नेपाली किताबको अन्तराष्ट्रिय बजार!

E-mail Print
(2 votes, average 4.50 out of 5)
महेश चौरसिया- लेखकलाई रत्न, मण्डला, फाइन प्रिन्ट, सांग्रिला प्रकाशनदेखि पेन्गुइन, रुपा वा हार्परसम्मको यात्राले आकर्षित गर्नु अनौठो होइन। यहाँका लेखकहरु उचाइ छुने यात्रा तीव्र गतिमा नभए पनि निराश हुनुपर्ने स्थितिचाहिँ छैन।

नेपालको साहित्य बजारमा विदेशी लेखक वा प्रकाशकका किताबहरु छ्याप्छ्याप्ती भेटिन्छन्। एकता, मण्डला, एजुकेसनलगायत बुक हाउसमा नेपालीभन्दा अंग्रेजी वा हिन्दी भाषाका विदेशी किताब बढी छन्। विदेशबाट त्यस्ता किताबको सहज आयात र नेपाली बजारमा त्यसको खपतले पनि हो, यी बुक हाउसहरुका र्‍याकमा नेपालीभन्दा विदेशी किताब बढी हुन्छन्। भाषा विदेशी, किताब विदेशी, लेखक विदेशी, प्रकाशक विदेशी। बिक्रेता र पाठकमात्रै नेपाली।
सलमान रुस्दीको 'पद्मा' 'द सटानिक भर्सेस', खालिद हुसेनको
'दि काइट रनर', अरुन्धती रायको 'द गड अफ स्मल थिंग्स', तसलिमा नसरिनको 'लज्जा', अमेरिकी लेखक ज्याक केरुआकको 'अन द रोड' जस्ता किताब संसारभरि पाइन्छन्। यी किताब नेपालमा पनि सर्वसुलभ छन्। तर, नेपाली भाषी लेखकले आफ्ना कति किताब अन्तर्राष्ट्रिय बजारमा छपाउन वा पठाउन सफल भए त? लीलबहादुर क्षत्रीको लोकप्रिय उपन्यास 'बसाइ', लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन', डायमन शमशेरको राणाको 'सेतो बाघ', पारिजातको 'शिरीषको फूल', नारायण वाग्लेको 'पल्पसा क्याफे', कर्ण शाक्यको 'सोच', सम्राट उपाध्ययाय र मञ्जुश्री थापालगायत थोरैका किताबमात्र नेपाली सीमा तोड्न सफल भए। नेपालको पहिलो उपन्यास गिरिशवल्लभ जोशीको 'वीरचरित्र', मदनमणि दीक्षितको 'माधवी' जस्ता किताबसमेत नेपालमै सीमित छन्।
पछिल्लो समयका कृष्ण धरावासीको 'राधा', तारालाल श्रेष्ठको 'सपनाको समाधि', बुद्धिसागरको 'कर्नाली ब्लुज', नयनराज पाण्डेको 'उलार', किशोर नेपालको 'शहरको कथा' जस्ता किताबलाई अंग्रेजीमा रुपान्तरण गरेर विदेशी प्रकाशन गृहबाट छपाउन सके अन्तर्राष्ट्रिय बजार लिनसक्ने सम्भावना छ। परिवेश, पात्र र स्वादमा फरक भए पनि चेतनका उपन्यासभन्दा यी उपन्यास स्तरमा माथि छन्।
भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सका काठमाडौँस्थित संवाददाता अनिर्वन रायले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखेको 'प्रचण्ड- द अननोन रिभलुसनरी' एकताक खुबै चर्चित भयो। मण्डला बुक प्वाइन्टले २००८ मा अंगे्रजी संस्करणमा छापेको त्यो किताब औसत बिक्यो। माग बढ्दै जाँदा पछि नेपाली संस्करणमा पनि आयो। यो किताब नेपालबाट छापिएको चार वर्ष भयो। त्यसको अर्को संस्करण उनले भारतबाट अझै छपाउन सकेका छैनन्। भारतमा रहेका बहुराष्ट्रिय प्रकाशक कम्पनीहरुबाट छपाउन प्रयास गरे पनि सम्भव भएको छैन। नेपालमा किताब छपाउन जति सजिलो छ, विदेशमा उति नै कठिन। मण्डला बुक प्वाइन्टका निर्देशक माधव महर्जन भन्छन्, 'नेपालको जस्तो विदेशमा किताब छपाउन प्रकाशनसँगको पहुँच र प्रक्रिया सजिला छैनन्।'
नेपाली भाषामा लेख्ने नाम चलेका थुप्रै लेखक छन्। कोही जमिनको सतहसँग जोडिएका छन्, कोही टुप्पाबाट पलाएका। नेपालीमा दुई दर्जनभन्दा बढी किताब लेख्ने पनि छन्। तर, अंगे्रजीमा लेख्ने नेपाली लेखक कति छन् त? नेपालीमै लेखे पनि अंग्रेजीमा अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली किताबको उपस्थिति कतिको छ? नेपालमा विदेशी किताबको जगजगी भए पनि विदेशी बजारमा नेपाली किताबको अवस्था शून्यसरह छ। नेपाली लेखकले अन्तर्राष्ट्रिय बजारमा आफ्नो किताब किन पठाउनसकेका छैनन्? नेपाली किताब विदेशमा किन जान नसकेको हो? नेपालका राम्रा लेखक नभएर हो? किताबको स्तर कम भएर हो? विदेशी प्रकाशन गृहले स्थान नदिएर हो?
अंग्रेजीभाषी नेपाली लेखक त औँलामा गन्ने जति पनि रहेनछन्। सम्राट उपाध्याय र मञ्जुश्री थापालगायत लेखकले अन्तर्राष्ट्रिय किताब बजारमा नेपालको इज्जत, मान, प्रतिष्ठा धानेका छन्। विदेशी बजारमा सम्राट र मञ्जुश्रीका नाम अंग्रेजीभाषी नेपाली लेखकका रुपमा अग्र पंक्तिमा आउँछन्। नभए पेन्गुइन र रुपाजस्ता अन्तर्राष्ट्रिय प्रकाशनहरुले उनीहरुलाई मञ्च दिने थिएनन्। 'फरगेट काठमाडौँ', 'अ ब्वाइ फ्रम सिक्लेस', 'द कन्ट्री इज योर्स', 'द ट्युटर अफ हिस्ट्री' जस्ता मञ्जुश्रीका किताब 'पेन्गुइन' ले छापेको छ। 'अरिस्टिङ गड इन काठमाण्डू', 'दि गुरु अफ लब', 'रोयल घोस्ट' जस्ता किताब रुपाले सम्राट उपाध्यायको अनुहार हेरेर पक्कै छापेको होइन। किताबमा पढ्नलायक कुरा नहुँदासम्म कुनै पनि प्रकाशकले छाप्न जाँगर चलाउँदैन। सम्राट र मञ्जुश्रीका किताब विदेशी भूमिबाट छापिए पनि बढीजसो बिक्री नेपालमै भयो। सुष्मा जोशी, रवि थापा, मणि दीक्षितलगायत स्रष्टाहरु अंग्रेजीमा कलम चलाइरहेका छन्।
झन्डै एघार वर्षअघि भारतको निराला बुक पब्लिकेशनले 'मुनामदन' अंग्रेजीमा छापेको थियो। त्यसको चर्चा त्यति धेरै हुन पाएन। पेन्गुइनले छापेको कर्ण शाक्यको 'सोच' ले राम्रै चर्चा पायो। अंगे्रजीमा लेखिएको शिवा शाहको 'फेसिङ माई फ्यान्टम', रवि थापाको 'नथिंग टु डिक्लिएर' पनि चर्चित भए। 'गति लिन नसके पनि अंग्रेजीमा लेख्ने नेपाली लेखकले गर्दा बेग्लै क्रान्तिको सुरुवात भइसकेको छ', मण्डला बुक प्वाइन्टका निर्देशक माधव महर्जनले भने।
नेपाली लेखकले नेपाली सिमाना तोड्न नसकेको यथार्थ हो। फेरि पनि नेपालको प्रतिनिधित्व गर्ने लेखक त तिनै हुन्। बजारका हिसाबले हेर्ने हो नेपाली किताबको माग र बजार नेपालभन्दा विदेश बस्ने नेपालीबीच बढी छ। त्यसमा पनि भारतको सिलीगुढी, असाम, दार्जिलिङ, देहरादुन, मेघालयजस्ता ठाउँमा मात्रै नेपाली किताब पठाउन सके हजारभन्दा बढी प्रति सहजै बिक्री हुन्छन्। भारत जाँदा होस् वा अन्य मुलुक, भ्रमणका क्रममा एकदुई प्रति झोलामा हालेर नेपाली किताब लैजानु बेग्लै कुरा। व्यापारिक प्रयोजनले एउटा पनि नेपाली किताब सिमाना कटाउन नपाइने रहेछ।
नेपालमा उपलब्ध विदेशी लेखकका किताब जति सबै भारतको दिल्लीबाट आउने हुन्। अमेरिका, लण्डन युरोपलगायत विदेशी भूमिमा रहेका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रकाशन गृहमध्ये अधिकांशको शाखा कार्यालय भारतमा छन्। दक्षिण एसियामा किताब पठाउनु परे दिल्लीबाटै छापेर पठाइन्छ। नेपालमा आउने प्रक्रिया पनि त्यही हो। बहुराष्ट्रिय कम्पनीहरुको उपस्थितिले भारतमा कर्पोरेट कल्चरको जग बलियो भइसकेको छ। कहाँसम्म भने विश्व किताब बजारको केन्द्रका रुपमा भारत विकसित भइसकेको छ।
दिल्लीबाट किताब मगाउन नेपालमा प्रकाशकका रुपमा दर्ता भएको अर्डर मेनु भए पुग्छ। एजेन्टले किताब घरमै पुर्‍याइदिन्छ। त्यो पनि विनाभन्सार। जति थान अर्डर गरे पनि किताबको भन्सार कर नलाग्ने रहेछ। तर, कानुनतः नेपालबाट भारत वा अन्य मुलुकमा किताब पठाउन पाइँदैन। राणाकालदेखि नै नेपालमा एकतर्फी किताबको आयातमात्रै भइरहेको छ। चेतनका सस्ता उपन्यास नेपालमा जति पनि भित्रिन पाउँछन्। लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कृति 'मुनामदन' भारतमा पठाउन नपाइने रे।
'नेपालमा प्रिन्ट भएको सामान विदेश पठाउने कानुनी प्रावधान छैन', रत्न पुस्तक भण्डारका निर्देशक गोविन्दप्रसाद श्रेष्ठले भने, 'निर्बाध किताब पठाउन दुई देशबीच सम्झौता गरेर सरकारले बाटो खोलिदिनुपर्छ।' दिल्लीबाट किताब ल्याउँदा नेपालको भन्सारले छेकबार लगाउँदैन। काठमाडौँबाट किताब पठाउँदा भने भारतीय भन्सार त्यसको बाधक बन्छ।
नेसनल बुक ट्रस्ट अफ इन्डियाले दिल्लीमा प्रत्येक दुई वर्षमा बृहत् किताब प्रदर्शनी गर्छ। दुई/दुई वर्षमा आयोजना हुने परम्पराले झन्डै साढे चार दशक पार गरिसकेको छ। एक पटकको किताब प्रदर्शनीका लागि कम्तीमा तीन/चार करोड भारतीय रुपियाँ खर्च हुन्छ। साहित्य प्रवर्द्धनका लागि यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्छ। साहित्य, किताब लेखन र यसको प्रचारप्रसारमा भारत सरकारले खर्च गर्ने गरेको ठूलो धनराशि र चासो देखेर नेपाली साहित्यकार वा पाठकहरु आश्चर्यचकित हुनु स्वाभाविक हो।
नेपालका प्रकाशन गृहहरुले विदेशमा जस्तो कर्पोरटको रुप धारण गर्न सकेका छैनन्। सामान्य लगानी, न्यून पहुँचले गर्दा नेपालका राम्रा किताब र लेखकले उचित पारिश्रमिकबाट वञ्चित हुनुपर्ने अवस्था छ।
कठिन प्रक्रिया
सामान्य पहुँचमात्र हुने हो भने नेपालका अधिकांश मन्त्रीलाई सजिलै भेट्न सकिन्छ। भारतमा एउटा सांसदलाई भेट्न हप्तौं लाइनमा बस्नुपर्छ। 'भारतमा लेखक र प्रकाशकबीच दुरी ठ्याक्कै त्यस्तै छ', मण्डला बुक प्वाइन्टका निर्देशक महर्जनले भने, 'भारतीय प्रकाशकलाई भेट्नु परे तिनका एजेन्टमार्फत जानुपर्ने हुन्छ। यहाँजस्तो सहज छैन।'
किताब छाप्नुअघि नेपालमा पनि एउटा मूल्यांकन समिति बनाइएको हुन्छ। त्यसले पाण्डुलिपि हेर्छ र स्तरअनुसार छाप्ने अनुमति दिन्छ। समितिले छाप्न अनुमति दिए पुग्छ। किताब धमाधम छापिन सुरु हुन्छ। लेखक मन परेन भने किताब नछापिन पनि सक्छ। लेखकसँगको सम्बन्ध राम्रो छ भने किताबको गुणस्तरले खासै फरक पार्दैन यहाँ। प्रकाशकलाई पाण्डुलिपि बुझाएको महिना दिनभित्रै पनि किताब छापिएका उदाहरण भेट्न सकिन्छ।
नेपालको जस्तो किताब छाप्ने छोटो प्रक्रिया भइदिएको भए पेन्गुइन, रुपा वा हार्पर कोलिन्सजस्ता बहुराष्ट्रिय प्रकाशन गृह जमानामै डुबिसक्थे सायद। एजेन्टमार्फत पाण्डुलिपि बुझाइसकेपछि मूल्यांकन समितिले छनोट गर्छ। पास भएपछि बजारमा त्यसको मागबारे अनुसन्धान हुन्छ। आवश्यक परे पुर्नलेखनका लागि लेखकलाई सूचित गरिन्छ। कतिपय अवस्थामा लेखकको अनुमति लिएर प्रकाशन गृह स्वयंले पुनर्लेखन गरेको पाइन्छ। यी सब गर्दागर्दै कम्तीमा तीन वर्ष लाग्न सक्छ। तबमात्र किताब छापिएर बजारमा आउँछ।
'यहाँ प्रकाशक नै छैनन् भन्दा हुन्छ', रत्न पुस्तकका निर्देशक श्रेष्ठले भने, 'पाण्डुलिपि अध्ययन र मूल्यांकन गर्ने सक्षम टोलीको अभाव छ।' नेपालमा जसरी बिस्तारै राम्रा लेखकको उदय हुँदैछ, प्रकाशन गृह पनि बिस्तारै व्यवस्थित हुदैछन्। तर, विदेशमा जस्तो कर्पोरेट कल्चर विकास नहुँदासम्म नेपालका लेखक, किताब वा प्रकाशकको पनि भलो हुँदैन।
खोई अनुवादक
अंग्रेजीमा लेख्ने नभए पनि नेपालीमै लेखिएका राम्रा कृतिलाई राम्रो अनुवाद गरेर पनि छाप्न सकिन्थ्यो। राम्रो अनुवाद गरेर विदेशी प्रकाशनकहाँ पठाउन सकिए केही किताब त्यहाँबाट छापिन सक्छन्। 'नेपालमा राम्रो अनुवाद गर्ने जनशक्तिको अभाव छ', अंग्रेजी साहित्यका प्राध्यापक एवं लेखक सञ्जीव उप्रेतीले भने, 'विदेशी प्रकाशन गृहमा पठाउन कामचलाउ अंगे्रजी रुपान्तरणले हुँदैन।'
नेपाली लेखकहरु विदेशी प्रकाशन गृहसम्म पुग्न नसक्नुमा सम्बन्धको अभाव पनि हो। कोठामा बसेर उपन्यास लेख्ने र यहीँको बिक्री वा प्रशंसामा रमाएर अधिकांश लेखकहरुको दैनिकी बित्ने गरेको छ। नेपालमा लेखिएका राम्रा साहित्यबारे रुपा पब्लिकेशनका निर्देशकले कसरी थाहा पाउने?
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार