Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 19th

आकाशमा उड्ने सपना

E-mail Print
(0 votes, average 0 out of 5)

प्रतिमा विवश राई- एअर होस्टेस ग्ल्यामरस करिअर हो। अहिले धेरै युवती एअर होस्टेस बन्न लालायित छन्। धेरैका लागि यो ड्रिम करिअर भएको छ। प्लस टुको परीक्षा सकिनेबित्तिकै आकाशमा उड्ने सपना पूरा गर्न एअर होस्टेसको तालिम लिइरहेकी छिन्, ललितपुर, चापागाउँकी १९ वर्षीया शिला महर्जन। 'सानैदेखि आकाशमा उड्ने सपना थियो,' उनी भन्छिन्।

तालिम लिन थालेको तीन महिना नबित्दै उनी एयर होस्टेज बन्ने आत्मविश्वासले भरिएकी छिन्। तालिमले आफ्नो व्यक्तित्वमा निखार ल्याउनुका साथै नम्रता, सकारात्मक सोचजस्ता गुण पनि विकास भएको उनको अनुभव छ। एअर होस्टेस बन्ने उनको सपना पूरा गर्न परिवारले पूर्ण सहयोग गरिरहेको उनी बताउँछिन्। तालिम सकिने बित्तिकै 'जब'का लागि अप्लाई गर्ने योजनामा छिन् उनी।

एयर होस्टेसको अन्तर्राष्ट्रिय तालिम लिइरहेकी बौद्धकी १९ वर्षीया दिपा राना भन्छिन्, 'सानैदेखि ट्राभल गर्ने रुचि थियो, त्यही भएर यो फिल्ड रोजेँ। तालिम लिएर हवाइजहाज र नेपाली एअरलाइन्सको इतिहास थाहा पाएकोमा खुसी छिन् उनी। भन्छिन्, 'तालिमले आइक्यु बढिरहेको छ।'

'सानो छँदा भोलिपर्सि के बन्छौ भनेर सोध्दा एयर होस्टेस भन्थेँ,' एअर होस्टेसको तालिम लिइरहेकी सुमित्रा आफ्नो बाल्यकाल सम्झन्छिन्। एयर होस्टेसको पहिरन र आकर्षक व्यक्तित्वले उनलाई सानैदेखि प्रभाव पारेको थियो। 'विभिन्न देशको यात्रा गर्न पाइन्छ, जनसम्पर्क बढ्छ। त्यसैले म एअर होस्टेस हुन चाहन्छु,' उनी भन्छिन्।
पुतलीसडक, न्यु प्लाजास्थित फ्लाई टेक इन्टरनेसनल एकेडेमीमा अहिलेसम्म दुई सयभन्दा बढीले एयर होस्टेसको तालिम लिइसकेका छन्। तालिम केन्द्रका कार्यकारी निर्देशक नाजिर हुसेनका अनुसार एकेडेमीमा डोमेस्टिक र इन्टरनेसनल गरी दुई थरी तालिम दिइन्छ। 'आकर्षक तलब र सुविधा, भ्रमणको अवसरका कारण डोमेस्टिकभन्दा अन्तर्राष्ट्रिय तालिमतिर युवतीहरू आकर्षित छन्,' हुसेन भन्छन्। अवसरका हिसाबले पनि डोमेस्टिकको तुलनामा इन्टरनेसनलमा धेरै संभावना छ। अन्तर्राष्ट्रिय उडानमा एउटै बोइङमा चारदेखि आठजना एअर होस्टेसको व्यवस्था हुन्छ। सामान्यतया ४९ जना यात्रु बराबर एकजना एयर होस्टेस राख्ने चलन छ। पचास तर सयभन्दा कम यात्रुका लागि दुई जना र सयजना यात्रुका लागि तीनजना एअर होस्टेस राख्ने गरिन्छ। त्यसैले अन्तराष्ट्रिय उडानमा चाँडो काम पाइन्छ। एयर होस्टेस बन्न राम्रो तालिमको आवश्यकता पर्ने नाजिर बताउँछन्। भन्छन्, 'जसले राम्रोसँग तालिम लिन्छ, उसले नै जब इन्टरभ्यु सजिलै पास गर्छ।'

सात वर्षअगाडि स्थापित फ्लाई टेक इन्टरनेसनल एकेडेमीमा तालिम लिएकाहरु यति, बुद्ध, सीता, अग्निलगायत अधिकांश डोमेस्टिक एयर लाइन्समा काम गरिरहेका छन्। हुसेनका अनुसार एकेडेमीमा तालिम लिनेहरू कतार एअरवेज, एअर अरेबिया, रोयल जोरडानियनलगायत अन्तर्राष्ट्रिय एअरलाइन्समा काम गरिरहेका छन्।
अठार वर्षीया सीता श्रीमाली साथीहरुबाट एयर होस्टेसबारे नकारात्मक कुरा सुन्दासुन्दै पनि तालिम लिन आइन्। उनका अनुसार एयर होस्टेस पेसामा जति रिस्क छ, त्यति नै अवसर पनि। 'नराम्रो त हरेक ठाँउमा भैहाल्छ, तर आफू सहि हुनुपर्‍यो,' उनी भन्छिन्।

एअर होस्टेसको तालिममा सर्भिङ, सेफ्टी, फस्ट एड, इमर्जेन्सी, फुड बेभेरेज, सेक्युरिटी, पर्सानालिटी डेभलपमेन्ट र ग्रुमिङजस्ता विषय पर्छन्। साथै, शरीरलाई स्वस्थ र आकर्षक राख्न स्विमीङ तथा फिटनेसका क्लास समेत दिइन्छ। तीन महिनाको एअर होस्टेसको तालिम लिन २५ हजार रुपैयाँ खर्च गरे पुग्छ।
पूजा थापाले एअर होस्टेस तालिम लिएपछि मात्रै बुझिन्, एअर होस्टेस बन्न राम्री भएर मात्रै नपुग्ने रहेछ। 'अनुशासन, नम्रतालगायत गुणका साथै अरू थुप्रै विषयमा जानकार हुनुपर्ने रहेछ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार