बाढीमा परी पचपन्नको ज्यान गयो

Wednesday, 27 June 2012 13:57 नागरिक
Print
(0 votes, average 0 out of 5)

चटगाउँ (बङ्गलादेश), १३ असार (एएफपी)- मनसुनी वर्षासँगै बङ्गलादेशमा आएको बाढीमा परी कम्तीमा पनि ५० जनाको मृत्यु भएको छ। गएको तीन दिनदेखि लगातार परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा बाढीमा परी आजसम्म बिहानसम्ममा ५० जना भन्दा बढी व्यक्तिको ज्यान गएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
बाढीका कारण बङ्गलादेशका विभिन्न क्षेत्रको यातायता सेवा अवरुद्ध भएको छ भने आवश्यक भौतिक संरचनामा क्षति पुर्यावएको बताइएको छ। यसले कतिपय स्थानमा सरकारी कार्यालयहरु सञ्चालनमा पनि बाधा उत्पन्न भएको छ ।

बङ्गलादेशको दक्षिण पश्चिमी क्षेत्र चटगाउँ र छिमेकी गाउँहरुमा सो बाढीको प्रकोप देखिएको हो। सो क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको र त्यसमा परी कयौं नागरिक हराइरहेका छन् बेपत्ता भएकाहरुको बारे थप जानकारी अहिलेसम्म आएको छैन ।
सरकारले बाढी र पहिरोमा परेकाहरुको उद्वारका लागि सेना र प्रहरी खटाएको छ। अबिरल वर्षा र बाढीका कारण उद्वारको कार्यमा कठिनाइ भइरहेको छ।
प्रमुख प्रशासक सिराजुल हक खानका अनुसार सो चटगाउँ जिल्लाको कोक्स बजारमा २६ जनाको शव फेला परेको छ। सो क्षेत्रमा अरुपनि कयौं नागरिक हराइरहेकोले खोजी कार्य जारी नै रहेको खानले बताए ।

यसैगरी बन्दरबन जिल्लामा पनि बाढी र पहिरोको प्रकोप देखापरिरहेको छ। सो क्षेत्रमा गएका विभिन्न स्थानका पहिरोहरुमा परेका २५ जनाको शव पनि उद्वारकर्मीहरुले प्राप्त गरेका छन् ।

उद्वारकार्यमा खटेका अहमदले दिएको जानकारीअनुसार भारी वर्षाका कारण आएको बाढीका कारण उद्वार गर्न नसक्दा एकै परिवारका कम्तीमा १२ जनाको ज्यान गएको छ।

चटगाउँस्थित साह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमाबाट हुने सबै उडान प्रभावित भएको छ। हिजो अपरान्हदेखि नै सो विमानस्थलबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उड्डयनहरु स्थगित भएको हो । सो क्षेत्रमा रहेको रेलमार्गको पुल भत्किएकपछि यातायात सेवा अवरुद्ध भएको छ।