यात्रा : जिन्दगी!

E-mail Print
(2 votes, average 5.00 out of 5)
कल्पना वान्तवा- सप्तकोसीले केही वर्षअघि मूलबाटो भुलेको बेला, मानिसहरु अनेक ओल्टोकोल्टो सहँदै अप्ठेरो वैकल्पिक बाटो हुँदै कोसी तर्थे। कोसी फेरि साबिककै ठेगानमा नफर्कुन्जेल धेरै कालसम्म यात्रुहरु सप्तरी, उदयपुर, र सुनसरीका सिमान्त गाउँ हुँदै कोसी वारपार गर्थे।
 

सानी छँदा, त्यही बाटो उफ्रँदै खेल्दै, थारुगाउँबीचका डगर छिचोलेर बलौटे पदयात्रीका पदचिह्न पछ्याउँदै जीबासँग कुनै दिन हिँडेकी थिएँ। कोसीको दुई भँगालो नाउ चढेर तरेपछि बल्ल माइला काकाको घर राजाबास पुगेका थियौँ जीबा र म। त्यो बाटो भएर पैदल कोसीपार पुग्नु बटुवाका निम्ति सास्ती हुन्थ्यो, तर ऊबेला जीबासँगको कोसी यात्रा मेरा लागि घुर्मैलो-घुर्मैलो रोमाञ्चक बाल पदयात्रा।

पुगेकै राति पेट दुखाइले काकी सिकिस्त हुनुभयो। उपचारनिम्ति काकीलाई बिहान झिसमिसेमै बैलगाडामा राखेर इनरुवा (मामाघर) लैजाने सुरसार हुन थाल्यो। सहर देख्छे भनेर मलाई पनि साथै लाने भए इनरुवा। गोरुगाडामा सुताइएकी काकीको छेउमा निद्रा नपुगेका आँखा मिच्दै टुसुक्क बसेँ। घरदेखि काकाको घरसम्मको त्यति लामो बाटो खाजा-सातु ख्वाउँदै, बलौटोमा गोडा भासिँदा कम्मरमा ट्याप्प समाएर उचाल्दै, घरि बोक्दै घरि हात समाएर डोर्‍याउँदै लिएर आउने जीबालाई चटक्क बिर्सेर हिँडे म इनरुवा सहर। खै! छुट्टिने बेला जीबालाई ढोगेँ कि ढोगिनँ कुन्नि!

यात्रा भन्नासाथ, गाउँबाट सदरमुकाम राजविराज जाँदाको दुईघण्टे बसयात्रा, कुनै मन पर्ने किताबको घत परेको हरफझैँ मानसपटलमा झ्वास्स आउँछ। आमाको गर्भबाट धर्तीमा ओर्लंदा राजविराजको पावन माटोमा मैले माथ टेकाएकी थिएँ। त्यहीँकै पाठशालाको शिशु कक्षामा मैले आफ्नो प्रथम 'क' लेखेकी थिएँ, सिलोटमा। मेरो जन्मको केही वर्षपछि राजविराज छाडेर मेरो परिवार गाउँ सरेको थियो। राजविराज घरको भान्सा पछाडि कोठेबारीमा गाडिएका मेरा गर्भे साथी (सालनाल) ले बारम्बार मलाई राजविराजतर्फ तानिरहन्थे। एकदमै मन नपर्ने बसयात्राको सकस खेपेरै पनि म जन्मभूमिको माटो टेक्न र छुन हरदम लालायित रहन्थेँ।

बसको अग्लो बोनटमाथि रंगीन रिबन र रातो रेसमी झल्लरको शिरपोश पहिरेर, लहरै टाँगिएका विश्वकर्मा बाबा, कंकालनी माता, छिन्नमस्ता देवीका तस्बिरहरु हुन्थे। बिग्रेको पिनास पनि च्वाट्टै पार्लाजस्तो अगरबत्तीको कडा हरक बसभरि मडारिएको हुन्थ्यो। डिजेलको गन्ध र मोसन सिकनेसले आलसतालस पार्थ्यो मलाई। कपाल दुख्थ्यो, रिँगटा लाग्थ्यो, र पेट बाउँडिन्थ्यो। गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकालेर छाद्थेँ घरिघरि। डिहाइड्रसशन भएर लल्याकलुलुक हुँदै आमाको काखमा घुस्रन्थेँ। तर, थकितगलित मलाई उहाँकै अभिमानले थप मानसिक पीडा दिन्थ्यो। कन्डक्टरले भाडा माग्दा आमा उसलाई भन्नुहुन्थ्यो, 'के हो? नयाँनयाँ आएको हो? मान्छे चिनेको छैन?'

आमाले त्यसो भन्दा, लज्जाको भारले किचिएर थिलथिलो हुन्थ्यो मेरो बालख ज्यान। मेरी आमाले कचकच नगरी लागेको बसभाडा खुरुक्क दिए कति जाति हुन्थ्यो भनेर कल्पन्थ्यो मेरो बालमन। तर, म फुच्चीले आमालाई सम्झाउने कुरा मेरै कोरा कल्पनामात्र हुन्थ्यो। कन्डक्टरप्रतिको रोष मैमाथि खनिने डरले मनमा कुरा खेलाउँदै चुपचाप आमाका काखमा ढल्केर आँखा चिम्लन्थेँ।

हाम्री आमाको तुजुकपछाडि गुदी कुरो के हुन्थ्यो भने, मभन्दा दुई कक्षा सिनियर मेरो दाजु पढाइसढाइ छाडेर गाउँले नजरमा बडो रवाफिलो जागिरमा लागेको थियो तिनताक। हाल, मेरी एक अभिन्न साथीलाई 'पढाइ' शब्दसँग एलर्जी छ, सँधै भन्छे, 'पहिला ....सुरुमा.... यो 'पढ्नू' भन्ने कुरा कसले निकाल्यो होला नि! .... त्यल्लाई अहिले भेट्न पा' त मैले जानेकी थिएँ .....।'

उबेला मेरो दाजुलाई पनि पढाइप्रति यस्तै 'एलर्जी' थियो कि क्या! त्यसैले कमाउपुत्र बन्ने उसको जोसले पढाइलाई मार्‍यो गोली। जागिर के हुनु, उही झुन्डिनु बसमा एक! लोकल किशोरले बसको अघिल्लो ढोकाबाट मान्छे हुलेर पछिल्लोबाट निकालेमात्र पनि ऊ त्यस बसको सम्मानित स्टाफ। हाम्री आमा पर्नुभो स्टाफकी आमा। विचरा त्यस कण्डक्टरले उहाँसँग बसभाडा मागेर अक्षम्य गल्ती गर्‍यो सायद, त्यसको प्रायश्चित ऊ कसरी गर्थ्यो कुन्नि, त्यो भुलेँ।

बसयात्राको भुक्तमान सहेर जसोतसो राजविराज पुगेपछि भने मन र शरीर दुवैमा, अनायास देउता चढेझैँ स्फुर्ती चढ्थ्यो। प्रत्येक चोटि राजविराज जाँदा, मलाई म जन्मेको घर देखाउन आमाले एक पटक त्यहाँ लानुहुन्थ्यो। माटोको भित्तामाथि खरको छानो ओढेको आफू जन्मेको घर देख्दा चकित हुन्थेँ, भावुक बन्थेँ। रिक्सामा डुल्दा जताततै पक्की मकान देखेर अचम्मै मान्थेँ। दिउँसो, मारवाडीको होटेलमा पसेर आमा र म स्वादले खाना खान्थ्यौँ। काँचो जिराको धूलो हालेर टन्न घिउले झानेको रहरको दाल, पापड, चटनी, दही, प्याज र आलु-भुजियासँग मगमग बास्नादार भात उसैउसै मन पर्थ्यो मलाई। तर, त्यस्ता बेजोड यात्रा उपलब्धि हत्याएर पनि कसोकसो मेरो ध्याउन्न आमालाई फकाउनमै केन्द्रित हुन्थ्यो, 'आमा, जति दिन लागे पनि घर फिर्दा चैँ हिँडेरै जौँ है! है भनेको?'

मेरो बालसुलभ चिन्तामा आमा फिस्स हाँस्नुहुन्थ्यो। आफूलाई भने बस चढेर घर फर्कने कुरो सम्‰यो कि सिनेमा हेरेको, आफ्नो सालनाल पुरिएको थलोमा झन्डै एक बाँस अग्लो कदमको रुख देख्दा कस्तो कस्तो, आँसु आउलाआउलाजस्तो अनुभव पनि पन्यालो बन्थ्यो।

पछि चाल पाउँथे, कन्डक्टरले आमाबाट हाफ भाडा त असुलेरै छाडेछ। ऊ पनि के कम! दसगजावारि जग्गा-जमिन-सम्पत्ति खरिद गर्न नपाउने छिमेकी देशका उसको भिनाजुले श्रीमतीकै नाउँमा किनेको बसको कन्डक्टर पो त! भाडा लिएन भने दुनियादारी कसरी 'निभाउने'?

सप्तरीतिरको बसयात्रा आफ्नै विशेषताले सुशोभित, आफैँमा कमालको हुन्थ्यो। सबैभन्दा रमाइलो त के भने एउटा रुमाल, एउटा गम्छा, चस्मा, किताब (मोटा हिन्दी उपन्यास), अथवा एउटा टोपीले पनि सिट रोक्का गर्ने ताकत राख्थ्यो। कदाचित् भरे ढोकाबाट चढ्न नसके झ्यालैबाट ज्यान छिराए पनि त्यो सिट सुरक्षितै रहन्थ्यो, व्यवहारका एकदम पक्का सप्तरियाहरु। बस पनि हरबखत स्टाफमय हुन्थ्यो, किनकि गाउँका प्रायः प्रत्येक परिवारको एउटा न एउटा किशोर वा प्रौढ कुनै न कुनै तवरले बससँग सम्बन्धित हुन्थ्यो। अहिलेजस्तो धेरैले खाडीको बाटो देखिसकेका थिएनन् ऊ बेला। समग्रमा भन्नुपर्दा, एक कन्ची खर्च नगरी बस आफ्नै ठान्ने मानसिकता हाम्री आमासहित प्रत्येक गाउँलेको थियो। तर, त्यो मानसिकता भाडा तिर्ने सन्दर्भमा मात्र पोखिएर छताछुल्ल हुन्थ्यो, अरुबेला नाईँ।

हाम्रा सप्तरिया यात्रु पनि बेलायती ट्रामका श्रीमान् अंग्रेजजस्तो वा भनौँ कलकत्ता मेलको उपबुज्रुक बाबु-मोसायजस्तो गाउँको सिमाना काटेपछि बसमा नयाँ यात्रु भरिँदै जाँदा गजक्क पर्न थाल्छन्। तर चिनारु भेटिए फेरि जहाजे गोर्खाली-चर्तिकलालाई माथ दिन्छन्। एक पटक मनिला (फिलिपिन्स) बाट हङकङ ट्रान्जिट हुँदै देश फर्कँदा नेपाल वायुसेवा निगमको जहाजमा टन्नै भेटेकी थिएँ, छुट्टीमा घर फर्कँदै गरेका हङकङे लाहुरे र व्यापारीहरु। लाहुरेहरु जहाजमा बस्ने सिट नपाएजस्तो आफ्ना नम्बरीको सिटको हात राख्नेमा अटेसमटेसिँदै बस्थे, र राता आँखा झिमझिम पार्दै उडान अवधिभरि एयर होस्टेसलाई रक्सी मागेर हत्तु पार्थे। 'बैनीको घर कता पर्‍यो कुन्नि! खै, एक प्याक ल्याऊ न फेरि, 'सिकमानीभर्ती' (सिकम्यान भ'र हस्पिटल बस्दा)ं ले आँत हरर्र भ'छ। हङकङ फ्लाइट पर्दा यसो हाम्रो 'सेकेम' तिर पनि घुम्न आउनु नि!"

उति बेला आफ्नो सप्तरिया बसयात्रालाई खुबै 'मिस' गरेकी थिएँ मैले।
अलिपछि, जागिरे पिताजीको दमक सरुवा हुँदा पहिलो पटक झापा जाने साइत जुर्‍यो। बसले इटहरी छाडेपछि हठात् मलाई लाग्यो, 'अरे! यस्तो रमाइलो पनि बसयात्रा हुन्छ?'

आफ्नै चिन्तामा घोत्लिएका केही अपवादबाहेक बसमा नहाँसी, नबोली बसेको कोही नहुने। कसैले एउटा विषय उठान गर्नासाथ जो पनि सहभागी भइहाल्ने। बसमा चढ्दै गरेका हुन् कि बसबाट झर्दै गरेको, जो पनि बोल्न भ्याइराखेकै हुन्थे, हाँस्न सकिरहेकै हुन्थे। कुराको निहुँ जे पनि हुनसक्ने। चियापत्ती व्यापार नफापेेकोदेखि गएराति रतुवाखोलामा आफ्ना यिनै आँखाले राँकेभूत देखेकोसम्म। पिकनिकेहरु माइधारमा डूबेर झन्डै सिलटिम्मुर खा'को, एक्लो लाहुरे पेरुंगे कटेर ठोट्ने चुस्दै रवि उक्लँदा बाटामा हरिताल परेको रक्सीले सुइँकिएको कुरा पनि। कहाँसम्म भने, भुराहरु बिहान सुतेर उठ्दा पिलोखटिराले गर्दा सानो सानो सिरानी त तिनको टाउकोमै टाँसिएको व्यथासम्म। त्यो नसक्नुको हैरानीको अचुक उपाय पनि बसभित्रै निःशुल्क उपलब्ध हुन्थ्यो, निमको पत्ता पानीमा दुई भुल्को उमालेर नानीहरुका टाउका नुहाइदिने गरे दुई दिनमै पिलोसिलो साफ!

दमक पुग्नुअघि नै मैले कुन डाक्टर हात थरथरी कामेर टाँका लाउन सक्दैनन्, तीभन्दा कता हो कता मंग्लबारेकी झाँक्रिनी बोजुको झारफुक उम्दा भन्ने पनि जानेँ। कुन डाक्टरले सिलिगुडीबाट नक्कली सर्टिफिकेट किनी ल्याएर डाक्टरी गर्दैछन् भन्ने पनि पत्तो पाएँ। परापूर्व कालमा पहाड उक्लेका किरातीहरु र मधेसमै तम्बु गाडेका धिमालहरु त, खासमा एकै दाजुभाइका सन्तान पो अरे हौ! भन्ने अनुसन्धान र उत्सुकताको नौलो विषय पनि सुनेँ। दमकका 'जेठाबाबु' भनेका यी बसभरिका मान्छे सबैका जेठाबाबु नभएर त्यस भेगमा प्रचलित एक व्यक्तिको उपनाम रै'छ भन्ने अनुमान पनि लगाएँ।

पछि त दुईवर्षे दमक बसाइमा, निमको पत्ता उमालेर मलाई र बैनीलाई पनि बुवाले कति नुहाइदिनुभो कति! रुखैमा बाँदरजस्तो चढेर निमको पहेँलो गुलियो दाना भक्कुमार खाइयो। बरको रुखमा छ्याकछ्याक पारेर आजजस्तो चुच्चो ढुंगाले घाउ पार्‍यो, भोलिपल्ट त्यसमा जमेको चोप चपाउँदै फोकटिया चुँइंगमको खुबै आनन्द लुटियो। रतुवा किनारमा टाउकोविना डुलिहिँड्ने राँकेभूत रात-बिरात देख्दा मुकर्ट्टाहरुले असंख्य सपना बिथोलिदिए त्यति बेला। बल्ल अहिले पत्तो पाइयो, शरीर माटो भइसके पनि हाडमा रहेको 'फोस्फरस' भन्ने तत्व बतासको संसर्गमा आउँदा बल्दोरै'छ, झिल्का बनेर।

हालसालै, चाबहिलको एउटा दोकानमा हुँदा मैले कसैलाई फोनमा भनेकी थिएँ, 'म यहाँ झापालीको दोकानमा छु।'

बाफ रे! दोकाने पड्किए, 'प्लीज सिस्, डन्ट कल मी झापाली। तपाईँलाई थाह छैन? मान्छे ठान्छन् झापाली भनेका बाठा, चलाख, रकमी जीव हुन्। हामीजस्ता श्रमजीवी झापालीको राम्रो इमेज छैन यहाँ, अ ह्युज डेस्त्रि्कमिनेसन!' उनले आफ्ना दुवै हात पूरै फैलाएर 'अ ह्युज डेस्त्रि्कमिनेसन!" भनेका थिए।

उफ! झापायात्रा र झापा बसाइको मेरो सुकुमार-रुमानी सम्झनामा यस्तो तुषारापात? खङरंग भएँ, भित्र कताकता चसक्क दुख्यो।

व्यक्तिगत रुपमा आफूलाई चाहिएजति बठ्याइँ सबैमा हुन्छ। बुद्धि, विवेकले भ्याएसम्म जान्नेसुन्ने सबै हुन्छन्। मान्छे मान्छेबीच बोली, व्यवहार, र नियतसम्बन्धी तात्विक भिन्नता हुनु एकदम स्वाभाविक हो। धेरथोर कमीकमजोरी र विशेषता सबै ठाउँका मान्छेले प्राकृतिकरुपमै आफूभित्र पालेका हुन्छन्। सुखदुःख पचाएर, हाँस्दै बोल्दै पाखुरीको बलमा बाँच्न खोज्ने कसैलाई पनि स्थान विशेषको ठप्पा लाएर उसको वैयक्तिकतालाई व्यंग्य गर्न, दोष दिन, र व्यवहारमा उसलाई काखापाखा गर्न मिल्छ र?

यात्राकथा कहँदै गर्दा, केही मानिसका संकुचित धारणाको चोट खाएर म बीचैमा आहत भएकी छु। लाग्छ, यात्राका दन्त्यकथाको मध्यमा विकराल राक्षस बनेर मान्छेका पूर्वाग्रही सोचले मेरो बाटो छेक्दैछ। तत्काल अघि बढ्न असमर्थ मैले यस सफरलाई यहीँ टुंग्याएँ। तर, सकारात्मक सोचको शक्ति प्रयोग गरेर आफ्नो मार्ग प्रशस्त गर्न म फेरि यी पानाहरुमा पक्कै फर्कनेछु!

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार