Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Apr 08th

अनुहारमा आञ्चलिक प्लटहरू

E-mail Print
(0 votes, average 0 out of 5)
वसन्त बस्नेत- मापसे गरेको ड्राइभर
'झुक्किएको हो भने झुक्किएँ भन्दिनुस्।'
मञ्चअघिल्तिर वारपार राखिएका टेबुलको बायाँ कुनाबाट लेखक उदय अधिकारी कराए। चितवनका रैथाने यी अधिकारी नेपाली साहित्यका त्यस्ता 'लेखक' हुन्, जो लेखकहरूमाझ 'नलेखी नै चर्चित' छन्। उनी पढ्छन्। बेस्मारी पढ्छन्। तर्कले वक्तालाई ठाउँको ठाउँ पानी बनाउँछन्। वैशाख १ गते चितवनको सौराहामा प्रज्ञा प्रतिष्ठान र चितवन साहित्य परिषदले आयोजना गरेको 'नेपाली आख्यान संगोष्ठी' मा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीसामु उनले यसैगरी प्रश्नको घुयेँत्रो हाने। आञ्चलिक नेपाली आख्यानबारे आयोजित गोष्ठीको उद्घाटन सत्रमा रेग्मीले भनेका थिए, 'आञ्चलिकतालाई नै केन्द्रमा राखेर ध्रुवचन्द्र गौतमले उपन्यास लेखेका होइनन्।' अधिकारीले प्रतिप्रश्न गरेका थिए, 'ध्रुवचन्द्रले आञ्चलिक उपन्यास लेखेको प्रमाण छ। बरु तपाईं झुक्किनुभएको हो भने झुक्किएँ भन्दिनुस्।'
मोहनराज शर्माको कार्यपत्र 'नेपाली उपन्यासमा आञ्चलिकता' पछि तलतलै बहस हुन थाल्यो। उल्टो दृश्य! मञ्चमा बसेकाहरू दर्शक भए।


लजालु लेखक भाउपन्थी छन्। थोरै बोल्ने धेरै लेख्ने ध्रुव सापकोटा छन्। अरूको किताब छापिएपछि चर्चा हुन्छ, चर्चा चलेपछि किताब छाप्ने 'लू' का लेखक नयनराज पाण्डे छन्। लाहुरे काइदाका आख्यानकार प्राध्यापक एलबी क्षेत्री छन्। आवाज र व्यक्तित्वको गुरुत्वले तिनी अरूलाई आफूतिर खिचिरहेका छन्। साहित्य गोष्ठी भन्यो कि मेची-महाकाली दगुर्ने तीव्र गतिका साहित्यिक धावक धनराज गिरी गृहजिल्लामा हुने नै भए। उनलाई साहित्यको एम्बुलेन्स भनिदिए फरक पर्दैन। यद्यपि तिनको प्राथमिकतामा 'बिरामी लेखक' भने छैनन्।

नजिकका जिल्लाबाट युवा लेखक नेपाली आख्यानमा आञ्चलिकताबारे केही सुन्न आएका छन्। काठमाडौंबाट जाने प्रायः बुढाखाडा छन्। सौराहाको जंगल सफारी होटलबाट नयाँ वर्षको पहिलो सूर्योदयलाई नमस्कार गरेर ५० जनाको साहित्यिक टोलीले आञ्चलिक आख्यान विमर्श थाल्यो।
मोहनराज शर्माले कार्यपत्र वाचन गर्दा सहभागी पद तथा गोपनीयताको सपथग्रहण गरेको मुद्रामा एफोर साइजका केही पृष्ठ आँखानजिकै अक्षरशः पछ्याइरहेका थिए। आञ्चलिकतालाई आधार बनाएर नेपाली आख्यानमा केही कृति आइसकेको सत्य हो। शर्माले सशक्त आञ्चलिक उपन्यास आउन अझै बाँकी रहेको भन्दैगर्दा आञ्चलिक स्वादका दुई उपन्यास 'उलार' र 'लू' का लेखक निधारमा चस्मा अड्याएर मोबाइलमा टेक्स्ट पठाइरहेका देखिन्थे। सर्जकको ध्यान समालोचनातिर किन कम हुने गरेको होला! समालोचकलाई तिनले बुझ्न नसकेका हुन्? कि समालोचकले समालोचनको मर्म सर्जकलाई बुझाउन नसकेका हुन्? समालोचकहरू सिमाना छुट्ट्याउने नाममा अलि बढी बार लगाउन खोज्छन्। सर्जकहरू ती बार नतोडी निदाउनै सक्दैनन्।
अरू लेखकलाई होटलमै छाडेर नयनराज पाण्डे, कवि भूपिन व्याकुल, काठमाडौंबाट मसँगै गएका उज्ज्वल प्रसार्इं र म नयाँ वर्षको पहिलो रात २ बजेसम्म रापती नदी किनारमा लहरै राखिएका मेचहरूमा मधुमस्त गफियौं। मैले त्यही क्षण नयनराजलाई सोधेँ, 'दिउँसो कार्यपत्रहरू वाचन गरिँदै गर्दा तपार्इंको ध्यान कहाँ थियो?' उनी एकफेर हाँसे। अब मैले यसैलाई जवाफ मान्दिनुपर्ने भयो? उफ ...!
सोधेजस्तो गरेर फेरि आफ्नो विचार राखेँ, 'समालोचकहरू नियम बनाउँछन्, लेखकचाहिँ तोड्न मन पराउँछन्, हगि!'
'लेखक भनेको मापसे गरेको ड्राइभरजस्तै हो क्या!' मिलाएर कोरिएको अन्डरलाइनजस्ता नयनका जुँगा चले। कुरो बुझियो।
हाहाहा। होला होला। अनि समालोचकचाहिँ ट्राफिक होला। हामीलाई ट्राफिक नभई हुँदैन। तर ट्राफिक सडकबीच उभिँदैमा मानिसहरूले पनि मापसे गर्न छाडेका कहाँ छन् र!
...
मोराशको म्यापिङ
'नेपाली उपन्यासमा संघीयताको वकालत गरिए पनि जातीय राज्यको वकालत गरिएको छैन,' मोहनराज शर्मा (मोराश) ले यति भन्दै कार्यपत्र तुर्‍याए। राजन मुकारुङको 'हेत्छाकुप्पा' जातीयताको पक्षमा खुलेर उभिएको उपन्यास भएको यथार्थ त्यहीँ कतै बेवारिसे थियो। अरू पनि होलान्।
'उहाँको कार्यपत्र यति खँदिलो छ, तन्काउन सकिन्छ तर खुम्च्याउन सकिन्न,' लगत्तै बोलेकी ज्ञानु अधिकारीले भनिन्, 'बसाइँ पहिलो आञ्चलिक उपन्यास हो भन्ने भ्रमबाट मुक्त भएँ, पहिलो त खैरिनीघाट पो रहेछ।'
एलबी क्षेत्रीले विश्वेश्वरप्रसाद कोइरालाको 'सुम्निमा' र युग पाठकको 'उर्गेनको घोडा'मा पनि आञ्चलिकता पाइने तर्क गरे। समालोचकका आँखामा नपरे पनि नारायण ढकालको पे्रतकल्प, कृष्ण धरावासीको आधाबाटो, बुद्धिसागरको कर्नाली ब्लुज, नयनराज पाण्डेको 'उलार' र अमर न्यौपानेको पानीको घामलाई आञ्चलिक मान्नुपर्नेमा सहभागीको जोड थियो। प्रश्नकर्ताको ओइरो लाग्यो। तिनीहरूकहाँ माइक्रोफोन पुर्‍याउन दगुरिरहेका रेडियोकर्मी बालकृष्ण थपलियाले खपिनसक्नु भएपछि भने, 'आज मेरो राम्रै एक्सरसाइज होलाजस्तो छ।'
सबैको प्रतिक्रिया सुनिसकेपछि समालोचक मोराशले भने, 'मैले माथिका केही किताबलाई म्यापिङ गरेर हेरेँ, आञ्चलिकतातिर उन्मुख भए पनि ती आञ्चलिक नै चाहिँ होइनन्, म फेरि म्यापिङ गरूँला।' जंगल सफारीमा जम्मा भएका आख्यानकारका सामु मोराश-ज्ञानको रेखाचित्र कुर्नुको विकल्प थिएन।
'सातवटा कुरा हुनुपर्‍यो। भूगोल तथा प्रकृति, समाज, संस्कृति तथा लोकतत्व, आर्थिक तथा राजनीतिक अवस्था, ऐतिहासिक स्थिति, मनोभाव र सौन्दर्य, भाषा,' मोराशले भने, 'आञ्चलिक उपन्यास हुन यत्ति आधार चाहिन्छ।'
उनले यति भनिनसक्दै करेन्ट गयो। माइक, पंखा, वरपरको हल्ला सबै सामसुम भयो। माइक निभेपछि पो आवाज ठूलो सुनियो। खासमा उनी यति धीमा बोल्छन्, उनलाई यसअघि नसुनेको स्रोताले ठान्नसक्छ, उनी आफैंसँग बोलिरहेका छन्।
'आञ्चलिकतालाई सामान्यीकरण गरेर हेर्नुहुँदैन, यो सन्दर्भअनुसार फरक पर्छ।' आख्यानको संसारमा कविचेतनाको शालिन हस्तक्षेप। यस्तो बोल्ने कवि भूपिन व्याकुल थिए।
...
कार्यपत्रको घोडचढी
साहित्य गोष्ठीहरूमा हिँड्न थालेको एक दशक नाघिसक्यो। त्यहाँ प्रस्तुत गरिने कार्यपत्रसम्बन्धी मेरा आफ्नै अनुभूति छन्। कार्यपत्र पेस गर्न जाँदैगर्दा प्रस्तोता सगरमाथा जित्न हिँडेको बहादुरजस्तो देखिन्छ। बोझिल वाक्यांश, करिब नबुझिने पदावली, शब्दहरूको दुरुह पहाड, सन्दर्भ सूचीहरूको बिस्कुन सबैलाई एक्कैठाउँ थुपारेर 'आज कुछ गरियो' को मुद्रामा ऊ कार्यपत्रको घोडा चढ्छ। ऊ जसै उत्रिन्छ, प्रश्नकर्ताले उसलाई चारै दिशाबाट ठुँग्न थाल्छन्। अनि तत्क्षण उसको अनुहार कठघरामा उभिएको अभियुक्तको जस्तो हुन्छ। ऊ निलो हुन्छ। कहिलेकाहीँ त रिसाउँछ पनि। साहित्यिक प्राणी रिसाएको कति नराम्रो देखिएको! धन्य, यसपालि त्यस्तो भोग्नुपरेन।
शर्माको कार्यपत्रपछि पालो आयो अर्का समालोचक लक्ष्मणप्रसाद गौतमको। उनले प्रस्तुतिको 'सपथग्रहण शैली' बदले। सुरुमै भने, 'आञ्चलिकतालाई समाजशास्त्रीय कोणबाट हेर्न थाल्नुपर्छ।' त्यसपछि उनले आठपाने कार्यपत्र 'नेपाली कथामा आञ्चलिकता' पेस गरे। पछिल्लो समयका कथाकारसमेत समेटिएको उनको पत्रमाथि कसैले प्रश्न उठाएन। त्यसपछि भने, 'मैले ह्याटि्रक गरिसकेको छु। चितवनमा यो मेरो चौथो कार्यपत्र हो। कसैले पनि प्रश्न नगर्नु, अनि सधैं मलाई नै बोलाइरहनु भनेको तपाईंहरूको मप्रतिको माया हो।' उनको कुरा खस्न नपाउँदै हिन्दी अभिनेता देवानन्द हुलियाका एलबी क्षेत्रीले हाजिरजवाफी जोक गरे, 'कहाँ त्यस्तो हुन्छ! भोक लागेर पो प्रश्न नगरेका त!' सिंगै हल मञ्चतिर फर्केर हाँस्यो।
ध्रुव सापकोटाको बोल्ने पालो आयो। उनले ३० वर्षअघिको सम्झना सुनाए, 'समाजशास्त्री र अन्वेषकहरू मिलेर दुर्गम गाउँ गएका थियौं, नदीकिनारका बासिन्दा देखेर उनीहरूले रिसर्च गरे, लाखौं कमाए। मैले तिनीहरूमाथि 'जिन्दगी : एउटा टाइमबम' शीर्षक कथा लेखेँ। रूपरेखामा छापियो, रोयल्टी पनि पाइएन।'
कार्यपत्रबारे आलोचना, टिप्पणी, समर्थन वा सुझाव जे भनौं, संगोष्ठीमा उनले बोलेको यत्ति हो। अर्थ भने अनेक लगाउन मिल्थ्यो। राम्रो लेखकले आफैं अर्थ लगाउँदै हिँड्दैन। उसले विम्ब, प्रतीक, पात्र, परिवेश आदिलाई केवल राखिदिन्छ। अर्थहरू आफैं आफ्नो नाम भन्दै जान्छन्, परिचय दिँदै जान्छन्। आञ्चलिक कथाहरू आफूबाट लेखिए पनि अरू त अरू, लेखक समालोचकले नै निस्पृहता देखाएको उनको लक्षणा थियो कि! आसय कताकता चुहिएझैं लाग्यो।
...
अन्धताबाट निरन्तर उन्मुक्ति नै ज्ञान हो। अरूतिर के चलन छ, थाहा छैन। हाम्रा एकेडेमीहरू अघिल्तिर कसैलाई ठिंग मानक उभ्याउँछन्। उसलाई सर्वज्ञ मान्छन्। प्रश्न गर्दैनन्, पूजा गर्छन्। उनीहरू योभन्दा राम्रो लेक्चर, किताब, कार्यपत्र अर्को हुनसक्दैन भनी अन्धताहरूको लालमोहर लगाउँछन्। उनीहरू 'मैले आज आदरणीय फलानोज्यूको प्रस्तुतिबाट मैले संसार सिकेँ, आँखा र दृष्टि पाएँ' भन्छन्। मैले यसपालि चितवनमा पनि यस्तो देखेँ। एक वक्ताले भने, 'मोहनराज शर्माको कार्यपत्रभन्दा राम्रो प्रस्तुति अर्को हुनैसक्दैन।'
अर्काले भने, 'आञ्चलिकताबारे यति जानेपछि अब मलाई केही चाहिएन। अब यत्तिकै मर्न पाए पुग्यो।'
'यी र यस्तै एक दुई अरूहरू' त्यहाँ भेटिए।
चितवनको आञ्चलिकता संगोष्ठीलाई तर यत्तिमै बुझ्नु अन्याय हुन जानेछ। कोही पनि सधैंभरि महान र सर्वज्ञानी हुनसक्दैन। गल्ती गरे जस्तोसुकै सर्वज्ञ पनि प्रश्नको भागिदार हुन्छ। जस्तो कि, मोराशले एक सन्दर्भमा भने, 'त्यो बसाइँ उपन्यासको रने छ नि!'
दर्शकदीर्घाबाट हेटौंडाबासी लेखक निमेष निखिलले तुरुन्त फर्काए, 'रने होइन सर, धने, धने।'
...
आञ्चलिक दिदी
आञ्चलिकता डिस्कोर्स सुन्न अतिथिहरूको गाडीमा जानुभन्दा आफ्नै पाराले यात्रा गर्ने निधो गरेँ। रापती किनारको जंगलमा यसपालिको नयाँ वर्ष मनाउने मेरो प्रस्ताव उज्ज्वलले तुरुन्त सकार्‍यो। माइक्रोबस चढेर हामी चितवन पुग्न लागेका के थियौं, माइक्रो चढेकी एक रसिक अधवैंशे दिदीले भरतपुर पुगेपछि ठाउँठाउँमा गाडी रोक्दै धमाधम चिनेजानेका मान्छे कोच्न थालिन्। उनले यसो गरेकामा ड्राइभर रिसाए। एक ठाउँ उनी उल्टै रिसाइन्, 'यहाँ किन नरोकेको?'
'देख्नुभएन? अगाडि ट्राफिक छ।'
'के गर्न सक्छ त्यसले? हामी पनि यो ठाउँको डोन हो क्या डोन।'
गाडीकाहरू गलल्ल हाँसे। उज्ज्वल भने ट्वाँ परेर तिनलाई हेर्न थाल्यो। सायद ऊ तिनको अनुहारमा म्यापिङ नगरिएका आञ्चलिक प्लटहरू खोजिरहेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार