निवर्तमान प्रधानमन्त्री र मन्त्रीका कार्यकर्तालाई सरकारले हटायो

E-mail Print
(0 votes, average 0 out of 5)
सुशील भट्टराई, काठमाडौं, असोज ३ -निवर्तमान प्रधानमन्त्री झलनाथ खनाल र पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माद्वारा नेपाल वायुसेवा निगम सञ्चालक समितिमा नियुक्त गरिएका उनीहरूका दुई कार्यकर्तालाई सरकारले हटाएको छ।

निगम सञ्चालक समिति सदस्यमा नियुक्त विनोदकुमार चोङदाङ र शिवशरण न्यौपानेलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार हटाउने निर्णय गरेको हो।

गत भदौ १२ मा पर्यटन मन्त्री स्तरीय निर्णयबाट चोङदाङ र न्यौपानेलाई नियुक्त गरिएपछि सात सदस्यीय निगम सञ्चालक समितिले पूर्णता पाएको थियो। तर, हालै सर्वोच्च अदालतको आदेशबाट निगम महाप्रबन्धकमा केबी लिम्बु पुनर्बहाली भएपछि सञ्चालक समिति आठ सदस्यीय भएको थियो। निगमका महाप्रबन्धक सञ्चालक समितिका सदस्य सचिव हुने प्रावधान छ।

'सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयन गराउनका लागि पछिल्लो पटक नियुक्त चोङदाङ र न्यौपानेलाई हटाउने निर्णय भएको छ,' पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले सोमबार नागरिकसँग भने, 'अब समितिमा ६ जनामात्र भएका छन्। सरकारले अर्को एक सदस्य नियुक्त गर्नेछ।'

चोङदाङ र न्यौपानेलाई निवर्तमान प्रधानमन्त्री खनाल र पर्यटन मन्त्री विश्वकर्माले कुर्सी छोड्दाछोड्दै भदौ १२ मा निगम सञ्चालक सदस्य नियुक्त गरेका थिए। त्यही दिन मुलुकमा नयाँ प्रधानमन्त्रीको चुनाव भइरहेको थियो।

चोङदाङ हवाई उड्डयन क्षेत्रमा विल्कुलै नयाँ नाम हो भने न्यौपाने नागरिक उड्डयन प्राधिकरणको आठ तहबाट अवकासप्राप्त हुन्। 'निगम सञ्चालक समितिमा मेरो पनि एकजना मान्छे राख्नुपर्‍यो' भन्दै निवर्तमान प्रधानमन्त्री खनालले आग्रह गरेपछि न्यौपानेलाई नियुक्त गरिएको थियो। 'प्रधानमन्त्रीले नै सिफारिस गरेपछि मन्त्रीले हार्न नसकेर न्यौपानेलाई नियुक्त गरेका थिए,' स्रोतले भन्यो।

अर्का सदस्य चोङदाङलाई नियुक्त गर्न निवर्तमान पर्यटन मन्त्री विश्वकर्माले मन्त्रालयकै उच्च अधिकारीको सुझाव लत्याएका थिए। 'हवाई उड्डयन क्षेत्रमा कतै संलग्न नभएका चोङदाङको सट्टा व्यावसायिक, परिपक्व र उपयुक्त विज्ञ खोज्न सुझाव दिए पनि पर्यटन मन्त्रीले एकतर्फी निर्णय गरी पेलेरै नियुक्त गरेका थिए,' स्रोतले भन्यो, 'निगमका कार्यकारी अध्यक्षमा आफ्ना कार्यकर्ता मनरुप शाहीलाई नियुक्त गर्दा पनि विश्वकर्माले यस्तै एकतर्फी निर्णय गरेका थिए।'

स्रोतका अनुसार पर्यटनका उच्च अधिकारीहरूले निगम सञ्चालक समितिमा चोङदाङ उपयुक्त नभएको बारम्बार सुझाव दिए पनि मन्त्री विश्वकर्माले राजनीतिक, भौगोलिक, समावेशी र जनजातिका हिसाबमा चोङदाङ उपयुक्त रहेको र उनी पूर्वी क्षेत्रको भएकाले नियुक्त गरिएको तर्क राखेका थिए।

सरकारले गत असार १५ मा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक केबी लिम्बुलाई पदमुक्त गरी कालिकोटका माओवादी कार्यकर्ता शाहीलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। उनी निवर्तमान पर्यटन मन्त्री विश्वकर्माकै गृहजिल्लाका हुन्।

निगम अध्यक्षका लागि हवाई क्षेत्रकै वा वाणिज्य, अर्थ, लेखा वा पर्यटन विज्ञ हुनुपर्ने र कम्तीमा स्नातक गरेको हुनुपर्ने मान्यताविपरीत पर्यटन मन्त्रीको प्रस्तावमा तत्कालीन मन्त्रिपरिषदले शाहीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।

कर्णाली प्राविधिक शिक्षालयमा शाहीसँगै पढेका साथीहरूका अनुसार उनले एसएलसी पनि पास गरेका छैनन्। उनले पर्यटन मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरणमा भारतको बहराइच विश्वविद्यालयबाट स्नातक गरेको उल्लेख छ। हवाई क्षेत्र र व्यवस्थापनको अनुभव तथा संस्थान हाँक्ने न्यूनतम शैक्षिक योग्यता नभएका शाहीको नियुक्तिमा मन्त्रालयको प्रशासनिक नेतृत्वले पनि आलोचना गरेको थियो।

लामो समयदेखि रिक्त निगम सञ्चालक समिति अध्यक्षमा निगमका कार्यकारी अध्यक्ष शाही, सदस्य सचिवमा लिम्बु तथा सदस्यमा अशोक पोखरेल, अमरनारायण माली, पर्यटन सहसचिव रञ्जनकृष्ण अर्याल र भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा छन्।

'मुसा काण्ड' बारे बोलेका पाइलटको उडान रोक्का
निगम व्यवस्थापनले भदौ १९ मा जहाजभित्र मुसा पसेको विषयमा 'नियम' विरीत बोलेको भन्दै क्याप्टेन युवराजकुमार भट्टराईलाई उडान गर्न रोकेको छ। मंगलबार मध्याह्न १२ः२० बजे हङकङ उडाउने उनको तालिका भए पनि निगमले सोमबार दिउँसो उडान रोक्ने निर्णय गरेको हो।

'निगमका सबै सूचना र जानकारी प्रवक्ता राजुबहादुर केसीबाट मात्र बाहिर जाने नियम बनाइए पनि क्याप्टेन भट्टराईले हङकङमा बसेर उडान सुरक्षाबारे विभिन्न सञ्चारमाध्यमसँग कुरा गरेका थिए,' सम्बद्ध एक अधिकारीले भने, 'त्यही भएर त्यसबारे छानबिन गर्न उनको उडान रोकिएको हो।'

निगमले 'मुसा काण्ड' बारे छानबिन गर्न नायब महाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको मंगलबार बस्ने पहिलो बैठकमा क्याप्टेन भट्टराईलाई सोधपुछ गरिने भएकाले उनलाई उपलब्ध गराइदिन समितिले पत्राचार गरेपछि उनको उडान रोक्का गरिएको ती अधिकारीले जानकारी दिए।

छानबिन समितिमा उडान सुरक्षा, मानव संशाधन, अपरेसन र कानुन विभागका प्रतिनिधि सदस्य छन्। समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ। 'बिनागल्ती उडान रोक्न पाइँदैन,' एक पाइलटले भने, 'क्याप्टेन भट्टराईले नै उडाउन लागेको जहाजमा मुसा देखिएपछि उनले सञ्चारमाध्यमसँग कुरा गर्नु स्वाभाविक हो।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय