बरानको प्रेम

E-mail Print
(5 votes, average 3.80 out of 5)
अभय श्रेष्ठ- सुन्दर सिनेमाले दिने आनन्द नयाँ प्रेमको असरजस्तै अनुपम हुन्छ। यस्तो सिनेमा आफैँमा पृथक् साहित्य हो। पृथक् दृश्य साहित्य। इरानी निर्देशक मजिद मजिदीको 'बरान' यस्तै सिनेमा हो। मजिदी मानवीय भावनाको सूक्ष्म कथा टिप्ने जीवनवादी फिल्मकार हुन्। प्रेमले मानिसमा कतिसम्म परिवर्तन ल्याउँछ भन्ने विश्वसनीय कथा यसले भन्छ।
 
मौन प्रेमकथा। सिनेमाभरि नायिका एउटै संवाद बोल्दिन, न नायकले आफ्नो प्रेम प्रकट गर्न पाउँछ। तैपनि नायिकाको अनन्त विपत् र नायकको अनुपम प्रेमबारे सिनेमा अत्यन्त वाचाल छ। यसले अफगानिस्तानमा तत्कालीन सोभियत संघको सैनिक हस्तक्षेप र तालिवान शासन खप्न नसकेर इरान पुगेका शरणार्थीको कथा भन्छ।
तेहरानको भवन निर्माणक्षेत्रमा गैरकानुनीरूपमा अफगानी शरणार्थीहरू पनि काम गर्छन्। अफगानी वृद्ध शरणार्थी नजाफ लडेर बिरामी भएपछि उसको १४ वर्षे 'छोरो' रहमान काम गर्न आउँछ। सिमेन्टको बोरा र बालुवा तलमाथि गर्नु त्यो निर्धो 'केटा'लाई असम्भव देखेपछि ठेकेदार भान्छाको काम समाल्ने लतिफलाई उसको काम सुम्पन्छ। उसलाई भान्छाको काम दिइन्छ। सजिलो काम छाडेर गाह्रो काम गर्नुपरेकोमा लतिफ रहमानमाथि रिस पोख्छ। अनेक निहुँ खोजेर गाला चड्काउँछ।
एक दिन लतिफले थाहा पायो, रहमान बरान नामकी केटी पो रहिछ। अत्यन्त सुन्दर। बाँच्नैपर्ने बाध्यताले उसले यो नाटक गर्नुपरेको रहेछ। केटी, त्यसमाथि यति सानीलाई नत्र कसले काम दिन्थ्यो त? लतिफको रिस फतक्कै गल्छ। ऊ केटीलाई मौन प्रेम गर्न थाल्छ।
इरानी अधिकारीको फन्दाबाट बच्न ठेकेदोरले बाध्य भएर अफगानी शरणार्थीहरूलाई कामबाट निकाल्छ। लतिफलाई पीर पर्‍यो, उसकी प्यारी केटीको के हालत भयो होला! बहिनी बिरामी परेकी बहाना पारेर ऊ बिदा लिन्छ र टाढा शरणार्थी स्थल पुग्छ। केटीको परिवारमा ठूलो संकट परेको रहेछ। ऊ बाढी आएको नदीबाट ठूल्ठूला ढुंगा झिक्ने काम गर्दिरहिछ। एकपल्ट झन्डै उसलाई नदीले बगाएको। त्यो दुब्ली, कलिली केटीले सकिनसकी यस्तो काम गरेको देख्दा लतिफको हृदय छियाछिया भयो। उसले ठेकेदारसँग सबै हिसाबकिताब मागेर सुल्तानमार्फत केटीको बाबुलाई पैसा पठायो। केटीको बाबु नजाफले आफूलाई भन्दा बढी आवश्यक परेको ठानेर त्यो पैसा सुल्तानलाई नै दिएर अफगानिस्तान पठायो। अर्को दिन लतिफ नजाफका लागि बैसाखी लिएर गयो। घरमा रुवावासी चलिरहेको थियो। कठै, नजाफको दाजु अफगानिस्तानमा मारिएछ!
विपत्मा परेको नजाफले ऋण माग्दा ठेकेदारबाट तिरस्कृत हुनुपरेको देखेर लतिफ रन्थनियो। ऊ आफूले खाई नखाई जम्मा गरेको खुत्रुक्केको पैसा बोकेर हिँड्यो। आफ्नो नाममा रहेको परिचयपत्र अफगानीलाई बेच्यो र ठेकेदारले पठाएको भनी त्यो पैसा नजाफलाई दियो। नजाफ भन्छ, छोरी र ऊ भोलिपल्ट अफगानिस्तान फर्कँदैछन्। यो सुन्दा लतिफलाई कस्तो भयो होला? ऊ रन्थनिँदै त्यहाँबाट दौडियो। जुन मौन प्रेमका लागि उसले यति धेरै उत्सर्ग गर्‍यो, त्यही प्रेम भोलिदेखि पटाक्षेप हुँदैछ।
अहो, जाबो सिनेमाको एउटा दृश्यले मेरो सासै रोकिएला जस्तो, हृदयगति नै बन्द होला जस्तो पो भयो! म त सहारा खोज्दै टेबुलको खुट्टा समाउन पुगेछु। मानौँ, म आफैँ लतिफ हुँ जसको प्रेमको सपना दस रेक्टर स्केलको भूकम्पमा परेको घरजस्तै भत्कँदैछ। तर, सबै कुरा सामान्य भयो। भोलिपल्ट पनि लतिफ बरानकहाँ पुग्यो। गाडीमा सामान लाद्न मद्दत गर्‍यो। पोखिएका आलु, गोलभेडा उठाउने क्रममा बरानसँग उसका आँखा जुधे। बरानले बुर्काले मुख छोपी र दौडँदै गई। उसको जुत्ता हिलोमा गाडियो। लतिफले त्यो जुत्ता झिकेर बरानको खुट्टामा लगाइदियो। बरान यसरी बिदा भई। एकै छिनमा पानी पर्‍यो। जुत्ता गाडिएको खोपिल्टा पानीले भरियो। सायद यो विछोडमा पनि दुःखी नहुने र घाउ भरिने संकेत थियो।
चल्तीको कुनै उत्तेजनाविना, साधारण तरिकाले सिनेमा सकिन्छ। सुन्दर कलाकृतिले कानुनी र नैतिक बन्धनभन्दा मानवीय सम्बन्धलाई महत्व दिन्छन्। 'बरान' ले गरेको पनि यही हो। कानुनको नजरमा इरानमा अफगानी शरणार्थीले काम गर्नु अपराध हो। कानुनको पालनाभन्दा बढी महत्वपूर्ण विपत्मा परेका मान्छेलाई सघाउनु हो। मान्छे भनिसकेपछि इरानी र अफगानी भनेर छुट्ट्याइरहनु जरुरी छ र? लतिफले आफ्नो परिचयपत्र अफगानीलाई बेच्नु अपराध हो। तर, कतिपय अवस्थामा अपराध पनि मानवीय हुन्छ। विपत्मा परेको मान्छेलाई सहयोग गर्न उसले यस्तो गर्नुपर्‍यो। मानवीय गरिमालाई राष्ट्रियताको सीमाले खुम्च्याउन सक्दैन। मजिदीले दिएको यो महान् सन्देश मननीय छ। उनको सबैभन्दा प्रसिद्ध सिनेमा 'चिल्ड्रेन अफ हेभन' हो। सायद यो उत्कृष्ट विदेशी सिनेमाका लागि ओस्कार मनोनयनमा परेर होला। तर, सिर्जनात्मक हिसाबले अन्धो बालकको संघर्षको कथा 'कलर अफ प्याराडाइज', सौतेलो बाबुप्रति एक किशोरको आकष्मिक प्रेमको कथा 'फादर' र 'बरान' अझ महत्वपूर्ण छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार