहाँका राजा भएका थिए। तिनै प्रतापविक्रम शाहीले अछामी राजा टिकाभुप शाहीकी छोरी सुरथ कुमारीलाई विवाह गरेका थिए। भारत प्रवासको क्रममा पहलमानसिंह स्वारले सुरथ कुमारीलाई लखनउमा भेटी आफूमाथि आइपरेका विपतबारे अवगत गराएपछि सुरथ कुमारीले आफ्ना माइतीका काजीखलकका सन्तानलाई आत्मीय भावले सिंगाहीमा आश्रय दिई ठूलो इज्जतसाथ राखिन्। उहाँको साहित्यिक प्रतिभाको प्रस्फुटन सिंगाहीमा नै भएको थियो। यसक्रममा उनले हिन्दी, गुजराती, उर्दु, फारसी भाषा अध्ययन गरे र आफ्नो ज्ञानलाई फराकिलो बनाए। पहलमानसिंह स्वारको साहित्यिक प्रतिभाको विकास गर्न, गराउनमा रानी सुरथ कुमारीको महŒवपूर्ण योगदान रहेको हामी पाउँछौं।
विसं. १९६० मा उहाँका दुई कृति अंकेन्दुशेखर र प्रेमामृत वचन संग्रह छापिए। सम्वत १९६२ मा उहाँको नेपाली साहित्यको पहिलो मौलिक नाटक 'अटल बहादुर' प्रकाशित भयो। उहाँद्वारा रचित अन्य प्रमुख साहित्यिक कृतिमा अभिज्ञान शाकुन्तल (अनुवाद), योगदर्शन, बालोपदेश, प्रेमरञ्जन शृंगार, अछामका चाडपर्व, विमलादेवी नाटक, खोर रहस्य, किस्किन्धा काण्ड, लालुभागा, विष्णुमाया नाटिका, रत्नावलि नाटिका, स्वारको कुरा, पहलमान भजनमाला, एक लाख रुपियाँको चोरी, जगतसिंह नाटकका साथै थुप्रै कविता रचना गरेका छन्। उनको जीवनकालमा जम्मा ६ वटा जति कृति मात्र प्रकाशित भएका थिए। बाँकी कृति उनका सुपुत्र तारामानसिंह स्वारको सक्रियतामा प्रकाशित भएका हुन्।
अछाममा जन्मीहुर्की लप्टनसम्मका मान पाएका पहलमानसिंह स्वारले जीवनमा अनेकौं हन्डर खानुपरे पनि उनले आफ्नो दुःखी जीवनलाई सुखी बनाउने चेष्टा गरिरहे। जीवनमा आएका अनेकौं विपत्तिलाई बहादुरीसाथ सामना गर्दै साहित्य सिर्जनामा आफूलाई समर्पित गरिरहे। जसको फलस्वरुप उनले आजभन्दा १०६ वर्षअगाडि नै नेपाली साहित्य जगतलाई पहिलो मौलिक नाटक 'अटल बहादुर' का रूपमा एक गहकिलो र कालजयी कृति दिए।
 
उनको यो कृतिका कारण नेपाली नाटकको इतिहास समृद्ध छ। यो कृति प्रकाशन भएको करिब ४० वर्ष पछिमात्र नेपाली साहित्यका समालोचकका आँखा उघ्रे। बालकृष्ण समको नाट्य शैलीबाट प्रभावित भइसकेकाले यस मौलिक नाटकलाई सेक्सपियरको नाटक ह्यामलेटको अनुवाद, भावानुवाद, प्रभाव हो भनी नाक खुम्च्याए। तर विसं. २०१४ मा आफ्नो एक लेखमा कमलमणि दीक्षितले 'नेपाली भाषामा छापिएको पहिलो नाटक हुने श्रेय त्यही अछाम निवासी लेफ्टेन पहलमान सिंहको नाटकमध्येको 'अटल बहादुर वियोगान्तक नाटक' लाई नै छ भनेका थिए। विसं. २०२६ मा नेपाली पूर्णांक ४० मा 'अटल बहादुरबारेमा सानो चर्चा' लेखमा तारानाथ शर्माले यसभन्दा अझ अघि बढेर 'अटल बहादुर नेपाली वातावरणलाई छर्लंग पार्ने युगचेतना भएको प्रगतिशील, राम्रो र सफल नाटक तथा नेपाली साहित्यको पहिलो मौलिक वियोगान्तक नाटक' भने। शर्माले 'अटल बहादुर' नाटकलाई ह्यामलेटको भावानुवाद भनी यसको उछित्तो काढ्न खोज्ने समालोचकले उठाएका तर्कको जवाफ दिँदै लेखेः 'यस्तो ढाँट निर्णय साहित्यिक विकासको बाटामा औधी भयानक तगारो हुन जान्छ। त्यति मात्र होइन, 'अटल बहादुर' लेख्ने पहलमानसिंह स्वारप्रति हुनसम्म अन्याय पनि हुन सक्छ।' यो जवाफले सबैका चेतका द्वारपट खुले र पछि गएर सबैलाई सत्य कुरो मान्न करै लाग्यो।
...
मैले मोहनसिंह स्वार तथा उनकी धर्मपत्नी शोभा स्वारसँग बिदा मागेँ। शोभा स्वार काठमाडौं गएर आफ्नो आमाबाबु, आफ्नो गाउँठाउँ भुलेको आफ्नो छोरोलाई सम्झँदै रुन थालिन्। उनको आँसुले मलाई द्रवित बनायो।
बिदा लिएर फर्कंदा मैले पहलमानसिंह स्वारको आफू जन्मेको गाउँठाउँमा सुखपूर्वक साहित्य साधना गरी बस्ने सपना लिएर बनाएको अर्द्धनिर्मित बाँगेघर हेरेँ। उक्त घरमा उहाँ गृहप्रवेश गर्न नपाई काठमाडौं हुँदै मलवारा जानुपरेको थियो र त्यसपछि फर्केर आउनु भएन।
पहलमानसिंह स्वारको अधुरा सपना गाँसिएको यस घरको सम्भार र संरक्षण होस्। यस घरलाई 'पहलमान स्मृति संग्रहालय' का रूपमा विकास गरी उनीसँग सम्बन्धित सम्पूर्ण पुरातात्विक तथा निजी वस्तु यसमा राखिउन्। यस संग्रहालयमा अछामी संस्कृति झल्काउने वस्तु पनि राखिउन्। यस कार्यको पहल स्थानीय स्तरबाट साथै काठमाडौंस्थित सुदूरपश्चिमका गैरसरकारी संस्थाबाट समेत होस्।
अन्तमा, तारानाथ शर्माकै लेखको अंश : 'आफ्नो माटोको, आफ्नो युगको र आफ्नो व्यथाको चित्रण गरेर स्वारले नेपाली साहित्यलाई तिरिनसक्नु गुन लगाएका छन्। अमर 'अटल बहादुर' जस्तो रमाइलो र मौलिक नाटक दिने पहलमानसिंह स्वार नेपाली साहित्यका विभूति हुन्।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार