अरुणालाई हङकङ 'चीफ एक्जिक्युटिभ' अवार्ड

Sunday, 01 July 2012 16:31 नागरिक
Print
(0 votes, average 0 out of 5)

हङकङ, असार १७ (नागरिक)- सामुदायिक सेवामा योगदान पुर्‍याएको भन्दै हङकङ सरकारले अरुणा गुरुङलाई 'चीफ एक्जिक्युटिभ' अवार्डले सम्मान गरेको छ। बेलायतबाट हङकङ चीनलाई हस्तान्तरण गरिएको १५ औँ वर्षगाँठको अवसरमा गुरुङ सहित सरकारले दुई सय ९५ जनालाई पदक र अवार्डले सम्मान गरेको हो।

शनिबार प्रकाशित हङकङ सरकारको गाजेटमा गुरुङलाई 'चीफ एक्जिक्युटिभ कमेण्डशन फर कम्युनीटि सर्भिस' अवार्डले सम्मान गरिएको उल्लेख छ। हङकङ चीनलाई हस्तान्तरण गरिएको दिन जुलाई १ मा घोषणा गरिएको अवार्ड चीनको 'नेशनल डे' अक्टोबर १ मा हङकङका नयाँ कार्यकारी प्रमुखले प्रदान गर्नेछन्।

हङकङकै ड्रागन एयरकी 'इनफ्लाइट सर्भिस म्यानेजर' अरुणा गुरुङ करिब एक दशकयता सामाजिक काममा पनि सक्रिय छिन्। सरकारले उनलाई नेपालीहरूको बाक्लो बसोबास रहेको याउचिमङ जिल्लामा गृह मन्न्त्रालय अर्न्तगतको एरिया कमिटिमा दुई वर्षका लागि हालै नियुक्त गरेको थियो। यसअघि उनी गृह मन्त्रालय अन्तर्गतकै जातीय सद्भाव प्रवर्द्धन समिति र सार्वजनिक मामिला फोरमको सदस्य थिइन। अन्य विभिन्न सरकारी तथा गैर सरकारी निकायमा रहेर गुरुङले नेपाली लगायत अल्पसंख्यक समुदायको प्रवर्द्धनमा भूमिका खेलेकी छिन्।

गतवर्ष हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट 'कस्टमर सर्भिस एक्सिलेन्स अवार्ड' ले सम्मानित गुरुङले यसवर्ष सरकारबाटै सम्मानित हुँदा निकै उत्साह जागेको बताइन। '१५ औँ वर्षगाँठको अवसरमा सरकारबाट सम्मानित हुँदा विशेष गौरवको अनुभूती भइरहेको छ', गुरुङले भनिन, 'मलाई दिइएको यो अवार्ड हङकङका सम्पूर्ण नेपाली समुदायलाई गरिएको सम्मानको रुपमा लिएको छु।'

विभिन्न सामाजिक कार्यमा संलग्न नेपालीहरू मध्येबाट सरकारले प्रायः हरेक वर्ष एक जनालाई सम्मान गर्दै आएको छ। गत वर्ष अरुणाकै श्रीमान् कुलप्रसाद गुरुङ सहित अहिलेसम्म पाँच जना नेपालीले यो अवार्ड पाइसकेका छन्।