Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

फायर एन्ड आइसकी सञ्चालिकाको अनुभव- नेपालमा लगानी 'धेरै गाह्रो'

E-mail Print
(0 votes, average 0 out of 5)
सुशील भट्टराई, काठमाडौं, असोज ६- शुद्ध इटालियन खाना पाइने ठमेलको फायर एन्ड आइस रेस्टुरेन्टमा साउन २५ गते एकाएक ताल्चा लाग्यो। माओवादी मजदुरले प्रबन्धकसँग दुर्व्यवहार गरेपछि सञ्चालिका एन्ना मारिया फोर्जिओनीले रेस्टुरेन्टै बन्द गरिन्।
 

गुणस्तर र स्वादको तारिफमा 'टाइम' पत्रिकाले लेख छापेपछि अन्तर्राष्ट्रिय ख्याति कमाएको यो रेस्टुरेन्ट बिहीबार फेरि पहिलेजस्तै खचाखच देखियो।

मजदुर विवादका कारण एकपछि अर्को उद्योग-व्यवसाय समस्यामा परेका बेला यो रेस्टुरेन्टले सहमति गरेर खुल्ने वातावरण बनाएको हो। डेढ महिनापछि खुल्दा पहिलेजस्तै भिड लागेको प्रबन्धक विद्या श्रेष्ठले बताइन्।

मजदुर विवादकै कारण बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले आफ्नो तयारी पोसाक युनिट सधैंका लागि बन्द गरिसकेको छ। नेपालकै पहिलो चाउचाउ रारा उत्पादक हिमश्री फुड्स प्रालि १५ दिनदेखि बन्दै छ। देशको एकमात्र टायर उद्योग गोरखकालीमा बिहीबार ताला लाग्यो।

सबभन्दा सानो तहको मजदुरलाई पनि महिनाको १२ हजार रुपैयाँ तलब दिने फायर एन्ड आइसमा ७१ नेपाली काम गर्छन्।

'मजदुरहरूले गल्ती भयो भन्दै माफीपत्र बुझाएपछि रेस्टुरेन्ट खोल्यौं,' फोर्जिओनीले बिहीबार नागरिकसँग भनिन्, 'उनीहरूले आइन्दा गैरकानुनी हडताल नगर्ने सम्झौता गरेका छन्। हामी खुसी छौं।'

सन् १९९५ मा सुरु रेस्टुरेन्टले मजदुरलाई २५ हजार रुपैयाँसम्म तलब दिँदै आएको छ। सुरुका १४ वर्ष व्यवस्थापन र मजदुरबीच कहिल्यै समस्या भएन। २००९ मा मजदुरले सेवासुविधा बढाउन माग गर्दै हड्ताल गर्दा एक महिना बन्द भएको थियो।

यसपालि माओवादी भ्रातृ संगठन अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघमा आबद्ध मजदुरले प्रबन्धक श्रेष्ठमाथि 'दुर्व्यवहार' गरेपछि सञ्चालिका फोर्जिओनीले सुरक्षाको कारण देखाउँदै रेस्टुरेन्ट बन्द गरेकी थिइन्।

डेढ महिनाको प्रयासपछि मजदुर पनि उनीसँग सहमत भए। दुर्व्यवहार गरेको भनिएका मजदुर यनियनका उपाध्यक्ष खगेन्द्रराज मोक्तानले आफ्नो हरहिसाब गरेर राजीनामा दिएपछि रेस्टुरेन्ट खुल्ने वातावरण बन्यो।

'हामीले बाँकी चार मजदुरलाई चेतावनी दिएका छौं,' फोर्जिओनीले भनिन्, 'भविष्यमा यस्तो नहोस् भन्ने कामना गर्छौं। फेरि हड्ताल भए रेस्टुरेन्ट बन्द गरेर इटाली फर्किन्छु।'

इटालीबाट आएर १६ वर्षदेखि रेस्टुरेन्ट चलाइरहेकी फोर्जिओनी नेपालमा लगानी गरेर काम गर्न असाध्यै गाह्रो भएको बताउँछिन्। 'यहाँका मजदुर कामभन्दा बढी राजनीति गर्छन्,' उनले भनिन्, 'काम र राजनीति भिन्दाभिन्दै कुरा हो। कि काम गर्नुपर्‍यो, कि राजनीति।'

१ सय ५६ जनालाई एकैचोटि सेवा दिनसक्ने यो रेस्टुरेन्ट इटालियन खानाका लागि प्रख्यात छ। पिज्जा र आइसक्रिम यहाँका आकर्षण हुन्।

अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको फायर एन्ड आइसले भारतको कोलकातामा यही ब्रान्डमा रेस्टुरेन्ट चलाइरहेको छ। अर्को वर्ष काठमाडौंको बौद्ध, पुल्चोक र भारतको नयाँदिल्लीमा खोल्ने योजना रहेको उनले बताइन्।

फोर्जिओनीले ५० लाख रुपैयाँ लगानीमा फायर एन्ड आइस खोलेकी थिइन्। रेस्टुरेन्टले वार्षिक करिब ४ करोड रुपैयाँ आम्दानी गर्छ। नाफा करिब ५० लाख पुग्छ। गत वर्ष ११ लाख आयकर तिरेको थियो।

'नेपाल सरकारले विदेशी लगानी भिœयाउन हामीजस्ता लगानीकर्तालाई सुरक्षा र लगानीको विश्वास दिलाउन सक्नुपर्‍यो,' उनले भनिन्, 'यहाँ लगानी गर्ने वातावरण छैन। हामी जसोतसो टिकिरहेका छौं।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय