वैशाखमा बाढी किन आयो?

E-mail Print
(8 votes, average 3.50 out of 5)

डा. रन्जन कुमार दाहाल- वैशाख २३ गते पोखराको सेती नदीमा खतरनाक बाढी आयो। बाढी किन र कसरी गयो? यो पत्ता लगाउन म, जापानको एहिमे विश्वविद्यालयका उप-प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी र प्राध्यापक डा. मित्सु ओकामुरा जेठ ५ मा खारपानी पुग्यौं। त्यहाँ सेतीको विध्वंस देखियो। 'बाढी आयो रे। भागेर डाँडामा जाऊँ' भन्दा 'बैशाखमा पनि कहिँ बाढी आउछ?' भनेर भाग्न नमान्ने प्रत्यक्षदर्शीका छिमेकी क्षणभरमा बगेको सुनियो।

 
सेतीको विकराल रुप बैशाख २३ गते मात्र नभएर पहिले पनि धेरै पटक देखिएको हामी जस्ता भूगर्भ विज्ञानका अनुसन्धानकर्तालाई पोखरा वरिपरी सेती नदीका खोच र टार देख्दा सजिलै थाहा हुन्छ।
सेतीमा बाढी आउनेक्रम आठ-दश हजार वर्षदेखि चलिरहेको छ। त्यसले थुपारेका गिट्टि, बालुवा अनि सिल्टको थुप्रोमा बन्यो पोखरा। सेतीले खार्दै लगेकाले हामी सार्दीखोला, घाचोक र भुर्जुंग खोला गाउँमा नदी दायाँ र बायाँ ठाडो भिरसहित टार देख्न सक्छौ।
टारहरू बन्न सेतीले अन्नपूर्ण हिमालको विशाल खाल्डोबाट प्रशस्त सेडीमेन्ट पोखरा ल्याएको छ। हामीले सम्झने र रेकर्डमा राख्न पाउने गरि आएको बाढी वैशाख २३ को मात्र हुनगयो। पहिले-पहिले यो भन्दा सयांै गुणा ठूलो बाढी आएको थियो। सेतीको ठूलो बाढीले हर्पन खोला थुनिएर फेवाताल बनेको बिसर्नु हुँदैन।
जेठ ६ गते बिहानै एभिया क्लबको सानो जहाजमा हाम्रो यात्रा शुरु भयो। सेती किनारै किनार फोटो र भिडियो खिच्न मिल्ने गरि जहाज उड्यो।
जहाज अन्नपुर्ण हिमालको विशाल खाल्डोमा छिर्‍यो। त्यहाँ अन्नपूर्ण हिमशृंखलाको कडा चट्टानमाथि परापूर्व कालमा हिमनदीले थुपारेको सिल्ट र ग्रेगर मिसिएको सेडीमेंटको थुप्रो भू-क्ष्यबाट स-साना पहाड बनेको देखियो। यो धमिलो रंगको सिल्टलाई भूगर्भको भाषामा हिमनदीको पिठो भनिन्छ।
ती पहाडहरूको रंग धमिलो सेतो थियो भने टाकुराका बरफ पग्लदै गर्दा बगेको पानीले भूक्ष्य गरेकाले धारिला थिए। जताततै काटिएका स-साना थुम्का हेर्दा जोमसोम, कागबेनी र माथिल्लो मुस्ताङतिर देखिने जमिन र पहाड जस्तै लाग्थ्यो।
यो विशाल खाल्डोमा हिँडेर जान असम्भव हुँदा भूगर्भविद्ले हिमनदीको पिठो र त्यसले बनाएका पहाडको विस्तृत अध्ययन गर्न पाएका छैनन्। हाम्रो अध्ययनले सेतीको पानी किन सधैँ दुधिलो हुन्छ भन्ने पत्ता लगायो।
सेती मुहानका हिमनदी पग्लदैं पुरानो हिमतालमा सेतो रंगको सिल्ट र ग्रेगर मिसिएको सेडीमेंटबाट बग्दो रहेछ र एकैचोटी २८ सय मिटरको खोचमा झरना भएर खस्दो रहेछ। यसले पानी दुधिलो देखिएको हो। अनि नदि बगेको चेनल धमिलो पानीले काट्दै लगेर गहिरिदै गएको हो।
यसरी धमिलिएको सेतीका धार झरना बनेको देखियो र त्यस क्षेत्रमा अत्यधिक भु-क्षय भएको र कडा चट्टानमा बगेको नदी पनि गहिरिएर खोंच परेकाले मुहानमा हिडेर जान सकिँदैन।
अन्नपूर्ण चौंथोको बीचबाट शुरु हिम पहिरोलाई बैशाख २३ गते बिहान देखेको ठाउँ पाइलटले देखाईदिए। हिम पहिरोले पुरानो हिम तालको सेडीमेंट अथवा सिल्ट र ग्रेगर सोरेर गएको अनि तलतिर खोचमा खसालेको देखियो।
बिहान ९ बजे अगाडिको त्यो पहिरो झन्डै ६ हजार मिटर उचाईबाट एकै चोटी २८ सय मिटरमा रहेको पुरानो हिमतालले थुपारेको धमिलो सेतो रंगको हिमनदीको पिठो र ग्रेगर मिसिएको सेडीमेंटलाई सोहोर्दै हिम झरनाका रुपमा सेतीमा आइपुग्यो। यसरी बगेको हिम पहिरोको लेदोमा हिउ, बाटोमा रहेको बरफ, पानी र धमिलो सेतो रंगको पिठो र ग्रेगरकासाथै फेदीका सल्लाका रुख पनि थिए।
यो डेब्रिसमा रहेको हिउ, कम तापक्रमको पानीसंग मिसिएर २८ सय मिटर उचाइमा माटो र ग्रेगरसँग मिसिएर झर्दा पग्लिएर सेतीले बाढीको रुप लिएको हो। त्यसैले अति भिरालो सेतीको बहावमा पग्लिएको हिउ, बरफ, पानी र सिल्ट माटो, ग्रेगर र रूखहरू २८ सय मिटरबाट बेगका साथ बग्न थालेकाले ठूलो बाढी सिर्जना भयो।
बिहान ९ बजेतिर शुरु बाढीले खारपानी बजारमा क्षति पुर्‍याउँदा ९ बजेर ३८ मिनेट गएको थियो। ठाडो नदीहरूमा डेब्रिस बग्ने प्रक्रिया ३० देखि ४० किमी प्रति घण्टा रफ्तारमा हुन्छ। सेतीको माथिल्लो भागमा ८ देखि १० डिग्रीसम्म ओरालो बहाव छ र हिम पहिरोको डेब्रिस सेतीको २८ सय मिटर खोचमा आइपुगेपछि खारपानीसम्म आउन ४० मिनेट जति लागेको देखिन्छ।
शुरुमा हिउ-पानी र पछि पानीमात्र र सिल्टसहित रूखहरूको लेदो बगेको बाढीलाई २० किमी दुरी पार गर्न ४० मिनेट लाग्नु स्वभाविक छ। आठ पटकसम्म बाढी आएको रेकर्ड गरिएको छ। कारण २८ सय मिटरको खोचमा सबै हिउ र सिल्टको लेदो एकै पटक खस्न सक्दैन किनकि खोचको चौडाई ३० देखी ५० मिटर मात्र छ।
शुरुमा धेरै र पछि अलि अलि गरेर अड्किएको हिम पहिरोको लेदो बग्न थालेको हुनु पर्छ। पहिरोसंगै झरेका बरफका टुक्रा एकै चोटी पग्लन सक्दैनन, यसैले ठुलो बाढी पछि सानो बाढी आयो।
केहि संस्थाले भू-उपग्रहको चित्रबाट बताए अनुसार गत अप्रिल २० देखि सेती थुनिन थालेको र त्यहि पहिरो अझ ठुलो भएर नदि थुनिएको अनि बाँध फुटेर बाढी आएको सत्य होइन। पहिरो त्यस्तो ठुलो छैन र त्यसले पानी थुनेको चिन्ह हवाई सर्भेमा देखिएन।
अचम्म त संचार माध्यमदेखि गैरसरकारी संस्थाले पाइलट अलेक्जेन्डर माक्सिमोभ जस्ता प्रत्यक्षदर्शीको भनाइलाई वास्तै नगरेको देखियो। घटनालाई आफुखुशी बयान गर्न थालेर हामीले वास्तविक तथ्य धेरै पर राखेछौं।
बैशाख २३ मा हिम पहिरो शुरु भएको ठाउको माथिल्लो भागमा प्रशस्त हिउ देखियो। यसको मतलब खतरा टरी सकेको छैन। यसैले सेती किनारमा बसोबास गर्नेलाई जति सक्दो चाँडो सुरक्षित स्थलमा स्थान्तरण गर्न हतार भैसकेको छ। कम्तिमा सेती दाया वाया सबै भन्दा तल्लो टारहरुमा मानव वस्ती तत्काल हटाउनु पर्छ। तल्लो टार भन्नाले खारपानी बजारको सतही स्तरसम्मको बुझ्नु पर्छ। त्यसै गरी सेतीको हिडेर पुग्न सकिने माथिल्लो भागबाट खारपानीसम्म कम्तिमा तीनवटा बाढीको सेन्सर तत्काल जडान गर्नु जरुरी छ।
साथै, कम्तिमा दुई किमी दुरीमा पुर्व सूचनाका लागि साइरन निर्माण गर्नु पर्छ। अनि सेन्सरले दिएको पूर्व सुचना प्रवाहित गर्न एफएम रेडियो र मोवाइल फोनको एसएमएस सेवा प्रयोग गर्न सकिन्छ। अल्ट्रालाईट जस्ता जहाज वा हेलिकप्टरबाट ठूला लाउड स्पिकर मार्फत माथिल्लो भेगमा बाढी आउनासाथ तल्लो भेगलाई पुर्व सुचना प्रवाह गर्न सकिन्छ। सेन्सर र साइरनहरु स्थानीय समुदायलाई जिम्मा दिनुपर्छ।
नेपालमा विपत व्यवस्थापनमा तीन सय भन्दा बढी सरकारी र गैर सरकारी निकाय छन। ती संस्थामा विशेषज्ञ न्यून छन्। विशेषज्ञ अध्ययन र अनुसन्धानलाई जनताको हितमा प्रयोग गर्न उनीहरु लाग्नु पर्छ।

लेखक त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार