Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Apr 08th

शिरीषको फूल

E-mail Print
(10 votes, average 4.60 out of 5)
मनोज दाहाल- आकाशबाट हिउँ खसेजसरी बुरबुर शिरीषका फूल खसिरहेका छन्। साँझ पर्दै गरेको सहर सुन्धाराको बेकरी क्याफेमा आर्द्र र सुगन्धी बनेको छ। ठुल्ठुला शिरीषका रुखबाट खसेका निला फूलले क्याफेका टेबलकुर्सीहरू रंगीन देखिएका छन्।
कति फुल्न सकेका- फराकिलो भुइँमा कार्पेट बिछ्याएजसरी फैलिएका छन्। आँगनभरि झरेका छन्।
बार्बेक्युको अँगेनामा पनि भर्खरै दुइटा फूल झरे र जले।

म गोडाले यी लयालु फूल किचिएलान् कि भनेर सचेत हुँदै आँगनमा राखेको टेबलमा आइपुगेको छु। हाम्रो एयरकन्डिसन्ड सिटीको असली चरित्र यो साँझमा खुलेझैं लागेको छ।
नत्र त धुलो उड्दै गरेका सडक, हजारौं गाडीले निकाल्ने धुवाँ र सयौं थरि आवाजले काठमान्डु बस्नै नसकिने सहर बनिसक्यो कि भनेर कहिलेकाहीँ मन झस्कन्छ।
झन्डै एक रोपनीको यो फराकिलो आँगनमा म छु, बार्बेक्यु हम्किरहेको भाइ छ र बारमा अर्का वेटर दाइ ड्रिंक्स भरिरहेका छन्।
अर्को साता बुद्धपूर्णिमा छ। म रिक ह्यान्सनको ‘बुद्धज ब्रेन' हातमा बोकेर रात पर्दै गरेको आकाशमा भर्खरै देखिएको चन्द्रमा हेरिरहेको छु। एकदुई तारा पनि आकाशमा चम्किरहेका छन्।
रुखबाट खसेका शिरीषका फूल कहिलेकाहीँ मेरो आँखामै ठोक्किन्छन् र भुइँमा खस्छन्। फूलको कोमल स्पर्सले मेरो आँखा स्पामा बसेको जिउझैं शितल भएको छ। सोह्रखुट्टेबाट काठमान्डुका भित्री गल्लीमा पैदल हिँड्दै यहाँसम्म आइपुग्दा मानिसहरूको समुद्र देखेर थाकेका मेरा आँखा शिरीषका फूलले सेकिरहेको छु।
कालो चिया सुर्क्याउँदै एक्लोपनामा मग्न मलाई रात योभन्दा नछिप्पियोस् र क्याफेबाट बाहिरिन नपरोस्जस्तो लागिरहेको छ। समय यही ठाउँमै रोकियोस् भनेजसरी पूर्ण छ।
प्रकृतिमै एकाकार भएर कालो चियाको स्वाद लिइरहेको बेला मनमा आफू बुद्धै भएको भ्रम पनि आइरहेको छ। म भ्रमित नभइकनै भ्रमको आनन्द हृदयमा भरिरहेको छु।
अचानक खल्तीमा नोकाइलको सिग्नेचर ट्युन बजेको छ, कसैले फोनमा सम्पर्क गरेको संकेत दिँदै। मैले झिँझो मान्दै जिन्स पाइन्टको टाइट खल्तीमा हात घुसारेको छु।
...
‘कसरी मनायौ त यसपालि नयाँ वर्ष?' मैले कपुरलाई सोधेँ।
‘मस्त भयो दाइ, मस्त,' ऊ चहकियो।
शिरीषको फूलजसरी फक्रेको छ। प्रकृति र समयलाई इन्जोय गरिरहेको युवकमा स्वाभाविकै रूपले फक्रेको फूलको महक हुन्छ।
झन्डै तीन महिनापछि म ऊसँग भेटिरहेको छु। काठमान्डुमा पाइलट बाबाको तीनदिने ध्यान शिविरमा चुपचाप सामेल भएर ऊ धेरै साथीभाइलाई भेट्दै नभेटी धनगढी फर्केको थियो।
ऊ अलि दुब्लाएछ। आँखामा भने गजबको चमक देखिएको छ। टिसर्ट र जिन्समा ह्यान्डसम पनि देखिएको छ।
दसैंताका त कसरी किच्चिएको शिरीषको फूलजसरी जीवनको रस निखि्रँदै गएको थियो यो केटामा।
अचानक पुरापुर जीवन भरिएको कपुरलाई देखेर म रमाएँ। झन्डै पाँच महिनाको घर बसाइले उसलाई शिरीष फुलेको रुखजस्तै भरिपूर्ण पारेको महसुस गर्दै थिएँ।
‘घर भनेको घर रहेछ दाइ,' ऊ आधिकारिक (अथेन्टिक) भाषामै बोल्यो, ‘यो पाँच महिनाको घर बसाइले मलाई आफैंसँग फर्काएको छ।'
उसमा परिपक्वता आएको महसुस पनि गर्दै थिएँ। पहिलेभन्दा स्मार्ट र ज्ञानी पनि भएछ।
मलाई उसले नयाँ वर्ष मनाएको शैली झनै रोमाञ्चकारी लाग्यो।
...
झन्डै दुई वर्षअघि कपुरले मुक्तिनाथमा ध्यानकेन्द्र बनाउने विचार मलाई सुनाएको थियो। प्राणवायुले भरिएको मुक्तिनाथको त्यो सौन्दर्यमा ध्यानकेन्द्र बनाउने कपुरको विचार आर्थिक र प्राविधिक कारणले सम्भव हुँदैन भन्ने थाहा भए पनि उसको उत्साहले मलाई त्यसबेलै कायल बनाएको थियो। उसले मुक्तिनाथबाटै उत्साहित हुँदै फोन गरेको थियो- ध्यानकेन्द्रको आइडिया सेयर गर्न।
मैले सोचेजसरी नै मुक्तिनाथमा त कपुरले ध्यानकेन्द्र बनाउन सकेको छैन तर पाँच महिना धनगढी बस्दा उसले घरकै एउटा कोठालाई अस्थायी ध्यानकेन्द्र बनाएछ। सातआठ वटा चकटी ओछ्याएको त्यो कोठामा बुबाआमा, काकाकाकी र अरू दुईतीन जना आफन्तलाई नियमितजसो नै योग र ध्यान गराउँदो रहेछ।
नयाँ वर्षमा भने घरकै आँगनमा कपुरले एसएलसी दिएर बसेका छरछिमेकका बीस जना जति किशोर-किशोरीलाई तीनदिने ध्यान शिविर गराएछ। शिविरको नामचाहिँ अलि अनौठो राखेछ- ब्रिजकोर्स एन्ड मेडिटेसन फर एसएलसी स्टुडेन्ट्स।
चैत ३०, वैशाख १ र २ गते प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म उसले ती किशोर-किशोरीलाई ध्यान त सिकाएछ नै, आफ्ना केही अनुभव पनि बाँडेछ। एसएलसीपछि केके पढ्न सकिन्छ भनेर सुझाव पनि दिएछ।
नयाँ वर्ष आउनु एक साताअघिदेखि नै उसले छरछिमेकमा एसएलसी दिएर बसेका केटाकेटीको नाम संकलन गर्दै व्यक्तिगत रूपमै भेटेर ‘ब्रिजकोर्स'का लागि कन्भिन्स गराएछ। एसएलसी दिएर बसेका किशोर-किशोरीका लागि ‘ब्रिजकोर्स' भनेपछि बुबाआमा पनि दंग। केटाकेटी पनि पैसै नतिरी सहरमा खुब नाम चलेको तालिम छिमेकमै लिन पाइने भयो भनेर मख्ख।
उसले नाम लेखेका २७ मध्ये २४ जना किशोर-किशोरी पहिलो दिन शिविरमा आएछन्।
सुरुमा तीनपटक लामो सास लिन र छाड्न लगाएर कपुरले शिविर सुरु गरेछ।
त्यसपछि आफू अगाडि बसेर लामो सास तान्दै ११ पल्ट ओमकार जप्न लगाएपछि अधिकांश भुरा रमाइहाले।
त्यसपछि कपुरले ती किशोर-किशोरीलाई केहीबेर प्राणायाम र ध्यान गराएछ।
जीवन के हो, प्रतिस्पर्धा किन आवश्यक छैन, समग्रतामा विषय कसरी बुझ्ने भन्ने शीर्षकमा आफ्ना अनुभव केटाकेटीलाई बाँडेछ। उनीहरू दंग परिहाले।
एसएलसीपछि के पढ्न सकिन्छ भन्नेबारे पनि आफूले जानेका कुरा सुनाइदिएछ। ब्रिजकोर्स भनेर सहरमा महंगो शुल्क लिएर गराइने तालिमको कुनै अर्थ छैन भनेर पनि बताइदिएछ।
तीन घन्टाको बीचमा पन्ध्र मिनेट ब्रेक गरेर चिया र पाउरोटी पनि खुवाइदिएपछि त केटाकेटी कपुरको शिविरबाट निकै प्रभावित भइहाले।
खान पनि पाइने, पैसा पनि तिर्नु नपर्ने, मेडिटेसन कम ब्रिजकोर्समा भाग पनि लिन पाइने। के चाहियो!
भोलिपल्ट भने पाँच जना शिविरमा आएनन्। न्यु इयरको दिन परेकाले आफ्नै हिसाबले कार्यक्रम मिलाएका पनि हुनसक्छन् भनेर कपुरले बताउँदै थियो।
तेस्रो दिन २१ जना केटाकेटी शिविरमा आए।
कुरा गर्ने शैली, स्पष्टवादिता, मित्रवत व्यवहार र मायालु भाकाले केटाकेटी कपुरसँग निकै झ्यामिएछन्।
...
तेस्रो दिन कपुरले शिविर १० बजेसम्मै लम्यायो। जाने बेला समोसासमेत खुवाएर पठायो।
केटाकेटीले बुझ्ने शैलीमा इन्टरनेटमा अघिल्लो दिनमात्र पढेको ध्यानको महŒवबारे क्यालिफोर्निया विश्वविद्यालयमा गरेको अनुसन्धानको नतिजा बताइदिएपछि त भर्खरै एसएलसी दिएर बसेकाको तीक्ष्ण दिमागमा कपुरको गहिरै प्रभाव परिहाल्यो।
शिविरको अन्त्यतिर ऊ केटाकेटीलाई भन्दै थियो, ‘हामीले ध्यान त गर्‍यौं, तर ध्यानले हामीलाई केही फाइदा हुन्छ कि हुँदैन भनेर जान्नु पनि जरुरी छ, होइन?'
केटाकेटीले एकै स्वरमा ‘हो' भने।
‘तर म बबुरालाई ध्यानको फाइदाबारे के नै थाहा हुन्छ र, होइन?'
सबैजना गलल्ल हाँसे।
‘अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले गरेको अनुसन्धानलाई त तिमीहरू मान्छौ नि, होइन?'
सबैले भने, ‘मान्छौं।'
कपुरले भन्यो, ‘क्यालिफोर्नियामा लामो समयदेखि एउटा रिसर्च चल्दै थियो, ध्यानबारे। झन्डै दुई दशकदेखि। त्यसको रिजल्ट भर्खरै बाहिर आएको छ। लामो समय ध्यान गर्ने व्यक्तिको मस्तिष्कले बाहिरबाट प्राप्त भएका सूचना तीव्र गतिमा उपयोग गर्नसक्छन् भनेर प्रमाणित भएको छ।'
केटाकेटी पक्क परेर सुनिरहे। कोठा कसरी चुप भएको थियो भने बाहिर कराइरहेका जोडी भँगेराका चिरबिर भित्रैसम्म सुनिइरहेको थियो।
कपुरले थप्यो, ‘ध्यान गर्ने मान्छेको सम्झनाशक्ति, होश, विश्लेषण गर्ने क्षमता र चेतना एकदमै विकास हुन्छ। त्यस्तो विकासले हामीलाई जीवनको निर्णय लिन एकदमै सजिलो हुन्छ।'
स्कुल पढ्दै वैज्ञानिक ढंगले सोच्नुपर्छ भन्ने दिमागमा परिसकेका केटाकेटीलाई कपुरको भनाइले निकै प्रभावित गर्‍यो। उनीहरूले कपुरले सिकाएजसरी नियमित ध्यान गर्ने प्रतिबद्धता पनि गरे।
कपुरले आफूसँग भएमध्येबाटै एकएक वटा किताब ती सबै केटाकेटीलाई बाँडिदियो र भन्यो पनि, ‘यी किताब तिमीहरू सबैले एकापसमा बाँडेर पढ्नू है।'
समोसा र चिया खाँदै गर्दा कपुरले केटाकेटीले बुझ्ने सरल भाषामा आफैंले टाइप गरेको वैज्ञानिक रूपमा सिद्ध भइसकेको ध्यानको फाइदाबारे लेखेको एफोर साइजको एकएक वटा पेपर सबैलाई बाँडिदियो पनि।
सबै दंग पर्ने भइहाले।
जाँदाजाँदै कपुरले के पनि भन्यो भने ‘तिमीहरू सबैले आफूले जानेका कुरा अरू साथीलाई पनि सुनाउनू, उनीहरूले पनि आफ्ना साथीले सिकेका कुराबाट फाइदा लिन पाउनुपर्‍यो नि, होइन?'
आफ्नो घरको गेटबाट ती किशोर-किशोरी हातमा एफोर साइजको पेपर र किताब बोकेर बाहिरिँदै गरेको कपुरले टाढासम्म हेरिरह्यो।
...
'एसएलसी दिएर बसेका बालबालिकाका लागि शिविर गर्दा आफैंलाई एकदमै राम्रो काम गरेको अनुभूति भयो दाइ,' कपुरले सुनायो, ‘यस्तो काम त टोलटोलमै गर्न सकिँदो रहेछ नि।'
उसको उत्साह देखेर मलाई खुसी लाग्यो। ‘गजब गरेछौ,' स्याबासी दिएँ।
एसएलसी पास गरेको छ वर्ष बितिसक्दा पनि कपुरले त्यसपछिको दुईवर्षे पढाइ सकेको छैन। नैनीतालमा पढाइ बिगारेपछि काठमान्डुमा ए लेभलमै पनि ऊ गुल्टिसक्यो।
तैपनि यो छ वर्षमा उसले स्कुल-कलेजमा पाउनै नसकिने ज्ञान पाएको छ। थुप्रै कुरा आफैंले अनुभव गरेको छ। सबैभन्दा ठूलो कुरा त आफूले सिकेका, अनुभव गरेका विषय अरूलाई बाँड्न पनि थालेको छ।
...

 
मैले खल्तीमा हात घुसारेर फोन निकालेँ र हेरेँ, ‘कपुर कलिङ' लेखेको स्त्रि्कन पिलिक-पिलिक गर्दै थियो।
काठमान्डुको यो मादक साँझमा शिरीषका फूलको आनन्दमा झुमिरहेकै बेला कपुरकै फोन आएको थियो। ऊ दुई दिनअघि मात्र काठमान्डु झरेको थियो। आउनेबित्तिकै फोन गरेर ठूलो स्वरमा हाँसेको थियो, मेरो मन शितल पार्दै।
आज भने ऊ न्युरोडतिरै रहेछ। मैले उसलाई बेकरी क्याफेमै डाकेँ।
कपमा अलिकति कालो चिया बाँकी छँदै पन्ध्र मिनटमै कपुर क्याफे आइपुग्यो र आफ्नो कथा सुनाउन थाल्यो।
उसको ए लेभलको परीक्षा आउनै लागेको रहेछ, केही सातामै। ऊ त्यसकै लागि काठमान्डु आएको रहेछ। धनगढीमा यसपालि उसले कोर्सका किताब पनि मजैले पढेजस्तो छ, ऊ परीक्षाका लागि तयार देखिन्थ्यो। केटामा आत्मविश्वास भरिएको थियो।
उसको धनगढी वार्ता, मेडिटेसन एन्ड ब्रिजकोर्स र ए लेभलका वृत्तान्त सुनिसकेपछि मैले भनेँ, ‘तिमी ठिक समयमा काठमान्डु आइपुग्यौ कपुर, हेर त, वैशाखमध्यमा यी शिरीषका फूलले काठमान्डुमा कति शोभा थपेका छन्!'
म शिरीषको आनन्दमा झुमिरहेकै थिएँ। भर्खरै एक थुँगा शिरीषको फूल मेरो काँधमै ठोक्किएर काखमा खसेको थियो।
कपुरले फरक धारणा राख्यो। भन्यो, ‘सिजनैपिच्छे विभिन्न राम्रा फूल फुलेका हुन्छन् दाइ, अहिले शिरीष होला, दुई महिनाअघि म तीन दिनलाई डडेलधुरा उक्लेका बेला त्यहाँका डाँडा गुराँसले भरिएका थिए, कहिले सयपत्री हुन्छन्, कहिले मखमली, कहिले गुलाफ, कहिले ड्याफोडिल। राम्रा आँखाले हेर्दा जुनसुकै सिजनमा फुलेका फूल राम्रै देखिन्छन्, तपाईंको मन नरमाएको बेला यी फूलले पनि पीडा दिन्छन्।'
ऊ अलि गम्भीर भयो। हलुका मुडमा साँझको आनन्द लिइरहेका बेला कपुरले दार्शनिक टोनमा बोलेको मलाई खासै चित्त बुझेन। मुख लेप्र्याएँ, कति न जान्यौ भनेजसरी।
ऊ गलेन। अझै थप्यो, ‘पारिजातको शिरीषको फूल पढ्नुभएको छ नि?'
म हाँसेमात्र। मैले पढेको छु भन्ने उसलाई थाहा थियो। तीन वर्षअघि मैले नै उसलाई 'शिरीषको फूल पढाएको थिएँ।
'यी जीवनले भरिएका आकर्षक शिरीषका फूललाई पारिजातले अल्बर्ट कामुको निस्सारतावादको विम्ब बनाएकी छन्, होइन?'
मैले मुन्टो हल्लाएँ।
‘तपाईंलाई के लाग्छ, पारिजातले ‘शिरीषको फूल'मा लेखेजस्तै सुयोगवीर र सकमबरीको जीवन अर्थहीन नै हो त?' उसले हामीले मोमो खाँदै गरेको टेबलमा झरेको एउटा शिरीषको फूल हातले उठायो र भन्यो, ‘के यो आफैंमा पूर्ण छैन? प्रेमले भरिएको छैन? कोमल छैन? यो फूललाई एब्सडिटीको विम्ब बनाउनु मलाई त उचित लागेन, दाइ। फेरि जीवनलाई एब्सडिटीमा बुझ्नु नै एउटा एब्सडिटी होइन?'
मलाई उसको तर्कभन्दा तर्क गर्ने शैली मन पर्‍यो। ऊ सकारात्मक भाषामा बोलिरहेको थियो। गहिरो सकारात्मकता।
कपुरले थप्यो, ‘यी शिरीषका फूल प्रेमका प्रतीक हुन् दाइ, जीवनका प्रतीक हुन्, जीवनको कोमलता र त्यही कोमलताका कारण जीवनले बोकेको गहन अर्थका प्रतीक हुन्। रुखबाट झर्छन् र एक निमेषमै ओइलाउँछन् भन्दैमा यी सुुन्दर फूललाई निस्सारतामा बुझ्नु सही हो?'
म कपुरको मुखबाट निस्केको आवाजको टेम्पोमा एउटा तीव्रता र गहनताको अनुभूति गर्दै थिएँ। ऊ भित्रैदेखि बोलिरहेको थियो।
भुइँका शिरीष देखिन छाडिसकेका थिए, रात परिसकेको थियो। टेबलका शिरीष पनि अघिभन्दा शुष्क हुँदै गइरहेका थिए। बतासले रुख हल्लाइरहेको थियो। चिसो हावा गालामा ठोक्किएर बगिरहेकै थियो।
हामी कुर्सीबाट उठ्यौं। कपुर भुइँमा खसेका शिरीषलाई गोडा लाग्ला कि भनेझैं अलग्ग पाइला सार्दै क्याफेको मूल बिल्डिङतिर छिर्दै थियो, बाहिर निस्कन। मैले पनि भरसक शिरीषका ती कोमल फूलमा आफ्ना गोडा पर्न दिइनँ।
सडकमा निस्केर कपुरले मेरो हातबाट ‘बुद्धज ब्रेन' थुत्यो र भन्यो, ‘बुद्धको दिमाग साँच्चि नै व्यापक थियो दाइ, क्यालिफोर्निया विश्वविद्यालयकै एउटा रिसर्चअनुसार हाम्रो उमेरसँगै दिमाग खुम्चिँदै जान्छ तर ध्यान गर्ने मानिसको दिमागको आकार उमेर बढे पनि फैलिरहन्छ, हुन त बुद्धको जीवनले २५ सय वर्षअघि नै यो कुरा पुष्टि भइसकेको थियो।'
यति भनिसकेर ऊ मतिर फर्क्यो र आफ्नो हेभिवेट कुराको गह्रौंपनाले आफैं हाँस्यो।
साँझको शितलतामा म भने कुनै अनुसन्धान वा तर्कका बुँदा सुन्न खासै इच्छुक थिइनँ।
संवाद हलुका पार्न कपुरलाई सोधेँ, ‘वैशाख २४ गते बुद्धपूर्णिमा हो क्यारे, के छ त तिम्रो योजना, त्यो दिनमा?'
उसको अनुहार फेरि चम्क्यो र भन्यो, ‘म पनि आफ्नो दिमागको आकार बढाउन चाहन्छु दाइ, बुद्धपूर्णिमाको दिन २४ घन्टै पढाइ थान्को लगाउँछु र ध्यान गर्छु कुनै डाँडातिर गएर एक्लै।'
वाह! बुद्धपूर्णिमाको उसको योजनाले म पनि लोभिएँ। त्यो दिन यही केटासँग ध्यान गर्न डाँडातिर उक्लनुपर्छ कि क्या हो!
धरहरा कटिसकेर हामी छुट्टियौं। ऊ वायुसेवा निगम नजिकैको टेम्पु स्ट्यान्डतिर लाग्यो, म चाइना टाउनतिर। नयाँ बानेश्वरतिर धनगढीतिरकै कुनै साथीकहाँ अस्थायी रूपमा बसेको थियो।
मैले एकैछिन ऊ गएको हेरिरहेँ।
लाग्यो- मस्त जवान एक थुँगा शिरीषको फूल लमक-लमक गर्दै जीवनमा हिँडिरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार