Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

अमेरिकी डलर महँगियो

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँसँग बिहीबार एकै दिन 'कीर्तिमानी दर' ले बढेको छ। बुधबारका तुलनामा डलर बिहीबार १ रुपैयाँ ६५ पैसाले माथि गएको हो। यसअघि एकै दिन यो दरमा सामन्यतया डलर महँगो भएको थिएन।

नेपालमा डलर कारोबार गर्ने वाणिज्य बैंकले विश्व मुद्रा बजारका कारण बिहीबार एकै दिन तीनपल्ट भाउ बढाए। भारतमा डलर माग बढ्नु र युरोपेली मुलुकका अर्थतन्त्रमा देखिएको संकटले डलर महँगो भएको हो। केही दिनयता नेपाली रुपैयाँसँग अमेरिकी डलरको मूल्य बढिरहेको छ। बिहीबार १ डलरबराबर ७८ रुपैयाँ ९१ पैसा पुगेको छ। वाणिज्य बैंकले बुधबार प्रतिडलर ७७ रुपैयाँ २६ पैसा तय गरेका थिए। तीन महिनाअघि नेपाली रुपैयाँसँग डलरको भाउ ७१ रुपैयाँ थियो।
डलर भाउ बढेकाले विदेशबाट आउने वस्तुको मूल्य बढ्छ, डलरमा लिएको ऋण तिर्दा बढी पैसा खर्च गर्नुपर्छ। विदेश जाने हवाई टिकट पनि महँगो हुन्छ। यसबाट डलर कमाएर नेपाल पठाउनेलाई फाइदा हुन्छ। नेपाली वस्तु डलर लिएर बिक्री गर्नेलाई पनि यसले फाइदा हुन्छ। पर्यटकबाट आम्दानी लिनेलाई पनि फाइदा हुन्छ।
अर्कोतिर पेट्रोलियम पदार्थ ल्याउने आयल निगमलाई डलर महँगो हुँदा बढी पैसा तिर्नुपर्ने छ। 'अहिले डलर महँगो हुँदा अर्थतन्त्रलाई फाइदै हुन्छ,' राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीले भने।
भारतीय रुपैयाँ र डलरबीचको खरिद बिक्री दरले नेपालमा डलरको मूल्यमा असर पर्छ। भारु र नेपाली रुपैयाँबीचमा परिवतर्न नहुने स्थिर विनिमय दर भएकाले यस्तो भएको हो। स्थिर विनिमय दरका कारण नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतको अर्थतन्त्रबाट नेपालको मुद्रा बजारमा सिधै असर पर्छ।
भारतमा बिहीबार सबैभन्दा ठूलो सेयर बजार मुम्बई स्टक एक्सचेन्जमा ठूलो गिरावट आएको छ। अमेरिकी डलरको माग पनि बढेको छ। डलरमाथि जाँदा विदेशबाट आउने समानको मूल्यवृद्धि हुनेमा अर्थशास्त्री चिन्तित छन्।
वाणिज्य बैंकले सर्वसाधारणसँग भएको डलर योभन्दा बढी ६० पैसा कम दिएर किन्छन्। दुई सातायता डलर मूल्य निरन्तर बढिरहेको छ। युरोपेली देशका अर्थतन्त्रमा आएको समस्याले विश्व बजारमा डलर माग बढेको छ। यसको असर विदेशी मुद्रा बजारमा परेको हो।
बिहीबार भारतीय मुद्रा न्यून विन्दुमा पुगेको छ। डलरसँग भारु दुई वर्षयता सबैभन्दा बढीले खस्केको हो। सेयर बजार परिसूचक बिएसई बिहीबार ४ दशमलव १३ प्रतिशतले घटेको छ। १ डलरबराबर ४९ रुपैयाँ १ पैसा भारुमा कारोबार भएको छ।
'भारतले आफ्नो निकासी प्रोत्साहित गर्न पनि डलरलाई बलियो बनाएको हुन सक्छ,' ती अधिकारीले भने। डलरसँगै, युरो, पाउन्ड, चिनियाँ युआनलगायत अन्य विदेशी मुद्राको मूल्य पनि बढेको छ।
नेपाली रुपैयाँमा हिसाब गर्दा विदेशी मुद्राको सञ्चिति पनि मुलुकमा बढेको देखिनेछ। केही दिनदेखि मुलुकमा ३ अर्ब १० करोड डलर सञ्चिति छ। यसमा हेरफेर नभए पनि रुपैयाँमा हिसाब निकाल्दा विदेशी मुद्रा सञ्चिति बढेको छ।
डलर महँगो हुँदा सरकारले विदेशबाट लिएको ऋणको सावाँ-ब्याज भुक्तानीको रकम बढ्नेछ। सरकारले यसका लागि छुट्ट्याउनुपर्ने रकम बढाउनुपर्नेछ।
 
महँगो हुँदाका असर
फाइदा
-रेमिटेन्स आम्दानी बढ्ने
-डलरमा निकासी हुने सामानको मूल्यवृद्धि
-पर्यटक सेवा बिक्रेताको आय बढ्ने
-स्वदेशी वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढ्ने

बेफाइदा
-आयातित सामानको मूल्य बढ्छ
-आयल निगमलाई तेल किन्दा महँगो
-सरकारी ऋण तिर्दा बढी खर्च
-डलरमा तिर्नुपर्ने ऋण
-विदेश जाने हवाई टिकट महँगो
-आयोजना लागत बढ्ने 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय