किताबको खोल-व्यापार

E-mail Print
(2 votes, average 3.00 out of 5)

प्रकाश सायमी- 'डन्ट जज अ बुक बाइ इट्स कभर।'

राम्रो किताबलाई त्यसको खोलको आधारमा नहेर्नुस् भन्ने यो उक्ति निकै पुरानो भए पनि अहिलेको बजारमा आवरणबाहेक किताबको चर्चा, विज्ञापन अनि लेखकको उपस्थिति र वैभवले किताबको बजार बनाउँछ। आजभोलि विज्ञापनको भाषामा कुन किताब राम्रो कुन नराम्रो देख्ने मायोपिक संस्कार सुरु भएको छ।


विज्ञापनले अर्कै भाषा बोल्छ, साहित्यमा जुन चिजको सामयिक महत्व छैन वा त्यो अलि बिकाउ छ भने त्यसले अलि प्रख्य स्वरमा बजार खोज्छ। चलचित्र बन्नुअघि वा त्यसभन्दा केही दशकअघि जब छापामा विज्ञापनको स्वरुप देखियो, त्यो निकै प्रहास्यक थियो। आज विज्ञापन नयाँ स्वर र शैलीमा स्पष्ट हुँदै आएको छ। कुनै गाडी बेच्नुपर्‍यो भने त्यसको उच्चता वा गुणको चर्चासँगै छेउमा सुन्दर स्त्री वा उनको शरीरसित जोडेर भाषाको प्रयोग गरिन्छ। गत वर्षको विज्ञापन जोडतोडमा कुनै राम्रो कारको विज्ञापन गर्दा त्यसको सिट, सिटमा प्रयोग गरिएको छालाको तुलना कुनै सुन्दरी स्त्रीको अनुहार, शरीर वा त्वचासित गर्दै पार्श्वभूमिमा लेखिएको पाइन्थ्यो। त्यसकारण कार वा सम्पन्नताको प्रतीकसित मोडलका रुपमा महिलाको प्रयोग यसरी बढ्दै आयो। मानवीय जीवनको सुरुवातमा कुनै महिलाको विवाह गरिदिनुपर्दा तिनलाई गोरुगाडा वा अन्य सामानसहित उभ्याएर देखाइन्थ्यो जुन पूर्वी मुलुकमा दाइजो बन्न पुग्यो, अरबी मुलुकतिर खुली खुल्हाको परम्परा अझै जारी छ।
अब यही परम्परा किताब लेखन र प्रकाशन अनि विक्रीवितरणको यो भयावह प्रतिस्पर्धामा पनि देखा परेको छ। आफ्नो मातृभाषा छोडेर अंग्रेजी भाषामा किताब लेख्ने कुनै लेखकलाई पश्चिमा बजारमा चिनाउन पर्‍यो भने त्यतातिर नाम कमाएका कुनै लेखक, समालोचक वा सम्पादकले उनका बारे शक्तिस्वरुपका रुपमा केही पंक्ति लेखेर अघिल्लो पृष्ठमा टाँसिदिने चलन व्याप्त छ। त्यसले लेखकको व्वक्तित्वमा एक्कासि चार चाँद लगाइदिने र उसको छवि निरुपण अर्कै स्तरमा हुने परम्परा बढेको छ। उदाहरणका लागि अफगानिस्तानका लेखक खालेद हुसेनीलाई प्रस्तुत गर्ने इसाबेली अल्दानी हुन् वा झुम्पा लाहिरीलाई चिनाउने जोन उपडाइक। यिनकै शब्दका आधारमा प्रकाशकले किताब छाप्ने र पाठकले लेखकलाई पुज्ने चलन बढ्दो छ।
यो परम्परा उन्नाइसौँ शताब्दीको सुरुवाततिरबाट देख्न सकिन्छ। भारतवर्षका चर्चित कवि रवीन्द्रनाथ ठाकुर नोबेल पुरस्कार पाउनुअघि पनि कविता लेख्थे। कविता, कथा उपन्यासकै कारण जनस्थानमा स्थापित उनी थिए तर उनको खास्सा परिचय बनिसकेको थिएन भन्ने बुझिन्छ।
ठाकुरकै समकालीन लेखक शरतचन्द्र त्यो बेला अत्यधिक चर्चित र प्रशंसित थिए, बंगाली समाजमा। देवदास, शेष प्रश्न, परिणिताका कारण बंगाली पाठकका पाक सामग्री बन्न पुगेका उनका किताब आउन लागेको हल्ला चल्नेबित्तिकै बजारमा लाइन र हुलदंगा सुरु भइसक्थ्यो।
यस्तै एउटा किताब प्रकाशन पूर्वसन्ध्यामा उनको किताब पाइने पसलमा लाठी चार्ज भइरहेको थियो। त्यही बेला उनी अर्को सुनसान पसलमा एउटा किताब किन्न घण्टौँ पर्खिरहेका थिए, पसलेको अनुपस्थिति भएर। त्यति बेला कुनै पाठकले उनलाई प्रेमपूर्वक सोधे, 'शरतबाबु यो के हो? उहाँ अर्को पसलमा तपार्इँको किताब नपाएर मान्छे लाठी खाइरहेका छन्, तपार्इँचाहिँ यहाँ एक्लै? यो सुनसान पसलमा?'
'म पनि यहाँ किताब किन्नै आएको हुँ, मित्र।'
'तपार्इँको किताब त यहाँ पाइन्न नि', उनले जिस्काए शरतचन्द्रलाई ।
शरतचन्द्रले मधुर हाँसोमा भने, 'म तिनका लागि लेख्छु तर मेरा लागि लेख्ने अरु कोही छ, रविबाबु।'
यस उत्तरले बजारको त्यो दारुण चित्रलाई दर्शाउँछ जहाँ रवीन्द्रनाथ ठाकुर पाठकका निम्ति अप्राप्य थिए। तिनै रवीन्द्रनाथ ठाकुरलाई नोबेल पुरस्कारको सिँढीसम्म पुर्‍याउन विलियम बटलर यिट्सको भूमिका र किताबको उचित चर्चा कारण बन्न पुग्यो। यद्यपि नोबेल पुरस्कार पाउनु आठ वर्षअघिसम्म पनि उनी पश्चिमी जगत्मा फर्निचर कवि भनेर तिरस्कार गरिएको उनीसँगै मञ्चमा कविता पढ्ने कवि खार्खे लुई बोर्खेसले आफ्नो अनुभवमा उल्लेख गरेका छन्।
भाषा र भावको भव्यता भए पनि अचेल कुनै कृतिको भविता कि त कुनै समालोचकले कि कुनै स्थापित अखबारको पानाले मात्र पुष्टि गर्न सक्छ। समालोचकको कुनै शक्तिशाली समूहले नराम्रो किताबलाई पनि उचालेर पुजनीय र पठनीय बनाइदिने हो भने त्यसले तत्कालै बजार पाउन सक्छ र त्यो बिक्छ पनि। त्यस्ता लेखकलाई पटब्वाइलर भन्ने चलन अद्यापि छँदैछ तर त्यसले बनाएको र बिगारेको बजार सुधार्न राम्रा लेखक वा स्रष्टालाई वर्षौँ लाग्न सक्छ।
समालोचक वा पत्रकारले बनाएको कृतिप्रति अवधारणाबाहेक कृतिलाई बिगार्ने अर्को पाटो हो, पुरस्कार। पुरस्कार प्रायः विश्व बजारमै पाउनुपर्नेले नपाएर नपाउनुपर्नेले पाएको अनि पाएपछि लेखकको लेखकीय जिन्दगी ध्वस्तन्यस्त भएको पाइन्छ। पुरस्कारलाई सदैव पश्चिमा जगत्ले तीन शब्दले गुँथेको र भजाएको पाइन्छ, मेकिङ, जजिङ र फेकिङ। मेकिङ अर्थात् हल्लाको खेती। किताब आउनुअघि नै लेखक र कृतिबारे व्यापक चर्चा परिचर्चा। पत्रपत्रिकामा किताबको अंश प्रकाशन र तहल्काको तयारी। जजिङ अर्थात् निर्णायक पहल। किताब पुरस्कारका लागि सिफारिस, दलबन्दी सहकार्य, अन्तर्क्रिया अनि किताब हस्ताक्षर कार्यक्रम। सम्भव भएसम्मका ठूल्ठूला हल्ला (सबैभन्दा बढी बिक्री। पहिलो महिनामै दोस्रो संस्करण। सबैभन्दा बढी कृतिस्व पाउने लेखक )। यस्ता परिचर्चाले पाठकको दैनिक जीवनसित यसले व्यर्थमा सरोकार राख्न थाल्छ। लेखक खोजेर पढ्न नसक्ने र आफ्नो अध्ययन अनि रुचिको विषयप्रति अज्ञान भएका पाठक यही छापा, अखबार र स्रोतव्य माध्यमका भरमा किताबको खोजीमा स्टल तानिन्छन्। फेकिङ अर्थात् छल र फलको खेल। पंक्तिकार यसलाई छल र कपटको माध्यमबाट फल अर्थात् फलसम्म पुग्ने अस्त्र ठान्छ। फेक अर्थात् आधारहीन चर्चा र विवादोत्तेजक विषयका आधारमा पुरस्कार पाइसकेपछि यसले राम्रो लेखकलाई त वर्षौँ पछि धकेल्छ, त्यसबाहेक किताब संस्कृतिमा रुचि भएका पाठकको बौद्धिकतामा विराम लगाइदिन्छ।
अहिले नेपाली पाठक पनि यस किसिमका कर्पोरेट संस्कृति र सिन्डिकेटबाट प्रभावित छन्। टीसर्ट, क्याप वा पुरस्कारको लोगो झुन्डिएको कृतिले लेखकको मानमर्दन गरेको छ। अर्कातिर त्यो उचाइ नभएको लेखक पुरस्कारको बैसाखीमा बुँख्याचा भएर ठिंग उभिएको स्पष्ट देखिन्छ जसलाई पब्लिसिटी स्टन्ट भनिने त्यस रोगले लेखकलाई जीवनकालमै एउटै कृतिले थन्काइदिएको थुप्रै उदाहरण छन्। झुम्पा लाहिरी र किरण देसाईसँगै अंग्रेजी आख्यान लेखनमा आएकी अरुन्धती रायलाई 'द गड अफ स्मल थिंग्स' नामक उपन्यासले रातारात जुन स्थुलता दियो त्यसलाई उनी स्वयंले थाम्न सकिनन्। बाँकी जीवन त्यही कृतिको व्याज खाएर बिताउनुपर्‍यो। कुनै नेता, डाँकु, व्यापारी वा प्रशासकका जीवनी वा आत्मकथा पनि यसरी नै चर्चामा आउने र सेलाउने गरेको इतिहास प्रशस्तै छ।
वर्षौँ साहित्य साधना गरेर, लेखेर पाठकको मनोबलसित इमानदारी निर्वाह गर्दै आएको एउटा लेखकलाई कुनै वेश्यावृत्तिको जीवन बिताएकी महिला वा कुनै क्यासिनो लुटेका लुटेराको कथाले हराउन सक्छ। तर, त्यस कृतिको कालान्तरमा प्रभाव र त्यसले पार्ने पाठकीय दुर्दशाप्रति पत्रकार, समालोचक सजग हुन जरुरी छ।
अहिलेको बजारमा लेखकबाहेक मैदानमा सबै साम, दाम, दण्ड, भेद प्रयोग गरेर प्रकाशक देखा परेको छ। प्रकाशकले पाठकसित लेखकलाई पनि घोडा दौडमा दौडाउन थालेका छन्, को लेखक कोभन्दा कति अघि, कति पछाडि? यस्ता काउन्टडाउनमा लेखक बिस्तारै फस्न थालेका छन्। लेखकको सम्बन्ध अब टीभी, अखबार, किताब विक्रेता, फोटोग्राफरसित एउटा व्यापारीको जस्तो समन्वयकारी, मिलनसार व्यापारमुखी हुन थालेको छ।
अब लेखक वा कृतिकार कर्पोरेट जगत्को चक्रव्यूहमा फस्न थालको छ। कर्पोरेट जगत् मुख्यतः मुनाफा र बजारको भाषामा सोच्छ। सामाजिक हित र जनकल्याणकारी भाषामा होइन। कर्पोरेट सेक्टर आफ्नो सामाजिक दायित्वप्रति अलिकति पनि सचेत भएको इतिहास पाइँदैन।
एउटा किताबको विमोचन पाँचतारे होटलमा हुनु, सबै दलका नेता र सबै च्यानलका क्यामेरा भेला पारेर भिड (मसफर सो) देखाएर लेखकप्रियताप्रति पाठकलाई दोधारमा पार्नु अनि पूर्ववर्ती लेखकको इतिहासलाई धज्जी उडाएर नयाँ कीर्तिमान कायम गर्नु, विश्वविद्यालयका 'डा.' झुन्ड्याएका प्राध्यापकले एक पटक पढ्नैपर्ने किताब भनिदिएपछि त्यसैको अंशग्रहण गरेर अखबारले हेडलाइन वा कभर अप बनाइनु, अनि किताबको चर्चा परिचर्चाका निम्ति अखबारमा क्रसवर्ड (कोठेपद), प्रश्नोत्तर, वा किताब वार्तामा त्यस्ता प्रसंग बारम्बार दोहोर्‍यारहनुले लेखक सर्जक हुन् कि सेल्सम्यानको नयाँ अवतार, खुट्याउन गाह्रो हुँदै गएको छ। सयौँ, हजारौँ वा लाखौँ पटक यसो भनिएको पाइन्छ, 'डन्ट् जज अ बुक बाई इट्स कभर।'
कुनै किताबलाई त्यसको आवरणको सुन्दरताको भरमा निर्क्योल नगर्नुहोस् भनिए पनि बजारमा सधैँ किताब (गुदी) नभएका आवरणहरुको व्याप्ति छ। अहिले नेपाली किताबबारे पनि त्यसै भन्न थालिएको छ। नेपाली किताब पनि आजभोलि खोलमा निकै राम्रा देखिन थालेका छन्। यस्तै खोलले किताबको क्षमताको निर्क्योल गर्ने हो भने भोलि हामी किताबको संकलन होइन, खोल संकलक पाठक हुनेछौँ।
'भुइँफूलको देश' नामक किताबको आवरणबारे भर्खरै उपन्यासकार पिटर जे कार्थकले यस्तो टिप्पणी गरेका थिए, 'भुइँफूलको देश भनेको के यी महिला हुन्? यी महिला नै हुन् भने यो कथा नारीको रुपबारे हो र? होइन यी महिला लेखक शारदा शर्मा हुन् भने के यिनको आत्मकथा हो र?'
यस प्रश्नले पाठकीय मनोदशालाई भित्रैदेखि झक्झकाएको देखिन्छ। सलमान रुस्दीको 'मिडनाइट्स चिल्ड्रेन' बेलायती संस्करण पहिलो पटक सार्वजनिक हुँदा डस्टी ज्याकेट (चित्रविहीन) मा आएको थियो। यही उपन्यासले रुस्दी आज पनि चिनिन्छन्। नेपाली निबन्ध साहित्यमा शिखर चुम्न सफल किताब 'एब्स्ट्राक्ट चिन्तन प्याज' मा कुनै चित्र वा कला नै थिएन। जँ पल सार्त्रको 'द वर्डस' वा अल्वेयर क्यामुको 'द स्ट्रेन्जर' मा कुनै झकिझकाउ नै थिएन। आजसम्म चर्चाको शिखरमा रहेको जेडी स्यालिन्जरको 'क्याचर इन द राई' अझै पनि विनाझकिझकाउ बजारमा जमेको देखिन्छ। यसले सदैव किताबको गुण, गरिमा र अस्तित्व कायमै राखेको छ।
छल, फल र खेलले चर्चामा आएका किताब केही समयपछि इतिहासको गर्तमा यसरी पुरिन्छन्, त्यो कुनै किताब थियो भन्ने पनि मान्छेलाइै थाहा हुँदैन। प्रकाशकको दौडमा लेखक दौडन थाल्ने हो भने कुनै दिन प्रकाशकले आफ्नो साइनबोर्ड फेरेको दिन लेखकले आफ्नो अस्तित्वको अर्को सत्ता थाल्नुपर्ने हुन्छ। बजार र विज्ञापनको भाषामा लेखक यति एक्लो हुन्छ, कुनै सभा, सेमिनार वा संगोष्ठीमा उसको नाम कसैले लिँदा ऊ झसंग हुनुपर्ने हुन्छ। त्यस्तो लेखक बन्नबाट सुरक्षित हुने एउटै बाटो छ, चकाचौँधको दुनियाँबाट टाढा रहेर स्वस्थ साहित्य सिर्जना गर्ने। डेबिड म्याक्फेले भनेका छन्, 'लेखकको दुस्मन भनेको ठूलो हल्ला र चर्चा हो। लेखक एकान्तको सम्पत्ति हो। लेखक कृतिको भरमा बाँच्ने हो, चर्चामा होइन। राम्रो लेखक एउटै कृतिले जीवन पर्यन्त बाँचेकै हुन्छ। पुष्कर शमसेर रणेको परिबन्दले जसरी चिनिन्छन् भूपीलाई 'घुम्ने मेचमाथि अन्धो मान्छे' ले। गुरुप्रसाद मैनालीलाई 'नासो'ले चिनेजस्तै पारिजातलाई 'शिरीषको फूल' बाहेक अरुले चिनाउनै परेको छैन। तर, हत्केलामा गन्न नसकिने किताब लेख्ने लेखक सय वर्ष पुगिसक्दा पनि उसका छोराछोरीले शतवार्षिकी कार्यक्रम गर्दा मात्र चिनिने अवस्था हाम्रो समाजमा छ।
लेखकलाई वंशले होइन, कृतिले बचाउनुपर्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार