Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 19th

सुन्दरी व्यापार

E-mail Print
(0 votes, average 0 out of 5)

राजन नेपाल/स्वरूप आचार्य- काठमाडौँ। जति बेला सिएनएन हिरो अनुराधा कोइराला गएको मंगलवार चेलीवेटी बेचबिखनविरुद्ध राष्ट्रिय र्‍यालीको नेतृत्व गर्दै थिइन्, त्यति बेला हामी कथित मनोरञ्जन उद्योगका एकजना दलालसँग दुबई, मलेसिया र दक्षिण अफ्रिकाका डान्सबार र डिस्कोथेकहरूमा नाच्नपुग्ने नेपाली केटीहरूको वृत्तान्त सुन्दै थियौँ। मुम्बइको कमाठीपुरा, कोलकाताको सोनागाछी र दिल्लीको जीबी रोडबाट पर दिनहुँ कसरी पुग्दैछन् नेपाली चेलीहरू? सूचनाको गोपनीयता भंग नगर्ने सर्तमा हामीले पाएका जानकारी डरलाग्दा थिए।

कसरी नेपाली केटी दक्षिण अफ्रिका पुर्‍याइन्छ? हामी जान्न खोजिरहेका थियौँ। उनको मोबाइलमा त्यही बेला रिङटोन बज्यो। हामीलाई एकछिन पर्खिने इशारा गर्दै उनी कुरा गर्नथाले, 'यस बोस! मेरेको एक पेटी चाहिए। वह लड्की बीना से बहुत अच्छी है। मलेसियामे अढाई पेटी ले रही थी।' उताबाट बोसले के भनिरहेको छ, हामीले सुन्ने कुरो थिएन। हाम्रा सूचनादाता भन्दै थिए, 'फोटोग्राफका जरुरत नही है। बीना के मोबाइलमे ही उसका फोटो है। वही देख लो। मेरेको जल्दी डेढ पेटी भेजो। मैं सामतक उसका पासपोर्टका स्क्यान कपी भेजता हुँ।' डिल हाम्रै अगाडि फिक्स्ड भयो। उनीहरूले कुरा गरेको केटी दुईतीन दिनभित्रै दक्षिण अफ्रिका पुग्ने भई।
'यी सुनिहाल्नु भयो, यसरी नै हुन्छ डिल। उताबाट आउने मागका आधारमा हामी केटी खोजेर दुबई, मलेसिया र अफ्रिका पठाउँछौँ' उनले खुलस्त बताए। त्यसपछि झस्किँदै भने, 'मेरो नाम आउँदैन होइन त?' उनी बेला बेलामा हामीसँग आश्वस्त हुन खोज्दै थिए। पत्रिकामा नाम नआउने हो भने खुलस्त सबै बताइदिन उनी तयार थिए।
नेपाली महिलाहरू घरेलु कामदारका रूपमा जुनसुकै देशमा जान सक्छन्। सरकारले जान नदिने भनेका धेरै देशमा समेत उनीहरूको बाक्लै उपस्थिति छ। तर डान्सबार र डिस्कोथेकमा काम गर्न भने नेपाल सरकारले वैधानिक रोक लगाएको छ। विमान चढेर उडेकी नेपाली चेली डान्सबार पुग्छे कि ब्रोथेल? सरकारले कसरी जानोस्!
दलाल भन्छन्, 'रोक भएपनि हामी यो काम वर्षौँदेखि गर्दै आइरहेका छौँ। हामी अहिलेसम्म रोकिएका छैनौँ। मेरो मात्रै दुबई, मलेसिया र दक्षिण अफ्रिकामा गरेर आठवटा डान्सबारसँग कारोबार छ। म ती बारमा हरेक तीन महिनामा १०-१० जनाको दरले केटी सप्लाई गर्छु। त्यहीअनुसार हुन्छ मेरो प्लानिङ। केटी जम्मा पार्छु र पठाउँछु।'

कसरी पुर्‍याइन्छ केटी
'एउटी गरिब नेपाली केटीले काठमाडौँको डान्सबारमा नाचेर कति नै कमाउँछे र?,' उनी भन्दै थिए, 'केटी साह्रै बुलेट परी भने महिनामा १५ देखि २० हजारसम्म कमाउँछे। काठमाडौँमा कामको ग्यारेन्टी छैन। कति बेला पुलिसले छापा मारेर खोरमा पुर्‍याउने हो, त्यसको पनि ठेगान हुँदैन। त्यसैले नाच्ने केटीहरू विदेशतिर तानिएका हुन्। यी केटीहरूका लागि अहिलेसम्म दुबई, मलेसिया र दक्षिण अफ्रिका सुरक्षित गन्तव्य मानिन्छन्। केटीहरूका लागि र दलालका लागि पनि।' उनी सविस्तार बताउँछन्।
तपाईँहरू यो गैरकानुनी काम कसरी गरिरहनु भएको छ? हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै उनी जवाफ दिन्छन्, 'नेपालमा कुन गैरकानुनी काम रोकिएको छ र? लाइन मिलाएपछि यो देशमा नहुने केही छैन। तलदेखि माथिसम्म च्यानल फिट छ हाम्रो। स्मुथली काम हुन्छ। कुनै निकायको आँखा लागेको छैन अहिलेसम्म। त्यसैले हाम्रो धन्दा चलेकै छ।'
विदेशी डान्सबारमा केटी सप्लाई गर्ने दलाल थुप्रै छन् काठमाडौँमा। प्रहरीलाई यसको पूरै जानकारी छ। डान्सबार सञ्चालन गर्नेले आफ्नो पेसालाई दक्षिण अफ्रिकासम्म पुर्‍याएका छन्। मुख्य दलालहरूले थुप्रै 'उपदलाल'हरू बजारमा छोडेका हुन्छन्। यस्ता उपदलालहरू गाउँ घरतिर सुन्दर केटीको खोजीमा जान्छन्। उपदलालले केटी खोजेर काठमाडौँ ल्याएपछि उनीहरूलाई यहाँको डान्सबारमा प्रशिक्षण दिइन्छ। कम्मर मर्काउन जानेकी छैन भने डान्स स्कुलमा तालिम दिइन्छ। केटी निर्वस्त्र नाच्न पनि नहिचकिचाउने भएपछि गन्तव्यका बारे मोलमोलाई सुरु हुन्छ।
डान्सरको खोजीमा डान्सबार धाउने दलालहरू स्मार्ट केटीकै खोजीमा हुन्छन्। केटी भेटिएपछि केटीलाई कसले विदेश सप्लाई गर्ने भन्नेमा हानथाप पनि हुन्छ। धेरै दलालहरू सिन्डिकेट बनाएर काम गर्ने हुनाले झगडा पर्दैन। एउटा साथीको कोटा अर्को साथीलाई दिने चलन छ। एक पटकमा ८० जना केटी पठाउनुपर्ने एजेन्टसँग ९० जना केटी जम्मा भए भने १० जना साथीलाई दिने गरेका छन्।
नर्तकीहरू जम्मा गरेपछि सुरु हुन्छ फोटो सेसन। केटीको फिगर प्रस्ट देखिने गरी खिचिएका अर्धनग्न फोटोहरू दुबई, मलेसिया र साउथ अफ्रिकाका डान्सबारहरूमा पठाइन्छ। फोटोमा केटीको छाती ठूलो बनाउने कि हिप, त्यो फोटोग्राफर र केटीहरूको समझदारीमा हुन्छ। फोटोमा केटीको लुक्स पर्फेक्ट देखिएन भने उनीहरू छानिने चान्स कम हुने भएकाले फोटोसपको कमालको साहारा लिने गरिन्छ। 'तर हामी सकेसम्म छनोट नहुने खालका केटीहरू संकलन नै गर्दैनौँ,' ती दलाल बताउँदै थिए। छातीका उन्नत उभार, छिनेको कम्मर, उठेको हिप र सेक्सी लुक्स भएका केटीहरू अरेबियनहरूले मन पराउँछन्। 'केटी आर्यन फेसकै हुनुपर्छ,' उनले भने 'मंगोलियन फेस भएकाहरू दुबई, मलेसिया र अफ्रिकामा चल्दैनन्। अरेबियनहरूले मंगोलियन फेस त लिनै मान्दैनन्।' किन होला? दलालहरूले यसको कारण खोज्ने झन्झट गर्ने कुरै भएन।
विदेशी बोसले केटीको फोटो हेरेर ओके गरेपछि उसको पासपोर्ट बनाउने काम सुरु हुन्छ। पासपोर्टभएकाहरूसँग पासपोर्ट संकलन गरिन्छ। केटीसँग पासपोर्ट लिँदा उसलाई दलालले सुरुमा १० हजार रुपैयाँ टोकन मनी दिन्छन्। सपिङका लागि पनि एजेन्टहरूले नै पैसा उपलब्ध गराउँछन्। केटी निकै नै सेक्सी परी भने उसले नेपालमै दुई तीन महिनाको पेश्कीसमेत पाउँछे । प्रोसेस सुरु गरेको १५ देखि २० दिनभित्रै तीन महिनाको लागि वर्क परमिट, पेपर भिसा र हवाई टिकट आउँछ। दलालहरूले उमेर नपुगेका केटीहरूको उमेर मिलाउनेदेखि एयरपोर्टबाट उडाउनेसम्मको कामको जिम्मा लिएका हुन्छन्। यसका लागि सम्बन्धित निकायमा 'खर्च-पानी'को राम्रो प्रबन्ध गरिन्छ। कलिला केटीहरूको उमेर करेक्सन गर्नैपर्ने हुन्छ। नागरिकताको उमेरका आधारमा बनेको पासपोर्टमा उमेर करेक्सन गर्ने काम परराष्ट्र मन्त्रालय भित्रैबाट हुन्छ। 'लेमिनेसन उप्काएर उमेर सच्याउने काम गरिदिन त्यहाँ हाम्रा थुप्रै सहयोगी छन्। उमेर करेक्सनका लागि प्रतिपासपोर्ट पाँच हजार रुपैयाँ लाग्छ। यो फिक्स्ड प्राइस हो सबैलाई,' उनले भने, 'परराष्ट्रमा देवीदत्त खत्री प्रमुख हुँदा उनलाई सिधै पैसा बुझाउने गरिएको थियो। अहिले एक जना कर्मचारीले यी सबै काम मिलाउँदै आएका छन्।'
पासपोर्टको लफडा सकिएर उड्ने दिन तय भएपछि दलालहरू एयरपोर्टमा कार्यरत आफ्ना सहयोगी कर्मचारीलाई फ्लाइटको समय र एयरलाइन्सको नाम एसएमएस गर्छन्। विमानस्थलमा कार्यरत सामान्य पुलिसदेखि ठूला हाकिमसम्मको च्यानल पहिले नै फिक्स्ड हुन्छ। 'यसरी जाने केटीहरूसँग श्रम स्वीकृति पनि हुँदैन। उनीहरूसँग विदेश जाँदा चाहिने न्यूनतम पाँच सय डलर पनि हुँदैन। त्यसैले एयरपोर्टमा हामीले साधारण कर्मचारीदेखि एयरलाइन्स कम्पनीका मानिससम्म सबैलाई घुस खुवाउनुपर्छ,' ती दलाल भन्दै थिए, 'प्रतिकेटी ११ हजार रुपैयाँमा सबै काम टुंगिन्छ। उधारोमा पनि काम हुन्छ। एक मुस्ट रकम दिने गरेका छौँ। उड्ने डिटेल दिएपछि हामी ढुक्कसँग घरमा जंगबहादुरको घोडा बेचेर सुते हुन्छ।'
एकजना केटी दुबई, मलेसिया वा अफ्रिका पठाउँदा दलाललाई न्यूनतम २० हजार रुपैयाँ कमिसन प्राप्त हुन्छ । तीन तीन महिनामा सयौँ संख्यामा केटीहरू पठाइने भएकाले आम्दानी करोडौँमा हुन्छ। विभिन्न ठाउँमा घुस खुवाउनुपर्ने भएकाले खर्च बढी नै छ। पर्फेक्ट केटी खोज्न उत्तिकै खर्च हुन्छ। विभिन्न गाउँ र शहरमा उपदलाल पठाउनुपर्छ। डान्सबारमा गएर खानु/खुवाउनु पर्छ । कतिपय अवस्थामा केटीहरू एडभान्स लिएर भाग्ने गरेको पनि एजेन्टहरूको अनुभव छ। एउटा केटी मुख्य दलालसम्म पुर्‍याएबापत उपदलालले १० हजार रुपैयाँ पाउने गरेका छन्। अधिकांश दलालसँग दुबईको रेजिडेन्स भिसा भएकाले उनीहरू त्यहीँ पुगेर आफ्नो कमिसन असुल्ने गर्छन्।


दुबई, मलेसिया र अफ्रिका पुगेपछि के गर्छन् केटीहरू
सम्बन्धित देशमा पुगेपछि त्यहाँको डान्सबार वा डिस्कोथेकका मालिकले फोटोअनुसार केटीहरूलाई एयरपोर्टबाट रिसिभ गर्छ। त्यसपछि उनीहरू आफ्नो काममा खटिन्छन्। फिक्स्ड तलबमा काम गर्ने कि कलेक्सनमा? रोजाइ केटीहरूकै हुन्छ। फिक्स्डमा काम गर्नेले दुबई र मलेसियामा मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म तलब पाउँछन् भने अफ्रिकामा सुरुमा तलब ५० हजारमात्र हुन्छ। कलेक्सनमा भने

ग्राहकहरूबाट जति धेरै टिप्स कलेक्ट गर्न सक्यो, त्यहीअनुसारको कमिसन आउँछ। कमिसनमा काम गर्ने डान्सरहरूले एउटा फिक्स्ड एमाउन्ट भने कलेक्ट गर्नैपर्ने हुन्छ। सेक्सी र स्मार्ट केटीहरू कलेक्सन बेसिसमा काम गर्न रुचाउँछन् र प्रतिमहिना दुई लाख रुपैयाँसम्म कमाउँछन्।


डान्सबारका केटीहरू ग्राहकसँग बाहिर पनि जान सक्छन्। यो केटीहरूको निजी इच्छा हो। केटी ग्राहकसँग जान तयार छ भने ग्राहकले केही पैसा डिपोजिट गर्नुपर्छ। केटीले चाहिँ आफ्नो पासपोर्ट छाडनुपर्छ। उनीहरू डान्सबारबाट सीमित समयका लागि बाहिर जान पाउँछन्। ग्राहकसँग बाहेक केटीहरू एक्लै बाहिर डुल्न जान पाउँदैनन्। उनीहरू दिनभर कोठामा बस्नुपर्छ। महिनामा एकपटक भने डान्सबारको साहुले नै उनीहरूलाई घुमाउन लैजान्छन्।
तीन महिनाको भिसा अवधिपछि कति केटीहरू उतै बस्छन् भने कति नेपाल फर्कन्छन्। फर्किनेहरू पुरानै प्रोसेसअनुसार फेरी विदेसिन्छन्। यसरी दुईतीनपटक आउने जाने गरेपछि केटीहरू आफैँ पनि दलालको काम गर्न थाल्छन्। उनीहरू आफ्ना गाउँका दिदीबहिनी तथा नातेदारलाई लिएर जान्छन्। अहिले महिनामा सरदर पाँच सय केटी ती देशमा गइरहेका दलालहरू बताउँछन्। रमजानपछि काठमाडौँ विमानस्थलको बाटो लगभग दुई सयको हाराहारीमा केटीहरू दुबई उडिसकेका छन्।

डान्सप्रति बढ्दो आकर्षण
वेटर र हाउस मेडमा काम गर्न जानेहरू हिजोआज डान्सप्रति आकर्षित भइरहेका छन्। छोटो समयमै धेरै आम्दानी हुने भएपछि केटीहरू यतातिर तानिएका हुन्। तीन महिना दुबई, मलेसिया वा अफ्रिकामा नाचेर आउनेहरूले कम्तीमा पनि पाँच लाख रुपैयाँ ल्याउँछन्। अझ मालदार ग्राहक पाउनेहरूको जीवनशैली त निकै हाइफाइ भइसकेको हुन्छ। कति त दुईतीनपटक गएर करोडसम्म कमाएर फर्किने पनि छन्।

 
 डान्सरको अनुभव
केही महिना दुबईमा काम गरेर फर्केकी निशा (परिवर्तित नाम) करिब डेढ वर्षअघि काम गर्न स्याङ्जाबाट पोखरा झरेकी थिइन्। पोखरामा केही काम नपाएपछि उनी डान्सबारमा नाच्न थालिन्। अरू दिनजस्तै बारमा नाचेर घर फर्कने क्रममा एक दिन उनलाई एकजनाले कुनामा बोलाएर सोधे, 'विदेशमा नाच्न जाने हो?' पहिला त उनी हिच्किचाइन्। तर बुझ्दै जाँदा यहाँभन्दा धेरै गुणा बढी कमाउन सकिने लोभले उनलाई तान्यो। उनी दुबई जान तयार भइन्। त्यसका लागि उनले खासै केही गर्नु परेन। खालि नागरिकता बनाउनु पर्‍यो। पासपोर्ट बनाउनेदेखि उनलाई पोखराबाट काठमाडौँ ल्याउनेसम्मको सबै काम दलालले नै गरिदिए। उनी पोखराबाट काठमाडौँ आएको महिना दिनभित्रै दुबई उडिन्।
पोखराको डान्सबारमा नाचेर खप्पिस भइसकेकी निशालाई दुबईमा नाच्न खासै अप्ठ्यारो भएन। उनी त्यहाँ मासिक ८० हजार रुपैयाँको फिक्स्ड तलबमा गएकी थिइन्। उनका अनुसार उनले नेपालमा रातभरि डान्सबारमा नाचे पनि कहिल्यै आफ्नो जवानीको सौदा गरिनन्! तर, दुबईमा भने उनको त्यो अडान कायम रहेन। छोटो समयमा अत्यधिक पैसा कमाउने लालच र त्यहाँको उत्तेजक वातावरणले नै उनलाई आफ्नो जवानीको सौदा गर्न उक्सायो।
तर, उनको कुनै गुनासो छैन। उनी भन्छिन्, 'सबैले आफूसँग जे छ, त्यसैको प्रयोग गरेर जीवन निर्वाह गर्ने हो। मसँग जवानी छ, यसैको उपभोग गरेँ। तपाईँलाई थाहा छ? जवानी भनेको बियरको सिसीजस्तै हो। कहिल्यै रित्तिने होइन। यो त जति पिलायो त्यति भरिन्छ! यो पेसाले मेरो सम्पूर्ण इच्छा पूरा गरिदिएको छ। पैसावाल मान्छेको मात्रै महत्व हुने यो समाजमा जसरी भए पनि पैसा कमाए भइहाल्यो नि! कि कसो?'

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार