सौन्दर्यको कालो व्यापार

E-mail Print
(0 votes, average 0 out of 5)

नेपालमा यति बेला कि गुँदपाक चम्केको छ कि सौन्दर्य। गुँदपाकको व्यापार छानविनको दायरामा परे पनि सौन्दर्यका व्यापारीहरू इज्जतका साथ घुमिरहेका छन्। विभिन्न प्रतियोगिताको माला लगाएर। सौन्दर्य प्रतियोगिताभित्र चलेको कालो व्यापार :
राजन नेपाल स्वरुप आचार्य, काठमाडौं- नेपालमा आयोजना भइरहेका सुन्दरी प्रतियोगिताहरूको बाहिरी रूप सुन्दर देखिए पनि भित्री पाटो भने निकै कुरूप छ। सुन्दरीका नाममा व्यापार व्यवसाय चम्काउनेहरूको ताँती नै लागेको छ यति बेला। सुन्दरी प्रतियोगिताका नाममा कलिला बालबालिकादेखि आमाहरूसम्मलाई र्‍याम्पमा उतारेर आफ्नो व्यवसाय चम्काउनेहरू मोटो आम्दानी गर्न सफल भएका छन्। माओवादी सशस्त्र विद्रोह चम्किएको बेला सुन्दरी प्रतियोगितालाई लिएर सार्वजनिक रूपमा टिकाटिप्पणी र विरोध सुरु भए पनि अहिले कसैले यसको विरोध गरेका छैनन्। माओकै देश चीनमा भव्य तामझामका साथ विश्व सुन्दरी प्रतियोगिता आयोजना हुन थालिसकेको अवस्थामा नेपालमा सुन्दरी प्रतियोगिताको विरोध गर्नुको कुनै तुक नदेखेर होला, एकीकृत नेकपा माओवादी पनि चुपचाप देखिन्छ। कसैको पनि विरोध र अवरोध नहुने भएपछि अहिले यस्ता प्रतियोगिता आयोजकहरूको मनलाग्दी गर्ने थलो र मागी खाने भाँडो बनेको छ। यस्ता प्रतियोगिताहरूमा प्रतिभावान् सुन्दरीको खोजीभन्दा आयोजकको इन्ट्रेस्ट सर्भ गर्ने भिड जम्मा हुन थालेको छ। सुन्दरीका नाममा प्रायोजकहरूसँग रकम उठाउनु नै आयोजकहरूको एकमात्र उद्देश्य बन्ने गरेको छ।

नेपालमा सुन्दरी प्रतियोगिता आयोजना हुन थालेको १७ वर्ष भयो। यस बीचमा १६ जना मिस नेपाल घोषित भइसकेका छन्। सुन्दरी प्रतियोगिताको सुरुआत मिस नेपालबाट भए पनि यो अहिले समुदाय स्तरमा पुगेको छ। मिस मंगोल, मिस आर्यन, मिस नेवा, मिस बलामी, मिस तमु, मिस तामाङलगायत थुप्रै समुदायमा अहिले सुन्दरी छान्ने होडबाजी चलेको छ। आफ्ना छोरी चेलीको शिरमा क्राउन पहिरिएको हेर्ने रहर मेटाउन जातीय आधारमा सुन्दरी प्रतियोगिता हुन थालेका छन्। सुन्दरी प्रतियोगिता केन्द्र, क्षेत्र हुँदै जिल्ला तहमा पुगेको छ। सुन्दरी छान्ने यो होडबाजीको वास्तविक रहस्य खोज्ने जाँगर भने कसैले देखाएका छैनन्।

हिडन ट्रेजरको आम्दानीको माध्यम मिस नेपाल
सन् १९९४ मा पहिलोपटक काठमाडौँ जेसिसले मिस नेपाल प्रतियोगिता आयोजना गरेको थियो। तर हिडेन ट्रेजर नामक संस्थाले प्रायोजकको सहयोगमा यो प्रतियोगिता आयोजना गर्न थालेपछि अहिलेसम्म उसैले यसलाई निरन्तरता दिँदै आइरहेको छ। रुबी राणाको शिरमा पहिलोपटक चम्केको मिस नेपालको ताज मलिना जोशीको शिरसम्म आइपुग्दा यसको चमक फुंग उडिसकेको छ। सुरुका वर्षमा मिस नेपाल भनेपछि जुन चार्म हुन्थ्यो, त्यो अहिले लगभग मरिसकेको छ।
यसो हुनुमा यो प्रतियोगिताप्रतिको विश्वसनीयतामा कमी आउनु हो। वरिष्ठ फेसन डिजाइनर उत्तम बनेपाली भन्छन्, 'सुन्दरीका नाममा टोल टोलमा प्रतियोगिता हुने अवस्था आएपछि मिस नेपालको चार्म पनि एकाएक घट्दै गएको हो।' हिडेन ट्रेजरले टाइटल विजेतालाई एक वर्षसम्म दासीजस्तै गरेर आफ्नो स्वार्थ पूरा गराउनमात्र काममा जोताउने गरेको छ। मिस नेपाल भइसकेपछि एक वर्ष विजेताले हिडेन ट्रेजरको अनुमतिबिना केही पनि गर्न पाउँदिनन्। मिस नेपालको कमाइको ४० प्रतिशत हिस्सा ट्रेजरले नै कुम्ल्याउने गरेको छ। सम्झौता अनुरूपमा आम्दानीको ६० प्रतिशत मिस नेपाललाई र ४० प्रतिशत ट्रेजरलाई बुझाउनुपर्छ। मिस नेपाल सदीक्षा श्रेष्ठले यसमा सहमति जनाइन्। उनले भनिन्, 'यो पूर्ववत सम्झौताअनुरूप नै हो। त्यसैले यसमा म केही कमेन्ट गर्दिनँ।'
आफैँले खोजेको काममा पनि हिडेनले आफ्नो हिस्सा दाबी गर्छ। 'उसले डिल गरेको प्रोजेक्टमा बेनिफिट सेयर गर्नु केही हदसम्म ठिक भए पनि मिस नेपालले खोजेको काममा पनि कुत उठाएको शैलीमा पैसा असुल्नु नराम्रो पक्ष हो,' एक पूर्व मिस नेपालले भनिन्। मिस नेपालले वर्षदिनसम्म हिडेन ट्रेजरको अनुमतिबिना काठमाडौँ समेत छोड्न पाउँदैनन्। 'दसैँमा टिका थाप्दा पाउने दक्षिणामा पनि हिडेनले भाग खोज्ला भन्ने डर भइसक्यो,' अर्की पूर्व मिस नेपालले भनिन्। टाइटल जितेपछि व्यक्तित्व विकासका लागि पाउनुपर्ने सामन्य स्वतन्त्रता मिस नेपालले पाउँदैनन्। पाएको अवसर हिडेन टे्रजरले अनुमति दिएन भने गुम्छ।
आयोजक संस्थाको इशारामा मुस्कुराउनुपर्छ, उसको च्वाइसको पहिरन लगाउनुपर्छ, बोलाएको ठाउँमा जसरी भएपनि पुग्नैपर्छ, प्रायोजकले आयोजना गर्ने भोज भत्तेरमा सो पीस बनेर ठिंग उभिनुपर्छ। यस्तै दर्जनौँ बाध्यतामा मिस नेपाल बाँधिएका हुन्छन्। आम्दानीमा चाहीँ आँखा गाड्ने तर स्ट्याटस मेन्टेनका लागि भने हिडेन ट्रेजरको तर्फबाट खासै केही सहयोग हुँदैन। कार्यक्रममा ट्याक्सी चढेर हतारिँदै पुगे पनि उनीहरूले ट्याक्सी खर्च समेत पाउँदैनन्।
मिस नेपाल २०११ को मिस ट्यालेन्ट विजेता विष्णु चेम्जोङ गायिका हुन्। उनी मिस नेपालमा भागलिनुभन्दा धेरै अघिदेखि गीत गाउँथिन्। अब उनलाई पनि समस्या पर्लाजस्तो छ। टाइटल विजेता पनि हिडेनको सम्झौतामा बाँधिनुपर्ने भएकाले एल्बम निकाल्न पनि उसकै अनुमति लिनुपर्ने अवस्था छ। 'मलाई त्यति टाइट त गरेका छैनन् तर सम्झौताअनुसार कुनै पनि काम गर्नुभन्दा पहिले हिडेनको स्वीकृति लिनुपर्ने सर्त छ,' उनी भन्छिन्, 'म मिस ट्यालेन्ट हुनुभन्दा पहिलेदेखि नै गायिका हुँ। त्यसैले मैले सम्झौतामा बाँधिनु पर्दैन भन्ने लाग्छ।' उनी अहिले आफ्नो सोलो एल्बमको अन्तिम तयारीमा जुटिरहेकी छिन्।
पहिलो मिस नेपाल रुबी राणा सुन्दरी प्रतियोगिताको नाममा अहिले आयोजकहरूले कमाउने धन्दामात्र गरिरहेको बताउँछिन्। 'मिस नेपालको स्ट्यान्डर्ड पनि पहिलेको तुलनामा खस्केको छ,' उनी भन्छिन्, 'आयोजक संस्थाले यसको गरिमा जोगाउन बेलैमा पहल नगर्ने हो भने मिस नेपालप्रतिको आकर्षण अहिलेको भन्दा पनि निकै घट्ने निश्चित छ। अब क्राउन लगाउन मिस नेपालमा भाग लिनुपर्छ भन्ने केही छैन। महिनैपिच्छे हुन थालेका विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिएर क्राउनको रहर पूरा गर्न सकिने अवस्था छ।'
प्रत्येक जाति र टोलमा सुन्दरी प्रतियोगिता हुन थालेपछि अब मिस नेपाल भनेर रहर गरिरहनु पर्दैन। 'मेरो पालामा पनि पुरस्कारको राशि ५० हजार रुपैयाँ थियो,' रुबी भन्छिन्, 'अहिले पनि त्यति नै छ।' आयोजक मोटाउने यस्ता सुन्दरी प्रतियोगिताहरूको मापदण्ड बनाउनुपर्ने सुझाव छ उनको।
यो वर्ष बाला मइजु, नेपाली लिटिल स्टार, लिटिल लेडी क्यापिटल, लिटिल आइकन, युथ आइकन, बिग आइकन, मिस तीज, मिसेस तीज, मिस्टर एन्ड मिस तेस्रो लिंगी, तीज क्वीन, किड क्वीन, मिस टुरिजम, मिस ग्लोबल लगायत ३५ भन्दा बढी प्रतियोगिता भइसकेका छन्। स्कुल, कलेज, ट्युसन सेन्टरसम्मले सुन्दरी प्रतियोगिता आयोजना गरिरहेका छन्। 

 

'आयोजकको इन्ट्रेस्ट सर्भ गर्न नसक्ने आउट हुन्छन्'
अहिले भइरहेका सुन्दरी प्रतियोगितामा के हुँदो रहेछ भन्ने कुरा मैले मिस टिनमा भाग लिएपछि मात्रै थाहा पाएँ। यस्ता प्रतियोगिता निष्पक्ष हुँदैनन् भन्ने सुनेको थिएँ। तर, आरोप मात्रै होला भन्ने ठानेकी थिएँ। वास्तवमा सुन्दरी प्रतियोगितामा निकै पक्षपात हुँदोरहेछ। मलाई पनि मिस फ्रेन्डसिप दिइएको छ। म ढुक्कसँग भन्न सक्छु, मिस टिन फेयर भएन। ट्यालेन्टहरूलाई पन्छाउने काम गरियो। मिस टिन भएपछि त्यो उपाधिको लायक त हुनुपर्‍यो नि। वास्तवमा त्यो भएन। जातीय आधारमा पनि हामीलाई पन्छाउने काम गरियो। 
आफ्ना मन्छेलाई स्पेस दिन विभिन्न टाइटल राखिने गरिँदोरहेछ। जसले आयोजकलाई बढी आम्दानी गराउन सक्यो, उसैलाई टाइटल अवार्ड दिइँदोरहेछ। आयोजकको इन्ट्रेस्ट सर्भ गर्न नसक्नेहरू आउट हुने रहेछन्। ब्युटी पेजेन्टहरूमा भाग लिने अधिकांशको पीडा यस्तै हुन्छ। धेरैले आफ्नो पीडा लुकाउने गरेका छन्। यसमा धेरैभन्दा धेरै सोर्स फोर्स चल्छ। अन्त्यमा जसको मान्छे छ, त्यसैले क्राउन लगाउने सौभाग्य प्राप्त गर्छ। मेरो भोगाइ त यही हो। 
 


कसरी कमाउँछन् आयोजकले?
आयोजकहरूको कमाउने बाटा विभिन्न छन्। हामी यस्तो इभेन्ट गर्दैछौँ भनेर उनीहरूले मुख्य प्रायोजकमार्फत मोटो रकम असुल्ने गर्छन्। आफ्नो प्रडक्टको विज्ञापन हुने आशमा विभिन्न कम्पनी यस्ता कार्यक्रम प्रायोजन गरिरहेका छन्। यसै गरी आयोजकको भनसुनको आधारमा कार्यक्रम प्रायोजन गर्नेहरू पनि छन्। प्रायोजनबाहेक प्रतियोगितामा सहभागीहरूबाट विभिन्न शीर्षकमा रकम असुल्छन्। बच्चाहरूको प्रतियोगिता हो भने न्यूनतम ७ हजार रुपैयाँ असुल्छन् भने मिस टिन, मिस टुरिजमजस्ता प्रतियोगिताका लागि सहभागीहरूबाट १०-१० हजार रुपैयाँका दरले पैसा असुल्ने गरिन्छ। सहभागीहरूले यति रकम तिरेर पनि ढुक्कसँग बस्न पाउँदैनन्। यसका अतिरिक्त प्रायोजक खोज्ने, टिकट बेच्ने लगायत काम गर्नुपर्छ। सहभागीहरूबाट असुलेको रकम उनीहरूकै ग्रुमिङका लागि खर्च गर्ने गरिएको दाबी आयोजक गर्छन्। मिस टिन आयोजक संस्थाका हुकुमराज लुईँटेल सहभागीबाट लिइएको रकम उनीहरूकै तालिममा खर्च गर्ने गरिएको दाबी गर्छन्। तर तालिम दिन आउनेहरू प्राय सबैलाई कुनै न कुनै शीर्षकमा आयोजक संस्थासँग टाइअप गर्ने गरिएका कारण यस्ता तालिममा खासै खर्च हुने गरेको छैन। अफिसियल बुटिक, अफिसियल फोटो स्टुडियो, अफिसियल मिडिया पार्टनर जस्ता शीर्षकमा आयोजकहरूले निःशुल्क काम गराइरहेका हुन्छन्।
ग्रुप अफ इभेन्ट इन्टरटेनमेन्टले 'म्यान हन्ट' आयोजना गर्न लागेको छ। म्यान हन्टमा सहभागी हुन सुरुमा १५ हजार रुपैयाँ तिर्नुपर्ने भएपछि प्रतियोगितामा सहभागी हुन चाहने युवाहरू हच्केका छन्। यस्ता प्रतियोगिताका आयोजकहरूको एउटै उद्देश्य बढीभन्दा बढी रकम जम्मा गर्नु नै छ। पछिल्लो समयमा शहरबजारमा सुन्दरी प्रतियोगिता कमाउने गतिलो धन्दा बन्दै गएको छ।
मिस नेवा र लिटिल मिस नेवा आयोजना गर्दै आएको नेप्लिज फेसन होम प्रतियोगिताको नाममा पैसा उठाएर खान बदनामी कमाएको संस्था हो। यसले केही वर्षअघि धरानमा मिस नेवा गर्ने भन्दै पैसा उठाएर प्रतियोगिता नै नगरी भागेको थियो। जसले बढी पैसा तिर्नसक्छ वा प्रायोजक खोज्नसक्छ, उसैलाई ताज पहिराउने धन्दा गर्दै आएको छ यो संस्थाले। मिस लिटिल गर्दा आयोजकहरूलाई अझ बढी फाइदा हुन्छ। बच्चाको लागि भन्दै अभिभावकहरू पनि मरिहत्ते गर्ने भएकाले आयोजकहरू इमोसनल बार्गेनिङसमेत गर्छन्। आफ्ना नानीहरूलाई ताज पहिर्‍याउन आयोजकलाई डिनर खुवाउनेदेखि टिकट बेच्ने र प्रायोजक खोज्ने काममा अभिभावक खटिएका हुन्छन्। मिस्टर एन्ड मिस राजधानी र मिस्टर ह्यान्डसम आयोजना गर्ने दिनेश शाही र चाँदनी लामिछाने पनि पैसा खाएर टाइटल दिने आयोजकमा पर्छन्। प्रतियोगिता अनफेयर भएपछि गत वर्ष भएको मिस्टर ह्यान्डसममा कुटाकुट नै भएको थियो।
एउटै संस्थाले विभिन्न विधामा सुन्दरी प्रतियोगिता गराएर मोटो रकम कुम्ल्याउने गरे पनि पर्दा अगाडिभने यसमा नाफा भन्दा बढी घाटा हुन्छ भन्ने तर्क गर्नेहरू पनि छन्। वर्षभरि नै आम्दानी गरिराख्न यस्ता प्रतियोगिता आयोजना हुने गरेका छन्।

बढी टिकट बेच्नेलाई टाइटल अवार्ड
पोखरामा गत असार ४ गते सम्पन्न मिस मगर २०११ की प्रतियोगीमध्ये विनिता थापामगरले 'भियोर्स च्वाइस' टाइटल पाइन्। उनलाई दर्शकले मन पराएको नभई उनले कार्यक्रमका लागि सबैभन्दा बढी टिकट बिक्री गरेकी थिइन्। टिकट बेच्नका लागि उनकी आमा खटिएकी थिइन्। आयोजकले नै प्रतियोगी सबैलाई टिकट बेच्न लगाएका थिए। 'टिकट बेच्न लगाउँदा जसले धेरै बेच्छ, उसैले भियोर्स च्वाइस टाइटल पाउँछ,' मिस मगरकी एक प्रतियोगितले नाम नलेखिदिन आग्रह गर्दै भनिन्, 'टिकट बेच्न लगाएपछि ध्यान जति उतै जाने प्रतियोगिताको लागि तयारी गर्न समय कम भयो।'
यो कुरा आयोजकहरू लाजै नमानी स्विकार्छन्। उनीहरूका अनुसार यस्तो सो हेर्न दर्शकहरूले खासै रुचि नदेखाउने भएकाले पनि पार्टिसिपेन्टलाई टिकट बेच्न लगाउनुपर्ने बाध्यता छ। 'उनीहरूको आफन्तले नहेरे कसले हेर्छ?' एक आयोजकले भने।
त्यसो त मिस मगरकी उपाधि विजेता अन्नु थापामगरले पनि झन्डै १३ हजारको टिकट बिक्री गरेकी थिइन्। यसबापत उनले केही कमिसन समेत पाइन्। उनले दुई, तीन र पाँच सयका टिकट बिक्री गरेकी थिइन्। 'पोजिटिभ तरिकाले सोच्ने हो भने हाम्रो लागि कार्यक्रम गर्दैछन्। टिकट बेच्न सहयोग गरे के भो र भन्ने लाग्थ्यो,' अन्नु भन्छिन् 'नेगेटिभ तरिकाले सोच्ने हो भने प्रतियोगीलाई बेकारमा टेन्सन दिने काम हो यो।'
राजधानी र अरू केही शहरमा हुने अधिकांश सुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले टिकट बेच्नैपर्ने बाध्यता छ। टाइटल पाउने आशामा उनीहरू सकेसम्म बढी टिकट बिक्री गर्छन्। यसले आयोजकलाई नै बढी फाइदा हुने गरेको छ। पोखरामा हुने बालबालिकाका विभिन्न प्रतियोगितामा उनीहरूका अभिभावकले टिकट बिक्री गर्ने गरेका छन्।
मिस टिन २००८ को फाइनलमा पुग्न सफल रेखा पुरीले पनि यो नियति भोगिन्। 'हामीलाई जसले बढी टिकट बेच्छ उसले भियोर्स च्वाइस टाइटल पाउँछ भनियो,' उनी भन्छिन्,'त्यसपछि सबैले टिकट बिक्री गरे, जसले बढी बेच्यो उसले टाइटल पायो।' उनले आफ्नी आमाले दुई प्याड टिकट एक्लैले किनेको तितो अनुभव सुनाइन्। त्यस्तै मिस क्विन नेपाल २०१० मा पनि उनी अन्तिम चरणमा पुगेकी थिइन्। काठमाडौँमा एक वर्ष अघि भएको प्रतियोगितामा पनि उनले टिकट बेच्नुपर्‍यो। 'हामी काठमाडौँ बाहिरको मान्छेले कसरी त्यहाँ टिकट बेच्न सक्छौँ र?' उनी भन्छिन्,'त्यही भएर काठमाडौँकै व्यक्तिले बढी टिकट बेचेर टाइटल पाइन्। हामी बाहिरबाट गएकाहरूको केही लागेन।' पोखरामा भएका मिस पश्चिमाञ्चल, मिस फेरी, मिस टिन, मिस कल्चर, मिस जनजाति, मिस तमुस्यो, मिस नेवा, इन्टर कलेज मिस पोखरा, मिसेस तीजलगायत सम्पूर्ण प्रतियोगितामा सहभागी हुनेहरूले टिकट नबेची र प्रायोजक नखोजी धरै पाउँदैनन्। प्रतियोगितामा सहभागी भएबापत आयोजकलाई सातदेखि १० हजार रुपैयाँसम्म पनि बुझाउनैपर्छ।
मिस पूर्वाञ्चल २०११ का सहभागीले सुरुमा ३ सय रुपैयाँ तिरेर फर्म भरे। त्यसपछि अडिसनपछि आठ हजार रुपैयाँका दरले पैसा लियो आयोजकले। त्यसपछि तालिम अवधिमा चाहिने सबै लुगा र जुत्ता सहभागीले नै किने। फाइनलमा पनि अधिकांश कपडा आफैँले किने। सहभागीका अनुसार एक जना प्रतियोगीको कम्तीमा ३५ हजार रुपैयाँ खर्च भयो।
खर्च सबै आफैँले गर्नुपर्ने भएपछि केही सहभागी चार, पाँच दिनपछि आउँदै आएनन्। एक सहभागी भन्छिन्, 'सुन्दरता र ट्यालेन्ट भएर मात्र पनि नहुने रहेछ। अनेक कष्ट हुन्छ। टिकट पनि बेच्न लगाए, पोस्टर पनि हामीलाई नै टाँस्न लगाए।'
मिस पूर्वाञ्चलमा सहभागी भएका सुन्दरीहरूलाई अहिले आफ्नै स्ट्यान्डर्ड मेन्टेन गर्न झन् समस्या परेको छ। सहभागी निशा राई अहिले बाटोमा हिँड्दा र रिक्सा चढ्दा सबैले मिस पूर्वाञ्चलमा भाग लिएर पनि हिँड्ने भनेर कुरा काटेको अनुभव सुनाउँछिन्। आफ्नै ठाउँमा जे गर्दा पनि सबैले प्रतिक्रिया जनाइहाल्ने भएकाले कति सुन्दरीहरू पढ्नका लागि काठमाडौँ पस्ने तरखरमा छन्।
झापाको बिर्तामोडमा हुन लागेको मिस टिन पूर्वाञ्चलको तयारी अन्तिम चरणमा पुगेको बताउँछन्, आयोजक पूर्वेली युवा क्लबका सदस्यहरू। तर, प्रतियोगिता जित्नेले के र कस्तो पुरस्कार पाउँछन्, अहिलेसम्म आयोजकलाई नै थाहा छैन।
जताततै आयोजना भइरहेका यस्ता सुन्दरी प्रतियोगिताले क्राउनको भ्यालु घटेको अनुभव गरिरहेका छन् सुन्दरीहरू। लहै लहैमा गरिने यस्ता प्रतियोगीता ठगी खाने मेलो भएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार