क्या बात, नेविसंघ !

E-mail Print
(0 votes, average 0 out of 5)
किशोर नेपाल- क्या बात, नेविसंघका प्रिय भाइहरू! यसलाई तपाईँहरूको दुर्भाग्य नै मान्नुपर्ला : नयाँ पत्रिकाको कार्यालयमा पसेर सोझै गुन्डागर्दी गरेको आरोपमा पक्राउ पर्नुभएका तपाईँहरूको सुन्दर तस्बिर पत्रपत्रिकामा देखेर लाजले टाउको निहुराउने नेविसंघका संस्थापकहरू अझै मरिसकेका छैनन्। लुखुरलुखुर सडकमा हिँड्दैछन्।
 
हातमा हत्कडी, साथमा प्रहरी, आरोप पत्रिकाको कार्यालयमा गुन्डागर्दी। कति महानतम अभियानमा लाग्नु भएको हो तपाईँहरू। तरबारबाजीको खबर प्रसारित हुनेबित्तिकै गुन्डागर्दीको जोश आइहालेछ तपार्इँहरूमा। 'विजय गच्छदार दाइले' गृह सम्हाल्नेबित्तिकै तपाईँहरूमा आएको यो जोश पक्कै पनि तपाईँहरूको प्रजातन्त्र प्रेमको द्योतक हो। यो जोशका लागि तपाईँहरूलाई धिक्कार भन्न सक्ने अवस्थामा पनि कोही रहेनन्।
प्रजातन्त्रको सिद्धान्त र स्वतन्त्रताको धर्ममा अडिग रहने शपथ खानुभएका तपाईँहरूले अब आफनो झन्डाबाट कलम र मसाल झिकिदिए हुन्छ। त्यसको ठाउँमा खुँडा, खुकुरी, बन्दुक, भाला, त्रिशुल जे राखिदिए पनि हुन्छ। सबैलाई थाहा छ, यो घटना तपार्इँहरूजस्ता दुइचारजना महाबाहुबलीहरूको कर्तुत हो। पूरै नेविसंघलाई तपाईँहरूसंग जोड्नु उचित हुँदैन। कुरा ठिकै हो र पनि तपाईँहरूको यो सत्कर्मले पूरै नेविसंघलाई प्रभावित तुल्याएको छ। पहिलो जनआन्दोलनपछिको समयदेखि नै जुझारु चरित्र, स्वतन्त्र निर्णय गर्ने क्षमता र आत्मसम्मान गुमाउँदै पार्टी नेतृत्वको काखमा लुटपुटिन थालेको नेविसंघको नेतृत्वले तपाईँहरूको यो सौर्यको जिम्मा लिन्छ कि लिँदैन? समयले बताउनेछ। तपाईँहरूको आचरणमा आएको विकृतिको जिम्मा नेविसंघ नेतृत्वले लिनैपर्छ। त्यसको अर्को कुनै विकल्प छैन।

तर, त्यो नेतृत्व कहाँ छ? कांग्रेसको संस्थागत विकासको भाषण गर्दागर्दै बुढो हुनुभएका सुशील कोइराला संस्थाहरू संगठन गर्नभन्दा विघटन गर्न माहिर मानिनुहुन्छ। बितेको छ महिनादेखि उहाँले नेविसंघलाई संगठन र अनुशासनबाट मुक्त हुल्लडबाजहरूको निर्बन्ध भिडका रूपमा खुला चौरमा चर्न र खान खुलै छाडिदिनुभएको छ। नेविसंघका नाममा दलाली गर्न, मानिस पिट्न, व्यभिचार गर्न छुट पाएका छन् ठिटाहरूले। विद्यार्थीहरूका बीच नेविसंघको लोकप्रियता घट्दो छ। विद्यार्थीका नेता हौँ भन्नेहरू दिनभर कांग्रेसका नेताहरूको परिक्रमा गर्दै राति बाजेको सेकुवामा हंगामा गरेर जीवन गुजार्न बाध्य छन्।

नेविसंघको पहिलो अधिवेसनको उद्घाटन गर्दै तन्नेरीहरूलाई अहिंसाको माध्यमले प्रजातन्त्र पुनर्स्थापनाको संग्राममा लाग्ने गुरु मन्त्रदान गर्ने किशुनजीको निधन भएको छ महिनामात्रै भएको छ। नेविसंघको झन्डा बोकेकै भरमा प्रजातन्त्रवादी बनेका धेरैलाई त थाहा पनि छैन होला, किशुनजी को हुनुहुन्थ्यो? बिपीलाई गिरिजाको दाजु र गणेशमानलाई प्रकाशमान सिंहको बुवा भनेर चिनाउनुपर्ने यो दरिद्रतम अवस्थामा अहिलेका नेविसंघेहरूलाई किशुनजी र नेविसंघबीचको सम्बन्धको जानकारीसम्म पनि छैन भने यसलाई अस्वाभाविक भन्न नमिल्ला। शेरबहादुर दाइ, रामचन्द्र दाइ र अरु थुप्रै दाइहरूले नेविसंघका नाममा आफ्नै फोटो त उतार्नसकेका छैनन् भने नेताहरूको फोटो के उतार्लान्? नेविसंघ हुर्काउँदै आफ्नो भविष्य बनाएका नेताहरू अहिलेसम्म पनि राजनीति र सत्ताको खेलमा सक्रिय छन। ती नेताहरूमा नै इतिहास चेतना विलुप्त हुँदै गएको छ भने अरूमा कसरी रहोस त्यो चेतना?

अहिले देशमा एमाले युथफोर्स र नेविसंघ तरबार दलको दबदबा बढेको छ। कांग्रेसको तरुण दल र माओवादीको वाइसिएल लो प्रोफाइलमा छन्। युथ फोर्सका सदस्यहरू पत्रकारको नाक फोड्दै हिँडन थालेका छन् भने पत्रिकाको कार्यालय भत्काउने जिम्मा नेविसंघले लिएको छ। हतियार चलाएको दोष माओवादी एक्लैले खेपेका छन्। हतियारचाहिँ सबै खाओवादीले चलाएका छन्। नेविसंघ खाओवादीमा पर्छ कि पर्दैन, यो नेविसंघका पूर्व नेताहरू, लाइनमा उभिएका नेताहरू र भविष्यका नेताहरू आफँैले छातीमा हात राखेर सोच्नुपर्ने कुरा हो।

नेविसंघका प्रिय भाइहरू, यो गनगन र गुनासो पढेर तपार्इँहरूलाई रिस उठेन भने त्यो अस्वाभाविक हुन्छ। जति रिस उठे पनि गाथाकारको टाउकोमा लाठीचाहिँ नबर्साइदिनुहोला। अरू जे सजाय दिनुपर्छ दिनुहोला। तपाईँहरू सुधि्रने कि बिग्रने? त्योचाहिँ गगन थापाजस्ता तन्नेरी नेतासँग सोध्नुहोला। गगन नेविसंघमा जन्मेका हुन्। यति हेक्का राख्नुहोला। जय नेपाल!
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार