Nagarik News Blog

Nagarik News Blog


'नाइन इलेभेन'पछि अमेरिकीहरुको मनमा एउटै प्रश्न उठेको थियो- 'मुस्लिमहरु आखिर किन अमेरिकालाई यतिविधी घृणा गर्छन्?' मात्र मुस्लिम भएर, अरबी भएर वा गैरअमेरिकी भएर। ठिक दश वर्ष अघि आजकै दिन अलकायदाले न्यूयोर्कस्थित ट्वीन टावर्समा आक्रमण गरेपछि यो सोचले अमेरिकीहरुलाई घच्घच्याइरह्यो। सन् २००१ सेप्टेम्बर ११ को विहानै भएको सो आक्रमणमा झण्डै तीन हजारको ज्यान गयो। 'नाइन इलेभेन', 'सेप्टेम्बर ११' नाम दिइएको यो दुःखद घटनाले विश्वलाई, अझ खासगरी अमेरिकालाई धेरै पाठ सिकायो।

सेम्टेम्बर ११ ले यो १० वर्षमा सकारात्मक/नकारात्मक धेरै परिवर्तन दियो। विश्व सम्बन्धलाई नयाँ स्वरुप दियो-आतंकवादविरुद्ध सारा विश्वले 'वि आर अल अमेरिकन्स' भनी एक्यावद्धता जनाए। इराक र अफगानिस्तानमाथि आक्रमण भयो। सद्दाम हुसेनलाई फाँसी दिइयो। तालिवानलाई सत्ताच्युत गरियो। युद्धलाई निरन्तरता दिन चाहने बुस पक्षका उम्मेद्वारको राष्ट्रपति निर्वाचनमा हार भयो, अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्नुपर्छ भन्ने बाराक ओबामा राष्ट्रपति बने। अमेरिका र युरोप आर्थिक मन्दीको भुमरीमा परे। अन्ततः सेम्टेम्बर ११ का प्रमुख योजनाकार तथा अलकायदाका नेता ओसामा विन लादेन मारिए। तर, युद्ध अझै सकिएको छैन। सेम्टेम्बर ११ को त्रास अझै मेटिएको छैन।

सेम्टेम्बर ११ मा अलकायदाले न्यूयोर्कका दुई वटा अग्ला भवन ढाल्यो। यसपछि उत्पन्न घटनाक्रमले विश्व मुस्लिम समुदायको मन ढल्यो। आतंकवाद र मुसलमानलाई सँगै जोडेर हेर्न थालियो। मुसलमान भनेकै अलकायदा र अलकायदा भनेकै आतंकवाद - यही सुत्रले काम गर्‍यो। यो सुत्रले गर्दा अमेरिकी तथा युरोपेली प्रशासनप्रति विश्व मुस्लिम समुदायमा वितृष्णा जगायो। र, अहिले पश्चिमाहरुलाई सबैभन्दा ठूलो चुनौती यही बनेको छ र खतरा पनि।

हुसेनलाई फाँसी दिइए पनि, लादेन मारिए पनि, ओबामा आए पनि मुस्लिम समुदायमाथि झुण्डिएको आतंकवादको बिल्ला अझै कायम छ। हिजो एक मात्र विन लादेन थिए, आतंकवादको ट्याग नहट्ने हो भने भोली सयौं विन लादेन जन्मिन सक्छन्। साउदी अरब, इराक, अफगानिस्तान, लिबिया, पाकिस्तान जस्ता मुस्लिम बाहुल्यता रहेको देशमा मात्र होइन अल्पसंख्यामा रहेका नेपालमा पनि लादेन जन्मिन सक्छन्।

यसलाई सुःखद नै मान्नु पर्छ मुस्लिम समुदायको यो मर्मलाई बुझी अमेरिकी सरकारले उनीहरुको मनमा मलम लगाउन आफ्ना हात अगाडि बढाइसेकेको छ। मध्यपूर्वका मुस्लिमसँग मात्र होइन अमेरिका नेपालमा रहेका मुसलमानसँग पनि उत्तिकै घनिष्ट सम्बन्ध बनाउने प्रयासमा जुटिसकेको छ। यसको अनुभूति यो पंत्तिकारले एक वर्ष अघि गर्न पाएको थियो। सेप्टेम्बर ११ पछिको दश वर्षमा यो नै सबैभन्दा ठूलो सकारात्मक परिवर्तन हो।


****

'तपाईलाई थाहा छ म को हुँ?'

'छैन'

'म कहाँबाट आउको हुँ थाहा छ?'

'अमेरिकाबाट मन्त्री आएका छन् रे भन्ने सुनेको छु'

'म कहाँ जन्मेको थाहा छ तपाईलाई?'

'छैन'

'कास्मीरको नाम सुन्नु भएको छ?'

'सुेनेको छु'

'हो, त्यहीं जन्मेको हुँ म'

अमेरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनकी विशेष सल्लाहकार फराह अन्वर पण्डित बाँके भवानीयापुर-५ की कुल्सुम दर्जीलाई आफ्नो परिचय दिंदैथिइन्, 'तर अहिले म वासिङ्टनबाट आएको।'

'अमेरिका विरोधी' धारणा मुस्लिम समुदायमा बढ्न थालेपछि अमेरिकी सरकारले चालेको कदम हो पण्डिको नियुक्ति। पण्डितलाई सन् २००९ जुनमा क्लिन्टनले मुस्लिम समुदायको लागि विशेष प्रतिनिधिका रूपमा नियुत्त गरेकी थिइन्। क्लिन्टनले विशेषपद सृजनागरी पहिलो पटक मुस्लिम महिलालाई अमेरिकी बिदेश मन्त्रालयको उच्च तहमा नियुत्त गरेकी हुन्। 'विश्वभरीका मुस्लिमसँग व्यक्ति-व्यक्ति तथा संस्थागत सम्बन्ध स्थापना गर्ने, अमेरिका र मुस्लिम समुदायबीच कायम भ्रमलाई मेटाउने,' उनलाई विदेशमन्त्री क्लिन्टनले दिएको जिम्मेवारी।

सायद यसैकारण होला, झण्डै एक वर्ष अगाडि (२०६७ कात्तिक ३० गते) नेपालका मुस्लिम समुदायको अवस्था बुझ्न र उनीहरुसँग सम्बन्ध स्थापन गर्न नेपालको सुदुर गाउँ पुगेकी पण्डिलले आफू पहिला अमेरिकन भन्दा पनि पहिला मुसलमानको बाहुल्यता रहेको आफ्नो जन्मस्थान 'काश्मिर' बताएर मुस्लिम समुदायसँग नजिकिन खोज्दै थिइन्। यो नजिकिने प्रयास अमेरीकी नयाँ नीतिको 'रिफ्लेक्सन्' थियो।

'म राष्ट्रपति बाराक ओबामाले पठाएर आएको,' पण्डितले नेपाल आउनुको कारण दर्जीलाई बताएकी थिइन्, 'तपाईहरूको कुरा सुन्न।'

दर्जीका मुजा परेका गालातिर नियाल्दै पण्डितले मुख खोलिन्, 'तपाईले ठूलो काम गरेको भएर म भेट्न आएकी।' दर्जी केही बोलिनन्, मात्र हाँसिन्।

'गाउँ र परिवारबाट सहयोग मिल्छ त?' पण्डितको जिज्ञासा थियो।
दर्जीले एकै शब्दमा जवाफ टुङग्याईन्, 'पाइन्छ।'
'कहाँबाट आउँछ निःशुल्क काम गर्ने इच्छा?'
'सेवा र धर्मका कारण,'
'बिना पैसा समाजको हितको लागि गरेको काम सबैभन्दा महत्वपूर्ण हुन्छ,' पण्डितले सही थापिन्, 'इट्स ग्रेट।'

पण्डितमा खुसीको सीमा रहेन्, भनिन्, 'तपाई कुराले मलाई उत्साह मिलेको छ। म तपाईको प्रयास क्लिन्टन समक्ष पुर्‍याउनेछु।'

नेपालमा रहेका मुस्लिमको अवस्था बुझ्न आएकी पण्डित नेपालगंजस्थित फतिमा फाउण्डेसन्-नेपालको कार्यालय एकछिन रोकिन भ्याएकी थिइन्। उनले त्यहाँ भलाकुसरी गरेकी थिइन् मुस्लिम महिलाहरूसँग। भनिन्, 'शिक्षित र स्वस्थ्य भइयो भने घर मात्र राम्रो हुँदैन देश पनि राम्रो हुन्छ।'

अमेरिकामा महिलाको अवस्था राम्रो हुनु पछाडि पण्डित एउटै कारण देख्छिन् - शिक्षा। पढ्न लेख्न जानिएन भने उज्ववल भविष्य छैन। अमेरिकामा महिलाले हिम्मत देखाएर अगाढी बढेका कारण उनीहरूको अवस्था राम्रो भएको उनको बुझाई थियो। उनले आँफु सानो छँदा आमाले भारतको कास्मिरबाट अमेरिका लगेपछि भनेको कुरा सुनाइन्, 'छोरी, तलाई म एउटै कुरा दिन्छु - शिक्षा। यसैले समाजमा समानता खोज्न र प्राप्त गर्न तलाई सिकाउँछ।'

'तपाईहरू पनि छोरीलाई शिक्षा दिनोस्, उनीहरूमा कुनै प्रतिभा छ भने त्यसलाई खिच्नेकाम नगर्नोस,' उनको सुझाव थियो, 'सबै जना डाक्टर, शिक्षक हुन सक्दैनन्। सबै भित्र आ-आफ्ना सपना हुन्छन्। तपाईलाई परम्परागत नलागेको कुरामा पनि छोरीहरू जानसक्छन्, त्यसलाई रोक्नुहुँदैन।'

विदेशमन्त्री क्लिन्टनले जिम्मेवारी दिएपछिको एक वर्षमा पण्डितले ३० वटा देश घुमी मुस्लिम समुदयाको राय बुझ्ने काम भ्याइन्। उनले भेटेका सबै देशका मुस्लिम समुदायमा अमेरिकाप्रति प्रायः एउटै धारणा पाइन् - 'नकारात्मक'।

'मलाई देख्दा अचम्म नमान्नोस्,' अमेरिकी उच्च ओहोदामा रहेकी मुस्लिम महिला आँफुहरुलाई भेट्न आएको देख्दा संकोचमान्दै हेरिरहेका नेपालगन्जका मुस्लिम बुद्धिजीवीहरुलाई उनले स्पष्ट पारिन्, 'मुस्लिम समुदायसँग सम्बन्ध बढाउने राष्ट्रपति ओबामाको प्रयास अमेरिकीहरूको लागि नै नौलो हो।'

के अमेरिकी मुसलमानहरु त्यहाँ सम्मानित जीवन बिताइरहेका छन्? बुद्धिजीवीहरुको जिज्ञासा मेटाउने क्रममा उनले आफू अमेरिकी मुसलमान भएको जनाउँदै भनेकी थिइन्, 'सम्मानित मुसलमान र सम्मानित अमेरिकन हुनुमा मलाई कुनै समस्या छैन।' उनले देखेको अमेरिका यस्तै छ।

'सेप्टेम्बर ११' को ९ वर्षपछि नेपाल आउँदा अमेरिकी र मुस्लिम समुदाय दुवैमा परिवर्तन उनले देखेकी थिइन्। अमेरिका 'तिमी' र 'म' भन्न छोडी अहिले 'हामी' भन्न थालेको तर्क उनको थियो। उनले तर्क गर्न नभ्याउँदै प्रश्न तेर्सियो, 'स्लामिक आतङ्कवादी भन्ने शब्दावलीमा परिवर्तन आउँछ त?'

'मुस्लिम समुदायलाई लक्षित गरी यो भनिएको होइन, परिस्थितिविरूद्ध हो,' उनले कुटनीतिक शैलीमा जवाफ फकाइन्।

****

पण्डितले भनेजस्तो परिस्थिति अहिले पक्कै छैन। विश्व परिस्थति फेरिएको छ। घटनाहरु फेरिएका छन्। पात्रहरु फेरिएका छन्। मध्यपूर्वमा लोकतन्त्रको लहर चलेको छ, यूरोप-अमेरिकामा आर्थिक मन्दिको। मुस्लिम धर्मको नाममा युद्ध छेडी सयौै निर्दोश मार्ने लादेनलाई अमेरिकी सेनाले मारिसकेको छ। मुस्लिम आप्रवासीको विरोध गर्दै नर्वेमा एक व्यत्तिले झण्डै एक सय जनाको ज्यान लिएका छन्। सेप्टेम्बर ११ अगाडि अमेरिकाको सैन्य शक्ति र आर्थिक विकास देखेर तर्सिनेहरु अहिले उसको गिर्दो साख देखेर डराइरहेका छन्। सेप्टेम्बर ११ को दश वर्षपछि मुसलमानहरु उल्टो अहिले अमेरीकिहरुसँग प्रश्न गर्दैछन्- किन अमेरिका यतिविधि मुस्लिमलाई घृणा गर्छ?

यथार्थ यही हो- दश वर्षको युद्धमा न कसैको जित भयो न कसैको हार। धेरैभन्दा धेरै मुस्लिम समुदायमा पण्डित पुग्न बाँकी नै छ। 'अमेरिका, मुस्लिम र आतंकवाद' सम्बन्धमा तर्क वितर्क गर्न बाँकी छ। धेरै भ्रम मेटाउन बाँकी छ। आपसमा विद्यमान घृणा हटाउन बाँकी छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ट्याग्स

कमेन्ट