Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

खोई तिनको देश?

E-mail Print
(15 votes, average 4.27 out of 5)

अभय श्रेष्ठ- यो जितः न जिगुः देश यो

तर, जि मखं जिगु देश ग्वः?
(मन पर्छ मलाई पनि मेरो देश
तर, मैले देखिनँ, खोई मेरो देश?)
-दुर्गालाल श्रेष्ठ

भाषिक, सांस्कृतिक अधिकारयुक्त राज्य बन्ने सपनाको जगमात्र के हालिएथ्यो, जातीय सद्भाव खलबलिने भनेर बबन्डर मच्चाइयो। परिणाम हाजिर छ, विविध जातजाति र भाषाभाषीका फूलहरू एउटै बगैँचामा फुल्ने संघीयताको सपनामात्र भत्केन, जनादेश पूरा नगरी संविधानसभाकै हत्या गरियो। फेरि पनि अल्पमत, उत्पीडत जाति, थिचिएका भाषाभाषीले कवि दुर्गालाल श्रेष्ठले जस्तै भन्नुपर्ने दिन आयो, खोई मेरो देश? 

 
जातीय राज्य, जातिवादी राज्य र पहिचानयुक्त राज्य एकै कुरा हुन् त? 'होइनन्', नेपालभाषाको दैनिक सन्ध्या टाइम्सका सम्पादक तथा युवाकवि सुरेश किरणले बारम्बार लेख लेखेर स्पष्ट पारेका छन्, 'पहिचानयुक्त राज्य एकजातीय राज्य अन्त्य गरी बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राज्य बनाउने अभ्यास हो।'
जनजातिले त इतिहासदेखि आफ्नो भाषा, संस्कृति थिचिएको क्षतिपूर्तिस्वरूप आफ्नो बाहुल्य भएको क्षेत्रमा आफ्नै पहिचान झल्काउने नाम दिएर आत्मसम्मानको पुनर्बहालीमात्र खोजेका थिए। हो, विघटित संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा अग्राधिकारको व्यवस्था थियो। त्यसलाई दलित र अत्यन्त पिछडिएका जनजातिका हकमा मात्र सीमित गरेर पहिचानयुक्त राज्य बनाउन सकिन्थ्यो। जनजातिहरू संविधान जारी हुनुपर्ने घडीमा त्यसका लागि तयार पनि भइसकेका थिए।
एकभाषिक देश
नेपालका सरकारी अड्डा, अदालत र शिक्षालयमा चल्ने भाषा नेपाली हो। सबै नेपालीको भाषा भने पनि मूलतः यो खस जातिको भाषा हो। राज्यबाट प्रश्रय नपाएपछि अरु जातिका भाषा विकसित हुन पाएनन् र माध्यम भाषा हुँदै खस भाषा जबर्जस्ती सबै नेपालीको भाषा हुन पुग्यो। गणतन्त्रमा सरकारी अड्डा, अदालत र शिक्षालयमा नेपाली भाषासँगै अरु जातजातिका भाषालाई पनि मान्यता देऊ, जान्नेले त्यही भाषामा, नजान्नेले नेपालीमै काम गरून् भन्ने माग कुन दृष्टिले नाजायज थियो र?
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पूरै नेपाली समाजको हिन्दूकरण र खसकरण गरियो। अप्रिल विद्रोहको सफलतापछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भयो। तैपनि, हिन्दू धर्म र खस भाषाले विशेष अधिकार र मान्यता पाइरहे। यसको सबैभन्दा बढी सजाय जनजातिका भाषाभाषी र साहित्यले भोग्नुपरेको छ। खस भाषालाई 'नेपाली' भनिएको छ। त्यसो भए अन्य भाषाभाषी अनेपाली त? भन्न त भनिन्छ, 'होइन, सबै भाषाभाषी नेपाली', व्यवहारचाहिँ तिनीहरूमाथि 'अनेपाली' लाई जतिकै गरिन्छ। नत्र नेपाली भाषा, साहित्यको कुरा गर्दा नेपालभाषा, मैथिली, अवध, भोजपुरी, थारु आदि भाषा, साहित्यको उल्लेख किन गरिँदैन?
साहित्यमा नेपालभाषा
यस मानसिकताको सजाय सबैभन्दा बढी भोग्नुपरेको भाषामध्ये एक हो, नेपालभाषा। (मैथिली, भोजपुरी, तामाङ, थारु, अवध, राई, मगर, गुरुङलगायत अन्य भाषाको नियति पनि यही छ।) नेपालभाषामा उत्कृष्ट साहित्य लेखिएका छन्। परन्तु, त्यसलाई मूलधारको साहित्यका रूपमा कहिल्यै उल्लेख गरिएन।
पूर्ण वैद्य नेपालभाषाका मानक कवि हुन्। सरासु (झिनो स्वर), लः ल ख (पानी पानी हो) जस्ता प्रसिद्ध कविता किताबका स्रष्टा वैद्य नेपालभाषामा आधुनिक कविताका 'ठूल्दाइ' का रूपमा चिनिन्छन्। नेपालीमात्र नभई अन्तर्राष्ट्रिय जगत् नै उनका कवितासँग परिचित छ। अमेरिकी एक समीक्षकलाई उद्धृत गर्दै कवि मञ्जुलले कुनै दिन मलाई भनेका थिए, 'वैद्य एसियाली कविताकै उत्कृष्ट मानशिल्पी हुन्।' 'खुट्टा देख्नेबित्तिकै' शीर्षक एक कवितामा वैद्य लेख्छन्-
खुट्टा देख्नेबित्तिकै गुन्न थाल्छु
मेरो गन्तव्य बाँकी छ
मलाई पुग्नुपर्ने ठाउँ प्रशस्त छ
झ्यालढोका देख्नेबित्तिकै
झल्याँस्स हुन्छु,
मलाई व्यक्तिनु छ
आफैँबाट बाहिर निस्कनु छ

विद्रोही र रुमानी भावका कवितामा स्व. सुन्दर मधिकर्मी पनि उत्तिकै जमेका छन्। नेपाली भाषामा अनुदित उनका कविताहरूको सँगालो 'सुन्दर मधिकर्मीका कविता' इन्द्र मालीको सम्पादनमा छापिएपछि थुप्रै नेपाली साहित्यप्रेमीले उनको अनुपम काव्यकलाबारे जानकारी पाए। सोही किताबमा आयामेली कवि ईश्वरवल्लभले लेखेका छन्, 'सुन्दर मधिकर्मीलाई पन्छाएर आधुनिक नेपाली कविताको अध्याय पूरा हुनै सक्दैन।'
शब्दको आगो बाल्ने शक्तिशाली कवि हुन् बुद्ध सायमी। आन्दोलनका नारा बन्न सक्छन् उनका कविता। श्रीखण्डझैँ पवित्र पाखण्डलाई थाङ्नाजस्तै च्यात्न चाहन्छन् उनी। आफ्नो एक कवितामा उनी लेख्छन्, 'तिम्रो संस्कार र मनोवृत्तिका लालमोहर च्यात्न देऊ मलाई/ म त त्यहीँ नै कैद छु।' कवितामा नारी विद्रोह उराल्न पोख्त छिन् प्रतिसरा सायमी। पितृसत्तात्मक समाज व्यवस्थाविरुद्ध उनले आफूलाई नालिसपत्र बनाएकी छन्।
धुस्वाँ सायमीको उपन्यास 'गंकी' सम्भवतः सबैभन्दा बढी अन्तर्राष्ट्रिय भाषामा अनुदित नेपाली कृति हो। तारानाथ शर्माले यसलाई भ्लादिमिर नोबाकोभको उपन्यास 'लोलिता' सँग दाँजेका छन्।
युवाकवि सुरेश किरणका कविताले थुप्रै नेपाली साहित्यप्रेमीलाई पनि आकर्षित गरेको छ। आन्दोलनलाई नै आन्दोलित पार्ने शक्ति छ उनका कवितामा। 'रोल्पा' एक उदाहरण हो जसमा भूगोल नजान्ने शासकमाथि उनले प्रहार गरेका छन्। नेपाली कविता डट कम र अमरकान्ति स्कूलद्वारा हालै लेलेमा आयोजित 'समसामयिकताका सन्दर्भमा आजका कविता' कार्यक्रममा नेपालभाषी कवि नर्मदेश्वर प्रधानका कविता सुन्दा नेपाली भाषाका थुप्रै साहित्यकारले ओठ टोकेका थिए। प्रधानले सुनाएको कवितामा अन्धो सत्ता नांगो मानिसलाई भन्छ, 'शान्ति थाप'। नांगो मानिसले केमा थापोस् शान्ति! साहित्यकार नारायण ढकालले त मुखै फोरे, 'विवेकहीन सत्ताका लागि यो कविता ठूलो चुनौती हो।'
यी प्रसंग केही उदाहरण हुन् जसले नेपालभाषामा पनि निकै उत्कृष्ट साहित्य लेखिएका छन् भन्ने प्रमाण दिन्छन्। परन्तु, नेपालभाषाका उत्कृष्ट साहित्यसँग आमपाठक परिचित छैनन्।
आधुनिक कवितामा कति अर्थमा यसले नेपाली भाषाका कवितालाई नै पछाडि पारेको दाबी गरिन्छ। तुलनात्मकरूपमा नेपालभाषामा लेख्नेहरू कम छन्। त्यसलाई गुणस्तरीय लेखनले क्षतिपूर्ति गरेको छ।
ओझेल परेको माटो
रण मल्लबाट थालिएको नेपालभाषी कविताले महेन्द्र मल्लसम्म आइपुग्दा कवितात्मक स्वरूप ग्रहण गर्‍यो। चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्धिदास, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, पे्रमबहादुर कसाः, माधवलाल कर्माचार्य, तीर्थराज तुलाधर, ईश्वरानन्द श्रेष्ठाचार्य, नारायणदेवी श्रेष्ठ, चित्तरञ्जन नेपाली, फणिन्द्ररत्न बज्राचार्य, दुर्गालाल श्रेष्ठसम्म आइपुग्दा यो निकै उन्नत रूपमा देखापर्‍यो। २०१७ सालपछि उदाएका केही कविले नेपालभाषाका कवितालाई कायाकल्पै गरिदिए। त्यसलाई नयाँ कविता नाम दिइयो। इन्द्र मालीको सम्पादनमा २०४९ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित 'नेवारी भाषाका आधुनिक केही कविता' मा नयाँ कविताको सांगोपांगो रूप देख्न सकिन्छ। नेपाली अनुवादमा कवितात्मक भाषा खड्कन्छ तैपनि कवितात्मक गहिराइ सजिलै नाप्न सकिन्छ। किताबमा श्यामसुन्दर सय्जु, पूर्ण वैद्य, योगेन्द्र प्रधान, सुन्दर मधिकर्मी, बुद्ध सायमी, आनन्द जोशी, केशवमान शाक्य, प्रतिसरा सायमी, सुदन खुसः र सुरेश किरणका प्रतिनिधि केही कविता छन्।
सुन्दर मधिकर्मीद्वारा सम्पादित गाजलं दागु चा (ओझेल परेको माटो) मा पनि नेपालभाषी आधुनिक कविताको प्रतिनिधि रूप देख्न सकिन्छ। मालीको सम्पादनमा निस्केको पुस्तक प्रकाशनको २० वर्षबीच नेपालभाषाको नयाँ कविताको रूप फेरिएको छैन। भनिन्छ, सुरेश किरणपछि नयाँ पुस्ता र प्रतिसरा सायमीपछि नारी हस्ताक्षरको खासै दरिलो उपस्थिति छैन।
मालीको किताबमा नसमेटिएका अरू थुप्रै कवि छन्। तिनको योगदान पनि महत्वपूर्ण मानिन्छ। नवीन चित्रकार, श्रीराम श्रेष्ठ, माधव मूल दार्शनिक धारका गम्भीर कविता लेखिरहेका छन्। नर्मदेश्वर प्रधान, पुष्पराज कर्णिकार, योगेशराज मिश्र, राजभाइ जःकमी, रजनी मिला, सुधीर खोबी, त्रिरत्न शाक्य, शाक्य सुरेन, रासा, पुष्प मुनंकर्मी समसामयिक राजनीति र जीवनका विविध आयाममाथि राम्रा कविता लेखिरहेका छन्। यही धारा पछ्याइरहेका छन् रोशनकुमार राजभण्डारी, ईश्वरीमैया श्रेष्ठ, तब मरु, कृष्णभक्त बोडे, रामगोपाल आशुतोष, गणेशराम लाछी, अगिब बनेपाली, नरेन्द्रप्रसाद जोशी, दया खड्गी वेचैन आदि।
आधुनिक कविता किताबमा पूर्ण वैद्यको सरासु, लः ल ख, आनन्द जोशीको विस्थापित जि जि मखु, योगेन्द्र प्रधानको हावलासा, बुद्ध सायमीको जि जिगु वर्तमान (म मेरो वर्तमान), केशवमान शाक्यको बिनाच्वंगु पहर, प्रतिसरा सायमीको जि छकू नालिस भो (म एउटा नालिसपत्र), सुन्दर मधिकर्मीको फसय थ्वइच्वंगू म्हे ( हावामा गुञ्जिरहेको गीत), जिगु म्हंगसया जाँ (मेरो सपनाको उचाइ), सुदन खुसको 'तनावनाच्वंगु', सुरेश किरणको 'थौँ घण्टाघरं जिकेः ईः न्याना च्वन' (घण्टाघरले आज मलाई समय सोधिरह्यो) लोकप्रिय छन्। शास्त्रीय साहित्यमा गिरिजाप्रसाद जोशीका कविता र चित्तधर हृदयको महाकाव्य 'सुगत सौरभ' स्मरणीय छन्। 'सुगत सौरभ' विभिन्न अन्तराष्ट्रिय भाषामा अनुदित छ।
स्व. धुस्वाँ सायमी नेपालभाषाका प्रथम उपन्यासकार हुन्। गंकी (ग्रहण), मिसा (युवती) मतिना (प्रेम), निभा (घाम), मयजु (आइमाई), पल्पसा (बिजुली चम्काइ) लगायत झन्डै दुई दर्जन उपन्यासका स्रष्टा सायमीलाई नेपालभाषा उपन्यास सम्राट् उपाधि दिइएको छ। २०१५ सालमा प्रकाशित गंकीलाई सायमीको पर्याय नै मानिन्छ। यसलाई भ्लादिमिर नोबाकोभ र अल्बर्टो मोरावियाका उपन्याससँग दाँजिएको छ। तारानाथ शर्माका अनुसार यो नेपालकै पहिलो मनोविश्लेषणात्मक उपन्यास हो। उपन्यासमा भ्रष्ट यौन सम्बन्धको दुर्नियतिको दायित्व आइमाईले मात्र बोक्नुपरेको कथा छ। ईश्वरानन्द श्रेष्ठाचार्यको न्हाय्कं (ऐना) लाई यौनविश्लेषणात्मक उपन्यास मानिन्छ। मथुरा सायमीको कटामरी (खेलौना), गिरिजाप्रसाद जोशीको सिलुस्वाँ, विपात्र, रामशेखर नकर्मीको नसँ फाःगुचा (रात चिर्ने बिहान), केदार सितुको स्वम्हम्ह मनु (तेस्रो मान्छे), शशीकला मानन्धरको जल्ल थिंगु लँपु (उज्यालो बाटो) चर्चित छन्।
भरत साःमी, लक्ष्मण राजवंशी, भूषणप्रसाद श्रेष्ठ कथामा नेवारी संस्कृति र सामाजिकता चित्रण गर्न पोख्त मानिन्छन्। अमृतरत्न तुलाधर, केदार सितु, धु्रव मधिकर्मी आधुनिक बिछट्ट शैली र विषयवस्तुमा नयाँपनका लागि चिनिन्छन्। पूर्ण वैद्य, पद्मरत्न तुलाधर, पूर्णकाजी ताम्राकार, रमेशकाजी स्थापित, विष्णु अल्पज्ञ, मंगलप्रसाद स्यःस्य, नर्मदेश्वर प्रधान, इन्द्र माली निबन्ध तथा समालोचनामा जमेका छन्।
एकभाषिक राज्यमा देशको कुल जनसंख्याको थोरै प्रतिशत जनताले बोल्ने भाषाको साहित्य ओझेल पर्नु अस्वाभाविक होइन। यसको अर्थ अल्पमत भाषाहरूमा स्तरीय साहित्य लेखिएकै छैनन् भन्ने हुनै सक्दैन। नेपालभाषा साहित्य स्वयं एक चुनौती हो। मैथिली, भोजपुरी अन्य चुनौती हुन सक्छन्। विश्वसाहित्य वा कलाको वास्तविक रूप हेर्ने हो भने अंग्रेजी भाषाबाहिर पनि पुग्नु जरुरी छ। त्यसैगरी नेपाली साहित्यको वास्तविक रूप हेर्ने हो भने नेपालभाषा, मैथिली, भोजपुरीलगायत भाषामा पनि छिर्नु जरुरी छ। अर्कातिर नेपाली साहित्य भन्नाले नेपाली भाषाको साहित्यमात्र भन्ने अनुदार घेरा नाघ्नु जरुरी छ। माध्यम भाषाका रूपमा नेपाली भाषाका सञ्चारमाध्यमसँग त्यो नैतिक इमानदारी माग गर्नु जरुरी छ जसमा विनापूर्वाग्रह विभिन्न भाषाभाषीका सूचना पनि न्यायपूर्ण तरिकाले प्रवाह गरियोस्।
सुभायः च्वःमि!
भाषा आन्दोलनको असली वाहक लेखकहरू नै हुन्। तिनकै कारण लोपोन्मुख भाषाको बीउ जोगिएर फैलिन्छ। अंग्रेजी भाषाको दबाब रहेको भूमण्डलीकरणको युगमा नत्र अल्पमत भाषाको के हालत हुन्थ्यो होला! त्यसैले हामी सबैले भन्नुपर्छ, सुभायः च्वःमि (धन्यवाद लेखक महोदय)! तिनकै आन्दोलनले एक दिन नेपाल नामको बगैँचामा फुल्नेछन् सबै भाषाभाषीका सयौँ फूलहरू।
(कवि रासाको सहयोगमा)

प्रतिक्रियाहरू (10)Add Comment
0
Garud
June 11, 2012
113.199.164.240
भोट: +17
...

okay nice research. who is responsible for not translating and not publishing and not reading? Tell me how to taste all those writers you have listed above? Tell me how to understand the efforts of your best writers?

Have you read them or just listing them for show off? Can you make their writings readable to us and print them so that we can get them in the market?

0
Puspa
June 11, 2012
202.166.217.63
भोट: -2
...

Depth analysis and good picture. Thank you very much for such a article and keep it up !

0
Rajesh Bhandari
June 11, 2012
202.52.232.132
भोट: +8
...

kabi mahodaya, prithivi narayan saha lai gali nagarnus, prithvi narayan saha najanmeko bhaye ahile tapai Kabi Durga Lal Shrestha, Ma Nepali bhanera furti lagauna paunuhunthyo ra. ahile india or kunai bideshi ko state ma basnu parthyo. Ani kasari paunuhunthyo, kahi nabhako chhadatantra ra je ma pani adhikar chahine, ramro garne lai sansarma kasaile kasailai rokya chha ra?

0
Madan
June 11, 2012
220.245.251.213
भोट: +16
...

FYI >> Rajesh Bhandari

There was no Nepal Before Prithvi Narayan Shah. We could as well say that we are another state of the Gorkha. But thats not the point.

the point here is to have state where all the voices from all the tribes & cultures heard properly. Not one Group leading throughout history.

0
rabindra
June 11, 2012
202.70.81.66
भोट: +2
...

Very nice article. In fact, it is the responsibility of the state to create congenial environment where all the languages and culture of our country can prosper. Keep it up Abhayji.

0
Nepali Bahadur
June 12, 2012
178.152.57.207
भोट: +14
...

नेपालजस्तो १०० भाषा भएको देशमा सबैलाई सरकारी काम काजको भाषा बनाउने हो भने १०० जना दोभाषे चाहिन्छ प्रत्येक कार्यालयमा| बिश्वको सबै राष्ट्रमा सरकारी भाषा शासककै भाषा हुन्छ|

लेखक लाइ एक सुझाव अन्तर्राष्ट्रिष भाषा किन अंग्रेजीमात्र नेपाली या नेवारी या चाइनिज बनाउ न।
म पनि त घुम्छु देश विदेश
किन तिम्रो मात्र भाषा भेष
हाम्रो भाषा नि बोल अंग्रेज !!!

0
keshab
June 12, 2012
110.44.113.254
भोट: +15
...

Mr. Rajesh Bhandari, know well this bitter truth that many will not regret of not being Nepal if PNS did not reunited the Nepal because they have lost their nation while PNS conquered and if he did not did that then other may have done it. And so let me ask you will there be any difference to be known as other nationality than Nepali because they all have accepted to be Nepali at that time, and there would be no difference if they have to accept other king at that time. So, it is not only being proud of being Nepali but also proud of being Limbu, tamang, maithaili, newar, etc. And respect given to them only reflect the equal treatment to other jatis. Otherwise, isn't it seems that they, bahuns, always tried rule Nepal on tanashah basis when other jatis raises the voice for equality is not heard and blame them as trying to interrupt the national harmony.

0
dinesh
June 12, 2012
115.187.16.1
भोट: +0
...

दामी लेख । धन्यवाद लेखक महोदय।

0
beenod
June 12, 2012
116.66.193.244
भोट: +34
...

अभयजी, सयभन्दा बढी जातजाति भएको मुलुकमा केही विशेषको नाममा मात्र राज्य बाँडेपछि बाँकी रहेकाले खोइ मेरो/हाम्रो देश भन्ने कि नभन्ने? कि नेवार, मगर, लिम्बु लगाएतका पूर्व शासक जातिको मात्र हो यो देश? अनि के ती राउटै, चेपाङ आदिलाई चाहिँ चाहिँदैन हो पहिचान? भाषा र देशको असमान तुलना गरेर पाठकलाई उल्लु बनाउने प्रयत‍्‍न नगरेकै बेस, फेरि यहाँलाई अभय भनेर चिनाएको कुन भाषाले हो? याद त होला नि? हो, सबै भाषाको संरक्षण सम्बर्द्धन हुन पर्छ; यसमा न कुनै शंका छ, न त विवाद नै, तर माध्यम भाषा भन्ने नि केही हुन्छ जसको अनुपस्थीतिमा बृहत स्तरमा सम्बाद, सञ्चार नै बन्द हुनसक्ने अवस्था पनि आउँछ। राइले बोलेको लिम्बुले नबुझ्ने, थारुले बोलेको नेवारले नबुझ्ने, अनि मैथलिमा बोलेको मगरले नबुझ्ने हुँदैन र? यस्तो अवस्थामा अनि के गर्ने? नयाँ भाषा जन्माउने कि जन जिब्रोमा बसेको अथवा बसाइएको जे सुकै भन्नुहोस् भाषाकै प्रयोग गर्ने? र, अन्तमा भाषा कसैको पेवा हुँदैन। जसले जे पनि सिक्न सक्छ तर कुनै भाषा लोप हुन लाग्यो अथवा कम प्रयोग भयो भनेर चलनचल्तीको भाषाको उछितो काढ्नुको अभिप्राय के हो? के नेपाली खस भाषाले अरु भाषालाई मारेको हो? महोदय भाषाले आफैं केही गर्दैन; भाषा बन्दुक लिएर र खुकुरी लिएर हिंडँदैन!

0
ram man
June 14, 2012
62.68.76.252
भोट: +2
...

it is the proof of "we r going backward,tell us how many international books of medical science & tecnology been written in Newari,tamanga vasa,sherpa,magar vasa? who will understand that stone -aged language? these type of writer are the problem of modern Nepal. visit out of ktm valley, u will know what is nepal and where we r!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार