Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

धैर्यशाली प्रजातान्त्रिक योद्धा सू ची

E-mail Print
(1 vote, average 1.00 out of 5)
सुशील पोखरेल- 'सन् १९१८ मा उडरो विल्सन, सन् १९३१ मा महात्मा गान्धी, सन् १९९० मा नेल्सन मन्डेला र सन् २०१२ मा एक धैर्यशाली वीर महिला', आङ सान सू ची लन्डन पुग्दा बेलायतको अखबार गार्जियनले लेख्यो। सू ची पूर्व ती नेताको पनि लन्डनले यसैगरि भव्य स्वागत गरेको थियो।

सर्बाधिक उपनिवेश बनाएर कुनै समय साम्राज्यवादी कहलिएको मुलुक ग्रेट ब्रिटेन पछिल्लो समय स्वतन्त्रता, न्याय र समानताका पक्षमा उभिने गरेको छ। सन् १८६४ मा इटालीको एकिकरणमा लागिपरेका योद्धा गरिबाल्डीलाई हृदय खोलेर स्वागत गरेको बेलायती राजधानी लन्डनले जुन २०१२ मा त्यसैगरि प्रजातन्त्रवादी बर्मेली नेतृ आङ सान सू चीको भव्य स्वागत गर्‍यो।
९० को दशकमा प्रजातन्त्र र समानताका प्रतिक बनेका थिए- नेल्सन मन्डेला। मन्डेलापश्चात् प्रजातन्त्र पुनसर््थापनाको संघर्षको आगोमा खारिएकी सू ची प्रजातन्त्रको पर्याय बनेकी छिन्। गार्जियनले यसो भन्नु सर्वथा उचित थियो। बेलायती अखबारले उनलाई वर्तमान दसकको मदर टेरेसा र नेल्सन मन्डेला स्वरुप तपस्वीका रुपमा उल्लेख गरेका छन्। प्रिन्स चार्ल्स, विलियम हेग, हिलारी क्लिन्टन र डेभिड क्यामरुन उनको सानिध्यमा पुलकित थिए। उनीहरु सू चीबाट अजस्र उर्जा पाइरहेका थिए। नर्वेमा उनले नोबेल ग्रहण गरिन् र वक्तव्य दिइन्, जुन २१ वर्ष पहिले हुनु पर्ने थियो।
२० जुलाई १९८९ देखि त्यहाँको सैनिक शासनले नजरबन्द गरिएकी उनी १५ वर्षभन्दा बढी समय अधिकांस घरमा थुनिएर बस्न बाध्य भइन्। सैनिक शासक बर्मालाई संसारबाट एक्ल्याएर बस्न र आर्थिक नाकाबन्दी सहन तयार भए तर उनलाई मुक्त गर्न र मुलुकमा प्रजातन्त्र पुनर्बहाली गर्न तयार भएनन्। अमेरिका, युरोपेली लगायत संसारका प्रजातन्त्रमा आस्था राख्ने मुलुकदेखि संयुक्त राष्ट्र संघसम्मको निरन्तर दबाब र प्रजातन्त्रप्रतिको निर्भिक धैर्यशाली अडानका कारण सैनिक शासनले उनलाई १३ नोभेम्बर २०१० मा नजरबन्दबाट मुक्त गर्‍यो।
उनलाई मुक्त गरेपछि बर्माका जेलमा थुनिएका राजनीतिक बन्दीलाई रिहा गरिए पनि त्यहाँ अझै धेरै बन्दी थुनामा छन्। तीनलाई अभियोग विनै थुनामा राखिएको छ।
स्वाधिनता संग्रामका नायक जनरल आङ सानका घरमा सन् १९४५ जुन १९ मा माता खिन यीको कोखबाट सू चीको जन्म भएको हो। उनका एक दाजु र एक भाइ थिए। उनका जनरल पिताले बर्माको बर्तमान सेनालाई आधुनिकीकरण गरेका थिए। उनी दुई वर्षकी हुँदा उनका पिताको हत्या गरिएको थियो।
१५ वर्षको उमेरसम्म बर्मामै अध्ययन गरेकी उनले भारतको नयाँ दिल्ली विश्वविद्यालयमा राजनीति अध्ययन गरेकी छिन्। त्यसबेला उनकी आमा खिन यि भारत र नेपालका लागि राजदूत पदमा नियुक्त थिइन्। त्यसपछि उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्रमा स्नातक पूरा गरिन्। अक्सफोर्डमा अध्ययनताका उनको भेट माइकल एरिससँग भयो र उनले सन् १९७२ मा माइकलसँग विवाह गरीन्। उनका दुई छोरा छन् एलेक्जेन्डर र किम।
न्यु योर्कस्थित संयुक्त राष्ट्र संघको सचिवालयमा दुई वर्ष काम गरेकी उनले केही वर्ष भुटानमा रिसर्च अफिसरका रुपमा समेत काम गरीन्। जापानको क्योटो विश्वविद्यालयमा पनि केही समय उनी आबद्ध भइन्।
बर्माको राजनीतिमा अचानक जोडिन पुगीन् सन् १९८८ मा उनी। उनी बिरामी आमाको हेरचाह गर्न त्यस वर्ष बर्मा फर्केकी थिइन्। उनी रंगुनमा भएकै समय सैनिक शासकविरुद्ध त्यहाँका विद्यार्थीले मार्चमा राजधानीमा आन्दोलन सुरु गरे। आन्दोलन चर्किएपछि जनरन ने विनले २६ वर्ष लामो सत्ता त्यागे। ने विनको सत्ता अवतरणपछि आन्दोलन राष्ट्रव्यापि भएर प्रजातान्त्रिक आन्दोलनको स्वरुप लियो। १९८८ अगस्ट ८ मा सडकमा उत्रेका लाखौं आन्दोलनकारीमाथि सेनाले गोली प्रहार गर्‍यो। सेनाको हिंसात्मक दमनमा ५ हजारभन्दा धेरै आन्दोलनकारी मारिए।
आन्दोलनकारीमाथिको दमन र हत्या गरिँदा स्वतन्त्रता संग्रामको योद्धाकी छोरी सू ची कसरी चुपचाप बस्न सक्थिन्। अगस्ट २६ मा सू चीले प्रसिद्ध स्वेदागन प्यागोडा अगाडि भेला भएका पाँच लाखभन्दा धेरै मानिसलाई सम्बोधन गरीन्। उनले बर्मामा प्रजातन्त्र वहाल गर्न र प्रजातान्त्रिक सरकार गठनको माग गरीन्। त्यसपछि १९८८ सेप्टेम्बर २४ मा बर्मामा एक नयाँ प्रजातान्त्रिक पार्टी गठन भयो- नेस्नल लिग फर डेमोक्रेसी। सू ची पार्टीकी महासचिव नियुक्त भइन्। स्वतन्त्रता र प्रजातन्त्र पुनर्बहालीको माग गर्दै जनमानसमा उर्जा र उत्साह थप्ने अभिव्यक्ति दिनु उनको दिनचर्या हुन पुग्यो। विद्यार्थीले राजधानी रंगुनमा सुरु गरेको प्रदर्शन मुलुकभर राजनीतिक आन्दोलनमा बदलियो।
सैनिक शासकले निर्ममतापूर्वक आन्दोलन दबाउन प्रयत्न गरे। दमन क्रममा सयौं आन्दोलनकारीको मृत्यु भयो। उनको राजनीतिक सक्रियतामा बर्मेली जनता एकजुट हुन थाले। आन्दोलन मत्थर नहुने छाँट देखेर सैनिक जुन्ता शासनले उनलाई २० जुलाई १९८९ मा मार्शल ल अर्न्तगत रंगुनस्थित उनकै घरमा तीन वर्ष विना अभियोग नजरबन्द गर्‍यो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब थेग्न नसकेपछि सन् १९९०मा सैनिक सरकारले आम निर्वाचन गरायो। उनी निर्वाचनको प्रचारप्रसारमा दिनरात खटिन्। उनलाई सरकारले चुनावमा उठ्न दिएन। नेसनल लिग फर डेमोक्रेसी(एनएलडी)का हजारौं कार्यकर्तालाई थुनामा हालियो। तर पनि एनएलडीले संसदमा ८२ प्रतिशत सिट जित्यो। तर सैनिक शासनले चुनाव परिणाम अस्विकार गर्‍यो र निर्वाचित पार्टीलाई सत्ता हन्तान्तरण गरेन। यतिबेलासम्म उनी प्रजातन्त्रको संघर्षका निम्ति मुलुकबाहिर चिनिइसकेकी थिइन्। सैनिक सरकारले कानुन फेरबदल गर्‍यो र उनलाई कुनै मुद्दा नचलाई फेरि पाँच वर्ष थुनियो।
यसैबीच १४ अक्टोबर १९९१ मा सू चीलाई स्वतन्त्रता र प्रजातन्त्र प्राप्तीको संघर्षलाई कदर गर्दै त्यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा भयो। उनलाई सरकारले छोडेन र पतिले उनका तर्फबाट नोबेल पुरस्कार ग्रहण गरे। पाँच वर्षको नजरबन्दपछि सन् १९९५ मा उनलाई मुक्त गरिए पनि भ्रमण गर्न रोक लगाइयो। क्यान्सरग्रस्त एरिसले उनीसँग अन्तिम भेट गर्न मागेको अनुमति सरकारले अस्विकार गर्‍यो। लन्डनमा सन् १९९९ मार्च २७ मा एरिसको निधन भयो। जुन्ता सरकार सू ची परिवारसँग बस्न विदेश जाउन् भन्ने चाहन्थ्यो। उनी परिवार भेट्न देशबाहिर गए उनलाई बर्मा प्रवेशमा प्रतिबन्ध लगाउने सरकारको दाउ बुझेर उनी बर्मामै बसिन्।
उनले भ्रमणमा लगाइएको मुलुकका विभिन्न स्थानमा राजनीतिक भेटघाट गर्न प्रतिबन्ध तोड्ने बारम्बार प्रयास गरेपछि सन् २००० मा फेरि सरकारले उनलाई घरमै नजरबन्द गर्‍यो। संयुक्त राष्ट्र संघले उनका मामिलामा चासो राखेर सैनिक सरकामाथि दबाब सिर्जना गरेपछि सन् २००२ मा उनलाई नजरबन्दबाट मुक्त गरी भ्रमण प्रतिबन्ध फुकुवा गरीयो। तर सैनिक सरकारले प्रतिपक्षीसँग दोहोरो राजनीतिक संवाद गरेन।
यस्तो परिस्थितिमा सू ची धैर्यपूर्वक मुलुक भ्रमण गर्न लागिन्। सैनिक सरकार उनलाई जनताले बिर्सिसके भन्ने सोचमा थिए। तर भयो ठीक उल्टो, उनी जहाँ जान्थिन् उनको कुरा सुन्न र हेर्न हजारौं मानिस भेला हुन्थे। सरकारले उनलाई हतोत्साहित पार्न एक राजनीतिक समूह खडा गरी उनका भेलाहरूमा आक्रमण गर्न लगायो। उनीमाथि ज्यानै लिने गरी आक्रमण भए। उनी जसोतसो बाँचे पनि एनएलडीका ७० भन्दा बढी कार्यकर्ता मारिए। उक्त घटना देपायिन नरसंहारका रुपमा कुख्यात छ। नरसंहारको छानबिन गर्न राष्ट्र संघले जति नै अपिल गरे पनि कहिल्यै गरिएन। तिनै सरकारी र राजनीतिक समूहलाई सैनिक राष्ट्रपति थान स्वेले सन् २०१० को आम निर्वाचनमा भाग लिन दलमा परिणत गरे।
सन् २००७ मा उठेको आन्दोलनको ज्वारभाटाले त्यहाँका भिक्षुहरू समेत प्रजातन्त्रको माग गर्दै सडकमा ओर्ले। स्याफ्रोन रिभोल्युसनका नामले प्रसिद्ध भिक्षुहरूको उक्त शान्तिपूर्ण आन्दोलनलाई पनि सरकारले नृशंस दमन गर्‍यो र धेरै भिक्षु मारिए।
चारैतिर उनको लोकप्रियता बढेको देखेर सरकारले उनलाई फेरि कडा नजरबन्दमा राख्यो। उनलाई सञ्चार सम्पर्क विहीन तुल्याइयो। कसैसँग भेटघाट गर्न प्रतिबन्ध लगाइयो। राजनीतिक/कुटनीतिक भेटघाट गर्न दिइएन। राष्ट्र संघका महासचिव बान कि मुन बर्मा भ्रमणमा जाँदा उनलाई समेत सू चीसँग भेट गर्न दिइएन।
सन् २००९ मा नजरबन्द समाप्त हुनुपहिले उनलाई नजरबन्दको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएर तीन वर्ष कैद गरियो। यस विरुद्ध बर्माभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को विरोध भएपछि कैद १८ महिनामा घटाइयो।
आम निर्वानमा भाग लिन उनलाई प्रतिबन्ध लगाइयो र एनएलडीलाई प्रतिबन्धित गरियो। विश्वभरिका मानिसलाई 'तपाईंहरूको स्वतन्त्रतालाई बर्मेली जनताको स्वतन्त्रता प्राप्तीका लागि प्रयोग गर्नुहोस्' आह्वान गर्ने उनलाई सैनिक सरकारले अन्ततः १३ नोभेम्बर २०१० मा नजरबन्द मुक्त गर्‍यो।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता