Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Apr 08th

सीताजी र कुर्ता सलवार

E-mail Print
(28 votes, average 4.61 out of 5)
कृष्ण धरावासी- मैले सीताजीलाई ‘तपाईं' भन्न थालेको धेरै भएको थिएन।
विर्तामोडको घरमा सरेपछि जब उहाँ, म र सानी केटी मात्र भयौं, अनि मैले जिस्केजस्तो पारामा खुसी व्यक्त गरेझैं 'सीताजी, लौ बस्नोस्' भनेको थिएँ पहिलो पल्ट। उहाँ पनि खुसीको मुडमा हुनुहुन्थ्यो, मेरो अभिव्यक्तिलाई खासै महत्व दिनुभएन तर म भने अब हरेक पल्ट त्यही शैलीमा सम्बोधन गरिरहन थालेँ। एक दिन उहाँले भन्नुभयो, 'तपाईं मलाई किन ‘तपाईं' भनेर होच्याउनुहुन्छ? के मन परेको छैन अचेल?'
म झसंग भएँ। उहाँले त नकारात्मक अर्थमा पो बुझिरहनुभएको रहेछ। एकछिन ट्वाल्ल परेर हाँस्दै भनेँ, 'मैले तपाईंलाई जिस्क्याएजस्तो लागेको छ? मैले त साँच्चै पो भनेको!'
'भन्नुपर्दैन मलाई तपाईंसपाईं। दुनियाँले सुन्दा पनि लाजमर्दो। झन् आमाले सुन्नुभो भने के भन्नुहोला!'
'अहिले त यहाँ आमा र अरू पनि त छैनन् नि। अहिले भन्दाचाहिँ हुन्छ त?'
'अचेल तपाईं मलाई हेप्न थाल्नुभएको छ। अब म भोलि नै माथि गएर आमालाई लिएर आउँछु।'
वास्तवमा सीताजीको मुडै बिग्रियो त्यस दिन।
अनि मैले हाँस्दै भनेको थिएँ, 'ल भैगो बाबा भैगो, अबदेखि तिमी नै भनौंला, भएन त! ओ तिमी, हाहाहा...।' तैपनि उहाँ उज्यालिनुभएको थिएन।
अनि आज फेरि उहाँले त्यही प्रश्न दोर्‍याउनुभएको थियो, 'अचेल तपाईंले मलाई फेरि ‘तपाईं' भन्न थाल्नुभो नि!'


'म वास्तवमै तपाईंलाई ‘तपाईं' भन्न चाहन्छु सीताजी, मैले यो जिस्क्याएको होइन। हामी साथीसाथी त हौं नि! मैले नै तपाईं भनेँ भने तपाईंलाई अरूले पनि हेप्न सक्दैनन्।'
'मलाई कसले हेपेको छ र! पर्दैन यो लाजमर्दो ‘तपाईं' भन्न।'

बिस्तारै उहाँलाई त्यस्तो सुन्न बानी लाग्दै गएछ। मेरो पनि मुखमै ‘तपाईं' झुन्डेको थियो। उहाँका बारे अरूसँग कुरा गर्दा बाहिरफेर पनि ‘तपाईं' नै भन्न थालेँ। बिस्तारै थाहै नपाई यो शब्द बानी पर्‍यो।
वास्तवमा म पहिलेदेखि नै उहाँलाई ‘तपाईं' भन्न चाहन्थेँ। बिहे गरेर ल्याएपछि मात्र त ऊ श्रीमती भएकी हो, नत्र त को हो को! ऊ र म सबै कुरा र हैसियतमा बराबर। अझ यस घरमा उसको मूल्य बढी छ। किन होच्याएर ‘तँ' वा ‘तिमी' भन्नु!
तर आमाका अगि ‘तपाईं' भन्न कहिल्यै आँट आएन। आमा विर्तामोड सरेपछि आमाको अगि मैले फेरि तिमी नै भनेको थिएँ। हुन त आमाले पनि के नै गर्नुहुन्थ्यो होला र! जीवनमा कुनै दिन मेरो इच्छाविरुद्ध केही नगरेकी आमाले मैले श्रीमतीलाई 'तपाईं' भन्दा पनि के भन्नुहुँदो हो र! तर मैले आँट गर्न सकिनँ। आमा बितेपछि भने मैले निर्धक्कसँग सीताजीलाई ‘तपाईं' भन्न थालेँ। केही समय सुन्नेहरूलाई असजिलो भयो होला, बिस्तारै बानी पर्दै गयो।
त्यसो त आमालाई अत्यन्तै आदर गर्ने भएकाले मैले कति साधारण कुरा पनि ‘आमालाई मन नपर्ला' भन्ने सोचेर गर्न सकिनँ। आमा अरूभन्दा धेरै उदार र खुला मनकी भए पनि उमेरअनुसार केही कुरा उहाँका पनि मन पर्दा/नपर्दा थिए नै।
सानी सत्र वर्षकी फुच्ची बिहे गरेर ल्याइएको थियो। उनले सारी लगाउनै जानेको थिएन, सधैं टिकाले लगाइदिनुपर्थ्यो। सारीमा डल्लो परेकी सानी केटी घरआँगन र भान्सामा लुटुपुटु गरिरहेकी हुन्थी।
पातलो-पातलो गरी निकै हुर्केका केटीहरूले पनि कुर्तासुरुवाल लगाउन थालेका थिए। कतिपय बिहे गरेकै आइमाईहरू पनि कुर्तासुरुवालमा देखिन्थे। हामीले टिकालाई पनि कुर्तासुरुवाल सिलाइदिएका थियौं। मलाई सीताजीले पनि कुर्तासुरुवाल लगाउन पाए हुनेजस्तो लाग्थ्यो तर कहिलेकाहीँ अरूका बुहारीका प्रसंग निकाल्दै आमाले भनेको सुन्थेँ- अचेलका बुहारी सासुससुराका अगाडि लाजै नमानी कुर्तासुरुवाल लाएर ढल्किन्छन्।
आमाको त्यो भनाइले उहाँमा 'बुहारीले कुर्तासुरुवाल लगाउनु हुन्न' भन्ने विश्वास रहेको बुझेको थिएँ। बिचरा सीताजीलाई पनि कति रहर थियो कुर्तासुरुवाल लगाउने, तर कसरी लगाउन दिने?
एक दिन त उहाँ रुनु नै भयो, 'मलाई कति गाह्रो हुन्छ यो सारी लगाएर काम गर्न। यस्तो गर्मी छ। भित्र सुतिको बाक्लो पेटिकोट, बाहिर सुतिकै यो बाक्लो सारी चारफन्का बेरेर लगाउनुपर्छ!'
सबै बुझे पनि म केही बोलिनँ। कुनै तरिकाले पनि सासुबुहारीमा मनमुटाव नहोस् भन्ने म चाहन्थेँ। अनि मैले एक दिन शनिबार बजारबाट दुइटा रेडिमेड गाउन किनेर ल्याइदिएँ सासुबुहारीलाई। त्यो देखेर आमा एकछिन छक्क परेर हाँस्नुभयो।
'यत्रो वर्षमा छोराले पहिलो पल्ट केके न किनेर ल्याएछ भनेको त यो भ्याङ्लो पो रछ। लाउँदिनँ म त यस्तो लाजमर्दो। त्यै सीतेलाई दे, उसैले लाउँछे फेरीफेरी।'
मैले भनेँ, 'यो लाएर बजार जाने, तीर्थ जाने होइन त आमा! घर बस्दा पो लगाउने त! यस्तो गर्मीमा यो लाउँदा कति सितल हुन्छ। अचेल त सबैले घरमा बस्दा यस्तै लगाउँछन्। पर डाक्टरनी आमा पनि त लगाउनुहुन्छ नि।'
निकै बेरपछि भन्नुभयो, 'खै ले न त, लाइहेरूँ। लाज लाग्छ होला। भैगो आज लाउँदिन, पछि कुनै दिन लाउँला।'
अनि सीताजीलाई बोलाएर भन्नुभयो, 'ऐ सीते, लु तँ यो लाला, कस्ती देखिँदी रैछेस्।'
सीताजीले लगाएर आएपछि राम्ररी हेरेर हाँस्दै भन्नुभयो, 'यसलाई त कति राम्रो स्वायो हौ! लु अब घर बस्दा यही ला है, तँ।'
सीताजी हँसिली भएर भान्सातिर लाग्नुभयो।
राति सुतेका बेला काननेर खितखित हाँस्दै सोध्नुभयो, 'हैन, आज तपाईंलाई केको भुत चढ्यो नि! सोच्नु न सपना देख्नु, कसले भनेर ल्याएको यो?'
मैले पनि बिस्तारै कानैमा मुख लगेर भनेँ, 'यो भनेको तिम्रो कुर्तायात्राको प्रारम्भ हो, नानी! अब हेर, बिस्तारै हाम्रो घरमा कुर्ता पनि छिर्छ।'
उहाँले च्याप्प अँगालो मार्नुभयो।
नभन्दै त्यसको केही समयपछि २०४६ वैशाखमा तेस्रो महानन्द पुरस्कार समारोह इलाममा हुने भयो। त्यस कार्यक्रममा सकेसम्म सबै कवि साथीहरूले आआफ्ना श्रीमती पनि लैजाने भए। मलाई पनि सीताजीसँग बाहिर घुम्न जान मन थियो। घरको काम, पैसाको अभाव र बेफुर्सदीका कारण बिहे भएको पाँच वर्षसम्म ससुरालीभन्दा बाहिर एक रात पनि मैले उहाँसँग बिताउन पाएको थिइनँ। घरमा काम गर्दागर्दा दिक्क भएकी उहाँ पनि कहिलेकाहीँ भन्नुहुन्थ्यो, 'टाढा कतै जानुजस्तो लाग्छ कहिले त! कति यही घरआँगन मात्र गर्नु। आफैंदेखि वाक्क लाग्छ।'
म केही नबुझेझैं गर्थें।
अनि यसपालि चाहिँ जे पर्लापर्ला इलाम लैजाने विचार गरेर डराउँदै आमासँग भनेँ। आमाले खुसी हुँदै भन्नुभयो, 'घुमाउनु त पर्छ नि कहिलेकाहीँ। कति बसोस् यही घरमा मात्र। मान्छेले पनि चिन्छन्। उहिले हामी त मेलापात गर्थ्यौं, घरबाट टाढाटाढा पनि पुग्थ्यौं। यो सीतेले त यो आँगन पनि नाघेकी छैन होला। मैले त वर्षमा एकपल्ट हप्तादिन लगाएर धरानको नुन पनि खेपेकी छु।'
आमाको कुरा सुनेर म ठन्डा भएको थिएँ। मनमा लागेको थियो- आमाले ‘पर्दैन' भन्नुहुन्छ होला, उहाँबाट बिदा मिलाउन निकै परिश्रम गर्नुपर्ला तर मैले आफ्नै आमाको मन पनि राम्ररी बुझेको रहेनछु। मैले मनमनै आमालाई एउटी कठोरताकी मूर्तिझैं ठानेको रहेछु।
माथिल्लो कोठामा बसेर सीताजी कुरा सुनिरहनुभएको थियो। आमाको कुरा सुनेपछि तल्लो कोठामा आएर आमाको छेउमा बस्नुभयो।
आमाले भन्नुभयो, 'तँ पनि जा सीते यसपालि दाजुसँग इलाम, सारो राम्रो छ इलाम। त्यहाँको चियाबारी जति हेरे पनि चित्त बुझ्दैन। चारखोल भन्छन् त्यसलाई। चारओटा खोलाले घेरिएको भएर चारखोल भनेका अरे। पुवाखोलापारि साङ्रुम्बा पर्छ हाम्रा बाहरू पहिले बसेको ठाउँ। दिपलेशलाई लानु पर्दैन, मैसँग बसिहाल्छ।' आमाले सजिलै बिदा दिएको देख्दा उहाँ पनि छक्क पर्नुभएछ। भरे भन्नुभयो, 'हामीले त आमालाई चिनेकै छैन कि के हो!'
...
इलाम जाने भएपछि एक दिन सीताजीलाई लिएर विर्तामोड गएँ। राम्रो सुतीको कुर्तासुरुवालको कपडा किनेर सिलाउन दियौं। सीताजी डराउँदै हुनुहुन्थ्यो, 'आमालाई चाहिँ सोधेको छैन।'
म केही बोलेको थिइनँ। मेरो मनभित्र पनि त्यही डर थियो।
हिँड्ने दिन घरबाट सारीचोलोमै निस्कनुभयो सीताजी छोरो बोकेर। आमाले ‘नलानू' भन्दाभन्दै सीताजीले छोड्न मान्नु भएन। आमा भन्दै हुनुहुन्थ्यो, 'लान त लगिस् सीते। त्यहाँ बिमारी पारेर ल्याइछेस् भनेचाहिँ अनि मैले जानेकी छु नि!'
आमालाई भन्दा हजुरआमालाई पीर थियो नातिको। सीताजीले पनि तीन वर्ष एकै रात नछोडेको हुनाले सँगै लैजान खोज्नुभएको थियो।
विर्तामोडमा पुगेर सीताजीले लुगा फेर्नुभयो र पहेँलो रङका कुर्तासुरुवाल र सल धारण गर्नुभयो। म हेरेको हेर्‍यै भएँ। त्यो रङमा उहाँ त्यति सुन्दर देखिनुहोला भन्ने मैले कल्पनै गरेको थिइनँ। बाइस वर्षकी सीताजी त्यो यात्राभरिकी आकर्षक हुनुभयो। सबले तारिफ गरे उहाँलाई। बिचरा, लाजले भुतुक्कै।
फर्केर विर्तामोड आइसकेपछि उहाँले मलाई पुलुक्क हेरेर भन्नुभयो, 'के अब लुगा फेर्नु?'
'किन?' मेरो प्रश्न।
'अनि यिनै लुगा लाएर जाने त घर?'
'हो त, अब यिनै लुगा लगाएर जाने र अबदेखि सधैं यिनै र यस्तै लगाउने।'
मलाई लाग्छ त्यसबेला मेरो अनुहार कठोर भएको हुनुपर्छ तर सीताजी एकदमै डराएजस्ती हुनुहुन्थ्यो।
मैले भनेँ, 'किन डराएकी? म छैन? केही भन्नुहुन्न आमाले। अस्ति गाउन ल्याउँदा केही भन्नुभयो त?'
तैपनि विर्तामोड र शनिश्चरे बजारमा अलमल गर्दै साँझ पारेर घर पुग्यौं।
आमा बाटो हेरेर बसिरहनुभएको रहेछ। दिपलेश बिमारी भएको कुरा उहाँले सुनिसक्नुभएछ। हामी पुगेपछि एक पल्ट पुलुक्क सीताजीलाई हेरेर दिपलेशलाई काखमा लिई कपाल मुसार्न थाल्नुभयो। सीताजीले छिट्छिटो कोठामा पसेर लुगा फेर्नुभयो।
खाना खाएपछि सबै यात्राविवरण सुनायौं। दिपलेश बिमारी भएको कुरा राम्ररी बेलिबिस्तार लगायौं। भोलि पल्ट बिहान आठै बजे खाना खाएर म अफिस हिँडेँ। मनमा सीताजीको कुर्तासुरुवालप्रति आमाको प्रतिक्रियाको झस्को छँदै थियो। 'बा यही निहुँले सासुबुहारीको मनमुटाव हुने हो कि!' तर बेलुका घर पुग्दा एकदमै सामान्य अवस्था थियो। सीताजीको अनुहार सधैंभन्दा पनि खुसी थियो।
राति सुतेका बेला बिस्तारै सोधेँ, 'आमाले कुर्ताबारे केही भन्नु भएन?'
'केको नभन्नु नि, भन्नसम्म भन्नुभो!' सीताजी त खुसखुस गर्दै हाँस्न थाल्नुभयो।
'के भन्नुभयो त?' म डराएँ।
'तपाईं हिँडेपछि एकछिन गनगन गर्नुभयो- यिनीहरू अब हुर्केछन्, ठूला भएछन्, मलाई वास्ता गर्न छाडे, मनखुसी गर्न थाले। मैले यिनीहरूलाई के गर्न छेकेकी छु र? मलाई एक शब्द सोधेको भा के हुन्थ्यो? भन्नुभो। डरले लुगलुग भएकी थिएँ। खाना खाइसकेर धन्दा सकेपछि उहाँले नै बोलाएर कुर्तासुरुवाल लाउन अराउनुभयो। डराउँदै लगाएँ। लगाइसकेपछि उज्यालो मुख पारेर हाँस्दै भन्नुभो- कति सुहाउँदो रहेछ तँलाई त! हुन त यो उमेर जे पनि सुहाउने नै हो नि। तर दुई-चार दिनचाहिँ लगाएर बाहिरफेर नहिँड्नु नि!'
'अरू केही भन्नु भएन?'
'भन्नुभो।'
'के?'
'बुबाले पनि उहाँलाई केके लुकाएर ल्याइदिनुहुन्थ्यो रे।'
म छक्क परेँ। आँखा भिजे मेरा।
कुर्ताबारे मसँग आमाले सोध्नुहोला कि भनेर धेरै दिन बाटो हेरेँ, केही भन्नु भएन।
पछि असार १५ मा सीताजीलाई माइतीबाट बोलाइयो। म पुर्‍याउन जाने भएँ।
खाना खाइसकेर जाने तयारीका लागि सीताजी लुगा लगाउन कोठामा पस्नुभयो। म तल्लो कोठामा त्यसै ढल्किरहेको थिएँ। आमा बिस्तारै उठेर माथिल्लो कोठाको ढोकामा पुगेर बोल्नुभयो, 'ए सीते, यो ढोका खोल् त एकछिन।'
बिस्तारै ढोका खुलेको सुनेँ। अनि एकछिनमा आमा बोलेको- त्यो सारी नला, आज त्यो अस्तिको कुर्तासुरुवाल लाएर जा।
म छक्क परेँ। मन ढक्क भएर फुल्यो गर्वले। १९९० सालमा जन्मेकी मेरी आमा ५६ वर्षकी हुनुहुन्थ्यो। ४३ वर्षको उमेरमा विधवा भएकी उहाँमा कति रहर थिए होलान्, मिठो खाने र राम्रो लाउने! तर जिन्दगीभरि भोकैनांगै उमेर नाघेकी मेरी आमा आज बुहारी सजाउने छातीभरि रहर बोकेर बाहिर कठोर देखिने नाटक गरिरहनुभएको थियो।
निकै बेर खœयाङखुत्रुङ भइरह्यो। चुराहरू बजिरहे। लामै सन्नाटापछि सीताजीको नाक बजेझैं लाग्यो। अनि आमाको आवाज आयो, 'हैन, यो त रुन पो थाली। किन रोकी तँ? हेर, कति राम्रो सुहाएको छ। नरोई जा। आमाबाबु, साथीभाइ सबैलाई देखा। मैले किनिदिएको भन्नू!'
बाटाभरि सीताजी रुमालले आँसु पुछिरहनुभएको थियो।

प्रतिक्रियाहरू (24)Add Comment
0
Poshan
April 23, 2012
60.242.24.17
भोट: +23
...

a live story of nepalese middle class family.......simple but heart touching writing.......

0
santosh regmi
April 23, 2012
124.41.197.3
भोट: +10
...

nikai ramra,man 6une byawahar,kathanak pani ramro

0
Satish Raj Mainali
April 23, 2012
117.121.237.206
भोट: +5
...

So nice....!!

0
sunita shrestha
April 23, 2012
113.199.147.98
भोट: +2
...

what an artical...Dharabase G.........

0
ronis
April 24, 2012
49.244.62.243
भोट: +2
...

simple but effective article

0
बिमल अधिकारी
April 24, 2012
94.31.34.22
भोट: +4
...

सीताजी को ' म हिडेको बाटो ' पढे पछी कृष्ण धराबासी बारेमा र उहाको साहित्यिक कृतिहरुको बारेमा भेटे जति कृति पढेको छु / सारै राम्रो लाग्छ उहाको मनै छुने लेखन शैली र बिषयबस्तुले /
बिमल अधिकारी

0
Om Dahal
April 24, 2012
128.123.131.100
भोट: +2
...

Sarai ramro lekhai chha Dharabase G ko.... Heart teaching...

0
Nagendra Thapa
April 24, 2012
115.187.16.1
भोट: +3
...

Samaj ma kranti lyauna pahile aaphnai ghar bat suru garnu parchha jun ati nai garho hunchha. yo lekha tesaiko yeuta jolanta udaharan ho. Thank you Dharabasi Dai.

0
Sanjib Pokhrel
April 24, 2012
113.199.148.95
भोट: +4
...

yo padhisakda thaahai napaai mero aakhaamaa aasu aaechha.

0
Manesh Pandit Chhetri
April 24, 2012
202.70.65.77
भोट: +2
...

awesome live story of Nepalese common ground...Thanks Dharawashi sir for this....we always waiting your text...n books to ...

0
Shyam Prasad Dahal
April 24, 2012
113.199.143.10
भोट: +4
...

Real story....very nice composition of every events.....

0
bibek acharya
April 24, 2012
202.166.217.16
भोट: +0
...

Aada bato jastai common story vo Dharawasi G we need next new 1.

0
Kiran
April 24, 2012
193.166.247.146
भोट: +0
...

manai chune mitho satye!!!

0
sanjeeb chiluwal
April 24, 2012
49.244.28.243
भोट: +3
...

what a lovely article........

0
nirajdahal
April 28, 2012
116.66.193.244
भोट: +0
...

dai tapai ko lekhan saili ko barnan sabda ma garn sakin mailesmilies/smiley.gif

0
PRN
April 28, 2012
86.3.182.153
भोट: +0
...

sundar...antama mero pani aakha rasayo....

0
biswas
April 29, 2012
83.137.2.147
भोट: +0
...

Jaba padhera sake...ma vannai sakdina malai kati aananda aayo vanne......kushal lekhanko muri muri dhnyabad hajurlai

0
rajkumar
April 29, 2012
217.212.230.217
भोट: +0
...

yesto ho nepali katha vaneko! sitaji sangai ma pani roye.....

0
Sangam Uprety
April 29, 2012
113.199.144.174
भोट: +0
...

असाध्यै राम्रो लेखन र मन छुने बिसयबस्तु .. यति सामान्य कथाबस्तु तर कति सत्य र सामयिक .. तपाइलाई साधुबाद।

0
itskoirala
April 29, 2012
49.244.61.103
भोट: +1
...

yatharhta parak chitran...........samasta nepali aama didi bahinili sandesh dincha yo lekhle

0
Ananya
April 29, 2012
124.41.223.12
भोट: +0
...

Its really nice and reflects about the changing thoughts

0
Bir Datt Pant
April 30, 2012
216.147.142.44
भोट: +0
...

It is really a heart touchable article,it reflects the relattion of mother in law and daughter in law like as mother and daughter and emphasisis the accpeetation of modernization by the all mothers.

0
Damodar Pangeni
May 11, 2012
82.145.211.95
भोट: +0
...

Aakha rasayo,
Awesome!

0
बिष्णुनन्द चाम्लिङ्ग
May 12, 2012
121.202.51.34
भोट: +0
...

म धाराबासीका कथाले सधैँ छोइन्छु, अन्तर हृदयसम्म नै र म आफैँ त्यो कथा भित्रको एक पात्र बनेर हेर्छु ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार