Nagarik News Blog

Nagarik News Blog


प्रिय,

प्रेम।

आज मुर्खतापूर्ण काम गर्न गइरहेको छु। असम्भव, अप्ठ्यारो र चुनौतीपूर्ण काम।

तिमीलाई थाहा छ, प्रेमबारे लेख्नु कति मुर्खतापूर्ण काम हो। यस्तो विषयबारे लेख्नु जो अलेख्यमा प्रकट हुन्छ। यस्तो विषयबारे बोल्नु जो मौनताको भाषा बोल्छ।

यद्यपि मलाई लाग्यो, प्रेमबारे लेख्नु नै छ भने आजै उपयुक्त अवसर हो किनभने पर्सि भ्यालेन्टाइन्स डे हो। प्रकृतिमा हरपल सुगन्ध फैलाइरहेको प्रेम यो बेला जस्तै अबुझले थोरै भए पनि महसुस गर्न सक्लान्।

कोठाबाहिर चराहरूको मधुरो र संगीतमय चिरबिर छ। जहिल्यै प्रेमाशक्त यी पक्षीले जहिल्यै प्रकृतिको शाश्वत सत्य प्रेम सिकाइरहेका हुन्छन्। तर, कसले सुन्छ उनीहरूको चिरबिर? तिमीले कहिल्यै एकैछिन अडिएर काठमान्डुमा हराउँदै गएका यी पक्षीहरूको प्रेमपूर्ण भाषा सुन्ने प्रयत्न गरेका छौ?

प्रकृतिको प्रेमभाषा कति स्पष्ट र बोध्य छ भने सहरलाई चारैतिरबाट घेरिएका डाँडा सुन्धाराको आकासेपुल वा काठमान्डु मलको छतबाट एकैछिनमात्र हेर्ने हो भने तिमीले आफूभित्रको प्रेम प्रकट भइरहेको देख्न सक्छौ।

तर, काठमान्डुमा मानिसहरूलाई एकै निमेष फुर्सद छैन। जहिल्यै हतारमा छन् उनीहरू। तिमीले न्युरोड, पुतलीसडक वा जमलमा एकैछिन उभिएर हेर्‍यौ भने देख्छौ– गइरहेका मान्छेहरू। यताबाट उता गइरहेका। उताबाट यता। सबै गइरहेकामात्र। कोही आइरहेका छैनन्।

कसैलाई उभिनेसम्म फुर्सद छैन। थाहा छैन– कहाँ गइरहेको छ काठमान्डु!

तिमीलाई थाहा छ, हामी प्रेमले भरिएका छौं। हामीभित्र भरिएको त्यो प्रेम काठमान्डुको व्यस्तताले ढाकिएको छ। हामी एकछिन रोकिएर आफूभित्रको प्रेम हेर्नसमेत भ्याउँदैनौं। एकपटक गहिरिएर हेर्नेमात्र हो भने हामीभित्रको प्रेम लबालब भरिएर जताततै पोखिनेछ र दुनियाँलाई प्रेमैप्रेमले पूर्ण बनाउनेछ।

तर, तिमी व्यस्त छौ, म व्यस्त छु। हामी व्यस्त छौं।

जागिरमा पुग्नुको हतार छ।

सामान किन्नुको हतार छ।

भिसा हान्नुको हतार छ।

मान्छे भेट्नुको हतार छ।

पैसा बुझ्नुको हतार छ।

हजारौंहजार हतारले हामी थिचिएका छौं। आफैंभित्रको प्रेम हेर्न, महसुस गर्न र छाम्न हामीलाई फुर्सद छैन।

भ्यालेन्टाइन्स डेमा हामी प्रेमको बहाना गर्छौं, एकैछिन। ठमेलको कुनै रेस्टुरेन्ट, गार्डन अफ ड्रिम्स, दरबारमार्ग, न्युरोड, पुतलीसडक वा अन्य कहीँ एकैछिन बसेर एक प्लेट मोमो, एउटा स्मल पिज्जा, ब्ल्याक फरेस्ट वा क्याप्पुचिनो! यही हो प्रेम?

एउटा गुलाब र मुटुअंकित कार्ड साट्नु, हात समाएर न्युरोड, दरबारमार्ग वा ठमेल घुम्नु, आइ लब यु भन्नु वा आर्चिज ग्यालरीबाट सयदुई सय रुपैयाँको उपहार किनेर दिनु! यही हो प्रेम?


***

टिभी हेरिरहेको छु।

रविशंकर प्रेमबारे प्रवचन दिइरहेका छन्। पागल छन्। पागलपन देखाइरहेका छन्। प्रेमलाई शब्दमा उतार्न खोज्नु बेजोड पागलपन हो। तर, प्रेम दुनियाँबाट कसरी अलप हुँदै गइरहेको छ भने प्रेमबारे बोल्ने पागलपन जरुरी भइसकेको छ।

ढाडको मध्यभागसम्म फैलेको कपाल र चम्किलो अनुहार लिएर हजारौं मानिसमाझ रविशंकर भनिरहेका छन्– प्रेम अभिव्यक्त गर्न सकिँदैन। जीवनकालभरि प्रयास गरिरह्यौ भने पनि तिमी प्रेमको सानो अंश अभिव्यक्त गर्न सक्दैनौ। अभिव्यक्ति प्रेमको भाषा नै होइन। प्रेमको भाषा त मौनता हो, मौनता। मौनतामा तिमी प्रेम महसुस गर्न सक्छौ भने त्यहाँ सच्चा प्रेम छ।

मौनतामा तिमी प्रेम महसुस गर्न सक्छौ?

काठमान्डु आवाजमा प्रेम अभिव्यक्त गर्न खोज्छ। स्वरमा, चिच्याहटमा, भीडमा प्रेम अभिव्यक्त गर्न खोज्छ। बर्बराहटलाई प्रेम ठान्ने भुल गर्छ। एउटा एसएमएस टेक्स्ट वा दुई लाइन इमेल। आइ लब यु।

धत्!

प्रेमबारे बोल्ने रविशंकर पागल छन् तर दुनियाँ? अझ बढी पागल छैन?


***

सन्त भ्यालेन्टाइनले रोमन साम्राज्यताका प्रेमको विशालताबाट एउटा सानो अंश प्रकट गरेका थिए। तेस्रो शताब्दीतिर पतन हुन लागेको रोमन साम्राज्य जोगाउन युवाहरूलाई बिहे गर्नबाट रोक्ने सम्राट क्लाउडियसको बहुलट्ठीपूर्ण निर्णयविरुद्ध जुधेका सन्त भ्यालेन्टाइनलाई जेल हालिएको थियो। यी सन्तले सयौं रोमन सिपाहीको गुपचुप बिहे गराएका थिए।

भनिन्छ– सिद्ध भ्यालेन्टाइनले जेलप्रमुखकी अन्धी छोरीलाई दृष्टि दिए र उनैलाई प्रेम गर्न थाले।

सन् २७० फेब्रुअरी १४ का दिन क्लाउडियसले फासी दिनुपूर्व भ्यालेन्टाइनले प्रेमिकालाई अन्तिम पत्र लेखे जसको अन्त्यमा उनले भनेका थिए– 'फ्रम योर भ्यालेन्टाइन।' सन्त भ्यालेन्टाइनको यही इतिहास चौधौं शताब्दीतिर बेलायती लेखक चौसरले आफ्नो साहित्यमा प्रयोग गरे। इतिहास र साहित्यबाट समाजमा आए भ्यालेन्टाइन। बल्ल सुरु भयो– भ्यालेन्टाइन्स डे परम्परा। हामीले भन्न थाल्यौं– फ्रम योर भ्यालेन्टाइन।

अहिलेको पुँजीवादी बजारमा प्रेम बिक्रीको वस्तु भएको छ। काठमान्डुमा जताततै बिक्रीमा छ यो, संसारका सबै सहरजस्तै। आर्चिज ग्यालरी, ठमेलका रेस्टुरेन्ट, न्युरोडका पसल वा अलि महंगो प्रेम नगरकोटका होटलहरूमा बिक्रीमा छन्। सन्त भ्यालेन्टाइन प्रेम खरिदबिक्रीको एउटा बहाना भएका छन्।


***

टिभीमा लगातार रविशंकरको प्रेमप्रवचन चलिरहेको छ।

भनिरहेका छन्– यदि यो ब्रह्माण्डमा केही चिज छ जसमाथि बोल्न सकिँदैन भने त्यो प्रेम हो। बोलिने प्रेम, बुझाइने प्रेम, व्याख्या गर्न सकिने प्रेम सत्यभन्दा धेरै टाढा हुन्छ। एउटा गुलाबको फूल आदानप्रदानले प्रेम अभिव्यक्त गर्न सक्छ?

भनौं– तिमी कसैलाई प्रेम गर्छौ। उसको कुन गुणलाई प्रेम गर्छौ? उसको पद? उसको पैसा? लुगा लगाउने तरिका? बोल्ने शैली? क्षमता?

वा सम्पूर्ण व्यक्तिलाई प्रेम गर्छौ?

म तिम्रो सम्पूर्णतालाई प्रेम गर्छु।

माफ गर, मैले लेखेको यो वाक्यको संरचना नै गलत छ। प्रेम गर्नु? यो कुनै काम हो? काँटी ठोक्नु, घर बढार्नु वा भर्‍याङ उक्लिनुजस्तै?

प्रेम त हृदयमा भरिएको हुन्छ।

म प्रेमले भरिएको छु। तिम्रो लागि।

प्रकृतिको सम्पूर्णतामा मेरो प्रेम मिसिएको छ र एकाकार भएको छ।

म तिमीलाई प्रेम बुझाउन सक्दिनँ। बुझाउने मेरो अभिप्राय पनि होइन। मभित्र प्रेम छ, मात्र प्रेम। तिमीले चाह्यौ भने मेरो प्रेम अनुभव गर्न सक्छौ। मेरो आँखामा हेर, त्यहाँ प्रेम छ। मेरो अनुहारमा हेर।

तिमीले मभित्र प्रेम महसुस गर्‍यौ?

एकैछिन उभिएर आफैंलाई हेर।

एकैछिन रोकिएर आफैंभित्र पस।

एकैछिन थामिएर आफ्नै सास हेर।

तिमीले आफूभित्र प्रेम महसुस गर्नेछौ। तिम्रै प्रेममा म घुलेको देख्नेछौ।


***

सन्त भ्यालेन्टाइन जन्मिनुअघि पनि प्रेम थियो। भ्यालेन्टाइन पनि प्रेमका एउटा अंश हुन्। भ्यालेन्टाइनलाई फासी भएको साढे सत्र सय वर्षसम्म पनि प्रेम छ। अझै हजारौं वर्षसम्म रहिरहनेछ। करोडौं वर्ष। अनन्तकाल।

यस्तो अपरिमित प्रेमलाई कुनै दिन छुट्ट्याउनु वा कुनै समय तोक्नु?

ओहो, यो त अबुझहरूको काम हो। तिमी र मजस्ता अबुझहरूको। हामी अबुझहरूको।

सास फेर्न तिमीले कुनै समय छुट्ट्याएका छौ? मुटु चल्न?

हामी मुर्खहरूमध्ये पनि मुर्ख हौं जो प्रेमका लागि पात्र खोजिरहेका छौं। भ्यालेन्टाइनप्रति मेरो उच्च श्रद्धा छ, तर हामी उनलाई बिकाउ बनाइरहेका छौं। प्रेम कसैलाई गर्ने वा अभिव्यक्त गर्ने चिज होइन, हामीभित्रको स्वभाव हो भन्ने हामीले बुझेनौं।

बोटमा फुलेको गुलाब प्रेम हो। आकासमा उडेको चरा प्रेम हो। यो बतास, यो हावाको सुगन्ध, तातिँदै गएका यी दिन– वाह, जताजतै प्रेमैप्रेम छ।

हामी बोटको गुलाब चुँड्छौं, कसैलाई दिन्छौं र भन्छौं– ल है, तिमीलाई प्रेम छ।

आकासमा उडेका चरा झार्छौं, कबाब बनाउँछौं, कसैलाई खुवाउँछौं र भन्छौं– ल है, तिमीलाई प्रेम छ।


***

प्रिय,

तिमीलाई मेरो अनुरोध छ– कृपया एकैछिन उभिएर आफैंभित्र हेर। यो पद, यो पैसा, यो जागिर, यो भिसा, यो हतार। त्यसपछि अर्को पद, अरू पैसा, अर्को जागिर, अर्को भिसा, उही हतार।

पद, पैसा, प्रतिष्ठा र व्यस्तताले तिमीलाई कति खालि बनाएको छ? एकैछिन रोकिएर आफ्नै सास हेर– त्यसमा कुनै हार्दिकता, कुनै शान्ति वा कुनै विश्राम छ?

गाउँबाट आयौ, काठमान्डुमा घर बनायौ। अब अमेरिका जाँदैछौ। त्यसपछि?

के चन्द्रमा जान टिकट खुलिसकेको छ?

म आफू बाँचेको प्रकृतिमा प्रेम महसुस गर्छु। काठमान्डुका सडकलाई प्रेम गर्छु। कृपया खाल्टैखाल्टा सडकमा बिस्तारै मोटर कुदाऊ।

रत्नपार्कका भत्किएका बारहरू। भृकुटीमण्डपछेउ थुपारिएको फोहोर। वायुसेवा निगम कार्यालयअघि पिच्चपिच्च थुकका टाटाहरू। सभागृहमा चुँडिएका फूल।

सुन्धाराबाट त्रिपुरेश्वर जाने सडकको देब्रे पेटीमा सैनिक क्लबछेवैको प्रतीक्षालयमा लडिरहेको युवक। गौशालामा खुट्टाभरि घाउ भएका र पुरानो मैलो सर्ट लगाएका घसि्रँदै गरेका वृद्ध। न्युरोडमा मैलो अनुहार र त्योभन्दा धेरै मैलो हाफप्यान्ट लगाएर मागिरहेको बालक।

काठमान्डुमा प्रेमातुर पात्र र ठाउँहरूको कुनै कमी छ? काठमान्डुमा प्रेमका लागि कुनै स्पेस अभाव छ?

काठमान्डुको गरिबी, दुःख, फोहोरमैला सबै हाम्रै अप्रेमको कारण होइन?


***

कृष्ण, बुद्ध, महावीर, जिसस, मोहम्मद, मिरा, कबिर– सबैको एउटा शिक्षा थियो, प्रेम। अर्थात उनीहरूको शिक्षा प्रेमको आधारमा मात्र व्याख्या गर्न सकिन्छ।

सबैभन्दा बुझिने उदाहरण हो– आमाको प्रेम।

मलाई लाग्छ, आमा प्रेमको सबैभन्दा जीवन्त उदाहरण हुन्। भनिन्छ, धेरै प्रेम गर्ने आमाका नानीहरूले कम दुध खान्छन्। प्रेमको अतिरेकतामा भोजनको कम आवश्यकता हुन्छ। धेरै प्रेम गर्ने आमाहरू जहिल्यै गुनासो गरिरहन्छन्– मेरो बच्चा कम खान्छ।

तैपनि ऊ स्वस्थ हुन्छ। दुब्लो होला, तर पूर्ण हुन्छ।

यसविपरीत, कम प्रेम गर्ने आमाको बच्चा धेरै खाने स्वभावको हुन्छ।

प्रेम नभएको खालि हृदय धेरै खान खोज्छ। यो मेरो खोज होइन, कतै पढेको हुँ।

भनिन्छ, प्रेमबिना मानिसलाई रिक्तता, खालिपना र शुन्यताको पीडा हुन्छ। त्यही प्रेमअभाव पूर्ति गर्न, रिक्तता, खालिपना र शुन्यता भर्न ऊ अतिभोजन गर्छ।

त्यसैले होला, तिम्रो उपस्थितिमा म कम खान्छु। तिमीले याद गरेका छौ?

...

ओशोले एउटा किताब लेखेका छन्– रहिमन धागा प्रेमका। अर्थात प्रेमको मिहिन धागो।

उनले भनेका छन्– प्रेमको धागो धेरै मसिनो हुन्छ। पातलो। देखिँदै नदेखिने गरी पातलो। यही पातलो धागोले प्रकृतिलाई यसरी बाँधेको छ, कसैले टुटाउन सक्दैन। जस्तै शक्तिशालीले पनि।

यही पातलो धागोले तिमी र मेरो हृदयलाई यसरी बाँधेको छ, कसैले टुटाउन सक्दैन।

ओशोले भनेका छन्– संसारले घृणा बुझ्छ, प्रेम बुझ्दैन। युद्ध बुझ्छ, शान्ति बुझ्दैन। विज्ञान बुझ्छ, धर्म बुझ्दैन। जे बाहिर छ, संसारले त्योमात्र बुझ्छ। जे भित्र छ, त्यो बुझ्दैन। देखिने स्थुल बुझ्छ, नदेखिने सुक्ष्म बुझ्दैन।

प्रेमको आँखाले मात्र अदृश्यलाई देख्ने सामर्थ्य राख्छ। हामीले प्रेमको आँखाले हेर्‍यौं भने संसार स्वर्ग हुन्छ।

मभित्रको त्यो मिहिन धागो हेर्न सबैभन्दा पहिला तिमीले आफूभित्रको त्यस्तै मिहिन धागो देख्नुपर्छ। त्यसका लागि तिमी एकैछिन पदपैसाको व्यस्तता, प्रतिष्ठाको व्यस्तता, अहंको व्यस्तता, विचारहरूको व्यस्तताबाट बाहिर निस्कनुपर्छ।

तिमी तिम्रै लागि एकैछिन व्यस्तताहरूबाट बाहिर निस्कन सक्छौ? तिमी तिम्रै लागि एकैछिन तिमीभित्रको प्रेम महसुस गर्न सक्छौ?


***

प्रकृतिमा एउटै भाषा छ, प्रेम। अरू सबै हामीले निर्माण गरेका भावहीन संकेत मात्र हुन्। जब प्रेमको भाषा बोल्न सिक्छौ, तिमीलाई सायद अरू कुनै भाषा आवश्यक पर्ने छैन।

जब तिमी व्यस्तता त्याग्छौ, प्रेम प्रकट हुन्छ। जब तिमी प्रतिरोध गर्न छाड्छौ, प्रेम उत्पन्न हुन्छ। जब तिमी मौनतामा रमाउन थाल्छौ, प्रेम उपस्थित हुन्छ।

भ्यालेन्टाइन्स डेमा मलाई कुनै गुलाबको फूल उपहार नदेऊ। आर्चिजको मुटुअंकित कुनै कार्ड वा तिमीले दरबारमार्गमा खुवाएको डिनरमा म प्रेम महसुस गर्न सक्दिनँ। तिमीले भन्ने 'ह्यापी भ्यालेन्टाइन्स' पनि म कुनै प्रेम महसुस गर्न सक्दिनँ।

सुन्धारामा लडिरहेको त्यो युवक, गौशालामा घसि्ररहेको वृद्ध वा न्युरोडमा मागिरहेको बालकप्रति तिम्रो मनमा प्रेम उब्जेको छ?

काठमान्डुको फोहोर सडक, रत्नपार्कमा भत्किएको बार वा माइतीघरमा निमोठिएको फूलप्रति तिम्रो मनमा प्रेम उब्जेको छ?

आफूवरिपरिको प्रकृति र हृदयको प्रेम एकाकार भएको तिमीले महसुस गर्न सक्यौ?


***

प्रिय,

पर्सि भ्यालेन्टाइन्स डेमा हामी नभेटौं। सन्त भ्यालेन्टाइनप्रति हाम्रो सम्मान छँदैछ तर हामी फोन, एसएमएस टेक्स्ट वा इमेलका केही हरफमा प्रेम साट्ने असम्भव प्रयास नगरौं।

'ह्यापी भ्यालेन्टाइन्स डे' वा 'आइ लब यु' भनेर हाम्रो प्रेम प्रकट हुन्छ? हाम्रो प्रेम त्यति सीमित, क्षणिक र कमजोर छ?

देखिनेमा प्रेम नखोजौं।

तिमी आफ्नै छिमेकका कुनै वृद्धसँग अदृश्य प्रेमको मौन भाषा बोल र उनको हृदय भरिदेऊ। म आफ्नै छिमेकमा एउटा गुलाबको बोट रोप्नेछु।

हामी त अर्को दिन पनि भेट्न सक्छौं। वा, नभेटे पनि हाम्रो प्रेमको विशालता एकअर्काको हृदयले महसुस गरिरहेकै छ।



प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ट्याग्स

कमेन्ट