बैसाखीविना उभिएका कवि

Saturday, 30 June 2012 09:54 नागरिक
Print
(1 vote, average 5.00 out of 5)
बसन्त बस्नेत- आजको बिजनेस सकियो।
शोक पर्ने दिन पानी बिर्बिराउँछ भन्छन् गाउँघरतिर। यस्सै त असारको दिन छ। अफिसबाट निस्कने बेला सेलफोनमा लेखक कृष्ण धरावासीको नाम देखियो। उनको आवाज खस्नुअघि नै बोलेँ, 'सुनिसकेँ दाइ।'
धरावासीको आवाजमा असार भिजिरहेको थियो। गह्रौँ भइसकेको स्वर भर्खरै दिवंगत कविको करिश्माले थिचिएको थियो। 'डबली' ले केही लेख्नु परेन। किनकि यो पालि प्रधानसम्पादक आफैँ ओबिच्युअरी लेखिरहेका थिए। म अफिसबाट निस्केर कतिखेर गाडीमा बसिसकेछु। त्यसले पछिल्लो सिटमा राखेर १२ वर्षअघिको समयतिर दौडाउँदै फर्कायो।
........
 
कृष्णभूषण बल अढाई दशकपछि आफू पढेको विद्यालय फर्कँदै थिए। पाँचथरको रविस्थित दुर्गा माविबाट निमावि तहको पढाइ सिध्याएर हिँडेका उनलाई स्थानीय 'अमर शान्तकला खालिङ स्मृति प्रतिष्ठान' ले सम्मान कार्यक्रम राखेको थियो। कता हो कता हराएर वर्षौँपछि घर फर्केको बालकझैँ फुरुंग पर्दै उनी रवि आएका थिए। उनी हामीले स्कुले जीवनमा देखेका देशका सबैभन्दा ठूला कवि थिए। एक हुल साहित्यकारलाई अघिपछि लगाएर आएका उनले आफ्ना स्कुले दिन सम्झे, गुरु, बालसखा सम्झे। भावुक भए। रवि क्षेत्रले आफूलाई नेपाली साहित्यको गम्भीर अनुयायी बनाएकोमा कृतज्ञ भए। उनी रिटायर्ड कवि थिएनन्, आफ्ना गुरुहरू र गाउँलेलाई अघिल्तिर राखेर कविता सुनाए।
तिनताक 'दुर्गा प्रतिभा' नामक भित्ते पत्रिका निस्कन्थ्यो। कार्यक्रमपछि केही विद्यार्थीले पत्रिका टाँसिएको भित्तानिर यस देशका वरिष्ठ कविलाई लगे। कलिला विद्यार्थीका आफ्नै हातले सारेका कविता, जोक, कार्टुन, चित्रकला उभिएरै निकै बेर पढे उनले। हेरिसकेर सँगै उभिएको काँध थप्थपाए, अनि मुसुक्क हाँसे। केही बोलेनन्।
कृष्णभूषणले थप्थपाएको काँध मेरो थियो।
कविता लेखेकोमा अघिसम्म राम्रैगरी उडाइने मलाई त्यो दिन उनले कवि बन्ने भूत चढाइदिएका थिए। कसैले प्रेरणा दिँदैमा कोही कवि नहुँदो रहेछ। म पनि हुन सकिनँ तर उनले थप्थपाएको स्कुले काँधमा काव्यिक स्पर्श अझै आलो छ।
मित्र, पवन, भरत राईलगायत हामी कविता लेख्थ्यौँ। साप्ताहिक कविता गोष्ठी चलाउँथ्यौँ। गुरु पण्डित लग्नप्रसाद खनालले हाम्रा कविता पढ्थे। एक दिन कृष्णभूषणजस्तै कवि बन्न हौस्याउँथे। गुरुका कुरा सुन्दा हामीलाई लाग्थ्यो, कृष्णभूषण देशका ठूलै कवि रहेछन्। गंगा सर (खोलाघरे साहिँलो) ले हामीलाई कृष्णभूषण भूपि शेरचनपछिका शक्तिशाली थोरै कविमध्ये एक भएको बताउँथे। स्कुलले कृष्णभूषण र त्यस बेलाका जर्मनीका लागि राजदूत नोबलकिशोर राईलगायत केही पुराना विद्यार्थीमाथि असाध्यै गौरव गरेको थियो।
......
दुई वर्षपछि इशारा साहित्यिक परिवारको निम्तोमा कृष्णभूषण इलाम आए। इलामेलीहरू उनलाई धेरै माया गर्थे। तिनका लागि उनी सामान्य मानिसभन्दा बढी कवि थिए। कविभन्दा कविता धेरै थिए। उनले थोरै कविता लेखे। कृष्णभूषणले धेरै कविता बाँचे।
एसएलसी पास गरेपछि हामी इलाम पढ्न थाल्यौँ। त्यसो त कविहरूसँग संगत बढ्दै जाँदा हामी उनलाई दमक, बिर्तामोड, उर्लाबारीदेखि विराटनगरसम्मका गोष्ठीहरूमा भेट्थ्यौँ। तर, कृष्णभूषण इलाम पुग्दा आफू परिपक्व मान्छे र कवि भएको बिर्सन्थे। बच्चाजस्तो व्यवहार गर्न थाल्थे। 'इलाम त मेरो घर हो नि,' यसो भन्दै भावुक हुन्थे। इलाम बस्दाका रोचक प्रसंग सुनाउँथे। कुरैकुरामा एक दिन भनिदए, 'इलामले मान्छेलाई बढी नै प्रेमी बनाउँछ। म यहाँ बस्दा एकैपल्ट दुई जना तरुनीलाई चिठी लेख्थेँ।'
.........

कालो वर्णको ठीकै अग्लो थियो कृष्णभूषणको ज्यान। छिनछिनको उदात्त हाँसोले अनुहारलाई उज्यालो सुम्पिन्थ्यो। चट्ट मिलाएर कपाल कोर्थे। मीठो बोल्थे, लय हालेर गाएको गीतजस्तो। लयमै हिँड्थे। त्यसको आफ्नो अनुशासन थियो। फारो आचारविचार थियो। थोरै बोल्थे, बोल्नुपर्‍यो भने कविता नै बोल्थे। बोलीलाई कम्प्युटरको 'वर्ड' मा उतार्नुपर्‍यो भने दुईतीन शब्द छाड्दै इन्टर हान्दा कविता बन्थ्यो कि!
कृष्णभूषण बोलीचालीमात्रै होइन, सफा व्यवहारका कवि थिए। उनका कविता कतिले पढे थाहा छैन। उनको गहिरो श्याम मुस्कान सबैभन्दा धेरैले पढेको कविता थियो।
कवि श्यामलले कृष्णभूषणलाई नरम शब्दहरू छानेर कठोर प्रहार गर्न समर्थ कवि भन्दै खुला प्रशंसा गरेका थिए। श्यामल भन्थे, 'कृष्णभूषणलाई कविता लेखेरमात्रै पुग्दैनथ्यो। उनी त्यसलाई ध्वनिमा सोच्थे। कविता वाचन गर्दा उनी असाध्यै सचेत र संवेदनशील हुन्थे।'
कविमात्रै होइन रहेछन् उनी। देशान्तर साप्ताहिकमा कुनै बेला सुनाखरी लामाको छद्म नामबाट लेख्ने उनलाई प्रभावशाली स्तम्भकारका रूपमा चिन्ने अझै भेटिन्छन्। उनले एक दिन पढेर अर्को दिन मिल्काइने वा तरकारी प्याक गर्ने स्तम्भहरू लेखेनन्। तिनलाई आयु दिए।
पछिल्लो पटक मनु मञ्जिलको एकल कविता वाचनमा भाग लिन काठमाडौँ आएका बेला मैले कृष्णभूषणलाई गुरुकुलमा भेटेँ। उनले मनुको एउटा कविता पढे। पछि मैले सोधेँ, 'कार्यक्रम कस्तो लाग्यो दाइ?'
'अब के भन्नु मैले, चिसो भइसकेको काठमाडौँलाई मनुले तताएर गयो।' यसो भन्दा उनमा इर्ष्या, कुण्ठा कतै झल्कँदैनथ्यो। बरु उनी नयाँ पुस्ताको कवि र पाठक, श्रोताप्रति पूरै भरोसा गरिहेका थिए। उनले नेपाली कवितामा आशलाग्दा संकेतहरू गरेका थिए।
टीकारामको कायाकल्प
रविछेउको माल्टेनी त्यो बेला इलाम जिल्लापट्टि पर्थ्यो। कुनै एक नेताको चुनाव जित्ने आकांक्षाको सिकार बनेको सिंगै गाउँ पाँचथरमा गाभियो। त्यही माल्टेनी गाउँस्थित मावलीघरमा ६५ वर्षअघि टीकाराम तामाङ जन्मे। उनीपछि दुई बहिनी। त्यसलगत्तै आमा गुमाए उनीहरूले। टीकारामलाई आमाको अनुहार सम्झना पनि हुन पाएन। लगत्तै उनका बाले दोस्रो बिहे गरे। बहिनीहरू नाङरुङकै घरमा बसे। टीकारामलाई मावलमा हुर्काइयो, सावाँअक्षर चिनाइयो। अहिलेको रवि क्याम्पस र दुर्गा उच्च मावि त्यो बेला निमावि थियो। टीकारामले कक्षा ८ सम्म त्यहाँ पढे। टीकारामदेखि हामीसम्मलाई पढाउन भ्याएका गुरु लग्नप्रसादका अनुसार उनी पढाइमा मध्यम स्तरका विद्यार्थी भए पनि साहित्य र अतिरिक्त क्रियाकलापमा खुब चाख राख्थे।
माल्टेनी छाडेपछि टीकारामलाई बौद्धधामका नरबहादुर लामाले करफोक विद्यामन्दिरमा कक्षा ९ मा पढाए। पछि इलाम नाम्सालिङका देवी नेपालको संरक्षणमा इलाम बजार बसेका टीकारामले जिविसमा मुखियाको जागिर पाए। भुइँकुहिरोमा घरिघरि हराइरहने, भेटिइरहने बिरानो मान्छे टीकारामलाई त्यही इलामेली बसाइले कृष्णभूषण बनायो। अर्थात्, उनी कवि भए।
कृष्णभूषण बन्ने प्रक्रियाबाट गुज्रँदै टीकारामले एसएलसी भने काठमाडौँबाटै उत्तीर्ण गरे। त्यसपछि पुलिस हुने धुनमा काठमाडौँ आए। देवीको परिवारले 'यतिको चलाख केटो कहाँ पुलिस हुने, अझै पढ्नुपर्छ, लोकसेवाको जाँच दिनुपर्छ' भन्दै करायो। असईमा नाम निकालिसकेका उनीमाथि नयाँ अभिभावकले अधिकार गरे। उनको बाटो त्यही एउटा मायालु हप्कीले मोडियो। उनले लोकसेवा भिडे, नाम निकाले।
राष्ट्र बैंकको जागिर खाँदै कृष्णभूषणले बीएसम्म पढे, अधिकृत भए। साहित्य लेखन झाँगिदै गयो। उनी कृतघ्न थिएनन्। आफूलाई इलाममा गतिलो भर दिने, अगाडिको बाटो देखाउने देवी नेपालको परिवारलाई बाँचुन्जेल आदर्श मानिरहे। भनिरहन्थे, 'मैले बच्चामा बाआमाको माया पाइनँ, उहाँहरू नै हो मेरा बाआमा।'

...........

नेपालका कविहरूको स्वर्णयुग मानिदिए हुन्छ पञ्चायतका आँधीमय दिनहरू। जति अँध्यारो भयो, कविहरू उति उज्यालोको आह्वानमा जाग्दै जाने। कृष्णभूषण त्यही पञ्चायती व्यवस्थाविरुद्ध लेख्ने शक्तिशाली एक थिए। यता, अरुझैँ केही न केही आयस्ताले गर्जो टार्ने टीकाराम तामाङ पञ्चायती सरकारका कारिन्दामध्ये एक थिए। उता, पञ्चायतले थोपरेको स्वेच्छाचारिता र एकात्मक सत्ताविरुद्ध कवितामा आगो ओकल्ने कवि कृष्णभूषण त्यही व्यवस्थाका बाइप्रोडक्ट पनि थिए। उनी थिए प्रजातन्त्रका हिमायती, उनी थिए बीपी विचारका अनुयायी।
धेरै कविहरू अरु विधाका लेखकझैँ बाँचेको आभाससम्म दिलाउन नसकेर मरिरहेका छन्। मरेपछि कहिलेकाहीँ अखबारका दुई कोलममा बाँच्छन्। त्यो पनि कुनै स्तम्भकार वा टिप्पणीकारले 'राम्रो म' ढाँचाढर्राका बासी संस्मरणबाट फुर्सद निकालेमा। उनीहरूले बुझिराखून्, कृष्णभूषणको कवि भने अलि लामै बाँच्छ। पक्का छ, कृष्णभूषणको निधनसँगै अखबारका केही कोलम र परिशष्टांक उनका नाममा छापिनेछन्। उनीबारे सकिनसकी कन्दै भए पनि गीतहरू गाइनेछन्। त्यो गाउनेहरूको भिडमा उनलाई असाध्यै माया गर्ने शुभचिन्तक मात्रै हुने छैनन्। उनको शालीन व्यक्तित्व र ओजिला कविताहरूका इर्ष्यालु पनि थपिनेछन्। तिनले कृष्णभूषणका नाममा सकिनसकी ढोडका बैसाखीहरू टेकाउनेछन्। एक दिनकै लागि सही, भर्चुअल सालिकहरू उभ्याइनेछन्।
उनीहरूले पनि बुझिराखून्, केही दिन अखबारमा आइरहने श्रद्धाञ्जली, समवेदना र गुनगान निख्रेपछि फेरि सन्नाटा फैलिनेछ। त्यस सन्नाटाको बेला जे उब्रिएको हुन्छ, कृष्णभूषण त्योमात्रै हुन्।
जति पर्चा लेखे वा लेखाए पनि कवि बाँच्ने कविताले नै हो। कृष्णभूषण यसका अपवाद होइनन्। अरुजस्तै कृष्णभूषण पनि अनेक गुण र दोषसहितका सामान्य मान्छे थिए, तर सामान्य कवि थिएनन्। उनी जुन कुरा ३०-४० को दशकमा हरफहरूमा भन्थे, यहाँका नेताहरूले त्यही कुरा फरक राजनीतिक शब्दावलीमा फलाक्दैछन्।
'हिमाल', 'देश', 'नयाँ वर्ष' जस्तै 'काठमाडौँ' माथि कविता नलेख्ने को पो होला! कृष्णभूषण काठमाडौँ एक्लैले काठमाडौँ बोक्न नसक्ने, सिंगो नेपालको प्रतिनिधित्व गर्न नसक्ने कुरा त्यै बेलै गर्थे। उनको कविता देशको एजेन्डा बन्यो। आज नेताहरू त्यसैलाई संघीयता, स्वायत्तता, विकेन्द्रीकरण आदि भन्छन्- भलै काठमाडौँ बसिबसी किन नहोस्।
'काठमाडौँ प्रवृत्ति' सँग असहमत कृष्णभूषण सँगै बसिरहन सकेनन्। नभन्दै काठमाडौँसँग पारपाचुके गरे। मर्ने बेलासम्म विराटनगर बसे। उनी विराटनगर नै किन बसे? त्यो उनको कर्मथलो थियो र? कि कर्म दिने पिता देवी नेपाल बसेको सहर थियो?
जान्नेहरू भन्छन्, कृष्णभूषण कसैको कविता 'कविता' हो कि होइन, एक माइल परबाटै चिन्थे। दोहोर्‍याउँछु, कृष्णभूषण महामानव थिएनन्। बरु अरुझैँ तनाव, इर्ष्या, कुण्ठा, रीस जस्ता सीमासहितका मानिस थिए। उनी असामान्यरूपले सामान्य व्यक्ति थिए।
कसैले मलाई भनेको थियो, कृष्णभूषण साम्प्रदायिक चेत बढ्तै भएका व्यक्ति थिए। उनी आफैँचाहिँ 'नागरिक पूर्वेली' को स्तम्भ 'बिर्सौँ भन्छु सक्दिनँ' अघिल्लो हप्तासम्म जातीय द्वेष बढेर सामाजिक सन्तुलन खल्बलिएला कि भनी चिन्ता गरिरहेका थिए। पछिल्ला दिनमा उनको चर्चा साहित्यमा खासै भएन, किनकि उनी आफैँ पनि चर्चाभन्दा पर बसे। उनले अघिल्लो दशकमा दिएका एजेन्डामा रंगमञ्च बहस हुन थाल्यो। उनी नेपथ्यमा बसेरै कविताको पुर्पक्ष गरिरहे।
स्कुल पढ्दा गंगा सरले भनेझैँ भूपिपछिका थोरै तर सफल कविमध्ये एक उनी नरम भाषाले असाध्यै दुख्ने प्रहार गर्थे। उनी सुम्सुम्याएझैँ गर्थे। कालो व्यवस्थालाई त्यही नरम स्पर्श बिझाउँथ्यो। त्यसो त उनी चिया टिप्ने कन्यामे ठिटीको शब्दचित्र पनि उतार्थे। राजनीतिक कविता कवि कृष्णभूषणको व्यवसाय थिएन।
परशु प्रधानसँग मिलेर कृष्णभूषणले विराटनगर बसिबसी खोलेको वाणी प्रकाशनले गतिलो स्पेस बनायो। त्यसले विभिन्न शीर्षक र विधामा दिने वाणी पुरस्कारका लागि डेढ लाख जति रकम देवीले लगानी गरे, कृष्णभूषणकै आग्रहमा। कृष्णभूषणले त्यसमा एक लाख थपे र वाणी पुरस्कार घोषणा गरे।
कृष्णभूषणकै सोचअनुरूप आज देवीका मातापिताको नाममा 'कृष्णकुमारी मनोरथ नेपाल स्मृति वाणी पुरस्कार' स्थापित छ। वाणीको थुप्रै पुरस्कारमध्ये ३५ हजार एक सय ११ रुपियाँ राशिको पुरस्कार वर्षेनि सोही नाममा दिइन्छ। वाणी पुरस्कारको मूल राशि अहिले साढे चार लाख भइसकेको छ।
बौद्ध परिवारमा जन्मे पनि हिन्दूहरूको सान्निध्यमा पुगेका कृष्णभूषणको अनुराग दुवै धर्मप्रति थियो। उनको शवयात्रा पनि दुई परम्पराबाटै हुने भर्खरै सुनेँ। कविको शव पनि समाजलाई केही सन्देश र भोलिको समाजका केही संकेत छाड्दै पञ्चतत्वमा विलीन हुने भएको छ।
कृष्णभूषण हामीसँग छैनन्। उनका कविताले बहस गर्न सुम्पिदिएको समय अब हामीसँग छ।