Nagarik News Blog

Nagarik News Blog


राजा महेन्द्रको राज्याभिषेकमा सहभागी हुन आएका भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन् काठमान्डु विमानस्थलमा उत्रिएर सोझै आफ्ना लागि तयार पारिएको शाही अतिथिगृहमा आराम गर्न गएनन्, बरु उनले आफ्नो सवारी शिवपुरी बाबाको आश्रमतिर अघि बढाउन निर्देशन दिए।

विमानस्थलबाट पाँचै मिनेटमा पुगिने आश्रममा शिवपुरी बाबासँग भेटेर सामान्य औपचारिकतापछि राधाकृष्णन्ले सोधे, 'तपाईं के सिकाउनुहुन्छ?'

बाबाले भने, 'म तीनवटा अनुशासन सिकाउँछु– शारीरिक, नैतिक र आध्यात्मिक।'

राष्ट्रपति छक्क परे, 'सम्पूर्ण सत्य यति थोरै शब्दमा?'

बाबाले जवाफ दिए, 'हो।'

अचम्मित राष्ट्रपतिले आफ्ना साथीहरूतिर फर्केर भने, 'ओहो, सम्पूर्ण सत्य यति थोरै शब्दमा!'

यो २०१२ साल चैतको घटना थियो, जतिखेर शिवपुरी बाबा १ सय ३० वर्षका थिए र राधाकृष्णन् ६८। शिवपुरी बाबाले भक्तहरूलाई बताएअनुसार उनको जवाफपछि अनुहारमा लाज र भय पोतिएका राष्ट्रपतिले करिब १५ मिनेट लगाएर स्वधर्मको यो शिक्षा आफ्ना साथीहरूलाई व्याख्या गरे।

भेट्दा नमस्कारमात्र गरेका राष्ट्रपतिले फर्कने बेला शिवपुरी बाबालाई पाउमै ढोगे। राधाकृष्णन्लाई लाज के कारण लागेको थियो भने दर्शनशास्त्रको ठूलो ज्ञाता भएर पनि जीवनको मूलमा के छ भन्ने उनले त्यतिञ्जेल थाहै पाएका रहेनछन्। भयचाहिँ जीवनको उत्तरार्द्धमा थाहा पाएको स्वधर्मको ज्ञान आफ्नो जीवनमा लागू गर्न सक्दिनँ कि भनेर उठेको थियो।

सत्य साक्षात्कार गर्न शारीरिक, नैतिक र आध्यात्मिक अनुशासन पालनाको यही शिक्षालाई शिवपुरी बाबा भनेर चिनिने गोविन्दानन्द भारतीले स्वधर्म अर्थात् सम्यक जीवन अर्थात् 'राइट लिभिङ'का रूपमा व्याख्या गरेका छन्।

काठमान्डु विमानस्थलबाट मुस्किलले एक किलोमिटर टाढा रहेको त्यही आश्रममा राधाकृष्णन्सँग भेट भएको सात वर्षपछि शिवपुरी बाबाले शरीर छाडे, जहाँ आइतबार भक्तहरूले उनको ४८ औं महासमाधि दिवस मनाए।

विमानस्थल र पशुपतिनाथ मन्दिरबीचको धु्रवस्थली डाँडामा झन्डै ८० रोपनी क्षेत्रफलमा शिवपुरी बाबाको आश्रम छ, जसलाई बर्सेनी गरिने समाधि दिवसका लागि अहिले रंगरोगन गरेर चिटिक्क पारिएको छ।

चर्चा नरुचाउने र भक्तहरूको संगठन नबनाउने शिवपुरी बाबाको यो आश्रममा अहिले वार्षिक सामान्यतया चारवटा कार्यक्रम हुन्छन्– उनको जन्मदिन (भदौ मूल नक्षत्र), महासमाधि दिवस (माघ कृष्ण चतुर्थी), गुरुपुर्णिमा र महाशिवरात्रि।

...

सय वर्ष उमेरमा नेपाल आएका गोविन्दानन्द भारतीले जीवनको प्रथम ५० वर्ष जन्मभूमि केरलामै बिताए। १६ वर्ष उमेरसम्म घरपरिवारमै र बाँकी ३४ वर्ष केरलाकै अमरकन्टक वनमा तपस्या गरेर। जीवनको अर्को आधा सतक विश्व परिक्रमा गरेर बित्यो।

विसं १९८२ को महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारती जीवनको बाँकी समय नेपालमै बिताउन चाहन्थे। तर, तत्कालीन सरकारले भारतीय जोगीहरूलाई तीन सातामात्र बस्न अनुमति दिन्थ्यो। बस्ने म्याद सकिई भारत जाने दिन तत्कालीन बेलायती राजदूत विल्किन्सनले उनलाई सडकमा देखे र आफ्नो रिसल्ला रोकी सोधे, 'तपाईं गोविन्दानन्द भारती होइन?'

भएको के रहेछ भने, २० वर्षअघि भारती बेलायतमा छँदा केही समय विल्किन्सनका बुवाका पाहुना बनेका रहेछन्। उसबेला स्कुल पढ्दै गरेका केटौले उमेरका विल्किन्सनले सडकमा हिँड्दै गरेका भारतीलाई चिनेर बोलाएका रहेछन्। उनै भारतीय राजदूतले प्रधानमन्त्री चन्द्रशमशेरसँग अनुरोध गरेपछि भारतीले नेपालमै बस्ने अनुमति पाएका थिए।

तपस्या र एकान्तिक जीवन बिताउन नेपाल उपयुक्त देखेका भारतीले पशुपति, किराँतेश्वर र गोकर्णमा केही वर्ष बिताए। नेपाल बसाइको ३७ वर्ष अवधिमा उनको एक दसकभन्दा बढी शिवपुरी डाँडास्थित आश्रममा बित्यो भने पछिल्लो दुई दसक धु्रवस्थलीमा।

शिवपुरी डाँडामा लामो समय बसेकै कारण उनलाई सबैले प्रेमपूर्वक शिवपुरी बाबा भनेर बोलाउन थाले। झन्डै ८० वर्षयता उनी शिवपुरी बाबाकै नाउँले चिनिन्छन्।

...

शिवपुरी बाबाले महासमाधि लिनुअघि नेपालमा बिताएका ३७ वर्ष सूर्यनाथ तिमिल्सिना र उनका छोरा माधवप्रसाद तिमिल्सिना (माधव बाजे) ले उनको सेवा र आश्रम हेरचाह गरेका थिए।

उनले शरीर छाडेको ४८ वर्षपछि अहिलेसम्म पनि तिनै सूर्यनाथ र माधवप्रसादका छोरानातिले शिवपुरी बाबाको शिक्षा प्रचार र आश्रम हेरचाह गरिरहेका छन्। २०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उनले धु्रवस्थलीस्थित यो जग्गा शिवपुरी बाबालाई आश्रम बनाउन छुट्ट्याइदिएका थिए।

अहिले यो आश्रममा शिवपुरी बाबाको समाधिमन्दिर, उनले लामो समय शिवपुरी डाँडामा ध्यान गरेको चाँपको काठले बनाएको कुटी, पाले र सेवक बस्ने दुई टहरा, विश्रामस्थल र शौचालय छन्। तिलगंगा चक्रपथबाट पाँचै मिनेट उक्लेपछि पुगिने यो आश्रममा सबैभन्दा महŒवपूर्ण केही छ भने जंगलबीच व्याप्त ऊर्जा र सहरको यति नजिकै रहेर पनि यहाँ उपलब्ध हुने अद्वितीय शान्ति।

पातलो र अग्लो हाडछालामात्र देखिने शरीर र लामा कपालदारी भएका बाबाको अनुहारमा पाइने विस्मयकारी आभाले सबैलाई लोभ्याउने केटौले उमेरमै उनीसँग सत्संग गर्न पाएका 'स्वधर्म : शिवपुरी बाबाका उपदेशहरूबाट केही थोपा' पुस्तकका लेखक तथा माधवबाजेका माइला छोरा विष्णुप्रसाद तिमिल्सिना सम्झन्छन्।

ज्वरो र कमजोरीले थलिएको शरीर लिएर बुढ्यौली उमेरमा विष्णुप्रसाद समाधि दिवस तयारीमा खटिरहेका छन्। सम्भवतः कुनै आशा वा इच्छा नराखी, कर्त्तव्यका रूपमा।

प्रचार मन नपराउने भएकैले होला, शिवपुरी बाबाले १ सय ३७ वर्षको तपस्वी जीवन बिताएर महासमाधि लिएको ४८ वर्ष बितिसक्दा पनि अहिले उनीबारे नजिकबाट थाहा पाउने व्यक्ति मुस्किलले हजार होलान्। आश्रममा नियमित आउने त्यही तीनचार सय।

समाधि दिवस र अन्य नियमित कार्यक्रममा विभिन्न स्थानबाट निम्त्याइएका दुई सयजति साधु र भक्तहरूले प्रसाद ग्रहण र खानपिन गर्छन्। यो सबैको चाँजोपाजो माधव बाजेका तीन छोरा शिवप्रसाद, विष्णुप्रसाद र मधुसूदनले गर्छन्।

...

शिवपुरी बाबाबारे उनको जीवनकालमा धेरै कमले चर्चा गरेका छन्, पत्रपत्रिका वा प्रवचनहरूमा।

ओशोले उनलाई सम्भवतः कहिल्यै भेटेनन् तर बीसौं शताब्दीमा परमात्माको दर्शन पाएका धेरै कम व्यक्तिमध्ये एकका रूपमा शिवपुरी बाबालाई उल्लेख गरेका छन्। सायद ओशोमात्रै त्यस्ता व्यक्ति हुन् जसले सार्वजनिक रूपमा शिवपुरी बाबाबारे बोलेका थिए।

उनले शरीर छाडेपछि भारतीय दैनिक इन्डियन एक्सप्रेसले समाचार प्रकाशन गरेको थियो, 'द ओल्ड म्यान इन द हिल इज डेड।'

यसअघि भारतबाटै प्रकाशित दि इल्युस्ट्रेटेड विक्ली अफ इन्डियाले उनीबारे एउटा आलेख प्रकाशन गरेको थियो। सम्भवतः ओशोको त्यही सार्वजनिक अभिव्यक्ति र पत्रपत्रिकामा प्रकाशित यिनै केही सामग्रीमार्फत शिवपुरी बाबाबारे थोरै व्यक्तिले जानकारी पाएका थिए।

बाबाले शरीर छाड्नुभन्दा दुई वर्षअघि उनलाई भेटेका बेलायती आध्यात्मिक लेखक जोन जी बेनेटले बाबाले शरीर छाडेको दुई वर्षपछि प्रकाशन गरेको 'लङ पिल्गि्रमेज' पुस्तक नै शिवपुरी बाबाबारे विश्वलाई जानकारी दिने पहिलो सामग्री बन्यो।

राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले पनि भेटेका बाबालाई नियमित भेट्ने भक्तहरू ठाकुरलाल मानन्धर, रेणुलाल सिंह, कर्कटमान तुलाधर, कान्छा साहुलगायत थिए। कांग्रेस नेताहरू विश्वेश्वरप्रसाद कोेइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायतले पनि बाबासँग पटकपटक भेट गरेको माधव बाजेका छोरा विष्णुप्रसाद बताउँछन्।

जीवनको उत्तरार्द्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि बाबाको संगत गर्न आउने उनी सम्झन्छन्। 'देवकोटा अन्त्यकालमा 'आखिर रहेछ श्रीकृष्ण एक' भन्दै ईश्वरस्तुतिमा लाग्नुमा बाबाको संगत पनि कारण हुनुपर्छ,' विष्णुप्रसाद भन्छन्।

एक्काइसौं शताब्दीका सबैभन्दा चर्चित वैज्ञानिक स्टेफन हकिङले आफ्नो पछिल्लो पुस्तक 'द ग्रान्ड डिजाइन'मा उल्लेख गरेका छन्– संसार परम नियममा टिकेको छ। शिवपुरी बाबाले ८० वर्षभन्दा पहिल्यै जीवन र प्रकृतिमा परम नियमको आवश्यकता र उपस्थिति बोध गरिसकेका थिए। पूर्ण नियममा रहेको विवेकपूर्ण र अनुशासित जीवन नै सत्य साक्षात्कारको सिँढी रहेको बताउने बाबाले के पनि भनेका छन् भने अनुशासनपूर्ण सम्यक जीवनको पालना आजैदेखि सुरु गर्नुपर्छ। अहिल्यैदेखि।

 

 

शिवपुरी बाबा

भारत केरलाको मालावारमा सम्पन्न ब्राह्मण कुलमा जुम्ल्याहा बहिनीसँगै जन्मेका बाबाका बुबाआमा उनी सानै छँदा बितेका थिए। हजुरबुवा प्रख्यात ज्योतिष अच्युतम्ले विसं १८८२ मा उनी जन्मँदै घोषणा गरेका थिए, 'यो बालक योगी हुन्छ र हाम्रो वंश योसँगै अन्त्य हुन्छ।'

१६ वर्ष उमेरमा हजुरबुवासँगै उनी तपस्या गर्न नर्वदा नदीछेऊको अमरकन्टक वन पसे। २५ वर्ष पुग्दा हजुरबुवा बितेपछि उनी बाहिर निस्के र सन्न्यास लिए। उनको नाम रह्यो– गोविन्दानन्द भारती।

सन्न्यासपछि पनि उनले २५ वर्ष अमरकन्टक जंगलमै बसेर तपस्या गरे। ५० वर्ष उमेरमा उनलाई सत्यको बोध भयो। बाबाले त्यो क्षणको व्याख्या गर्दै भनेका छन्, 'अचानक परमात्मा प्रकाशित भयो, सबै प्रश्नको उत्तर पाएँ र सधैंका लागि सबै समस्या समाधान भए।'

बाँकी ५० वर्ष उनले विश्वभ्रमणमा बिताए, आधाभन्दा बढी समय हिँडेरै। भारतबाट उनी अफगानिस्तान हुँदै इरान पुगे। इस्लामको पवित्रस्थल मक्का हुँदै उनी येशुको जन्मस्थल जेरुसेलम पुगे। टर्की, ग्रिस, इटाली हुँदै बेलायत पुगेका बाबाको सान्निध्यमा बेलायती महारानी भिक्टोरियाले करिब पाँच वर्ष बिताइन्।

भिक्टोरियाको निधनपछि बाबा अमेरिका, मेक्सिको हुँदै दक्षिण अमेरिका प्रवेश गरे। त्यहाँबाट आन्ध्र महासागरका टापुहरू, अस्ट्रेलिया, न्युजिल्यान्ड हुँदै जापान। त्यसपछि सारा चीन छिचोलेर हिमालय पर्वत पार गर्दै भारत आए र त्यहाँबाट विसं १९८२ को महाशिवरात्रिताका उनी नेपाल आएका हुन्।

यसपछिका बाँकी ३७ वर्ष उनले पशुपतिनाथ, किराँतेश्वर, गोकर्ण, शिवपुरी डाँडा र धु्रवस्थली वनमा बिताए– सम्पर्कमा आएका थोरै भक्तलाई स्वधर्म अर्थात राइट लिभिङको पाठ सिकाउँदै।

२०१९ सालमा शिवपुरी बाबाले महासमाधि लिए।

 

 

तीन अनुशासन

शिवपुरी बाबाले कसैलाई दीक्षा दिएनन्। उनले न कसैलाई चेला बनाए, न आफ्नो शिक्षाको प्रचार गर्दै डुलिहिँडे। 'म प्रारब्ध भोग्नमात्र धरतीमा आएको हुँ, यो जीवन भोगेपछि म जन्म र मृत्युका सारा बन्धनबाट मुक्त हुन्छु' भन्ने बाबाले आफ्नो सम्पर्कमा आएका थोरै भक्तहरूलाई सम्यक जीवनको पाठ सिकाए।

हजारौं वर्षदेखि हाम्रा धर्मशास्त्रहरूमा स्वधर्म अर्थात सम्यक जीवनको शिक्षा उल्लेख गरिएको बताउने बाबाले यसको विस्तृत ज्ञानका लागि गीता, महाभारतको भीष्मपर्व, भागवत्को एघारौं स्कन्धमा श्रीकृष्णले उद्धवलाई दिएको उपदेश पढ्नुपर्ने बताएका छन्।

स्वधर्म अर्थात् सम्यक जीवन अर्थात राइट लिभिङलाई उनले शारीरिक, नैतिक र आत्मिक अनुशासनका रूपमा व्याख्या गरेका छन्।

सम्पूर्ण संसार नियममा चलेकाले आफ्नो स्थान, समय र परिस्थितिअनुसार यसको पालना गर्दै शारीरिक अनुशासन कायम गर्नुलाई बाबाले स्वधर्मको पहिलो खुड्किलोका रूपमा व्याख्या गरेका छन्। शारीरिक अनुशासनपछि मनको अनुशासन वा नैतिकता पालनामा आफूलाई अघि बढाउनुपर्ने उनी बताउँछन्। शरीरलाई अनुशासनमा बाँध्दै गएपछि मन पनि नियममा बस्दै जाने उनी बताउँछन्। नैतिक अनुशासन पनि प्राप्त भएपछि आत्मिक अनुशासनमा आफूलाई डोर्‍याउनुपर्ने शिवपुरी बाबाको शिक्षा हो।

शारीरिक, नैतिक र आत्मिक अनुशासनको पूर्ण पालना गरेपछि सत्यबोध वा आत्मबोध प्राप्त हुने र यसैलाई सत्य साक्षात्कार वा गड रियलाइजेसन भनिने बाबाले बताएका छन्। बाबाका अनुभवमा मनुष्य जीवनको लक्ष्य नै सत्य साक्षात्कार हो।

 

 

लङ पिल्ग्रिमेज

बाबा १ सय ३५ वर्ष उमेर पुग्दा उनलाई भेट्न पहिलोपटक काठमान्डु आएका बेलायती विद्वान जोन जी बेनेटले बाबालेे शरीर छाडेको दुई वर्षपछि प्रकाशन गरेको 'लङ पिल्गि्रमेज' नै उनको जीवन र शिक्षाबारे जानकारी दिने अहिलेसम्म लेखिएको आधिकारिक र पहिलो पुस्तक हो।

बाबालाई नियमित भेट्न धु्रवस्थली पुगिरहने प्राध्यापक रेणुलाल सिंहले लेखेको 'द राइट लाइफ' दोस्रो पुस्तक हो, जसले शिवपुरी बाबाको जीवन र शिक्षाबारे जानकारी गराउँछ। डा. योगेन्द्रभक्त श्रेष्ठ मल्लले शिवपुरी बाबालाई नियमित भेट्ने भक्तहरूसँगको अन्तर्वार्ताका आधारमा प्रकाशन गरेको अंग्रेजी पुस्तक 'राइट लिभिङ'ले पनि यी दीर्घजिवी योगीबारे थुप्रै जानकारी गराउँछ। तर, यतिञ्जेल पनि शिवपुरी बाबाबारे जान्न चाहने नेपालीभाषी जिज्ञासुका लागि कुनै सामग्री उपलब्ध थिएन।

शिवपुरी बाबाका निकटतम सहयोगी माधव बाजेका माइला छोरा विष्णुप्रसाद तिमिल्सिनाले नेपालीभाषी जिज्ञासुका लागि सात वर्षअघि 'स्वधर्म : श्री शिवपुरी बाबाका उपदेशहरूबाट केही थोपा' शीर्षक पुस्तक प्रकाशन गरे।

चिकित्सक मल्लले पनि बेनेटको 'लङ पिल्गि्रमेज'को नेपाली अनुवाद छ वर्षअघि प्रकाशनमा ल्याए। यसबाहेक उनले आफैंले लिएका अन्तर्वार्ताहरूको संगालो पनि 'स्वधर्म' शीर्षकमा नेपाली अनुवाद गरे। पाँच वर्षअघि मल्लले नै शिवपुरी बाबाको शिक्षामा आधारित अर्को पुस्तक नेपालीमा प्रकाशन गरे, 'प्रभुको खोजमा' शीर्षकमा।

यिनै सात पुस्तक हुन्, जसले शिवपुरी बाबाको 'लङ पिल्गि्रमेज'बारे जिज्ञासुहरूलाई जानकारी गराउँछन्।

 

सेवामा पाँच पुस्ता

शिवपुरी बाबा नेपाल बस्न थालेदेखि नै काठमान्डुका सूर्यनाथ तिमिल्सिना उनका शिष्य र सहयोगी भए। सूर्यनाथको निधनपछि उनका छोरा माधवप्रसाद (माधव बाजे) ले झन्डै अढाइ दसकसम्म बाबाको जीवनकालभरि उनको सेवा र सहयोग गरे। शिवपुरी डाँडामा बाबा रहँदा नियमित गएर र त्यो निर्जन जंगलमा सँगै बसेर। यसबाहेक बाबा दुई दसक धु्रवस्थली बस्दा पनि उनका निकट सहयोगी माधव बाजे नै थिए।

२०१९ माघमा महासमाधि लिँदा माधव बाजे र उनका तीन छोरा शिवप्रसाद, विष्णुप्रसाद र मधुसूदन शिवपुरी बाबासँगै थिए। अहिले शिवपुरी बाबाको ज्ञान प्रचार, सत्संग र उनको आश्रम हेरचाहको सम्पूर्ण जिम्मा माधव बाजेका यी तीन छोराले लिएका छन्। यी तीन दाजुभाइका छोराबुहारी, छोरीज्वाइँ, नातिनातिनी पनि नियमित आश्रमकै काममा खटिरहेका छन्।

तिमिल्सिना परिवारकै पाँच पुस्ताको अतुलनीय समर्पण र केही भक्तहरूको नियमित सरसहयोगले नै अहिलेसम्म शिवपुरी बाबा आश्रम सञ्चालन भइरहेको छ।

 

 

 
ओशो भन्थे, परमात्मा भेटेको व्यक्ति

हामी ओशोका चेला पनि शिवपुरी बाबालाई गुरुसरह नै श्रद्धा र आदर गर्छौं। ओशोले भनेका छन्– सबै बुद्धलाई आदर गर्नुपर्छ र तिनको सहयोगमा आफ्नो विकास गर्नुपर्छ।

शिवपुरी बाबा र ओशोको शिक्षामा धेरै समानता छ। ३६ वर्षयता म नियमित रूपमा शिवपुरी बाबाको आश्रममा जाने गरेको छु।

ओशोसँग दीक्षा लिएपछि उनले मलाई नेपालमा ध्यानकेन्द्र स्थापना गर्न आदेश दिए। त्यसबेला ओशोले भने– शिवपुरी बाबाको समाधिमा जानू। मेरो दुर्भाग्य के भने ओशोले भन्नुअघि मैले शिवपुरी बाबाबारे जान्ने मौका पाएको थिइनँ।

कहिल्यै शिवपुरी बाबासँग नभेटेका ओशोले जीवन्तसँग मलाई उहाँको समाधिस्थलबारे जानकारी दिए। उनले भने, 'एयरपोर्टको पछाडि शिवपुरी बाबाको काँडेतारले बारेको सानो आश्रम छ, त्यहाँ नै उहाँको समाधि छ। त्यहाँ बारम्बार जानू। तिमीलाई प्रेरणा मिल्छ।'

गुरुकै आदेशले म पहिलोपल्ट सन् १९७४ मा त्यहाँ गएँ। माधव बाजेसँग भेट भयो र पहिलो भेटमै गहिरो आत्मीयता। मैले आश्रममा गहिरो आध्यात्मिक ऊर्जा अनुभव गरेँ।

माधव बाजे र आश्रममै भेटिएका अर्का व्यक्ति रेणुलाल सिंहबाट मैले शिवपुरी बाबाबारे धेरै जानकारी पाएँ। दुवैले मेरो आध्यात्मिक यात्रामा ठूलो सहयोग गरे।

तपोवनको संरक्षणमा शिवपुरी बाबाको ठूलो हात मलाई महसुस हुन्छ। ओशोले भनेका थिए– शिवपुरी बाबालाई तिमीले लोकल गार्जियन बनाउनू। अहिलेसम्म पनि म र तपोवनलाई शिवपुरी बाबाको ऊर्जा प्राप्त भइरहेको छ।

सच्चा इन्लाइटन्ड व्यक्तिहरू टिमवर्कमा काम गर्छन्, सबै मानिसको आध्यात्मिक बेहोसी टुटोस् भन्ने चाहन्छन्। ओशोले मलाई धेरै बुद्धपुरुषसँग जोडेका छन्, शिवपुरी बाबा तीमध्ये एक हुन्। सबै बुद्धपुरुषहरूको मूल शिक्षा एउटै हो, हाम्रो आध्यात्मिक निद्रा टुटाउने। ओशो र शिवपुरी बाबा दुवैमा बिसौं शताब्दीका लागि चाहिने भाषा, तर्क, धर्मको आधुनिकता समान रूपमा थिए।

शिवपुरी बाबा भन्थे, 'आर्ट सुड बि आइडलिस्टिक, थिंकिङ सुल्ड बि रियलिस्टिक, लाइफ सुड बि आर्टिस्टिक।'

उनको यो भनाइ ओशोको जीवनसँग खुब मिल्थ्यो। दुवैको जीवन कलापूर्ण थियो। जीवन बाँच्ने शैलीमा ओशो र शिवपुरी बाबा दुवैमा उच्च कलात्मकता थियो। दुवै मानव धर्म मान्थे, कुनै निश्चित बाटो नअँगाल्ने।

दुवैजना विभिन्न विषयमा ठ्याक्कै एकैखाले धारणा राख्थे। एउटा उदाहरण– 'परमात्मा प्राप्तिबिना तिम्रो जीवनमा दुःखैदुःख छ' भन्ने दुवैजनाको भनाइ ठ्याक्कै उही छ।

ओशोले विशिष्ट बुद्धिवादीबीच बोले। आश्रम बनाए। शिवपुरी बाबाले कसैलाई दीक्षा दिएनन्, ओशोले जसलाई पनि दीक्षा दिए। ओशोले सार्वजनिक जीवन बिताए, शिवपुरी बाबाले एकान्तिक जीवन।

शिवपुरी बाबाले तपस्वी जीवन बिताए, ओशो जागरणको कुरा गर्दै साधनामा बढी ध्यान दिन्थे। तर, यी सबै उनीहरूबीच बाहिरबाट देखिने असमानतामात्र हुन्।

यो शताब्दीमा साँच्चिकै परमात्मा प्राप्त गरेका थोरै व्यक्तिमध्ये शिवपुरी बाबा एक हो भन्थे ओशो। उनले मलाई जहिल्यै शिवपुरी बाबाको आश्रममा जान प्रेरणा दिइरहे। ओशोबाहेक अरू कुनै बुद्धपुरुषले शिवपुरी बाबाबारे बोलेनन्।

(स्वामी आनन्द अरुणसँगको कुराकानीमा आधारित)

 

 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ट्याग्स

कमेन्ट