Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

लैनचौर-गोल्फुटार सडक विस्तार सुरु

E-mail Print
(0 votes, average 0 out of 5)

अर्जुन सुवेदी, काठमाडौं, असार १७ - काठमाडौं उपत्यका सडक विस्तार अभियान अन्तर्गत शनिबार लैनचौरस्थित खानी विभागदेखि लाजिम्पाट, महाराजगन्ज हुँदै गोल्फुटारसम्मको सडक ओगटेर बनाइएका अतिक्रमित संरचना भत्काइएको छ।

स्थानीयबासीको विरोधका कारण तीन महिनादेखि अवरुद्ध 'लाजिम्पाट-बुढानिलकण्ठ' सम्मको सडक विस्तारको काम सरोकारवालाको सहमतिपछि शनिबार पुनः सुरु गरिएको हो।
प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभागले गत मंसिरमा थाले पनि लाजिम्पाटमा अवरोध भएपछि चैतदेखि रोकिएको थियो। यसअघि काठमाडौंका धेरै ठाउँमा सडक विस्तारको काम भए पनि 'लाजिम्पाट-बुढानिलकण्ठ' क्षेत्रमा धेरै संरचना भत्किने र क्षति बढ्ने हुनाले संरचना भत्काउने पटक-पटकको प्रयास असफल हुँदै आइरहेको थियो।
प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीका अनुसार शनिबार बिहान छ बजेदेखि साँझ पाँच बजेसम्म झन्डै चार दशमलव नौ किलोमिटर क्षेत्रका चार सय घरहटरा भत्काइएको छ। 'धेरैले चासोका रूपमा लिएको यो क्षेत्रको सडक विस्तारको कामअन्तर्गत सडक अतिक्रमण गरी मापदण्ड विपरीत बनाइएका झन्डै चार सय घर कम्पाउन्ड भत्काएका छौं,' तिवारीले भने, 'सडक विस्तार अभियानको कारण तत्काल उठिबास नलागोस् भनेर कम्पाउन्ड र बाहिर निकालेर बनाइएका सटर, टहरा मात्र भत्काएका हौं।' मापदण्ड विपरीत नहुँदा नहुँदै पनि सडक क्षेत्रमा परेका घरधनीलाई क्षतिपूर्ति दिइने उनले बताए।
बिहान छ बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमनमा रोक लगाई छ वटा डोजरको सहायतामा लैनचौरस्थित खानी बिहानदेखि भत्काउन सुरु गरिएको थियो। अभियानको विरोध गर्ने क्रममा केही समय प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो। घरहरू भत्काइरहँदा केही ठाउँमा घरधनीको रुवाबासी चलिरहेको थियो। बिहानैदेखि त्यस क्षेत्रमा विद्युत लाइन कटौती गरी सडकको दायाँबायाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने क्रममा होटल सांग्रिला, एम्बेस्डर होटल, खानेपानी कार्यालय, निर्मल निवास, माछापुच्छ्रे टावर, प्रहरी तालिम केन्द्र लगायतका महŒवपूर्ण संरचनाका कम्पाउन्डसमेत भत्किएका छन्। यसबाहेक, अमेरिकन, जापानी, अस्ट्रेलियन, डेनिस, फ्रेन्च दुतावासका कम्पाउन्ड समेत पर्ने तर ती संरचना भत्काउँदा ती देशको सहमति लिनुपर्ने भएकाले नभत्काइएको उपत्यका सडक विस्तार कार्यदलका सदस्य सचिव धनपति सापकोटाले बताए। 'सम्बन्धित देशलाई पर्खाल सार्न अनुरोध गरिसकेका छौं,' उनले भने, 'ती संरचना हामीले भत्काउन मिल्दैन, उनीहरू आफैं पर्खाल सार्छन्।' उनले पूर्वराजाले निर्मल निवासको कम्पाउन्ड सार्ने सहमति जनाइसकेकाले र भत्काउँदा त्यहाँको सुरक्षामा असर पर्ने भएकाले सांकेतिक रूपमा मात्र पर्खालको उत्तरपट्टिको थोरै भाग भत्काइएको बताए।
तिवारीले भने २०३३ सालपछि बनाइएका घर सडकका लागि तोकिएको ठाउँ नछोडी बनाइएका सबै घर मापदण्ड विपरीत हुने बताए। उनले यसअघि सडकलाई २२ मिटर फराकिलो पार्ने योजना भए पनि धेरै घर भत्काउनुपर्ने भएकाले तत्काल सडकलाई १८ मिटर मात्र फराकिलो पार्न लागिएको बताए। जसअनुसार अब सडकको बीच भागदेखि दायाँ नौ मिटर र बायाँ नौ मिटर फराकिलो हुनेछ।
तत्काल पूरै घर भत्काउँदा त्यहाँ बसेकालाई असजिलो हुने भएकाले अधिकांश घरको कम्पाउन्ड र बाहिरको भाग भत्काइएको सापकोटाले बताए। उनले भत्काइहाल्नुपर्ने घरमा माथिल्लो तलामा मान्छेलाई सार्न मिल्ने गरी तल्लो तलाको केही भाग भत्काइएको बताए। उनले अब केही दिनमा सूचना निकालेर भत्काउनुपर्ने सबै घरलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्ने बताए। 'पछि उनीहरूले नै भत्काउने सर्तमा धेरैजसो घरका कम्पाउन्ड, सटर र टहरा मात्रै भत्काएर छाडेका छौं,' सापकोटाले भने, 'अब दिइएको समयमा पनि हटेनन् भने फेरि डोजर चलाउँछौं।' उनले अब केही दिनमा भत्काइएका घरका सामग्रीले ओगटेका बाटो खाली गर्ने, विद्युतको पोल सार्ने काम सकिएपछि मात्र नयाँ ठाउँमा भत्काउन सुरु गर्ने बताए।
स्थानीयबासीले भने सरकारले विना क्षतिपूर्ति निरंकुश शैलीमा घर भत्काएर जनताको उठिबास लगाउन खोजेको आरोप लगाएका छन्। 'जनतालाई बस्ने ठाउँको व्यवस्था गर्ने दायित्व सरकारको हो तर उसैले निरंकुश शैलीमा उठिवास लगायो,' नारायण गोपाल बुढानिलकण्ठ बाटो विस्तार पीडित संघर्ष समितिका संयोजक दिपक केसीले भने, 'बिहानै आएर विनाखबर अर्काको सम्पत्तिमा डोजर चलाउँदा धेरैको बिचल्ली भएको छ।' उनले प्रहरीले घरधनीलाई दुर्व्यवहार गरेको आरोप लगाए।
महानगरीय प्रहरी परिसरले काठमाडौंले सडक भत्काउने क्रममा विरोध गर्दा पक्राउ परेका आठै जनालाई साँझ छाडिएको जनाएको छ। परिसरका प्रवक्ता धिरजप्रताप सिंहले सुरुमा केही अवरोध गर्ने प्रयास तिनलाई नियन्त्रणमा पछि कुनै अवरोध नभएको बताए। उनका अनुसार सडक विस्तार गर्ने क्रममा झन्डै नौ सय प्रहरी परिचालन गरिएको थियो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता