Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 19th

काम न काजको ताज

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज घर्तीमगर- सुन्दरी प्रतियोगिताको बाढी चलेको छ देशमा। राजधानीमा मात्रै होइन, मोफसलमा पनि विभिन्न नामका ताजधारी सुन्दरीको हुल छ। ताज जितेपछि 'यो हुनेछ, त्यो हुनेछ, अवसरका नयाँ ढोका खुल्नेछन्, चर्चा कमाइनेछ' आदि/इत्यादि सपना देख्ने सुन्दरीहरू अहिले ताज ओल्टाइपल्टाई गरेर उपलब्धिका लेखाजोखा गर्दैछन्।


तर, धेरैको हातमा उही हात लाग्यो शून्य परेको छ। अधिकांश सुन्दरीको अधिकतम प्राप्ति भनेको ताज जितेको भोलिपल्ट दुईचार अखबारमा फोटो छापिनु भएको थियो।

मिस मगरको ताज जित्नासाथ फिल्मको दुनियाँमा अवसर आउने सपना देखेकी अन्नु थापामगरको सपनाले विपना हुन पाएन। हो, बधाई आजीवन तृप्त हुने गरी खाइन्, त्यो बग्लै कुरा हो। तर, अवसरका नाममा उनका हातमा फुट्या कौडी परेनन्। अझै पनि उनी कम्तीमा मगर भाषाका फिल्ममा अभिनयको अफर लिएर निर्माता-निर्देशक आउलान् भन्ने आशमा छिन्। उनी मात्रै हैन, पोखरामा भएका अधिकांश सुन्दरी प्रतियोगिताका विजयीले खासै अवसर पाएका छैनन्।

विसं २०६७मा पोखरामा भएको 'मिस नेवा २०११' को ताज पहिरिन सफल निकिता श्रेष्ठलाई पनि नेवार फिल्म वा गीतमा अभियनको मौका पाइएला भन्ने लागेको थियो। तर, अहिलेसम्म उनका लागि त्यो सुदिन आएको छैन। 'ताज जितेपछि केही न केही अवसर आउँछ भन्ने लागेको थिया,' निकिता भन्छिन्, 'तर अहिलेसम्म यो ताजको केही काम आएको छैन। एकदुई दिन 'वाह! वाह!' भयो, त्यत्ति हो।' भनिरहनु नपर्ला, अधिकांश सुन्दरीका ताज कोठामा सजाउने 'सो पिस' मात्रै भएका छन्। पोखराकै औद्योगिक उत्पादनमा समेत यी पोखरेली सेलिब्रिटीले अनुहार देखाउन पाएका छैनन्। विज्ञापन गर्नुपर्‍यो भने पोखराका उद्योग प्रतिष्ठान काठमाडौँ नै जानेगरेका छन्।

सुन्दरी प्रतियोगिताका विजेताहरूको यो हाल छ भने, रनर अप र अरू टाइटल विजेताका हाल के होला? अनुमान लाउन धेरै गाह्रो छैन। पहुँच र भनसुनका आधारमा केही म्युजिक भिडियोमा बाहेक 'घोषित सुन्दरी'हरूले कहीँ कतै अवसर पाएका छैनन्।
विसं २०६६ मा मिस कल्चर बनेकी लक्ष्मी गुरुङ अहिले हङकङ गइसकेकी छिन्। मिस कल्चर बनेपछि चर्चाबाहेक अरू केही नपाएको उनको अनुभव छ। केही फेसन सोमा क्याटवाक गरिन् उनले। हङकङ जानुअघि संवाददातासँग उनले भनेकी थिइन्, 'फेसन सोमा समय खेर फालेँ। पोखरामा कुनै अवसर छैन। ताज मात्रै पहिरिएर के गर्नु?'

पोखरामा भएका मिस पश्चिमाञ्चल, मिस फेरी, मिस टिन, मिस कल्चर, मिस जनजाति, मिस तमुस्यो, मिस नेवा, इन्टरकलेज मिस पोखरा विजेताका हालत 'चार दिनकी चाँदनी, फिर अँधेरी रात' भनेझैँ भएको छ। ग्ल्यामरका क्षेत्रमा उनीहरूले कुनै अवसर पाएका छैनन्। त्यसैले कोही विदेशिएका छन् भने कोही बेलैमा घरजम गरेर बसेका छन्।
मिस पश्चिमाञ्चल अणु ढकाल अहिले अमेरिकामा छिन्। 'मिस जनजाति २०६६' की विजेता कोमल रानामगर पोखरामा देखिन्नन्। मिस फेरीकी फस्ट रनर अप सुमन सुनार अझै पनि मोडलिङमा अवसर पर्खिरहेकी छिन्। 'पोखरामा मोडलिङका लागि अवसर छैन,' उनी भन्छिन्,'वेबसाइटमा फोटो सेसन र कहिलेकाहीँ र्‍याम्प मोडलिङबाहेक अरू अवसर पाइँदैन।'
पोखरामा हुने सुन्दरी प्रतियोगितामा र फेसन सोका लागि कोरियोग्राफी गर्दै आएका आशिष श्रेष्ठ काठमाडौँबाहिर अवसर निकै कम हुने बताउँछन्। 'सबै कुरा काठमाडौँमा छ भन्ने मानसिकताले गर्दा पनि यस्तो भएको हो,' उनी भन्छन्, 'पोखराकै व्यवसायीले विज्ञापनमा यहाँका मोडललाई लिँदैनन्।' श्रेष्ठको आग्रह छ, 'यहाँका व्यवसायीले यहाँकै मोडललाई अवसर दिए पोखरामा मोडलिङ त फस्टाउँथ्यो नै, सुन्दरीका ताजहरूको पनि सम्मान हुन्थ्यो।' तर, उनको यो सुन्दर इच्छा चाँडै पूरा होला जस्तो देखिन्न।'

काठमाडौंमा हुने मिस नेपाल र अन्य केही प्रतियोगिताका विजेताबाहेक अधिकांश उपाधि विजेता सुन्दरीहरूले चाहेजस्तो अवसर पाउन सकेका छैनन्। विशेष गरी मोफसलका उपाधि विजेता सुन्दरीहरूले ताज हेरेर रमाउनुबाहेक केही उपलब्धि हासिल गर्न सकेका छैनन्। पोखराको सन्दर्भमा पनि ताजधारी सुन्दरीहरूको नियति फरक छैन। बेलाबेलामा हुने र्‍याम्प मोडलिङमा पनि निःशुल्क काम गर्नुपर्ने उनीहरूको बाध्यता छ। मोडलिङ क्षेत्रका भुक्तभोगीका अनुसार स्थानीय उत्पादनका विज्ञापनमा स्थानीय 'मिस' या मोडलहरूले अवसर पाए स्थिति केही फरक र सुखद हुनसक्थ्यो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार