Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

दूध र मिठाइ दूषित भएको पुष्टि

E-mail Print
(0 votes, average 0 out of 5)
विष्णु पोखरेल, काठमाडौं, असोज ५- राजधानीको बालाजुस्थित पुष्प डेरी फर्मको दूध र नक्सालस्थित अनमोल स्विट्सका मिठाइ मिसावटयुक्त र दूषित रहेको पुष्टि भएको छ। सरकारी टोलीले अनुगमनका क्रममा संकलन गरेको नमुना केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पुष्प डेरीको दूध र अनमोलको मिठाइ मिसावटयुक्त एवं दूषित पाइएको हो।

अनमोल स्विट्सका मिठाइ महानगरीय प्रहरी परिसर हनुमानढोकाले समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाएको थियो।
विभागको प्रयोगशाला परीक्षणले पुष्प डेरीले उत्पादन गरेको दूधमा अत्यधिक मात्रामा 'कोलिफर्म' जीवाणु पाइएको छ। 'प्रशोधित दूधमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले बुधबार नागरिकसँग भनिन्, 'पुष्प डेरीको दूधमा भने प्रतिग्राम २ हजार ४ सय कोलोनी भेटिएको छ।'
पुष्प डेरीको दूधमा 'साल्ट'को मात्रा पनि भेटिएको छ। दूध नफटाउन डेरीले सोडियमबाई कार्बोनेट(खाने सोडा) प्रयोग गरेकाले 'साल्ट'को मात्रा भेटिएको हो। 'यसले पुष्प दूधमा सोडियम बाई कार्बोनेट मिसाएको पुष्टि भएको छ,' उनले भनिन्।
नेपाल सरकारले दूधमा तोकेको मापदण्डमा यस्ता रसायन मिसावट गर्न नपाइने उल्लेख छ। दूधमा कोलिफार्मको मात्रा पनि शून्य हुनुपर्छ। कोलिफर्मयुक्त दूध नउमाली खाए विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। 'कोलिफार्मलाई धेरै तातो वा धेरै चिसोमा राखेर मात्र मार्न सकिन्छ,' लामाले भनिन्, 'नेपालमा दूध उमालेर खाने गरेकाले मात्र असर कम देखिएको हो।'
उत्पादन स्थल र त्यसको सफाइका लागि प्रयोग हुने पानी फोहोर भएमा पास्चराइज दूधमा कोलिफार्मको मात्रा बढी भेटिन सक्छ। यसैगरी गाईभैंसीको गोबरमार्फत पनि कोलिर्फाम आउन सक्ने प्राविधिकहरु बताउँछन्।
खाद्यको परीक्षणले हनुमान ढोकाले पठाएका शुद्ध दूधका भनि बिक्री गरिने मिठाइमा पिठोको मात्रा रहेको भेटिएको छ। विभागको परीक्षणले अनमोल स्विट्सले उत्पादन गरेका काजु बर्फी, खुवा, खुवा बर्फी, दिलखुस बर्फी, केशर पेडा, मथुरा पेडा मिठाइलगायतमा पिठोका मात्र धेरै देखिएको हो।
अनमोलका सञ्चालक पक्राउ परेपछि मुद्दा चलाउनका लागि उनीहरुका उत्पादन परीक्षणका लागि खाद्यमा पठाएको महानगरिय प्रहरी परिसर हनुमान ढोकाका प्रहरी उपरीक्षक केदार रिजालले बताए। 'मुद्दा चलाउन आवश्यक प्रमाण जुटाउने क्रममा मिठाइ परीक्षण गराइएको हो,' उनले भने, 'परीक्षणले मिठाइ गुणस्तरहीन भएको देखाएको छ।'
प्रयोगशाला परीक्षणबाट अनमोलले मिठाइमा प्रयोग गर्ने कन्हैया ब्रान्डको घिउ पनि गुणस्तरहीन रहेको पुष्टि भइसकेको छ। प्रहरीले अनमोल स्विट्स र कन्हैया घिउका सञ्चालकलाई कालो बजार तथा केही सामाजिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गर्ने जनाएको छ।
पुष्प डेरीलाई भने खाद्यले खाद्य ऐनअनुसार कारबाही अघि बढाउने महानिर्देशक लामाले बताइन्। 'हामीले बयानका लागि बोलाइसकेका छौं,' उनले भनिन्, 'चाँडै मुद्दा दर्ता गर्छौं।'
प्रयोगशाला परीक्षणले कर्नर ताजा गुँदपाक र कृष्ण गुँदपाकले उत्पादन गरेको गुँदपाक एवं पुष्टकारीमा भने 'फुड पोइजन' हुने किटाणु रहेको पुष्टि गरेको छ। अनुगमनको क्रममा अस्वस्थकररुपमा उत्पादन भइरहको पाइएपछि अनमोल स्विट्स, पुष्प डेरी, कर्नर ताजा गुँदपाक र कृष्ण गुँदपाकको उत्पादन एवं बिक्री रोक्का रहेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले सबै कम्पनी सञ्चालकलाई चाँडै मुद्दा लगाउने जानकारी दिए। 'पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने, '२५ दिनभित्र प्रहरीले मुद्दा दर्ता गर्छ, त्यसै अनुरुपम कारबाही अघि बढ्छ।'

 
 नमूना परीक्षण गर्न भ्याइनभ्याई

छुट्टाछुट्टै सरकारी निकायहरुले बजार अनुगमन तीव्र बनाएपछि मुलकको एकमात्र केन्द्रीय खाद्य प्रयोगशालाका कर्मचारीलाई भ्याइनभ्याई छ।

दैनिक विभिन्न खाद्य एवं पेयका नमुना परीक्षणका लागि आउन थालेपछि खाद्यका कर्मचारीलाई भ्याइनभ्याई भएको हो। आठजना खाद्य निरीक्षकका भरमा वाग्ामती अञ्चलभरि खाद्य बजार अनुगमन गर्ने जिम्मेवारी पाएको विभागले अहिले विभिन्न टोलीसँगै अनुगमनका साथै नमुनाहरुको परीक्षण पनि गरिरहेको छ।

'अहिले अरुबेलाभन्दा बढी चाप छ,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्, 'भदौ १५ यता दिनयता हाम्रोमा धेरै नमुना आएका छन्।' उनले अहिले पहिलेको तुलनमा अनुगमन तीव्र भएकाले नमुना परीक्षण पनि त्यही गतिमा भइरहेको जानकारी दिइन्।

'पहिला हामीले नियमित परीक्षण गर्दा जस्तो छैन,' उनले भनिन्, 'अन्य निकायले पठाएका नमुनाहरु चाँडै परीक्षण गरेर पठाउनुपर्ने चटारो छ।' विभागले आफै पनि चाडपर्व नजिकिँदै जाँदा चाडपर्व विशेष कार्यक्रम भनेर अनुगमनलाई बढाएको छ। यसले पनि चाप बढेको उनले बताइन्।

अघिल्ला वर्षहरुमा पनि नमुना परीक्षण र अनुगमन हुने गरेको भएपनि यसपटक जस्तो चर्चा भएको थिएन। 'अहिले धेरैले उपभोक्ता स्वास्थबारे चासो दिएको देखिएको छ,' उनले भनिन्, 'यसले पनि समस्याहरु उजाजर भइरहेका हुन्।'

अनुगमनमा देखिएका गल्ती र परीक्षण प्रतिवेदनका आधारमा कारबाही अघि बढाइए पनि त्यसको निर्क्यौल हुन ढिलो हुँदा उपभोक्तालाई न्याय पाएको महसुस नहुने गरेको खाद्यका अधिकारीहरु बताउँछन्। 'हामीले आफैं कारबाही गर्ने होइन,' लामाले भनिन्, 'कारबाहीका लागि सरकारी वकिल, प्रशासन कार्यालय, प्रहरी सबैको समन्वय जरुरी छ।'

अहिले विभागमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत नमुना परीक्षणका लागि ल्याउने गरेका छन्। आर्थिक वर्ष सकिएर खाद्य अनुज्ञापत्र नवीकरण गर्न आउने र अनुज्ञापत्रको स्वीकृति लिन आउनेको संख्या पनि बढेको छ। 'दर्ता र नवीकरणका लागि साउनयता मात्र ३ सय २० वटा कम्पनीले आवेदन दिइसकेका छन्,' उनले भनिन्, 'उनीहरुका नमुना धेरै छन्।' अनुज्ञापत्र नवीकरण गर्न र दिनअघि विभागले खाद्यको नमुना परीक्षण अनिवार्य गरेको छ। 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय