किताबको खोल र गुदीका कुरा

E-mail Print
(2 votes, average 3.00 out of 5)
दिनेश काफ्ले- गत हप्ता 'अक्षर' मा प्रकाशित प्रकाश सायमीको 'किताबको खोल-व्यापार' शीर्षक लेख पढेपछि मलाई पनि दुईचार कुुरा भन्न मन लाग्यो। लेखमा सायमीजीले प्रकाशकको लाभोन्मुख दौडमा पिछलग्गु भएर लेखक पनि दौडन थाल्ने हो भने कालान्तरमा ती घरका न घाटका होलान् भन्ने चिन्ता व्यक्त गर्नुभएको रहेछ। धन्य, यो कपटी दुनियाँमा पनि लेखकको भविष्यबारे चिन्ता गर्ने एकाध शुभचिन्तक अझै छन्।
सायमीजीका कतिपय चिन्ता मननयोग्य छन्। परन्तु, त्यति साह्रो सातो नै जानुपर्ने स्थिति भएजस्तो मलाई लाग्दैन। एक लुरे पाठकको हैसियतबाट भन्नुपर्दा, सायमीजीको लेखले उठाएका विषयमा मेरा फरक मत छन्। ती सबै विषयमा दोहोरी खेल्ने र 'भ्याल्यु जजमेन्ट' गर्ने यस लेखको अभिप्राय होइन। एकाध अपवादबाहेक, जुनजुन कुराले नेपाली साहित्यलाई डुबाउन लागे भन्नुभएको छ, मेरो विचारमा चाहिँ तिनै कुराले यसलाई माथि उठाउँदैछन्।

 
सुरुमा भूमिका लेखन र 'चार चाँद' को कुरा। कुनै चर्चित लेखकले किताबको भूमिका लेखिदिँदा अथवा अघिल्लो पृष्ठमा केही पंक्ति लेखिदिएर 'चार चाँद' नै लगाइदिए पनि त्यत्रो ठूलो स्वर मच्चाउनैपर्ने कुकृत्य गरेजस्तो मलाई लाग्दैन। किनकि, किताबबारे लेख्ने, बोल्ने काम कुनै अर्को लेखकले वा 'डा.' झुन्ड्याएका प्राध्यापकले नै गर्ने हो। अरु कसलाई खोज्न जाने? कुनै पनि कृतिको दीर्घ अस्तित्वका लागि बृहत् प्राज्ञिक समालोचनाको ठूलो भूमिका हुन्छ। हामीकहाँ प्राज्ञिक अभ्यास अझै पनि दरिलो हुन सकेको छैन। त्यसका लागि अझ बढी प्राज्ञिक संस्था र जर्नलहरू लाग्नुपर्छ। बरु हामीकहाँ चाहिँ केही प्रकाशन गृहका ठेकेदार भूमिकाविद् छन्। तिनले सयौँ किताबमा गत न पतको भूमिका लेख्छन्। प्रकाशक र लेखकले बुझ्नुपर्छ, पाठकलाई दिग्दारै बनाउने ती 'मेसिन' भूमिकाविद्द्वारा भूमिकाकृत किताब त पाठकले झनै किन्दैनन्। अनि कोही प्रकाशक वा लेखकको कुनै अखबारसँग हिमचिम भएकै आधारमा तिनका किताबका समीक्षालाई बढी स्थान दिने प्रवृित्तको भने आलोचना गर्नुपर्छ। तर, यी कुरा पहुँच हुनेवालाको नैतिक धरातलका कुरा हुन्।
विज्ञापनको कुरा त के गरिसाध्य छ र यो उदारवादी बजारमा! कटि्रना कैफको तस्बिर बोत्तलभरि लपक्कै छापिएको 'स्लाइस' भन्ने पेय पदार्थको विज्ञापन टीभीमा देखेपछि त्यही किनेर स्वाद लिएर पिउने जमाना हो यो, अनि सलमान खानले 'डाँलर' नामको बक्सर जाँघे लगाएर दुईचार जनालाई गोदेको देखेपछि त्यही जाँघे किन्न न्युरोडतिर हुइँकिने जमाना हो। अनि कसैले किताबको विज्ञापन गर्‍यो, पाँचतारे होटलमा विमोचन गर्‍यो भनेर किन आपत्ति? गच्छे हुने र फजुल खर्च गर्न सक्नेले गरिराखोस्, केही आपत्ति भएन। होर्डिङ बोर्ड ठड्याऊन्, विज्ञापन बजाऊन्, टिसर्ट छापून्। मानौँ, सायमीजीको 'नेपाली संगीतको एक शतक' लेखिएको क्याप टोपी मैले लगाएर हिँडेमा, अनि त्यसैद्वारा जानकारी पाएर दुईचार जनाले त्यो किताब किनेमा कसलाई घाटा छ र? किताब लेख्ने र बेच्नेले खानु पर्दैन र? अबको जमानामा किताबको प्रकाशन र प्रवर्द्धन व्यावसायिकरुपमा गर्नुपर्छ। लेखकका लागि, लेखिसकेपछि ऋण काढेर किताब छाप्ने अनि साथीभाइलाई 'सप्रेम उपहार' भनेर बाँड्दै हिँड्न ठीक कि प्रकाशक-व्यापारीलाई प्रकाशन, प्रवर्द्धन र वितरणको जिम्मा लगाएर त्यसको रोयल्टी लिनु ठीक? फाइदामुखी व्यापारिक होडबाजी नै किन नहोस्, लेखकले आफैँ छापेर पसल-पसलमा आफैँ किताब बोक्दै चहारेर ५ सय प्रति बेच्नुभन्दा प्रकाशकले सायमीजीकै शब्दमा 'साम, दाम, दण्ड भेद' प्रयोग गरेर पाँच हजार प्रति बिक्री गराए लेखकलाई नै पनि फाइदा हुन्छ। प्रकाशकले फाइदा खान्छ, लेखकलाइ रोयल्टी दिन्छ। जति धेरै प्रति किताब बिक्यो, त्यति नै लेखकको चर्चा र 'रिडरसिप बेस' बढ्ने हो। अनि एउटा किताबको बिक्री र चर्चाले नै हो लेखकलाई अर्को किताब लेख्न प्रेरित गर्ने। एक हजार किताब छापेर वर्षौँसम्म त्यति बेच्न पनि धौधौ पर्ने नेपाली किताब बजारमा पछिल्ला पाँच-सात वर्षमा पहिलो प्रिन्ट नै पाँच हजार निस्कनु सामान्य हुन थालेको छ। राम्रै हो, सबैको लागि।
किताबका खोल राम्रा बन्न थालेपछि पाठकले 'कभरको आधारमा बुकलाई जज' गरेकोमा पनि उहाँलाई चिन्ता लागेछ। किताबको खोल बनाउने काम कला होइन र? खोल बनाउँदा झारा टार्नैपर्ने त्यस्तो के छ र? पछिल्लो समय फाइनप्रिन्ट, नेपालय, सांग्रिला, फिनिक्सलगायत अन्य प्रकाशकहरू कसरी किताबको डिजाइन आकर्षक बनाउने भन्ने होडबाजीमै लागेका देखिन्छन्। तिनले आफ्ना किताबमा केही 'एस्थेटिक एलिमेन्ट' थपिरहेका छन्। राम्रै हो। बाँसको सुप्लामा किताब लेख्दादेखि गाताविनाको किताब, अनि 'डस्ट' गातादेखि अहिले डिजिटल किताबसम्म आइपुग्दा प्रविधिको विकास र 'एस्थेटिक सेन्स' मा परिमार्जन सँगसँगै किताबको 'मेकिङ', 'प्याकेजिङ' र 'मार्केटिङ' मा पनि स्वाभाविक परिवर्तनहरू आएका हुन्। यी परिवर्तनहरू रोकेर रोकिँदैनन्। मैले जान्दासम्म मेरो बुबाले 'स्पाइन' नभएका संस्कृतका किताब पढ्दा एकएक पाना पल्टाउदैँ पढ्नुहुन्थ्यो। पाना हावाले उडाएर कहिलेकाहीँ छरपस्टै हुन्थे र फेरि क्रम मिलाएर राख्न घण्टौँ लाग्थ्यो। ढुंगाले चेपेर किताब पढ्नुपर्थ्याे। अझै पनि कतिपय पुराना किताब त्यस्तै छन्। पछि किताब 'बाइिन्डङ' गर्ने प्रविधि सजिलो भयो, सबै पाना एकै ठाउँमा स्टिच मारेपछि पाना उडाउने, तलमाथि हुने समस्या हरायो। किताबका महत्वपूर्ण लागेका अध्यायका केही वाक्य फूलले रंगाएर चिह्न लगाउनुहुन्थ्यो, पछि बजारमा 'हाइलाइटर' पाइन थालेपछि त्यसैले रंगाउन थाल्नुभभो। पैसा, ध्वजा वा फूल राखेर कहाँसम्म पढियो भन्ने चिह्न लगाउनुहुन्थ्यो, पछि 'बुकमार्क' कतै फेला पार्नुभयो, त्यही सजिलो लागेर प्रयोग गर्न थाल्नुभयो। अब के भन्ने? बुढाले संस्कृत पढेकै भएन भन्ने? हो पढ्नचाहिँ त सायमीजीले भनेजस्तै 'गुदी' पढ्ने हो। तर, 'मेकिङ', 'प्याकेजिङ' र 'मार्केटिङ' गर्दा 'गुदी' रूपी सुनमा सुगन्ध थपिन्छ भने के आपत्ति भयो र? बरु अब भने, ती प्रकाशकलाई 'तिमीहरूले खोल त सजायौ, अब 'गुदी'मा पनि ध्यान देऊ, लेखकलाई पटकपटक पुनर्लेखन गर्न लगाऊ, आख्यान वा गैरआख्यानमा प्रयोग भएका ऐतिहासिक तथ्यहरू लाई पटकपटक जाँच गर्न लगाऊ, नेपाली साहित्य र प्रकाशन क्षेत्रको दीर्घ रोग रहेको हिज्जे, भाषा शुद्धाशुद्धिमा पटकपटक मेहनत गर्न लगाऊ है' भनेर 'कन्स्ट्रक्टिभ फिड्ब्याक' दिँदा उत्तम होला कि!
अनि त्यो 'गुदी' को पनि नैतिक अथवा बौद्धिक गुण मापन र निर्धारण गर्ने ठेक्का कसको? यो 'गुदी' ठीक, यो बेठीक, यो 'गुदी' पढ्न लायक, यो नालायक भनेर स्तर निर्धारण गर्ने को? उपन्यास पढे केटोकेटी बिग्रिन्छन्, पढ्न दिनु हुँदैन भन्ने हाम्रै अभिभावक हुन्, हाम्रै समाज हो। अर्थ नबुझी नबुझी पनि 'कपुरी क', 'दुई दुना चार' घोक्नैपर्थ्यो, 'श्रीमान् गम्भीर नेपाली' गाउनैपर्थ्यो। नत्र मास्टरले कुखुरा बनाउँथे। कुखुरा बनाईबनाई मास्टरले अक्षर चिनाएपछि तिनै मास्टरका आँखा छलेर कमिक्स पढ्न थालियो। पछि कुरकुरे बैँसले न्याक्दै ल्याएपछि स्कुलमा खाजा खाने पैसा जम्मा पारिपारी 'सत्यकथा' पढियो। उमेर र बौद्धिक स्तर बढ्दै जाँदा किताबको 'गुदी' छनोट पनि परिष्कृत हुँदै आउँदोरहेछ। पाँच वर्षअघि पढेका किताब अहिले पढिँदैन। अहिले पढेका अबको पाँच वर्षपछि नपढिएला। उमेर ढल्केपछि देवकोटाको 'आखिर श्रीकृष्ण रहेछन् एक' पढिएला। फरक किताबका फरक 'गुदी' भएजस्तै फरक पाठकका पनि फरक-फरक दिमागी 'गुदी' हुँदा रहेछन्। त्यसैले त साहित्यका फरक धार छन् - 'हाई लिटरेचर' र 'पपुलर लिटरेचर'। 'गुदी'का यस्तै तह हुन्छन्, 'गुदी'बारे धेरै टाउको नदुखाऊँ।
रह्यो कुरा पुरस्कारको। हो, पुरस्कारमा पनि राम्रो गुदी भएकाले पाएन, रद्दी गुदी भएकाले पायो भन्ने विवाद त पुरस्कारसँगै अन्योन्यासि्रत नै छ, जताततै। स्कुलमा कविता प्रतियोगितामा आफ्नो कविताको गुदी असल हुँदाहुँदै पनि मास्टरले छलकपट गरेर कमसल गुदीको कविता लेख्नेवालालाई कापीकलम दिएजस्तो लाग्थ्यो। मदनदेखि नोबेल पुरस्कारसम्म सबैमा साम, दाम, दण्ड भेद चल्ने हल्लाहरू आइरहन्छन्। आखिर पुरस्कार कुनै संस्थाले दिने हो, संस्थामा व्यक्तिहरू हुन्छन्। पुरस्कार दिने व्यक्तिको दिमागी गुदी र पाउनेको दिमागी गुदीले मेल खाएपछि पुरस्कारको लेनदेन चल्छ होला। पुरस्कार पाउनेवाला केही समयको तामझामपछि हराउन सक्छ, सय वर्षसम्म आफ्नै दरसन्तानले पनि नचिन्ने गरी। पुरस्कार नपाउनेचाहिँ, कालान्तरमा समय, परिस्थितिअनुसार इतिहासको 'स्पटलाइट' ऊतिर पर्‍यो भने फेरि केन्द्रमा आउन पनि सक्छ। फ्रेडरिक नित्से पनि आफ्नो जीवनकालमा कुनातिर मिल्काइएकै हुन्। जेडी सेलिन्जरचाहिँ एउटा किताबले कमाएको प्रतापको राप सहन नसकेर आफैँ कुनातिर भास्सिए। अनि अरुन्धती रायजस्ता लेखकले आफ्नो एउटामात्र कृति र पुरस्कारको नाम भजाएर त्यसैको आडमा मानव अधिकारको पक्षमा लड्दै जनहितकारी काम गर्न उपयुक्त देख्छन् र अर्को किताबको आवश्यकता देख्दैनन् भने त्यसमा किन आपत्ति?
यता हाम्रा देवकोटाचाहिँ कविताले प्रताप कमाए पनि गरिबीमा बाँचे, गरिबीमै स्वर्गे भए। उनको जमाना नै त्यस्तै थियो - 'मेकिङ', 'प्याकेजिङ' र 'मार्केटिङ' तिर लेखकीय वा प्रकाशकीय गुदी खर्च गर्नु हुँदैन भन्ने। अहिले भए त देवकोटाले पनि गजबको रोयल्टी हात पार्थे होलान्। साहित्यका इतिहासविद्हरूले यसबारे बढी भन्लान्। पछिल्लो वर्ष नेपाल साहित्य महोत्सवमा 'राइटिङ एन्ड सर्भाइबल' विषयक कार्यक्रममा लेखक जगदीश घिमिरेले यस्तै केही भनेका थिए, आफ्नो किताबको मार्केटिङ आफैँ गर्‍यो भनेर मेरो सप्पैले खुबै निन्दा गरे, अनि लेखनबाटै पलायन भएँ। लेखकको निन्दा किन गर्नुपर्‍यो? किताब लेख्नेले आफ्नो किताबबारे दुईचार जनालाई भनेर, विज्ञापन, मार्केटिङ गरेर धेरै कमायो भने निन्दा गर्नु हुँदैन। किताब लेख्नेले/ छाप्नेले पाठकमाझ आफ्ना किताबको मार्केटिङ गर्छ, जसरी काउली फलाउने र रक्सी बेच्नेले गर्छ। किताब गुँदपाक होइन, भित्र लेदो मिसाइएको भए पनि मीठै स्वाद आउने। किताबको किताबी गुदी र पाठकको दिमागी गुदी मेल खाएमा किन्नेले किन्छ, मन नपरे रद्दी टोकरीमा मिल्काइदिन्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार