Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

ती दिन : जब जुद्दले ५ सयको सिक्का बक्सिस दिए

E-mail Print
(2 votes, average 5.00 out of 5)
नवीन अर्याल- कुरा १९८६ सालको। हरिप्रसाद रिमाल ४ वर्षका थिए। एकदिन उनकी दिदीले उनलाई नाटक देखाउन हाल दशरथ रंगशाला भएको ठाउँ, सानो टुँडिखेल लगिछन्। फुच्चे हरिप्रसादलाई त्यो नाटकले यति घत परेछ, उनको लत नै बस्यो, भागेर नाटक हेर्न जाने। हरिप्रसादको घर थियो, घरहरा नजिकै लगनमा। त्यतिबेला राणा प्रधानमन्त्री थिए, चन्द्रशमशेर। राणाजीहरू मनोरञ्जनका लागि भारतबाट उस्तादसँगै नाट्यकार पनि झिकाएर मन बहलाउँथे। यी उस्ताद धरहरा पछाडि राणाजीकै महलको पटांगिनीमा बस्थे।
हरिप्रसाद मौका पायो कि दगुरेर धरहरा पुग्थे। उस्तादहरूसँगको सम्पर्कमा पुगेपछि एकजना उस्तादलाई लागेछ- फुच्चे हरिप्रसादमा केही दम छ।


तर, हरिप्रसादका बुवा घनश्यामलाई केही दिनमै थाहा भयो- आफ्नो छोरा दैनिक उस्तादहरूको सम्पर्कमा छ। उनलाई लागेछ- अब छोरो बिग्रियो। उनले काँच्चै खाएछन्। बुवाको हप्काइले सातो उडेको हरिप्रसादका लागि त्यसदिनदेखि धरहरामा नाटक तथा संगीत सिक्ने सबै बाटो बन्द भयो।
१९९३ सालमा ११ वर्ष उमेरमा उनी पहिलो पल्ट दरबार स्कुल भर्ना भए। त्यतिबेला चन्द्रशमशेर मात्र होइन, उनका भाइ भीमशमशेरको मृत्यु भएर जुद्दशमशेर प्रधानमन्त्री भइसकेका थिए।
जुद्द यति विलासी प्रधानमन्त्री थिए, उनका पाँच जना भित्रिया रानी थिए। बाहिरिया कति हो कति! जुद्दको सोख नै थियो, साँझ ४-५ बजेतिर हात्ती चढेर सहर घुम्ने। जतिबेला उनी सिंहदरबारबाट बाहिर निस्कन्थे, उनको गलामा बेलीको फूल हुन्थ्यो। हात्तीको पछाडि बाहुनहरूको दौडधुप नै चल्थ्यो, वेद पाठ गर्दै। जुद्दले बाटोमा कसैसँग कुरा गर्नुपर्‍यो वा केही हेर्नुपर्‍यो भने यी बाहुनलाई हातले इसारा गर्थे। त्यसपछि सबै चुपचाप। जुद्दको अर्को सोख पनि थियो, नाटक हेर्ने। उनी आफ्नै दरबारमा नाटकका लागि निम्तो दिन्थे।
......
दरबार स्कुलमै पढ्दा हरिप्रसादको सम्बन्ध झांगिन पुगेछ, नाट्यसम्राट बालकृष्ण समसँग। सम त्यतिखेर दरबार स्कुलमा नेपाली मात्र पढाउँदैनथे, नाटक पनि सिकाउँथे। दुई वर्षकै अन्तरालमा हरिप्रसाद समको यति नजिकैका विद्यार्थी बन्न पुगेछन्, १९९५ सालमा समले 'मुकुन्द इन्दिरा' निर्देशन गर्दा जगेडा कलाकारका रूपमा उनलाई पनि यो नाटकमा समावेश गरे। 'मुकुन्द इन्दिरा' नेपाली भाषामा मञ्चन भएको नेपालको पहिलो नाटक हो। यसअघि नेपालमा नाटक त हुन्थ्यो तर, हिन्दी र उर्दुमा। त्यतिबेला किशोर हरिप्रसादलाई आफ्नो नाटकमा समावेश गर्ने समको उद्देश्यको पछाडि अर्को पनि कारण थियो। हरिप्रसाद सानैदेखि सुरिला थिए। समलाई लागेछ, नाटकमा गीतको आवश्यकता भयो भने हरिप्रसादले फत्ते पार्छन्।
'मुकुन्द इन्दिरा' सिंहदरबारको स्टेजमा बेलुका बत्तिको तेजिलो प्रकाशमा पहिलोपल्ट मञ्चन भयो। यतिबेला नाटक हेर्न श्री ३ महाराज जुद्दशमशेरका सारा सन्तानमात्र होइन, रोलवाला जर्नेलदेखि कर्नेलसम्म सिंहदरबार पुगेका थिए। नाटक सकिएपछि जुद्दले समको नाट्य टोलीलाई २-३ सय रुपैयाँ बक्सिस दिएका थिए। यो नाटकमा हरिप्रसादको संलग्नता मात्र रह्यो। समले सोचेजस्तै गाउने अवस्था आएन।
......
१९९६ सालमा समले दोस्रो नाटक 'प्रह्लाद' मञ्चन गरे। यसमा भने हरिप्रसादको छोटो भूमिका रह्यो। तर, उनको अभिनय यति बुलन्द थियो, नाटक सकिएपछि प्रधानमन्त्री जुद्दले उनलाई बोलाएर ५ सय असर्फी बक्सिस नै दिए। उनलाई बक्सिस पाएको चाँदीको सिक्का घर लैजान हम्मे-हम्मे परेको थियो। सिक्का साढे पाँच किलोको थियो।
'मैले त्यो पैसा बल्ल-बल्ल घर पुर्‍याएको थिएँ,' ७३ वर्ष पुरानो कुरा सम्झन्छन्, हरिप्रसाद रिमाल। त्यतिबेला १ धार्नी मासुको दाम थियो, १ रुपैयाँ २० पैसा। १४ वर्षे हरिप्रसादका लागि त्यतिबेला यो पैसा यति धेरै थियो, उनका बाबु पनि छोरोको सफलता देखेर चकित थिए। फुच्चे हरिप्रसादलाई त्यतिबेला जुद्दले बक्सिस दिनुको कारण छ। 'प्रह्लाद' नाटकमा हरिप्रसाद प्रह्लादका साथी 'फेन' को भूमिकामा थिए। उनलाई समले नाटकमा एउटा गीतको श्लोक भन्ने भूमिका दिएका थिए, जसको बोल थियो :
हानी छ के परमेश्वरलाई
कोही उनको शत्रु बनोस् नबनोस्
लाभ के छ परमेश्वरलाई
कोही उनको मित्र बनोस् नबनोस्
साक्षी जगतका हुन् उनी हेर्छन् ती फल्दो कर्मफल
लिन्नन् ती लुच्चो पापीको फल
कोही घुस छरोस् नछरोस्।

हरिप्रसादले यो श्लोक सिंहरदरबारभित्र स्टेजमा यति गज्जबले भनेछन्, उनको अभिनयबाट प्रभावित जुद्द त्यसै बस्नै सकेनन्। उनले घोषणा गरिदिए, बक्सिसबापत हरिप्रसादलाई ५ सय रुपैयाँको सिक्का दिने। समले त्यो श्लोक 'प्रह्लाद' मार्फत राणाहरूको अत्याचारी शासनविरुद्ध लेखेका थिए। तर, विलासी प्रधानमन्त्री जुद्दले बुझुन् कसरी!
'जुद्दलाई थाहै भएन। उनलाई गीतको भाका मन परेछ। उल्टै बक्सिस पो दिए,' ८७ वर्षे हरिप्रसाद भन्छन्।
.....
'प्रह्लाद' को सफलतापछि समले ९७ सालमा अर्को नाटक पनि लेखिभ्याए, 'अन्धवेग'। तर, त्यसको तयारी हुन नपाउँदै नेपाली राजनीतिमा ठूलो हलचल आयो। राणाविरोधी अभियानमा समातिएका दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको हत्या भयो। त्यतिबेला हरिप्रसाद दैनिक बिहान बाग्मतीमा नुहाउन जान्थे। एकदिन यस्तै बिहान बाग्मती गएको, पुलिसले लखटेछ। उनी हैरान। कहिले अवरोध नभएको ठाउँमा पुलिस। उनले घर फर्केर बुवालाई सुनाएछन्। त्यसपछि पो थाहा भयो, त्यही रात दशरथ चन्द र गंगालाललाई बाग्मतीमा गोली ठोकिएको रहेछ।
हरिप्रसादले त्यसदिनदेखि बाग्मतीमा नुहाउनै छाडिदिए। पुलिसले धरपकड गर्दा अर्को तथ्य पनि बाहिर आएछ। राणाविरोधी आन्दोलनमा नाटक खेल्ने थुप्रै कलाकार तथा उनीहरूका आफन्त सम्मिलित रहेछन्। त्यसपछि नाटक खेल्ने त के, देखाउने परम्परा पनि बन्द भयो। यसअघि कम्तिमा गाईजात्राको दिन पारेर ७-८ दिन नाटक देखाउने छुट थियो, सर्वसाधारणलाई।
'राणा भए पनि सम पहिले नै राणाविरोधी आन्दोलनमा लाग्नुभएको रहेछ। उहाँको संगतले मेरा दाजु गोपालप्रसाद रिमाल पनि क्रान्तिमा होम्मिइसक्नु भएको रहेछ,' उनी भन्छन्।
नाटक देखाउन प्रतिबन्ध लागेपछि समयले आफ्नै अगुवाइमा गौरीशंकर नाट्य समूह स्थापना गरेका थिए। त्यसमा दाजु गोपालमात्र होइन, हरिप्रसाद पनि थिए। यही समूहले प्रजातन्त्र नआउँदासम्म राणाहरूबाट स्वीकृति लिएर तीन वटा नाटक मञ्चन गर्‍यो। अझ, हरिप्रसादले आफ्नै निर्देशनमा २००३ सालमा नेवारी भाषाको पहिलो नाटक मञ्चन गरे, 'छगु रात' (एक रात)।'
हरिप्रसादले छ दशकको रंगमञ्च यात्रामा करिब २ सय नाटक खेल्न भ्याए। दुई दर्जन फिल्म खेले। सयौं गीतमा सुमधुर आवाज दिए।
२००४ सालमा 'रतन' नाटक मञ्चन गर्नुअघि हरिप्रसादहरूलाई महिला पात्र चाहिएछ। त्यसअघिसम्म सार्वजनिक स्थानमा महिला पात्र प्रयोग भएको थिएन, नेपाली नाटकमा। यतिबेला राणा प्रधानमन्त्री थिए, पद्मशमशेर। उनी अन्य प्रधानमन्त्रीको तुलनामा आफूलाई सुधारवादी देखाउने अभियानमा सक्रिय थिए। त्यसैले हरिप्रसादलाई एउटा जुक्ति सुझेछ- पद्मका लागि किन निवेदन नहाल्ने?
उनले आफ्ना साथी श्यामदास र अर्का एक मित्रसँग मिलेर विन्तीपत्र हालेछन्- 'सरकार, बाहिर आइमाई बिक्री हुन्छन्। विदेश पलायन हुन्छन्, त्यसैले किन उनीहरूलाई यहीँ अवसर नदिने?'
विन्तीपत्र हेरेपछि पद्मले तत्कालै आदेश दिएछन्- 'अभिभावक मान्छन् भने उनीहरूको स्वीकृति लिएर अभिनय गराउनू।'
स्वीकृति त पाइयो तर अभिनय गराउने कसलाई? लामै बुद्धि खियाएपछि उनीहरूले फकाएछन्, बुद्धिमाया महर्जन नाम गरेकी युवतीलाई। त्यो पनि एउटा लोभ देखाएर। ती युवती त्यतिबेला डिल्लीबजारमा 'कुते' नामले चर्चित एक युवकको प्रेममा रहिछन्। हरिप्रसादहरूले ती युवतीलाई उनले मन पराएको केटोसँगै बिहे गरिदिने वचन दिँदै नाटकमा अभियन गराउन राजी गरेछन्। 'नाटक सकिएपछि उसलाई बिहेका लागि हामीले २ तोला सुन किन्देका थियौं। त्यतिबेला १ सुन तोलाको १ सय ५ रुपैयाँ थियो,' हरिप्रसाद सम्झन्छन्।

 

पहिला गायक
२००७ मा प्रजातन्त्र उदयसँगै काठमाडौंमा स्थापना भएको रेडियो नेपालबाट पहिलो गीत गाउने सौभाग्य पाएका थिए, हरिप्रसाद रिमालले। उनको पहिलो गीत थियो, 'मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ।'
त्यतिबेला रेडियो नेपालमा संगीतको वाद्यवादन थिएन। उनले विजय मल्लका बुवा ऋद्धिबहादुर मल्लको घरबाट हारमोनियम ल्याएर गीत गाएको थिएँ। हरिप्रसादको गीतको त्यतिबेला ठूलो क्रेज थियो। २००८ सालताका रेडियो नेपालले उनको गीत प्रसारण गर्नुअघि नै सूचना दिन्थ्यो-
तपाईंहरूको काम बिग्रन जाला, हरिप्रसाद रिमालको गीतको प्रोग्राम भएको दिनमा आफ्नो रेडियोको करेन्ट छुटाइराख्नुहोला, नत्र उहाँको सुमधुर आवाजको चुम्बकले खिचेर तपार्इंलाई काममा जान दिने छैन।
हरिप्रसादको 'फगत एक नजरमा', 'विनाबादल असिना झर्दैन', 'पवनले फूललाई', 'न त सम्झनु न त बिर्सनु', 'आँसु बहाऊ उता तिमी', 'कल्ले कल्ले', 'जाऊँ हामी बादल पारि' जस्ता दर्जनौं सदावहार गीत अहिले पनि उत्तिकै रुचिसाथ सुन्ने गरिन्छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता