Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

ज्ञान दिने 'आचार्य'

E-mail Print
(0 votes, average 0 out of 5)

दीपेन्द्र लामा-  गायक भक्तराज आचार्यको जीवनीमा आधारित 'आचार्य' एउटा उपलब्धिमूलक फिल्म बनेको छ, जसमा कथामात्र होइन दृश्य रूपान्तरण पनि आकर्षक छ। फिल्म दृश्य माध्यम हो। यसमा दृश्य (इमेज)हरूमार्फत् कथा सम्प्रेषण गरिन्छ। कुनै चिरपरिचित कथा छानेकै भरमा फिल्म राम्रो बन्दैन। कथा भन्न प्रयोग गरिने दृश्य वा चित्रहरूको भाषा पनि असरदायी हुनुपर्छ। निर्देशक प्रशान्त रसाइलीले यो मन्त्रलाई आत्मसात गरेका छन्।

 
संगीत गुरुले गीत गाउन थाल्नेबित्तिकै चिया बगानमा पानीको फोहोरा छम्किएको दृश्य जति आनन्ददायी छ, त्यति नै मार्मिक छ भक्तराजको आत्महत्या प्रयास। फरकफरक संवेदनालाई 'भिजुयल्ली' सन्तुलनमा राख्न सजिलो छैन।


जे उजागर गर्न खोजिएको हो वा सम्बन्धित क्षणमा जस्तो अनुभूति उत्पन्न हुनुपर्ने हो त्यस्तै हुन्छ। 'भिजुयल ल्याङ्ग्वेज'मा निर्देशकको परिपक्वताको प्रमाण हो यो। निर्देशकको मनसाय र दर्शकको बुझाइबीच तालमेल नमिलेका उदाहरण अरु फिल्ममा प्रशस्तै पाइन्छ।

भक्तराज र आफूलाई व्यवस्थापक ठान्ने पात्रबीचको पहिलो वार्तालाप हुँदा नजिकै काठको खाँबोमा माथि उक्लिरहेको एउटा लार्भा किरा विम्बात्मक छ। भलै त्यसलाई फोकस गरिएको छैन। तैपनि भक्तराजको तत्कालीन भविष्यलाई त्यहाँ धेरथोर संकेत हुन्छ।

फिल्मको तारिफयोग्य पक्ष अभिनय हो। एउटामात्र दृश्यमा देखिने पात्रहरू पनि अभिनयमा टिकेका छन्। कास्टिङ डाइरेक्टर सौगात मल्ललाई यसको श्रेय जान्छ। आकलझुकल देखिने ठाउँमा उनले खम्बाजस्ता निर्जीव पात्र उभ्याउने गल्ती गरेका छैनन्।

अभिनय चर्को (लाउड) छैन, संयमित छ। भक्तराजको भूमिकामा सत्यराज फिट देखिन्छन्। उनको संवाद, हाउभाउ र अनुहार एउटा सन्तुलित 'ग्राफ'भित्र अडिएको छ। मुख्य पात्र भए पनि 'फिल्म हिरोइज्म'बाट मुक्त छन्। भक्तराजको 'प्वाइन्ट अफ भ्यु' र 'एटिच्युड'लाई उनले स्वाभाविक ग्रहण गरेका छन्।

बस्तीमा पहिलोपटक रेडियो बज्दा गाउँका केटाकेटीदेखि बुढापाकाहरूमा फैलिएको उमंगलाई दृश्यमा देखाउन निकै रमाइलो 'सट डिभिजन'को सहारा लिइएको छ। दर्शक र पात्र दुवैमा एकसाथ कौतुहलता जगाउन दृश्य सफल छ।

ट्रली र क्रेन जति धेरै चलाउन सकियो छायांकनलाई त्यति भव्य मान्ने गलत प्रवृत्तिबाट यसका छायाँकार शैलेन्द्र डि कार्की बचेका छन्। कुनै दृश्यमा पनि प्राविधिक दुरूपयोगको आभास हुँदैन। बरु, दर्शकलाई कल्पना गर्ने ठाउँ प्रशस्त दिँदै छायांकन गरिएको छ।
पात्रहरू बोलेको बोल्यै वा ब्याकग्राउन्ड म्युजिक बजेको बज्यै हुने ध्वनि प्रदुषण यसमा छैन। बेलाबखतका मौन र अँध्यारा क्षणहरूले संवेदनाको नवीकरण भइरहन्छ।

फिल्ममा विविध अनुहार र भाषाका पात्रहरू छरिएका छन्। यस किसिमको पात्र परिचालनले फिल्ममा देखाइएको समाज मानवशास्त्रीय रूपमा तर्कसंगत बन्छ। काठमाडौंलाई हिन्दु र बौद्ध संस्कृतिको सम्मिश्रण देखाउन फिल्ममा दुवै खाले मन्दिरका पोट्रेट बेलाबेला घुसाइएको छ।

पात्रहरूको मानवीय गुण पनि विविध छ। सहयोगी, असहयोगी, असल, खराब, ईर्ष्यालु सबै आचरणका पात्रहरू भक्तराजले झेल्छ। कथा संघर्षपूर्ण देखिनुमा यो पनि एउटा कारण हो। त्यस्तै थोरै दृश्यमा पतिपत्नीबीचको गाढा सम्बन्ध र आत्मीयता स्थापित हुन्छ।
संवेदना खुम्चिने बेला फ्रेम साँघुरो हुन्छ भने संवेदना फैलिने बेला फ्रेम फराकिलो हुन्छ। सटसाइजको छनोट संवेदनाअनुसार सानो, मध्यम र ठूलो गरिएको छ। सटसाइजलाई सिचुयसन अनुसार अपनाइनु पर्छ भन्ने यसले सिकाउँछ।

हुन त काठमाडौंको हावापानी चक्रीय छ। तर, यहाँको 'सिस्टम' चिसो नै मान्न सकिन्छ। किनभने नयाँ पुस्ता वा आगन्तुकलाई यसले सजिलै न्यानो दिँदैन। यो सिस्टमभित्र बाँच्न निकै चिसो संघर्ष गर्नुपर्छ। फिल्ममा यो पक्षको आभास दिलाउन हिउँद यामको मद्दत लिइएको छ।

एउटा डेराको जिन्दगी बिताउनेले कति हन्डर खानुपर्छ, काठमाडौंमा बाँच्नेहरूलाई बढी अनुभव होला। घरमालिकले डेरावाललाई दूधबाट झिङ्गा फ्याँकेझैं कुनै बहाना झिकेर गलहत्याउन सक्छ। रातिराति गीत फुराउन हार्मोनियम फिट्ने भक्तराजको डेराजिन्दगी सुखले बित्ने कुरै भएन। फिल्मले यो प्रसंगमार्फत् सहरमा खिइँदै गएको मानवताप्रति गम्भीर व्यंग्य कसेको छ।

अहिलेसम्म दर्जनौं फिल्ममा हिरोहिरोइनले चिया बगानमा नाचिसके। तर ती नृत्यमा हिरोहिरोइन र बगानबीच कुनै पनि 'कनेक्सन' हुँदैनथ्यो। 'आचार्य'मा भने चिया बगानको जीवनशैली नै छ।

काठमाडौंको 'कंक्रिटाइजेसन' हुनुअघिका सुन्दर ल्यान्डस्केपहरूले पुराना दिनहरूलाई ताजा बनाइदिन्छ। वायु प्रदुषणले नछोपेकोले त्यो बेला उत्तरतिर हिमाल अझ टल्किएको भान हुन्छ।

मन्दिरको पेटीमा धुलो फुक्दै पुछेर बसेको दृश्यले भक्तराज 'सभ्य' र सचेत बनिसकेको प्रष्टिन्छ। त्यही दृश्यमा उसले बिहेको निर्णय लिएको निकै अर्थपूर्ण लाग्छ।

फिल्ममा केही कमजोरी पनि पाइन्छ। सबैभन्दा खट्किने पक्ष काठमाडौंको समय हो। भक्तराजको जीवनमा परिवर्तन आउँदै गर्दा त्यतिबेलाको काठमाडौंमा राजनीतिक, भौतिक र वैचारिक थुप्रै परिवर्तन आए। फिल्मले यसलाई भुलेको छ। ती परिवर्तनका लक्षणहरूलाई बेलाबेला छोइदिएको भए भक्तराजको कुन घटना कुन समयमा भएको थियो, अभिलेख हुन्थ्यो। अथवा यसका लागि भक्तराजकै समयका अरू गायक र उनीहरूका लोकप्रिय गीतलाई नै प्रयोग गर्न सकिन्थ्यो।

आन्तरिक र बाह्य चरित्र, सपना, आशा, डर, रुचि, अरूचि र आनीबानी खुलस्त भएमात्र कुनै पात्र सशक्त देखिन्छ। फिल्म यो मामिलामा अलिकति चुकेको छ। मान्छे सफल हुनुमा उसको अवगुण वा कमजोरीको पनि ठूलो योगदान रहन्छ। त्यसैले अवगुणलाई लुकाउन मिल्दैन। भक्तराजका पनि अवगुण वा कमजोरी थिए भने देखाइनुपर्थ्यो। तर, परिवारसँगको सहकार्यमा बनाइएकोले निर्देशकले स्वतन्त्रता नपाएको पनि हुनसक्छ।

भक्तराजका गीतहरूको प्रयोगले फिल्मलाई सांगीतिक बनाएको छ। तर, यसअघि बनेका अरू नेपाली सांगीतिक फिल्मजस्ता पट्यारलाग्दो छैन यो। दुई घन्टा २० मिनेट बितेको पत्तै हुँदैन।

प्रशान्तजस्ता निर्देशक १० जना जन्मिए र 'आचार्य'जतिको फिल्म वर्षमा पाँचवटा बन्न थाले नेपाली फिल्मको मुहार तुरुन्तै फेरिनेछ।

 
फिल्म : आचार्य
समीक्षाः साढे ३/५
निर्देशन : प्रशान्त रसाइली
पटकथा : रिक बाराफ
निर्माता : रोशन राई
कलाकारहरू : सत्यराज आचार्य, अरूणा कार्की, सुनील पोखरेल, विजय विष्फोट, पुष्कर गुरुङ आदि
 

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय